प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।