समृद्धि अभियानमा निरन्तर [वीरगञ्ज उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारणसभा विशेष]

उद्योग व्यापारको प्रवर्द्धन र व्यावसायिक हितका एजेण्डामा साढे ७ दशकभन्दा लामो समयदेखि सक्रिय संस्थागत अभ्यासको स्वरूप हो, वीरगञ्ज उद्योग वाणिज्य संघ । पर्सा–बारा औद्योगिक कोरिडोरलाई आधार बनाएर उद्योग व्यापारमा लागेका उद्योगीहरूको साझा चौतारीको रूपमा रहेको संघ उद्योग व्यापारमार्फत सबल अर्थतन्त्र निर्माणको उद्देश्यमा निरन्तर अघि बढेको छ । वीरगञ्ज उत्पादन र व्यापारको उर्वर क्षेत्रमात्र नभएर देशकै लागि आपूर्तिको मुख्य केन्द्र हो । कुल औद्योगिक लगानी, वैदेशिक व्यापार र राजस्वमा करीब आधा हिस्साको योगदान पुर्‍याउँदै आएको क्षेत्र सम्भाव्यताहरूको संगम भएको बताउँछन् वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता । वीरगञ्ज उद्योग वाणिज्य संघ अवसरहरू खोतल्दै, त्यस क्रममा आइपर्ने समस्या किनारा लगाउँदै उद्योग र व्यापारको माध्यमबाट आर्थिक विकासको पथमा हातेमालो गर्न सक्रिय उद्योगी व्यापारीहरूको संस्था भएको गुप्ताको भनाइ छ । ‘कर्मशील उद्योगी व्यापारीको कर्मभूमि वीरगञ्ज देशको समग्र आर्थिक विकासको आधार हो । संघ पर्सा–बारा क्षेत्रका औद्योगिक र व्यापारिक क्षेत्रका समस्याहरूको निकाससँगै सम्भाव्यतालाई साकार पार्ने अभियानमा अग्रसर छ । उद्योग व्यापारको प्रवर्द्धनमार्फत सबल अर्थतन्त्र निर्माणको उद्देश्य लिएर अगाडि बढेको छ,’ गुप्ता भन्छन् । कोरोना महामारीयता उद्योग व्यापार र समग्र अर्थतन्त्रकै लय बिथोलिएको छ । यसै बीचमा संघले महामारीको समयमा मानवीय सेवा र उद्योग व्यापार प्रवर्द्धनलाई सँगसँगै अघि बढाएको छ । महामारीयता संघका कार्यभार र प्राथमिकता पनि परिवर्तित भएको बताउँछन् अध्यक्ष गुप्ता । ‘उद्योग व्यापारका समस्या र तिनको समाधानलाई मात्र नभएर मानवीय तथा सामाजिक सेवालाई समेत संघले सँगै अगाडि बढाएको छ,’ उनी थप्छन् । संघको ४५औं साधारणसभाबाट २०७७ फागुनमा संघको नेतृत्वमा पुग्दा विश्व नै कोरोना महामारीसँग जुधिरहेको स्मरण गर्दछन् अध्यक्ष गुप्ता । ४७औं साधारणसभासम्म आइपुग्दा संघले उद्योग व्यापारका समस्याहरूको समाधानका सँगै महामारीबाट मानवको जीवन रक्षाका लागि उदाहरणीय काम गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशप्रसाद लाठ संघका यी २ वर्षलाई चुनौतीका बीचमा पनि अनुकरणीय कार्यसम्पादनको वर्षका रूपमा स्मरण गर्दछन् । ‘कोरोना महामारीको समय थियो । मानिससँग मानिस डराउने अवस्था थियो । यस्तो अवस्थामा संघको नेतृत्वले महामारीबाट आम मानिसको ज्यान जोगाउन सक्रिय भूमिका निर्वाह गर्‍यो । वीरगञ्जको नारायणी अस्पतालमा पीआईसीयु, अक्सिजन प्लान्टदेखि पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र आईसीयु सञ्चालनमा संघको भूमिका प्रशंसनीय छ,’ लाठले भने । कोरोना महामारीसँग जुध्दै तङ्ग्रिने प्रयत्नमा रहेको अर्थसामाजिक जनजीवन संघको पहिलो प्राथमिकता बन्न पुग्यो । कोरोना महामारीको तेस्रो लहर शुरू भइरहँदा बालबालिका यसको बढी जोखिममा पर्ने प्रक्षेपण भइरहेको थियो । त्यसबेला वीरगञ्ज क्षेत्रमा बालबालिकाका लागि आईसीयुको समेत प्रभावकारी प्रबन्ध थिएन । कोभिड महामारीबाट बालबालिकालाई जोगाउन संघको अग्रसरतामा वीरगञ्जको नारायणी अस्पतालमा आवश्यक सबै पूर्वाधारसहितको ३० शय्याको बाल सघन चिकित्सा इकाई सञ्चालनमा आयो । नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान अस्पतालमा सञ्चालनमा आएको यो पूर्वाधारले अहिले पनि उपचार सहज भएको बताउँछन् । नारायणी अस्पतालमा अक्सिजनको पाइपलाइन जडान गर्नेदेखि कोरोना परीक्षणको उपकरण ल्याउनेसम्मका काममा संघको नेतृत्वदायी भूमिका रहेको पूर्वअध्यक्ष लाठको भनाइ छ । त्यो समयमा मुख्य नाका वीरगञ्जबाट संक्रमण भित्रिन नदिन र संक्रमितको सुरक्षित क्वारेन्टाइन तथा उपचारका लागि होल्डिङ सेन्टर निर्माणमा समेत संघले सक्रिय भूमिका निर्वाह गरेको थियो । यसलाई संघले मानवीय सेवाको अवसरको रूपमा लिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल बताउँछन् । पर्साको पश्चिमी क्षेत्रका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवाका लागि पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र आईसीयु सञ्चालन पनि संघको मुख्य काममध्ये एक हो । ‘यो संरचना सञ्चालनमा आउनुअघि त्यस क्षेत्रका बासिन्दा शल्यक्रियाका लागि वीरगञ्जका महँगा निजी अस्पतालमै आउन बाध्य थिए । अब पोखरियामै यो सेवा पाएपछि प्रसूति र अन्य उपचारका लागि सहज भएको छ,’ स्थानीय अगुवा नेजामुदिन समानीको अनुभव छ । संघ पर्सा र बाराका उद्योगी व्यापारीको अभिभावक तथा स्थानीयको जनजीविकादेखि आर्थिक क्षेत्रका समग्र सरोकारमा अग्रणी संस्थाको रूपमा रहेको बुझाइ आम उद्योगपति व्यापारीहरूको छ । संघलाई आर्थिक तथा औद्योगिक विषयमा मात्र सीमित नगरी आर्थिक क्षेत्रका एजेण्डासँगै स्थानीय स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता सामाजिक उत्तरदायित्वका काममा समेत अग्रसर गराएको बताउँछन् उपाध्यक्ष हरि गौतम । संघले यस क्षेत्रका समस्याको निकासका लागि देशकै प्रधानमन्त्री, मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, विभागीय प्रमुखहरूलाई आग्रहसहितका सुझाव दिँदै समस्याको समाधान खोज्ने काममा अगुवाइ लिएको छ । ‘तर, सरकार निजीक्षेत्रमा मागप्रति संवेदनशील भएन,’ गौतमको अनुभव छ ।क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको स्थापनादेखि उद्योग व्यापारमा अहिले देखिएको पूँजीको अभाव, नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले उत्पादन गरेका अप्ठ्यारा, कर्जाको उच्च ब्याजदर, उद्योग प्रतिष्ठानमा शुरू भएको विद्युत् कटौती र अहिलेको उद्योग व्यापारका मूलभूत समस्याको समाधानका लागि संघले आग्रहसहित दबाबमूलक कार्यक्रम सँगसँगै अगाडि बढाएको छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग संवाद, समन्वय र सहकार्य प्राथमिकतामा राखेको संघले वीरगञ्जमा मात्र होइन, प्रादेशिक र संघीय राजधानीमै पुगेर सरोकारका निकाय र जिम्मेवार अधिकारीहरूलाई घच्घच्याउने कामलाई जारी रोखेको उपाध्यक्ष माधव राजपालले बताए । संघले यसबीचमा कार्यालय भवनमा