शेयर धितो राखेर लिने ऋणको सीमा खारेज गरिनुपर्छ : नयन बास्तोला [अन्तरवार्ता]

विगत १३ वर्षदेखि शेयर बजारमा सक्रियरूपमा लगानी गर्दै आएका नयन बास्तोला हाल शेयर लगानीकर्ता दबाब समूहको सचिव छन् । पछिल्लो समयको शेयर बजारको अवस्थाबारे आर्थिक अभियानकी लक्ष्मी शर्माले उनीसँग गरेको कुराकानीको सार ।  शेयर बजारमा कहिलेदेखि हुनुहुन्छ ? लगानीका धेरै क्षेत्रहरूमध्ये यो क्षेत्रलाई नै किन रोज्नु भयो ?  २०६७ सालदेखि धितोपत्रको दोस्रो बजारमा सक्रियरूपमा लगानी गर्दै आएको छु । त्यसअघि आईपीओ मात्रै भर्थें । दाइ शेयर बजारमा लगानी गर्नुहुन्थ्यो । उहाँकै देखेर, त्यसबाटै सिकेर शेयर बजारमा प्रवेश गरेको हुँ ।  हो, लगानीका अरु क्षेत्रहरू पनि धेरै थिए तर मैले शुरुमा यसलाई पार्ट टाइमको रूपमा लिएको थिएँ । काम गर्दै जाँदा शेयर बजारबारे बुझें । त्यसपछि शेयर बजारलाई व्यवसायको रूपमा अगाडि बढाएको हुँ ।  तपाईं एक लगानीकर्ताको संगठनमा आबद्ध हुनुहुन्छ । सबै संगठनहरूलार्ई मर्ज गरेर लगानीकर्ता महासंघ बनाउने तयारीमा पनि जुट्नुभएको छ । अहिले आएर एकीकृत महासंघको आवश्यकता किन भयो ? यसको प्रक्रिया कहाँ पुगेको छ ? मैले २०७३ सालदेखि शेयर बजारमा आधिकारिक संगठन बनाउनुपर्छ भन्ने आवाज उठाउँदै आएको थिएँ । यही बीचमा साथीहरू (लगानीकर्ता)ले एउटा संगठन बनाएर जानुपर्छ भन्नुभयो । शेयर बजारको विकास र विस्तारका लागि आन्दोलन र अनसन गरी सफलता पनि पाएका थियौं । त्यसपछि हामीले लगानीकर्ता दबाब समूह गठन गर्याैं । त्यो बेलासम्म लगानीकर्ताको महासंघ बन्ने अवस्था थिएन, त्यसपछि म पनि त्यही संगठनमा आबद्ध भएँ ।  समयसमयमा नियामक निकायबाट पनि बजारमा विभिन्न किसिमका हस्तक्षेप भइराखेका छन् । पछिल्लो समयको उदाहरण करसम्बन्धी थियो । यस्ता किसिमका समस्याहरूलाई हल गर्नका लागि पनि एउटा महासंघको आवश्यकता भएको हो ।  यही बीचमा लगानीकर्ताहरू भेला भएर महासंघ बनाउने घोषणा गरिएको छ । विडम्बना ! केही संगठनहरू यसमा जोडिन चाहेका छैनन् ।   चालू आर्थिक वर्षको लागि मौद्रिक निति ल्याउन नेपाल राष्ट्र बैंक तयारीमा जुटेको छ । बजार विकासका लागि राष्ट्र बैंकले के–कस्ता नयाँ नीति ल्याओस् भन्ने चाहानुहुन्छ ?  नेपाल राष्ट्र बैंकले केही दिनमै चालू आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । हामीले केही दिनअगाडि मात्रै गर्भनरलगायत राष्ट्र बैंकका पदाधिकारीहरूसँग छलफल गरेका थियौं ।  शेयर बजारलाई पनि सट्टेबाजीको रूपमा नलिइ व्यवसायको रूपमा बुझ्न आवश्यक छ । शेयर बजारको नीति स्थिर र परिपक्व ल्याउन आवश्यक छ । समाचार आउँदैमा शेयर बजार प्रभावित नभइदियोस् !  शेयर धितो राखेर लिने ऋणको एउटा सीमा तोकिएको छ, त्यसलाई राष्ट्र बैंकले तत्काल खारेज गर्नुपर्छ । पहिलेकै अवस्थामा ल्याउनु पर्छ । त्यस्तै शेयर लोनमा राखेको जोखिम भारित औसतलाई पनि १०० मा झार्नुपर्छ । योसँगै बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । शेयर बजार राम्रोसँग परिचालन भएमा देशको अर्थतन्त्रलाई पनि टेवा पुग्छ ।   राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । सरकारलाई पनि यस क्षेत्रबाट राम्रो आम्दानी भइरहेको छ ।  पूँजी बजारको विकास र विस्तारका लागि लगानीकर्ताको तर्फबाट सरकारलाई के–कस्ता सुझाव दिनुहुन्छ ? शेयर बजारको भनेको अर्थतन्त्रको ऐना हो । यो लगानीकर्ताको व्यवसाय हो । र, यसलाई व्यापार– व्यवसायसरह मान्दिनुपर्छ । शेयर बजारमा ५६ लाख लगानीकर्ता छन्, सक्रिय लगानीकर्ताको संख्या केही कम होला । ५६ लाख लगानीकर्ता आवद्ध भएको क्षेत्रलाई सरकारले नीति नियमहरू स्थिर खालको ल्याउनुपर्छ ।  नेपालको शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनःसंरचना गर्न आवश्यक छ । नेप्सेले लगानीकर्ताको हकहितमा राम्रो काम गर्न सकिरहेको छैन । अहिले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया प्रधानमन्त्रीबाट रोकिएको छ । नयाँ स्टक एक्सचेन्ज नल्याउनु भनेको होइन, त्यो ल्याउनुभन्दा पहिले भइराखेको नेप्सेलाई पुनःसंरचना गर्न आवश्यक छ । नेप्सेको शेयरलाई डिभाइड गर्नुपर्छ, पब्लिकमा जारी गर्नु पर्छ ।  सरकारले धितोपत्र बोर्डलाई नियमन गर्नका लागि ऐनसम्बन्धी नियम कानुनहरू समयसापेक्ष परिवर्तन तथा परिमार्जन गर्न आवश्यक छ । शेयर बजारमा रियल सेक्टरका कम्पनीहरू कम छन् । त्यस्ता कम्पनीहरू शेयर बजारमा ल्याउनुपर्छ । अन्तरराष्ट्रिय स्तरका नयाँ प्रविधिहरू, जस्तै : अक्सन मार्केट, इन्ट्राडे र सर्टसेल जस्ता प्रविधिहरू भित्र्याउन पहल गरिनुपर्छ । सरकारले साेही अनुसारको संरचना बनाउनुपर्छ ।   शेयर बजार हो, जोखिम त यहाँ भइहाल्छ । नयाँ तथा पुराना लगानीकर्ताहरूले शेयर बजारबाट कसरी सफलता हासिल गर्न सक्छन् ? यसमा तपाईंको सुझाव के छ ? पुराना लगानीकर्ताले शेयर बजारमा लगानी गरिरहँदा राम्रो सफलता पाउन सक्नुभएको छैन भने उहाँहरूलाई आफ्नो पोर्टफोलियो मोडिफाई गर्न सुझाव दिन्छु । एउटै सेक्टर सधैंभरि बढिरहन्छ भन्ने हुँदैन । यसलाई हामीले पछिल्लो समयका बुल बजारबाट देखिरहेका छौं । कहिलेकाहीं शेयर घाटामा बेचेर पनि सेक्टर परिवर्तन गर्न सक्नुपर्छ । यसकारण पुराना लगानीकर्ताले बजारको ट्रेण्डलाई धेरै नै अध्धयन गर्नुपर्छ । अध्ययन गरिसकेपछि कस्ता कम्पनीमा ट्रेड गर्ने र कस्ता कम्पनीमा दीर्घकालीन लगानी गर्ने भन्ने यकिन गर्नुपर्छ ।  नयाँ लगानीकर्ताहरूको लागि अहिलेको समय लगानीको लागि एकदमै उपयुक्त छ । किनभने अहिले गरिएको लगानीबाट एक/डेढ महीनामा प्रतिफल पाइन्छ । आर्थिक वर्ष सकिएकाले अब सूचीकृत कम्पनीहरूले प्रतिफल वितरण गर्ने घोषणा गर्छन् । तर, लगानी गर्नुपूर्व शेयर बजारसम्बन्धी अध्ययन र अनुसन्धान गर्नुपर्छ ।  अहिले अनलाइन पोर्टलहरूबाट यसबारे ज्ञान लिन सकिन्छ । त्यस्तै शेयर शिक्षा सिकाउने संस्थाहरू पनि छन्, त्यहाँ गएर पनि शेयरबारे अध्ययन गर्न सकिन्छ । तर, शेयर बजारसम्बन्धी शिक्षा दिने आधिकारिक संस्था नेपालमा छैन । सबैले व्यक्तिगत रूपमा आफ्नो स्वार्थका खोलिएका अनलाइनहरू र अनलाइन टुल्स छन् । ती कुनै पनि बेला बायस हुन सक्छन् । यस कारण पनि सरकारले पनि यस विषयमा अध्ययन र अनुसन्धान गरेर आधिकारिक संस्था बनाउनुपर्छ । यो कुरा मैले धेरै पहिलेदेखि भन्दै आएको छु । यस विषयमा मैले सेबोनसँग पनि कुरा गरेको थिएँ । उसले कार्यविधि बनाउँदै छु भनेको थियो । तर, हालसम्म कार्यविधि कार्यान्वयनमा आएको छैन ।  तसर्थ कम्पनीको बारेमा अध्ययन गरी विवेकपूर्ण तरिकाले लगानी गरे शेयर बजारबाट राम्रो प्रतिफल पाउन सकिन्छ । यो समय लगानीको लागि सुनौलो अवसर हो ।

सम्बन्धित सामग्री