औद्योगिक नीति उद्योगमैत्री बनाउन चितवनका उद्योगीको माग

असोज १६, चितवन । चितवनका उद्योगीहरुले औद्योगिक नीति परिमार्जन गरी उद्योगमैत्री बनाउन माग गरेका छन् ।  शुक्रवार भरतपुरमा उद्योग वाणिज्य आपुर्ति मन्त्रालयले आयोजना गरेको औद्योगिक कोरिडोरका  उद्योगीहरुसंँग अन्तरक्रियामा कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउनु पर्ने र आयात घटाई स्वदेशका उद्योगहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।  चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुबेदीले ऐनमा उद्योगको परिभाषानै नभएको भन्दै औद्योगिक नीति व्यवहारिक नभएको बताए । राज्यले देशमा रहेका उद्योगहरुको समेत तथ्यांक नलिएको भन्दै उनले औद्योगिक नीतिमा व्यापक सुधार गर्नुपर्ने बताए ।  रिजाल फुड एण्ड वेभरेज प्रालिका अध्यक्ष पुरुषोत्तम रिजालले कच्चा पदार्थ आयात गर्दा उद्योगीले सामान झारेपछि फर्किएको रित्तो कन्टेनरको समेत भाडा तिर्दा विदेशी वस्तुसंँग प्रतिस्पर्धा गर्न नसकिएको बताए । ‘भन्सार शुल्क तिर भ्याट तिर, रित्तो कन्टेनरको भाडा तिर उनले भने, हामीले विदेशी तयारी वस्तुसंँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं ।’  उद्योगी गणेश उप्रेतीले नीति कार्यान्व्यन पारदर्शी हुनु पर्नेमा जोड दिए । उद्योगको नीतिगत सुधार अपरिहार्य भएको भन्दै उनले साना उद्योग र ठूला उद्योगबीच न्यूनतम ५ प्रतिशत करको दर फरक हुनुपर्ने बताए । कृषिलाई उद्योगमा नजोडी आयात प्रतिस्थापन नहुने भन्दै उनले उत्पादनको आधारमा अनुदान दिनुपर्ने बताए ।  पोल्ट्री व्यवसायी महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको अण्डा र मासुमा देश आत्मनिर्भर भएपनि कच्चा पदार्थमा भने परनिर्भरता बढ्दै गएको बताए । ‘पोल्ट्री क्षेत्रमा डेढसय अर्ब लगानी छ, ५ लाखलाई रोजगारी छ उनले भने, तर, तर धान प्रतिकेजी १६ रुपैयांँ बेचेर ढुटो प्रतिकेजी ३५ मा आयात गर्नुपर्ने बाध्यता छ ।’ नेपाल कपास उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले अवैधानिक रुपमा सञ्चालित घुम्ती उद्योगलाई बन्द गर्नुपर्ने बताइन् । ‘हामीले राज्यलाई कर तिर्दै आएका छौं तर त्यस्ता उद्योगहरुले खुलेआमा व्यापार गरिरहेका छन । यसप्रति कसैको ध्यान छैन ।’ कोईरालाले भनिन् ।  लागत नघटाई प्रतिस्पर्धा गर्न नसक्ने भन्दैे स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने उद्योगमैत्री नीति ल्याउनु पर्नेमा उनको जोड थियो । उद्योग संघ, मकवानपुरका अध्यक्ष लेखाराम पोख्रेलले नीति बनाउन अन्तरविभागीय समन्वयको नै अभाव भएको बताए । ‘लागत घटाउन पहिलो कुरा विद्युत् महसुलनै घटाउनु पर्छ । अर्को कुरा उद्योगकको वर्गीकरण गर्नुपर्छ ।’ उनले भने । आयात घटाउन उत्पादनशील उद्योग लगानी नीति बनाउनु पर्ने, सबै जिल्लामा औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बनाउनुपर्ने उनको भनाइ थियो ।  नवलपुर उद्योग संघका अध्यक्ष केवी रानाले आयात प्रतिस्थापनका लागि कच्चा पदार्थमै देश आत्मनिर्भर हुनुपर्ने बताए । आत्मनिर्भर भएका वस्तु निर्यात गर्न सहजीकरण गर्नुपर्ने, स्थानीय करलाई घटाउनु पर्ने र बजार सुरक्षित गर्नुपर्नेमा जोड दिए ।  चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले नेताहरुले भाषणमा आद्योगिक क्रान्ति ल्याउनु पर्ने बताए पनि व्यवहारमा र बजेटमा भने उद्योग न्यून प्राथमिकतमा राखिएको बताए । ‘शोधानान्तर घाटा बढेको, आन्तरिक ऋण, बाह्य ऋण र अनुदान भने बढ्दै गएको छ ।’ पौडेलले भने ।  देशमा उत्पादन बढाउन, व्यापार घाटा कम गर्न र आत्मनिर्भर बन्दै निर्यात गर्न उत्पादन र उद्यमशीलताको विकल्प नहुने उनको भनाइ थियो । सहभागी अन्य उद्योगीहरुले कच्चा पदार्थ आयातमा भन्सार झन्झटिलो, रोक तर तयारी विदेशी वस्तुमा भने कडाई नभएको भन्दै गुनासो गरेका थिए ।  सो अवसरमा बोल्दै उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले उद्योगीहरुको राय सल्लाह बमोजिमनै औद्योगिक नीति परिमार्जन हुने भन्दै बजेट र मौद्रीक नीतिमा कतिपय नीतिहरु समावेश हुँदै गएको र कार्यान्वयनको चरणमा गएको बताए । उद्योगीहरुले राखिएका मागहरुप्रति सरकार जिम्मेवार सम्बोधन गर्ने भन्दै भुसालले अन्तर मन्त्रालय र विभागबीच छलफल भइरहेको बताए ।  मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेरेलले सरकारले समयानुकुल नीति परिर्वतन, परिमार्जन गर्दै लैजाने बताए । नीजि क्षेत्रको सहकार्य र समन्वय बिना नीति नबन्ने भन्दै पोख्रेरलले क्रमशः सम्बोधन हुदै जाने बताए । हामीसँग समस्या धेरै छन तर साधनस्रोत कम छ ।’ उनले भने । चालू आर्थिक बर्षको बजेट कार्यान्वयनमा जाँदै गरेको बताउँदै उनले औद्योगिक सुरक्षा, उद्योगको सुरक्षा र लगानीको सुरक्षामा सरकार केन्द्रित रहने उनको भनाइ थियो । उद्योगमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै उनले उद्योगको लागि जग्गा र जनशक्ति आपुर्ति गर्नुपर्ने जिम्मा सरकारकोनै हुनुपर्ने उनको भनाइ थियो ।  मन्त्रालयका सहसचिव नारायण प्रसाद ढुंगाना, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेशका सचिव डाक्टर सिन्धु प्रसाद ढुंगाना, वाग्मती उद्योग परिसंघका अध्यक्ष ऋषिराम घिमिरे लगायत उद्योगीहरुको सहभागिता रहेको थियो ।