प्रजातन्त्रको ७३ वर्ष

देशले पहिलो प्रजातन्त्र पाएको पनि ७३ वर्ष बितेछ । अब बितेछ त बितेछ यसमा हाम्ले के नै गर्न सक्छौं र ? न तपाईंले केही गर्न सक्नुहुन्छ । न मैले केही गर्न सक्छु । अरूले पनि के नै गर्न सक्छन् र ? अहिले सत्तरी नाघ्यो । भोलि असी, पर्सी नब्बे र अलि वर्षमा सय वर्ष नि नाघ्छ । देश यही हो र यही रहन्छ । उत्तरमा हिमाल, पहाड, दक्षिणमा तराई, पूर्वमा कोशी, पश्चिममा महाकाली । यत्रो ठूलो देश छ । अलि अलि जंगे पिलर सरेर के हुन्छ र ?  हुन त देश ठूलो वा सानो भएर के नै फरक पर्छ र ? देश त देश नै हो नि । देशलाई त के नै भएको छ र ? जो नेपाली विदेशमा बस्दैनन्, ती देशमै बस्छन् । विदेश जाने धेरै भए पनि देशमा बस्ने पनि अझै कम छैनन् । सडकमा ट्राफिक जाम नै हेर्नोस् न, मान्छेहरूको कति भीड छ । यदि हामीले देशलाई अघि बढाउन सक्तैनौं भने पनि कमसेकम जनसंख्यालाई त अघि बढाउन सक्छौं । आखिर कुनै कुनै कुरामा त हाम्रो पुरुषार्थ पनि देखिएकै छ त ! प्रजातन्त्रको यो ७३ वर्षमा हाम्रो देशले ठूल्ठूला नेता पायो । जब ठूल्ठूला नेता बने, तब हामीले साना साना नेता जन्मायौं । ती साना साना नेताले अझ साना साना नेता जन्माए । हामीले नेताको पिरामिड बनायौं । अनि नेताहरूमा आत्मनिर्भर बन्यौं । अब मार्गनिर्देशनका लागि विदेशतर्फ हेरिरहनु आवश्यक छैन । हामी आफै एकअर्कालाई मार्गनिर्देश गर्न सक्छौं । हामीले नेतृत्वको ढोका सबैका लागि खोलिदिएका छौं । यदि तपाईंसँग कुनै कामधाम छैन भने हाम्रो देशको नेता बन्न सक्नुहुन्छ । यदि तपाईंसँग कुनै कामधन्दा छ भने तपाईं हाम्रो देशको नेता हुनुहुन्छ नै । यदि तपाईं राम्रो काम गर्न चाहनुहुन्छ भने नेता बन्नुहोस् । यदि तपाईं नराम्रो काम गर्न चाहनुहुन्छ भने झन् पक्का नेता बन्नुहोस् । तपाईं अभिनेता हो भने झन् ठूलो नेता । जुन शहरमा अभिनेता धेरै हुन्छन्, त्यहाँ नाटक मण्डलीको संख्या बढ्छ । त्यसैगरी जुन देशमा नेताहरूको संख्या धेरै हुन्छ, त्यहाँ राजनीतिक दल धेरै हुन्छन् । लोकतन्त्रको बस चलाउने ड्राइभर यी दलहरू नै त हुन् । तर हिजोआज बस ड्राइभरले भन्दा बेसी खलासीहरूले चलाउन थालेका छन् । त्यसैले दुर्घटना बढेका छन् । हाम्रो देशको धर्ती महान् हो । देशमा जति अन्न उब्जन्छन्, त्योभन्दा बढी त खाने मुख उम्रन्छन् । त्यै भएर त अन्न आयात गरेका छौं, टन्न पेट भरेका छौं । प्रजातन्त्रका यी वर्षमा देशमा पनि अन्न उमारिरह्यौं । विदेशबाट पनि मागिरह्यौं । खाइरह्यौं । पचाइरह्यौं । विदेशी अन्न र स्वदेशी चूर्णले पेटको सन्तुलन ठीक राख्यो । हामीले रुख कटायौं, घर अफिसमा एअर कण्डिसन लगायौं । देशले भान्छा र शयनकक्षको महत्त्व बुझ्यो । अनि भित्रै भान्छा, बाथरुम र बेडरुम भएको भवन बनाउन शुरू गर्‍यौं । भवन बनाउन ठेकेदारहरूको फौज पनि तयार गरियो । तर ठेकेदारहरूले कस्तो भवन ठड्याए कुन्नि ! भवनहरू अग्लाअग्ला हुँदै गए, देश तलतल धसिँदै गयो । प्रजातन्त्रका यी वर्षहरूमा देशमा उत्पादन बढ्यो । उत्पादनको भाउ झन् बढ्यो । मान्छे सस्ता भए, सामान महँगा भए । शरीर सस्तो भयो, कपडा महँगो भयो । पानी महँगो भयो, खुन सस्तो भयो । घरको इज्जत कम भयो, होटल रिसोर्टहरूको बढ्यो । शरीरभन्दा गहनाको सम्मान बढी भयो । पदको सम्मान मनुष्य र मनुष्यताभन्दा माथि गयो । छनोटमा द्विविधा बढ्यो, किनकि सुविधा बढ्यो । हामी छिमेकीमा मात्रै बहादुर भनिन्थ्यौं, अब