खाद्य कम्पनीले धान खरीद नगर्दा कैलालीका किसान चिन्तित

पुस ८, कैलाली । कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी थिए । १२ बिघा क्षेत्रफलमा धान खेती गरेका विक्रम आफ्नो खेतको धान हेरेर आफैँ मख्ख पर्थे ।  उनको त्यो खुसी धेरै समय रहेन । धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाँकी रहेको धान सरकारले तोकेको समर्थन मूल्यमा विक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन । कात्तिकमा भित्र्याएको धान खाद्यको पर्खाईमा पुससम्म घरमै रह्यो । अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीदका लागि टीकापुर नगरपालिका–७ मा खरीद केन्द्र स्थापना गरी धान खरीद शुरु गरेपछि विक्रम बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुगे ।  खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो ।  ‘मूल्य पाइन्छ भनेर बाहिर धान विक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो’, उनले भने, ‘बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि मर्‍यो ।’ विक्रम त्यसको एक उदाहरण मात्रै हुन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भए पनि डुबानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले खरीद नगर्दा अर्को वर्ष धान रोप्नका लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरीले बताए । ‘ट्राली भरेर खाद्यको खरीद केन्द्रमा धान विक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो’, उनले भने, ‘बजारमा विक्री गर्दा एक हजार २०० मा विक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि विक्री गरेर पनि के गर्नु ?’ टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौँरा थारुले किसानको धान खरीदका लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने बन्दै किसानसँग बाढी र डुबानबाट बचेको धान जुनसुकै हालतमा सरकारले खरीद गर्नुपर्ने बताएका छन् । ‘किसानलाई गुणस्तरीय धान ल्याउभन्दा किसानले कहाँबाट ल्याउन सक्छ । किसानसँग जस्तो धान छ, उसले त्यस्तै ल्याउने हो । त्यो धान खाद्यले खरीद गर्नुपर्छ’, वडाध्यक्ष रामलालले भने, ‘स्थानीय सरकारले किसानको धान खरीद गर्नसक्ने क्षमता छैन ।  प्रदेश वा संघीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो धान खरीद गर्नुको विकल्प छैन ।’ उनले टीकापुर नगरपालिका–७ सत्तीमा धान खरीदका लागि आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीद नै नगरी फर्किएको बताउँदै त्यसले किसानमा झनै पीडा थपिएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले गत मंसिर २२ गतेदेखि किसानको धान खरीद शुरु गरेको थियो । आजसम्म कम्पनीले १४ क्विन्टल धान मात्रै खरीद गरेको छ । कम्पनीले पहिलो चरणमा ३५ हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरीदका जिम्मा पाएको थियो ।  पहिलो चरणमा धनगढी र सत्तीबाट धान खरीद शुरु गरेको भए पनि सत्तीमा पहिलो दिनमै किसानसँग विवाद भएपछि धान खरीद बन्द गरिएको कम्पनीका कैलाली प्रमुख इन्जिला बस्नेतले बताए ।  ‘हामीले धान खरीद बन्द गरेका छैनौँ । किसानसँग गुणस्तरीय धान नभएका कारण धान खरीद बन्द भएजस्तै छ’, कार्यालय प्रमुख बस्नेतले भने, ‘हामीलाई जस्तो निर्देशन आएको छ त्यसैअनुसार काम गर्ने हो । अब एक क्विन्टल धानबाट ६४ दशमलव शून्य ५ प्रतिशत चामल निस्कनुपर्छ । त्यो अहिले खरीद भएको धानबाट निस्कने कुनै सम्भावना छैन ।’ उनले किसानले पहिले काटेको धान बाढी र डुबानले बिगारेको र पछि काटेको धान बढी पाकेर बिग्रेका कारणले पनि किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरीद गर्ने खालको धान नभएको बताए ।  कैलालीमा मोटा धान खरीदका लागि मात्रै परिपत्र भएको बताउँदै प्रमुख बस्नेतले जुन धान रू. दुई हजार ७५२ मा खरीद गर्दै आएको बताए ।  ‘हामीले भनेर केही हुँदैन । केन्द्रबाट आएको निर्देशनानुसार हामीले काम गर्ने हो’, उनले भने, ‘तोकिएको मापदण्डभन्दा तलमाथि भएको धान खरीद भएको अवस्थामा हामीले पनि कारवाही भोग्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आफँैलाई जोखिममा राखेर धान खरीद गर्नसक्ने अवस्था पनि भएन ।’ उनले यो वर्ष किसानसँग कम्पनीले तोकेको मापदण्डअनुसारको धान नभएकाले अब धान आउने सम्भावना पनि निकै कम भएको बताए ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरको मातहतमा टीकापुरमा मात्रै चार÷पाँच ठाउँबाट धान खरीद हुँदै आएकोमा अहिले त्यहाँका गोदाम चामलले भरिएको छ । रासस

