हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । …

सम्बन्धित सामग्री

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।  १२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।  ‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।   यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’ हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो ।  निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस

जीर्ण काठे पुलमा यातायात गुड्नु पर्ने बाध्यता

कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माण गरिएको जीर्ण काठे पुलमा जोखिनका साथ सवारीसाधन गुड्नु पर्ने बाध्यता छ । उक्त खोलामा पक्की पुल निर्माण कार्य भई रहेको कारण अन्य विकल्प नहुँदा यातायातका साधनहरू जीर्ण काठे पुल तर्न बाध्य हुँदै आएका हुन ।

बाढीले मुस्ताङको कागवेनीमा ठूलो क्षति

पोखरा-पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारस्थित कागखोलामा आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि बाढी आएको थियो । बाढीका कारण कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल बगाएको छ । बजार क्षेत्र लेदोमग्न भएको छ । पूर्व सूचना गराएका कारण भने मावनीय क्षति हुनबाट भने जोगिएको छ […]

बौराहा खोलामा पक्की पुल शिलान्यास

कैलालीको घोडाघोडी नगरपालिकामा दुईवटा पक्की पुल बन्ने भएका छन्। वडा नम्बर २ को चितलपुर–जोकाहा बीचमा पर्ने बौराहा खोला र वडा नम्बर ८ को तारानगर–कल्जुकीको बीचमा पर्ने बौराहा खोलामा यसै वर्षदेखि निर्माण कार्य सुरु हुने भएको छ। उक्त पक्की पुलको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले शनिबार शिलान्यास गरेपछि पुल निर्माण कार्यले औपचारिकता पाएको हो। शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री साउदले खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या भएकाले पनि पुल निर्माण महत्वपूर्ण भएको बताउनुभयो। पक्की पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। आफ्नो क्षेत्रमा भएका जीर्ण काठे पुल विस्थापित गर्ने लक्ष्यका साथ यसै वर्ष थप अर्को पक्की पुलको निर्माण कार्य सुरु हुनेसमेत राज्यमन्त्री साउदले बताउनुभयो।

धरानको सेउती खोलामा पक्की पुल निर्माण

धरान । पर्याप्त बजेट नहुँदा ढिलाइ भएको धरानको वडा नं १५ र वडा नं ४ जोड्ने पक्की पुल निर्माण ६ वर्षपछि सम्पन्न भएको छ । ग्रामीण क्षेत्रलाई धरान बजारसँग जोड्न २०७२ सालमा पुल निर्माण शुरू भएको थियो । तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट नहुँदा पुल निर्माण सम्पन्न हुन लामो समय लागेको हो । १० वर्षअघि स्थानीयले काठे पुल बनाएका थिए । उक्त पुल सेउती खोलाको बाढीले बगाएपछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धतासहित तत्कालीन सांसद मीन विश्वकर्माले ३० लाख रुपैयाँ बजेट विनियोजन गराइदिएपछि काम शुरू भएको थियो । तर राष्ट्रिय योजनामा नपरेपछि तीनओटा पिलर मात्रै ३ वर्षसम्म ठडिएको थियो । निर्माण समितिका सचिव तथा वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङका अनुसार शुरुआती ३ वर्ष जनसहभागिताबाट १५ लाख ४० हजारसहित उपभोक्ता समितिमार्फत ९७ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये निर्वाचन क्षेत्र विकास कोषबाट सांसद विश्वकर्माले दुईपटक गरी ४७ लाख र सांसद कृष्णकुमार राईले ३० लाख उपलब्ध गराएका थिए । यो बजेटले तीनओटा पिलर ठडिएपछि बजेट अभावले निर्माण प्रभावित भएको थियो । पुल निर्माण सम्पन्न गर्न ३ करोड ३३ लाख खर्च भएको समितिका सचिव कुलुङले जानकारी दिए । सभामुख प्रदीपकुमार भण्डारी, सांसद जयकुमार राई, कार्यवाहक मेयर हुँदा उपमेयर मञ्जु भण्डारी सुवेदीको पहलमा बजेट विनियोजन भएर पुल निर्माण गरिएको सचिव कुलुङले बताए । उनका अनुसार संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट २ करोड ३६ लाखको ठेक्कामार्फत स्ल्याब, साइड वाल, बिम लगायतको निर्माण भएको छ । मन्त्रालयले उपमहानगरपालिकालाई अख्तियारी दिएपछि टेण्डर गर्दा खाम्पासे निर्माण सेवाले पाएको थियो । पुल निर्माणको सुपरीवेक्षण इटहरीस्थित एलआरडीपीले गरेको थियो । पुल तयार भएर हाल यातायातका साधन चल्न थालेका छन् । तर, औपचारिक उद्घाटन गर्न बाँकी रहेको पुल निर्माण समितिका सचिव कुलुङले बताए । पुल बनेपछि खैरेनीटार, वसन्तटार, दानाबारी, देवी गाउँ, हर्दियालगायत धनकुटा क्षेत्रका बासिन्दालाई धरान बजार आउजाउ गर्न सहज भएको छ ।

मनाङलाई स्थलमार्गसँग जोड्न सडक डिभिजनले थाल्यो काम

मनाङ । लामो समयदेखि सडक सञ्जालबाट विच्छेद भएको मनाङलाई पुनः जोड्न डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिरोले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ । क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन स्थानीय तह, प्रदेश र संघ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन् । सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले बताए । उनका अनुसार जनप्रतिनिधि विपद्मा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागिपरिरहेका छन् । ‘मैले सडक नै प्रमुख आवश्यकता मानेको छु, स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ, केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ,’ सांसद गुरुङले भने । जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीको दिनचर्या कष्टकर बनेको छ । बाढीपहिरोका कारण घरवारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।      उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ । ‘बाढीपहिराका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु, दुःखसुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु,’ अध्यक्ष घलेले भने ।      यस्तै मनाङका अधिकांश जनप्रतिनिधिले नै डेढ महीनादेखि त्रिपालमुनि बसेर सहयोग र साथ दिँदै आएका छन् । बाढीपहिराले चारओटै गाउँपालिका जोड्ने सडकमा क्षति पुगेपछि जनजीवनमा कठिनाइ भइरहेको छ । बाढीले माथिल्लो मनाङको वडा नं १ पिसाङदेखि चामे गाउँपालिकाको पाँचओटै वडा र नासों गाउँपालिकाका सबै वडा पूर्णरूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार मनसुनको प्रभाव निरन्तर परिरहेकाले समयमा काम गर्न कठिनाइ भएको छ । हाल मौसम अनुकूल भएसँगै सडक प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए । कम क्षति पुगेको ठाउँका सडक स्थानीय तहको सहकार्यमा प्राविधिक टोलीले मर्मतको काम गरिरहेको सडक डिभिजन लमजुङका इन्जिनीयर सुमन अधिकारीले जानकारी दिए । ‘सडक स्तरोन्नतिको काम गरिरहेको अवस्थामा बाढीपहिराले क्षति पु¥याएको थियो, बाढीपहिराको जोखिम कम हुनेबित्तिकै कामलाई निरन्तरता दिएका छौं,’ अधिकारीले भने ।    सडक सञ्जाललाई पूर्णरूपमा सञ्चालनका लागि नेपाली सेनाका इन्जिनीयर इन्दिवर गुरुङको प्राविधिक टोली र सडक डिभिजन कार्यालयका प्राविधिकले अनुगमन तथा निरीक्षणपश्चात् प्रतिवेदन सम्बन्धित निकायलाई बुझाइसकेका छन् । जिल्लाभित्रका केही ठाउँमा सवारी आवागमन पुनः सञ्चालन भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बँेसीशहरदेखि मनाङ जिल्लाको सिमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले बताएको छ । यस सडकखण्डको १०७ किलोमिटरमध्ये लमजुङतर्फको ३५ किलोमिटर अस्थायी रूपमा सञ्चालन भएको छ भने मनाङतर्फको ६० किलोमिटर सडक मर्मत गर्न बाँकी छ । रासस