त विश्वभरि बहादुर बन्न पुगेका छौं । कलाकौशल बेच्नेबाट शुरू गरेका थियौं, अहिले ढुंगा, गिट्टी, बालुवा, पानी र जवानी बेच्नेमा पुगेका छौं । यही रेसमा हाम्रा इमान र सम्पदा बिक्दै जाने हो भने देश पनि चाँडै बिक्न सक्छ भन्नेमा सन्देह रहेन । दूध खाइरहन पाए गाई कल्ले पाल्ला र ? प्रजातन्त्रका यी वर्षहरूमा हाम्रा खल्ती खाली र कपाल लामो हुँदै गए । नेताहरूले आफ्ना सोच छोटा बनाए, तर केवल आफ्ना जुँगा र घमण्ड लामा बनाए । प्रजातन्त्रका यी वर्षहरूमा देश उठ्यो, फेरि लड्यो । लडेर उठ्यो । उठेर लड्यो । तर ठीकसँग उभिन सकेन । घण्टाघरको घडी घुमिरह्यो, हाम्रो देश मस्त निद्रामै घुरिरह्यो, त्यसैले समयभन्दा निकै पछि परिसकेको छ । हामीसँग विचार भएन, त्यसैले हामीले हाम्रो परिस्थितिको विश्लेषण गर्नै सकेनौं । त्यसैले जबसम्म विदेशबाट ऋण वा अनुदान प्राप्त गर्न सक्तैनौं हाम्रा चुला नबल्नेमा पुगेका छन् । त्यसैले हाम्रो शरीर स्वदेशमा भए पनि आत्मा विदेशमा पुगेको छ । हाम्रा पाइलाहरू विदेशी धुन र विदेशबाट ल्याएको सुन अनुसार चल्छन् । यो ७३ वर्षमा हामी कहाँबाट शुरू गरेका थियौं, तर पुग्यौं कहाँ । यत्तिका वर्षहरूमा हाम्रो प्रगतिको पहिचान यै हो कि हामीले हाम्रा खोला, नदीहरूलाई फोहोर बनायौं, सडकहरूलाई पासो बनायौं । तर त्यसमाथि गुड्ने गाडीहरूमात्र सुन्दर, सफा र चिल्ला मगायौं । सडकमा फोहोर थुप्रिएका छन् । तर त्यस वरपर बस्नेहरू टाईसुटमा सजिएका छन् । हाम्रा घर राम्रा छन्, देश जस्तो भए पनि । मुस्कुराउनु पनि व्यावसायिक बन्यो । चाकरी परम्परा बन्यो । भ्रष्टाचार शिष्टाचारमा परिणत भयो । बाहिर चमकदमक बढ्यो, भित्र खोक्रो बाँकी रह्यो । प्रजातन्त्रका यी वर्षहरूमा हाम्रा खल्ती खाली र कपाल लामो हुँदै गए । नेताहरूले आफ्ना सोच छोटा बनाए, तर केवल आफ्ना जुँगा र घमण्ड लामा बनाए । देश बलियो भयो कि भएन, तर जातीयता बलियो भयो, दलहरू बलिया भए । दलका झुण्ड बलिया भए, झुण्डका चण्डमुण्ड बलिया भए । ठाउँठाउँमा मस्ती गर्ने ठाउँहरू बने । दूध र दबाई पाइयोस् वा नपाइयोस् मदिरा नपाइने कुनै कुनो छैन । अरू उद्योग चले पनि नचले पनि बालुवा, गिट्टी, ढुंगा र मान्छे निर्यात उद्योग राम्रै फस्टाएका छन् । खेतमा पानी नभए के भो त ? सिँचाइले कतिका भुँडीहरू सिञ्चित भए भए यस ७३ वर्षमा । गर्मीमा खडेरी पर्छ, मान्छे भोकै पर्छन् । वर्षामा बाढी आउँछ, मान्छे र चौपाया दुवै मर्छन् । भलै तटबन्धका बजेटले कतिले जेट उडाए, कति गाडी कुदाए । थुप्रै सडकहरू त्यहाँ पुगे जहाँ पुग्नुपर्ने नै थिएन । ‘यताका माल उता गएनन्, तर उताका माल मात्र यता आए ।’ स्मगलिङमा गति आयो । जताततै जनता ठग्ने मति आयो ।  सारा देश एकआपसमा जोडियो । सडकदेखि इन्टरनेटकोे जालसम्म, बिजुलीको तारदेखि टेलिफोनको झंकारसम्म । तर मनहरू जोडिएनन् । हुन त यता जसै नेप्सेमा आइपीओ जारी हुन्छ, देशैभरिका शेयरका खेलाडीहरूको एकाएक उछलकुद भारी हुन्छ । राष्ट्रको एकताको यो भन्दा बलियो प्रमाण के हुन सक्छ र ? ७० वर्षको प्रजातन्त्रको यो यात्रा बडो गज्जपको छ हजुर ! गरीबी हटाउन हिँड्याथे, आफ्नै अमिरी बढाउनतिर लागे । जसरी ७३ वर्ष बितेको छ, त्यसैगरी १७३ वर्ष पनि बित्नेछ । तर यो ७३ वर्ष खुबै रह्यो ! देशले ठूलै प्रगति पो गरिसकेको छ त । अनुभव गर्नु भएकै छ नि ! गणेशमानजीले भनेको शिशु प्रजातन्त्र अहिले साँच्चै पाको भइसकेछ त ।