बैंकका लगानीकर्ताको प्रतिफलदर घट्यो

काठमाडौं । बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल घटेको छ । तरलता अभावले व्यवसाय विस्तार गर्न नसकेका बैंकहरूको उच्च प्रतिस्पर्धा र नियामकीय प्रावधानले आम्दानी खुम्चिन थालेपछि लगानीकर्ताले पाउने प्रतिफल पनि प्रभावित भएको हो । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) औसतमा ११ दशमलव ७३ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । गतवर्ष यसै अवधिमा बैंकहरूको आरओई १२ दशमलव ४५ प्रतिशत थियो । गत पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १० ओटा बैंकको आरओई घट्दा ११ ओटाको वृद्धि भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । गत पुससम्ममा कृषि विकास बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०९ प्रतिशत घटेर माइनस १२ करोड ८९ लाख रुपैयाँ कायम हुँदा यसको आरओई पनि नकारात्मक छ । पुसमा सबैभन्दा बढी आरओई एन आई सी एशिया बैंकको २६ दशमलव २५ प्रतिशत छ । गत आवको तुलनामा एन आई सीको आरओई ३ दशमलव ०६ प्रतिशत विन्दुले बढेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यस वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकहरूको नाफा प्रभावित हुँदा प्रतिफलदर घट्दै गएको बताए । ‘बैंकहरूले आफ्नो आम्दानीको अधिकांश अंश निक्षेपकर्ता र ऋणीलाई नै प्रदान गरेका छन्,’ मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैका कारण बैंकहरूको प्रतिफलदर घटिरहेको छ ।’ कोभिड–१९ महामारी तथा रूस–युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूले चालू आवमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । यस्तै बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ । चालू आवको पुससम्म बैंकहरूको समग्र खराब कर्जा बढेर २ दशमलव २९ प्रतिशत पुगेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकहरूको खराब कर्जा १ दशमलव शून्य ९ प्रतिशत थियो । बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरूले नाफामात्र कमाएको आरोप लाग्ने गरे पनि तथ्यांकमा घटिरहेको बताए । चालू आवको ६ महीनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च ८४ प्रतिशतले बढेको उनले जानकारी दिए । यस्तै अघिल्लो वर्ष वाणिज्य बैंकहरूले औसत १४ दशमलव ३ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा १० दशमलव ७६ प्रतिशत बराबरमात्र दिन सकेको र आरओई पनि आव २०६९/७० मा २४ दशमलव ४२ प्रतिशतसम्म रहेकोमा उक्त वर्ष ११ दशमलव ७३ प्रतिशतमा सीमित भएको शर्माले बताए । बैंकका लगानीकर्ताको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि १ वर्षअघि नै बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । बैंकको अवस्था अध्ययन गरी बुझाइएको प्रतिवेदनमा २०७३ सालदेखि बैंक, वित्तीय संस्थाको प्रतिफलदर निरन्तर घटिरहेको र यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । सिबिफिनको प्रतिवेदनमा २०६८ सालमा १९ प्रतिशत रहेको बैंकहरूको लगानीमा प्रतिफल २०७३ सालमा २३ प्रतिशत पुगेको थियो । त्यसपछि भने घट्दै २०७७ सालमा १२ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो । १२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ । ने...

एक दशकमा बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ […]