क्रिप्टोको कारोबारीलाई राष्ट्र बैंकले कारवाही गर्ने, विदेशमा बस्ने नेपालीलाई पनि बन्देज

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका भर्चुअल  करेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै यसको कारोबारमा संलग्न जो कोहिलाई पनि कारवाही हुने बताएको ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले  नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्न जो कोहिलाई पनि कारवाही गर्ने जनाएको हो ।विभागले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएको छ। यसरी गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।विभागले जारी गरेको सूचनामा भनिएको छ ' हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई Virtual Currency/ Cryptocurrency हरुको कारोबार/प्रयोग गर्न तथा त्यस्ता Virtual Currency/Cryptocurrency हरुसँग सम्बन्धित Hyper Fund जस्ता कोषमा लगानी गर्न र Jocial, Crowd 1, Solemax Global जस्ता पिरामिडमा आधारित Network Marketing मा आवद्ध हुन प्रोत्साहन गर्ने /गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency ले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'