चितवनमा चक्लाबन्दी सुरु

भरतपुर-चितवनमा चक्लाबन्दीका कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यान्वयन इकाई चितवनले मंगलबार माडीबाट चक्लाबन्दीका कार्यक्रम सुरुवात गरेको हो । चक्लाबन्दी खेतीको प्रर्वद्धन र उत्पादन लागत घटाउन चक्लाबन्दीका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ ।चक्लाबन्दी शुभारम्भ गर्दै माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीमा सुरुवात भएको चक्लाबन्दीले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास […]

सम्बन्धित सामग्री

चितवनका किसान सामूहिक खेतीमा आकर्षित, हट्यो जमिन बाँझोको समस्या !

चितवन । भरतपुर नगरपालिकाका केही युवाहरू सामूहिक खेतीमा आकर्षित भएका छन् । यहाँका १८ परिवारले शुरु गरेको आधुनिक सामूहिक खेती फार्ममा अहिले थप किसान जोडिएका छन् ।  फार्मका अध्यक्ष लेखनाथ भुसालका अनुसार अहिले सामूहिक खेतीमा थप १० जना जोडिएर २८ पुगेका छन् ।  फार्ममा आवद्ध किसानहरूले सामूहिक खेती गर्नेको संख्या मात्रै बढाएका छैनन्, सामूहिक खेती गर्ने जमिनको क्षेत्रफल पनि बर्सेनि बढाउँदै लगेका छन् ।  उनीहरूले पहिलो वर्ष ५० बिगाहामा सामूहिक खेती गरेका थिए । यस्तै, दोस्रो वर्ष ९० बिगाहा र तेस्रो वर्ष १०० बिगाहामा सामूहिक खेती गरेका थिए । सामूहिक खेती थालेको चौथो वर्षमा त्यो क्षेत्रफल अझ विस्तार भएको छ ।  सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती शुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष भुसालले बताए ।  हाल भरतपुरको वडा नम्बर २०, २३, २४ र २५ गरी चारओटा वडामा कृषि कर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले तरकारी थोरै थोरै उत्पादन गर्थे । अहिले प्लट अनुसारका उत्पादन गर्न थालेका छन् । २८ ओटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ,’ भुसालले भने, ‘यसले गर्दा किसानलाई धेरैथरि तरकारी उत्पादनको झन्झट पनि भएन ।’ सामूहिक खेतीले बाली मात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो भएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन्,’ भुसालले भने, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’ सामूहिक खेती थालिएपछि उक्त फर्मले अनुदान पनि पाएको छ । उनीहरूले तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् ।  फर्मले ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रुपैयाँ अनुदान पाएको अध्यक्ष भुसालले बताए । यस्तै, भरतपुर महानगरपालिकाबाट अनुदानमा कृषि सामग्री पाएको उनको भनाइ छ ।  महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री, जस्तै : हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिँचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् ।‘यसरी तरकारी खेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ,’ उनले भने । त्यति मात्रै होइन, फर्ममा आवद्ध किसानले तालिम पनि पाएको उनी बताउँछन् ।  उनको बारीमा अहिले धान खेतीदेखि घिरौंला, बोडी, करेला, फर्सीसम्म उत्पादन भइरहेको छ । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भुसालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’ कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्न बाली र तरकारी खेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए । समूहका सचिव सुमन सुवेदीले बीउ खरीददेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पुर्‍याउने समयसम्म बिचौलियाको जगजगी थियो,’ सुवेदीले भने, ‘एक्लाएक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’ उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती थालेका थिए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

आर्थिक विकासको लागि औद्योगिकरणमा जोड

पुस ३, चितवन । उद्योगी व्यावसायीहरुले आर्थिक विकासको लागि देशमा औद्योगिकरण हुनु पर्नेमा जोड दिएका छन् । चितवनमा जारी प्रथम अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको छैटौं संस्करण अन्तर्गत शनिवार भएको उद्योगी व्यवसायी र सरकारी निकाय बीच भएको गोष्ठी तथा सेमिनारमा आर्थिक विकास र समृद्धिका लागि औद्योगिकरण विकल्प नभएको बताएका हुन् । कार्यक्रममा तीन ओटा विषयको  प्रस्तुतीकरण बीच टिप्पणी गरिएको थियो ।  सेमिनारमा चितवन उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले प्रविधि मार्फत औद्योगिक विकासका परिवर्तित आयामहरु विषायक प्रस्तुतीकरण गरेका थिए । उनले अहिले प्रविधिमार्फत मात्र औद्योगिक विकासमा फड्को मार्न सकिएको बताए ।  यसले निर्यातका सम्भावनलाई पनि उत्तिकै बढाउने कार्कीको भनाइ थियो । यस प्रस्तुतीकरणमा टिप्पणी गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले विश्वमा कुनैपनि देश औद्योगिकरण बिना समृद्ध बन्न नसक्ने  र औद्योगिककरण बिना समृद्धिको विकल्प नभएको बताए ।  ‘कमजोर देशले आर्थिक विकास गर्न सकेन भने उसको अस्तित्व हराएर जान्छ उनले भने, दिमाग र ज्ञानमा लगानी गरियो भने आर्थिक लगानी पनि गर्न पर्दैन ।’ नेपालमा ईच्छाशक्ति नहुनु दक्ष जनशक्ति बाहिर जानुले पनि नेपालमा औद्योगिकरण पछि परेको उनको भनाइ छ । ‘यहाँ बनाउने भन्दा नबनाउने प्रवृत्ति बढी छ’, उनले भने, ‘चलखेल नहुने हो भने १० वर्षमा औद्योगिक क्षेत्रमा व्यापक परिवर्तन हुन्छ ।’ नेपालमा कृषि, शिक्षा र स्वास्थ्यको लागि मात्र लगानी संस्कार भए औद्योगिकरणबाट आर्थिक विकास हुने पुनको भनाइ थियो ।  यही प्रस्तुतीको टिप्पणी गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले औद्योगिकरणका लागि युवाहरुलाई लक्षित गरेर नीति बनाउनु पर्नेमा जोड दिए । ‘देश ग्लोवलाइजेशन, लिवरलाइजेशन र प्राईभेटालाइजेशनमा गइसकेको छ, उनले भने, अब औद्योगिक युवामैत्री नीति आवश्यक छ ।’ स्थायी अर्थतन्त्रको लागि पनि नेपालमा औद्योगिकिरण अपरिहार्य भएको श्रेष्ठको भनाइ थियो ।  सो अवसरमा सरकारी तवरबाट दुईओटा प्रस्तुती करण गरिएको थियो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयश खनालले स्वदेशी उत्पादनको निकासीको अवस्था र बजारीकरणका लागि प्रवर्द्धनका उपायहरु बिषयक प्रस्तुती गरेका थिए । प्रस्तुतीकरण गर्दै उनले नेपालको निर्यातभन्दा आयातको तथ्यांक डरलाग्दो बन्दै गएको बताए ।  ‘पछिल्लो तथ्यांक अनुसार नै हामी १४१ अर्ब निर्यात गर्छौ १ हजार ५४० अर्ब आयात गर्छौ, उनले भने १ रुपैयाँ निर्यात गर्दा ११ रुपैयाँको आयात भएको अवस्था छ ।’ अर्थतन्त्रको प्रवर्द्धनको लागि पन निर्यात प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले ट्रेड एक्स्पो, ट्रेड फेयरमार्फत पनि स्वदेशी उत्पादनलाई  प्रवर्द्धन गर्नुपर्ने बताए । खनालको प्रस्तुतिमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य संघ, चितवनका पूर्व अध्यक्ष मित्रलाल दवाडीले उद्योग तथा उत्पादन बिना आर्थिक विकासको कल्पना गर्न नसकिने बताए । देशमा औद्योगिकरण दु्रत गतिमा हुनुपर्ने भन्दै दवाडीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न श्रम सस्तो र उत्पादन गुणस्तर हुनुपर्ने बताए ।  ‘नेपालमा ६० प्रतिशत जनशक्ति कृषिमा छ । यो श्रमशक्ति अब फाइदा नहुने क्षेत्रभन्दा औद्योगिक क्षेत्र तर्फ लगाउनु पर्‍यो’, दवाडीले भने । कृषिमा चक्लाबन्दी, औद्योगिकिरण, यान्त्रिकिकरण गरी आत्मनिर्भरको अर्थतन्त्र बन्न उन्मुख हुनुपर्ने उनको तर्क थियो ।  यस प्रस्तुतीकरणको टिप्पणी गर्दै नेपाल उद्योग परिसंघ, वाग्मती प्रदेशका अध्यक्ष भेषराज दुवाडीले औद्योगिकरण बाटनै उत्पादन बढाउनु पर्नेमा जोड दिए । कृषि प्रधान देशमै कृषि उपज बाहिरबाट ल्याउनुपर्ने बाध्यता भएको भन्दै माटो सुहाउँदो उद्योगहरु स्थापना गर्नुपर्नेमा जोड दिए । ‘शिक्षा, स्वास्थ्यमा हुने लगानी बाहिर जान रोकियो भने, कृषिजन्य उद्योगहरुको संख्या बढाइयो भने व्यापार घाटा पनि कम हुन्छ’, उनले भने । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले औद्योगिक नीति तथा कार्यक्रम, नेपालमा औद्योगिक अवस्था अवसर र संभावना विषायक प्रस्तुतीकरण दिएका थिए । उनले यस्ता औद्योगिक प्रदर्शनीले नीतिगत महत्व दिने बताए । नेपाल औद्योगिकरणको बाटोमा गएको भनिए पनि अझै अन्यौलको स्थिति रहेको उनले बताए । ‘औद्योगिकरण कुन लेवलमा छ, औद्योगिकरण भएको छ कि छैन भन्ने बिषय अझै अन्यौलमा छ’, उनले भने । देशमा उत्पादनमुलक भन्दा बढी सेवामुलक व्यवसाय हाबी भएको कारण पनि औद्योगिकिरणले गतिलिन नसकेको उनको भनाइ थियो । विदेशी लगानीबाट पनि सीप र ज्ञान प्रविधि भित्रने भन्दै उनले वौद्धिक सम्पतिको पनि लगानी हुनु पर्नेमा जोड दिए ।  प्रस्तुतीमा टिप्पणी गर्दे चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले सरकारले उद्योग क्षेत्रलाई नै कम प्राथमिकतामा राखेका कारण औद्योगिकरणको बाटोमा अपेक्षा गरे अनुसार अघि बढ्न नसकेको बताए । औद्योगिकरणको लागि सरकारले कच्चा पदार्थमा र निर्यात वस्तुमा सहुलियत दिनु  पर्नेमा उनले जोड दिए ।  ‘अघिल्लो पुस्ता, अहिलेको पुस्ता र अबको पुस्ता एकाकार भएर औद्योगिकरण तर्फ जानु जरुरी छ’, पौडेलले भने, यसबाट मात्रै आर्थिक विकास सम्भव छ ।’ चितवन उद्योग संघ, गर्भनिङ्ग काउन्सिलका अध्यक्ष सोमराज मरहट्ठाले  निर्माण कम्पनीको भुक्तानी ढिलाईका कारण कतिपय आयोजना पूरा हुन नसकेको र यस्ता उद्योग तथा व्यवसायमा आकर्षण बढ्न नसकेको बताए ।