प्रविधि, पूर्वाधार र जनशक्तियुक्त बनाउने कामलाई पनि अघि बढाएको बताएको छ । पूर्वअध्यक्ष हरिप्रसाद गिरीको स्मृतिमा संघको आफ्नै परिसरमा रहेको सभाहल आधुनिकीकरण गरिएको अध्यक्ष गुप्ताले बताए । अग्रजहरूको सम्मान संघको संस्कृति नै भएको उनले बताए । यसबीचमा संघका अध्यक्ष गुप्तालाई नेपालको संविधान दिवस २०७९ को अवसरमा ‘प्रबल जनसेवा श्री’ पदक दिने निर्णय हुनु, यूरोपेली विश्वविद्यालयले मानार्थ प्रोफेसनल डक्टरल उपाधि प्रदान गर्नु, कर्पोरेट बिजनेश अवार्डबाट सम्मानित हुनु र सुरक्षा समन्वयमा महत्त्वपूर्ण योगदानका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले सम्मान गर्नुलाई संघले गौरवको विषय भनेको छ । नेतृत्व चयन भएलगत्तै मधेश सरकारका तत्कालीन मुख्यमन्त्री र सुरक्षा प्रमुख प्रहरी प्रमुखलाई भेटेर उद्योग व्यापारमा क्षेत्रमा चुनौती र सुरक्षा व्यवस्थापनका बारेमा समन्वय, सुरक्षा प्रबन्ध चुस्तदुरुस्त राख्न समन्वय, सहकार्यको अभ्यास थप बलियो बनाउने काम अघि बढाएको संघले सेफर वीरगञ्जमार्फत सीसीटीभी र एलईडी भिडियो वाल सञ्चालनमा ल्याएको थियो । संघले स्वदेशमा काभ्रे, ललितपुर र मकवानपुर उद्योग वाणिज्य संघ र अन्तरराष्ट्रियस्तरमा सिंगापुर र भियतनाम उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध विस्तार गरेको छ । सिंगापुरमा कार्यसमिति बैठक बसेर वैश्विक उद्योग व्यापारका नवीन अभ्यासलाई नेपाल भित्र्याउने प्रयत्न गरिएको संघले उल्लेख गरेको छ । ‘आर्थिक विकासका उदाहरणको रूपमा रहेको देश सिंगापुर र द्वन्द्वबाट बाहिर निस्किएर विकास पथमा अगाडि बढेको भियतनामको भ्रमण ऐतिहासिक, अविस्मरणीय र अनुकरणीय दुवै छ । वीरगञ्ज उद्योग वाणिज्य संघ र त्यहाँका निजीक्षेत्रका संघ/संस्थाहरूसँग सम्बन्ध स्थापना र लगानी र प्रविधिमा सहकार्यको मूलभूत उद्देश्य हो,’ गुप्ताले भने । विश्वव्यापीकरणले उद्योग र व्यापारका आयामलाई वैश्विक प्रतिस्पर्धामा अघि बढाएको अहिलेको अवस्थामा विकसित अर्थतन्त्रबाट प्रविधि र स्रोत कसरी भित्र्याउन सकिन्छ भन्ने अहिलेको मूल चासो भएको बुझाइ संघका निवर्तमान अध्यक्ष गोपाल केडियाको छ । ‘विश्व व्यापार कुन दिशामा अगाडि बढेको छ भन्ने जानकारी लिने सन्दर्भमा भ्रमण निकै रोचक र उपलब्धिपूर्ण रह्यो । लगानी आकर्षण र आर्थिक रूपान्तरणमा अन्य देश र हामीकहाँको नीतिगत व्यवस्थामा के भिन्नता रहेछ भन्ने विषयमा सूक्ष्म अध्ययन भयो । त्यसबाट थाहा हुन्छ–हामीकहाँ सुधार नगरी बाहिरको लगानी आउन सम्भव छैन,’ सहसचिव अनोज रुंगटाले भने । सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँका उद्योग र व्यापार संघहरूसँग समझदारी भएको थियो । समझदारीपत्रमा प्रविधि सहज रूपमा उपलब्ध गराउने, औद्योगिक मेला, सेमिनारहरूमा सहकार्य र सहभागिता बढाउनेजस्ता विषय रहेको संघले जानकारी दिएको छ । ‘यी दुई देशको भ्रमण गरेर निजीक्षेत्रको अभियानलाई अब सरकारले औपचारिकता दिनुपर्दछ । निजीक्षेत्रले तयार गरेको यो प्लेटफर्मलाई सरकारले अगाडि बढाउने हो भने आर्थिक विकासमा उल्लेख्य छलाङ लगाउन सकिन्छ,’ अध्यक्ष गुप्ताको निष्कर्ष छ ।