कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा प्रवाह, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने सम्झौता भएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार (मंसिर ७ गते) समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका छन्।