सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वर्षेनी करिब ८० लाख मानिसको अकाल मृत्यु हुने गर्दछ, जसको करिब ८० प्रतिशत हिस्सा नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरूमा पर्छ। यति ठूलो संख्यामा उमेर नपुग्दै हुने अकाल मृत्युले विकासोन्मुख समाजमा सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा अवरोध पुर्याउनुका साथै देशको उत्पादकत्व घटाएर अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ।