निषेधाज्ञामा रोकिएन विकास

निषेधाज्ञा लागू भए पनि जिल्लामा विकास निर्माणका काम जारी छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बहानामा कुनै पनि विकास निर्माणका काम नरोक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि कामले निरन्तरता पाएका हुन् ।

सम्बन्धित सामग्री

निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस