बिलेट आयातको नयाँ नीति विवादमा :  नीति नसच्याए रु. १ खर्ब लगानीका डण्डी उद्योगमा असर

भदौ २८, काठमाडौं । सरकारले स्पञ्जआइरन र विलेट आयातका लागि ल्याएको नयाँ नीति अहिले विवादमा तानिएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयक अनुसार अब स्पञ्जआइरन आयातमा भन्सार शून्य गरिएको छ । यस्तै, विलेट आयातमा लाग्दै आएको अन्त: शुल्कमा भने वृद्धि गरिएको छ ।  सरकारले स्वदेशमै बिलेट उद्योगलाई प्रोत्साहन गर्न यी नीति ल्याइएको भनिए पनि यस क्षेत्रसँग सम्बन्धित व्यवसायीले भने मिश्रित धारणा व्यक्त गरेका छन् । स्पञ्जआइरन आयात गरी फलामे छड बनाउने सरकारी निर्णयको उद्योगीहरुले स्वागत गरेका छन् । विद्युतको खपत बढ्ने, स्वदेशमै विलेट उद्योग स्थापना गर्न सकिने जस्ता व्यवस्थाप्रति व्यवसायीहरुले स्वागत गरेका छन् तर भारतबाट सिधै विलेट कच्चा पदार्थ आयात गर्ने व्यवसायीहरुले भने यो निर्णय तत्काल सच्याउन दबाब दिन शुरु गरिसकेका छन् । स्पन्जआइरन बिलेटको कच्चापदार्थ हो । यसमाभन्सार शून्य भएपछि मुलुकमा नै बिलेट उत्पादन गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।मन्त्रीशर्माले शुक्रवार ल्याएको विधेयकअनुसार विलेट आयातको अन्तःशुल्क प्रतिटन रु. १ हजार ६५० बाट बढाएर रु. २ हजार ५०० पुर्‍याइएको छ ।  सरकारले ल्याएको यो नीतिले रु. १ खर्ब लगानी भएका २४ ओटा डण्डी उद्योगहरु धरासयीहुने विलेट आयात गरी डण्डी बनाउने उद्योगीहरुको दाबी छ । अहिले मुलुकभर दुई थरीका डण्डी उद्योगहरु छन् ।  स्पोञ्ज आइरन आयात गरेर विलेट उत्पादनगर्ने उद्योगको संख्या भने छ ओटा छन् । यस्ता उद्योगले नेपालमा पाइने पत्रु (स्क्राब) र स्क्राबबाट ६० प्रतिशत स्पञ्जआइरन मिसाएर बिलेट बनाउने गर्छन् ।साखः स्टीलका प्रबन्ध निर्देशक किरण साखःले सरकारको निर्णयले २४ ओटा उद्योग मर्कामा पर्ने दाबी गरे । यसले गर्दा २४ ओटा उद्योगहरु विस्थापित हुने संघारमा रहेको भन्दै यस्तो निर्णयले लगानीका साथसाथै बैंकको ऋण पनि डुब्ने जोखिम रहेको उनले बताए । उनले सोमवार पुर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललाई भेटेर यो निर्णयले पुर्‍याउने असुविधाप्रति ध्यानाकर्षण गराउने तयारी गरेको बताए । अहिले अर्थमन्त्री, अर्थसचिवलाई समेत भेटेर यो गलत निर्णय भएको जानकारी गराएको उनको भनाइ छ । ‘स्पञ्जआइरनबाट बिलेट उद्योग बनाउनेले पनि अहिले नाफा गरेका छन्,’ साखःले भने, ‘ विलेटमा उद्योगमा लगानी ल्याउन प्रोत्साहित गर्ने नीति ल्याउँदै गर्दा हामी जस्ता उद्योगलाई मर्कामा पार्न भएन।’  यसैगरी नेपाल स्टील रोलिङ मिल्स एशोसिएशनले आइतवार प्रेस विज्ञप्ति जारी गरेको छ भने सोमवार पत्रकार सम्मेलनसमेत आयोजना गर्दैछ ।विभिन्न १२ ओटा बुँदाहरुमा एशोसिएशनले धारणा सार्वजनिक गरेको छ । भन्सार र अन्तःशुल्कका कारण विलेट प्रयोग गरी उत्पादनगरिने डण्डीको मुल्य स्वतःमहंगो हुने एशोसिएसनले उल्लेख गरेको छ । बहुसंख्यक डण्डी उद्योगहरु प्रतिस्पर्धा गर्न नसकी घाटा व्यहोर्दै बन्द हुने अवस्था आउने र बैंकको लगानीमा समेत असर गर्ने उल्लेख गरिएको छ । स्पञ्जआइरनमा शून्यप्रतिशतभन्सार दर र विलेटमा भने ४ दशमलव ७५ प्रतिशत भन्सार दरका साथै अन्तः शुल्क पनि बढाइएको हुँदा मूल्य महंगो हुने एशोसिएशनको दाबी छ । एशोसिएशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय व्यवसायलाई उकास्ने भनिएको छ, तर यस प्रकारको उद्योगबाट उत्पादित सामान गुणस्तरयुक्त नहुने हुँदा निर्मित संरचना टिकाउ हुँदैन र राजस्व संकलनमा समेत असर पर्छ ।’