सम्बन्धित सामग्री

कम्पनीले धान खरिद नगर्दा किसान चिन्तित

जनकपुरधाम - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले धान खरीद नगर्दा किसानहरु चिन्तित भएका छन् । प्रत्येक वर्ष पुसको पहिलो सातादेखि नै कम्पनीले किसानहरुबाट धान खरीद गर्ने गथ्र्यो । तर यसवर्ष तीन साता बितिसक्दा पनि धान खरीद गर्ने कुनै छांटकांट नदेखिएपछि किसानहरु चिन्तित भएका हुन । पुस १ गतेदेखि नै प्रत्येक दि…

कम्पनीले धान खरिद नगर्दा किसान चिन्तित

जनकपुरधाम - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले धान खरीद नगर्दा किसानहरु चिन्तित भएका छन् । प्रत्येक वर्ष पुसको पहिलो सातादेखि नै कम्पनीले किसानहरुबाट धान खरीद गर्ने गथ्र्यो । तर यसवर्ष तीन साता बितिसक्दा पनि धान खरीद गर्ने कुनै छांटकांट नदेखिएपछि किसानहरु चिन्तित भएका हुन । पुस १ गतेदेखि नै प्रत्येक दि…

चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

जेठ २६, दमक । चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको किसानले बताएका हुन् । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरीदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । यहाँका किसानले गत फागुन र चैतमा चैते-२ , चैते-४ र विजी जातको चैते धान लगाएका थिए । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् ।  गौरीगञ्ज गाउँपालिका-१ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रू. ७५० विक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताए । उनले भने, ‘बजारमूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।’  यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज-१ महामाराका किसान धनपति पौडेलले बताए । प्रतिमन न्यूनतम रू. ८०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रू. ६०० मा पनि धान खरीद गर्न आनाकानी गर्ने गरेको उनको भनाइ छ । उनले भने, ‘चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।’ गल्ला व्यापारी र धान मिल सञ्चालक र विचौलियाको मिलोमतोमा चैते धानको आफूखशी बजार मूल्य निर्धारण गर्दै आएकाले किसान मार्कामा परेको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौलाले बताए ।  दुई विगहामा चैते धान लगाएका नेता सिटौलाले यो वर्ष पनि किसानले उत्पादन गरेका धान प्रतिक्वीन्टल रू. एक हजार ५०० सम्म पनि पाउन नसकेको अवस्था रहेको बताए । लागत अनुसार मूल्य नपाउँदा धान खेतीबाट किसान पलायन हुन थालेको उनको भनाइ छ ।  समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान विक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने कमल गाउँपालिका-७ बाह्घरेका किसान विदुुर गिरीले बताए ।  गौरीगञ्ज-१ का वडासचिव भोजकुमार अधिकारीले बजारमा सबै बस्तुको मूल्य आकासिएको तर किसानले दुःख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताए । उनले भने, ‘धानको उचित मूल्य नपाउनु किसानका लागि ठूलो चिन्ताको विषय हो, यसप्रति सरकार गम्भीर हुनैपर्दछ ।’ विचौलियाको भरमा धानको मूल्य निर्धारण हुने गरेकाले कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले बताए । मुलुकमा वर्षेनि करीब रू. ३३ अर्ब बराबरको कृषि उपज भारत तथा बंगलादेशबाट भित्रिने गरेको छ ।  यहाँको कृषि उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य अझै हुन नसकेको उनको भनाइ छ । रासस