तथ्यांकोवाच : १० वर्षमै साढे आठ गुणा बढ्यो विषादी आयात

काठमाडौं । विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण हुनुपर्ने आवाज जनस्तरदेखि संसद्सम्म उठिरहेका बेला विषादी आयात पनि चिन्ता र चासोको विषय बन्दै गएको छ । नेपालको आयात तथ्यांक हेर्दा विषादीको प्रयोग प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब ५४ करोड बराबरको विषादी आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ मा सो आयात रू. ५ अर्ब १३ करोड पुगेको छ, जुन साढे ८ गुणाले बढी हो । परिमाणमा हेर्दा गत आर्थिक वर्षमा १२ हजार ७९२ मेट्रिक टन विषादी आयात भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी विषादी भारतबाट भित्रिएको छ, जुन कुल विषादी आयातको करीब ८६ प्रतिशत छ । सो अवधिमा विश्वका ३० ओटा देशबाट नेपालमा विषादी भित्रिएको छ । विषादीको आयातबाट रू. ४१ करोड भन्सार राजस्व संकलन भएको छ । रैथानै बीउको प्रतिस्थापन र विषादी नभई नफस्टाउने बीउको आम प्रयोगसँगै विषादीको प्रयोग पनि बढ्दै गएको हो । यसैगरी बेमौसमी तरकारी तथा फलफूलखेतीका कारण पनि विषादीको प्रयोग बढ्दो छ । कृषकमा चेतनाको कमी, राज्यको अदूरदर्शिता र कृषिविज्ञमा रहेको अन्धानुकरण प्रवृत्तिले विषादीको प्रयोग विकराल बन्दै छ । मानव, पशु र वनस्पतिका लागि समेत जोखिमपूर्ण मानिने विषादीको प्रयोग बढ्दै जानु चिन्ताको विषय हो, जसको समयमै नियन्त्रण आवश्यक छ ।