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

असोज १२, चितवन । पश्चिम चितवनमा विस्तारित व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढ्दै गएको छ ।  यहाँ ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको प्रशस्त सम्भावना बढ्दै गएको हो । हाल भरतपुर महानगरपालिका वडा नम्बर २४, जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भइरहेको छ ।  सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र समेत बनेको छ । फार्मको ग्रीन हाउस, थोपा सिँचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानसहित ६२ बिघा जग्गामा लगाइएको तरकारी खेतीले अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नु पर्नेमा उनले  जोड दिए  । पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको बताए । ९६ जना स्थानीय किसानहरु उक्त फार्ममा आबद्ध छन् । यस्तै, भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ मेजर ताइबहादुर गुरूङको फार्ममा अहिले ड्रागन फ्रुट फुल्न शुरु गरेका छन् । दुई दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा ड्रागन र नर्सरीको खेती गरिरहेका हुन् । जसका कारण बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित बन्दै गइरहेको छ यो फार्म । २०६० सालदेखि पश्चिम चितवनको भरतपुर–२५, शुक्रनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय गणेशप्रसाद भूषाल बहुवर्षीय फलफूल खेतीअन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।  भरतपुर–२५, अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि नोबेल एग्रिकल्चर फार्मको नाममा दर्ता गरेर व्यावसायिक तरकारी खेती शुरु गर्दै आएका छन् । उनको माछापालन पोखरी अहिले ३५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको  छ ।  माछापालनमा राम्रो सम्भावना देखेर डेढ वर्षअगाडि वायोफ्लक्स प्रविधि अपनाएर माछापालन शुरु गरेको न्यौपानेले बताए । ४ ओटा पोखरीमा पानी भरेर माछापालन गरेका उनको वायोफ्लक्स प्रविधि पर्यटकहरुका उत्कृष्ट गन्तव्य बन्दै गएको उनको भनाइ छ । भरतपुर– २५ अमृतनगर, जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारी खेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नयाँ पुस्ता कृषिकर्ममा अभ्यस्त भएका हुन् । यहाँका कृषकहरुले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । भरतपुर–२०, शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ ।  २०४२ देखि तात्कालिन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यही  समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यावसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ का भूपालनाथ कँडेलले २०५५ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाउँदै आएका छन् । कँडेलले मेलिसरा जातको मौरीबाट उत्पादित महको मागलाई घरबाटै आपुर्ति गर्दै आएको बताउँछन् ।  पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायतका क्षेत्र तरकारी खेतीको पकेट क्षेत्रका रुपमा परिचित छ ।