वित्तीय साक्षरता मार्गदर्शन २०७८ ले वित्तीय पहुँच मा पार्ने प्रभाव

वित्तीय साक्षरता अभियानलाई थप व्यवस्थित र नियमित बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले गत माघ ३ गतेदेखि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यान्वयनमा ल्याएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सोही मार्गदर्शनबमोजिम वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय साक्षरताको पूर्वाधार निर्माण गर्ने, अध्ययन सामग्रीको उचित प्रयोग गर्ने, कार्यक्रमको अनुगमन गर्ने, वित्तीय चेतना, ज्ञान र शीपको अभिवृद्धि गर्ने र वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यहरूलाई मार्गदर्शनले समेटेको छ । यसैगरी सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन र पत्रपत्रिका), पम्प्लेट, कथा, कविता, सडक नाटकजस्ता विभिन्न पाठ्यसामग्रीका माध्यमबाट रोजगारप्राप्त व्यक्ति, कृषक, उद्यमी, विद्यार्थी, महिला, विप्रेषण प्राप्त गर्ने वर्गलाई समेट्नेखगरी प्रभावकारी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयलाई मार्गदर्शनमा उल्लेख गरिएको छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई श्रव्यदृश्य तथा छापा आदि माध्यमहरूबाट प्रसारण र प्रकाशन गर्ने र ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’लगायत कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको थियो । सोहीअनुरूप राष्ट्र बैंकले टेलिभिजनमार्फत वित्तीय कारोबारसँग सम्बद्ध विभिन्न जानकारीमूलक श्रव्यदृश्य कार्यक्रमहरू प्रसारण गर्ने, वित्तीय चेतनामूलक गीतहरूको सँगालो जारी गर्ने, वित्तीय ज्ञान अभिवृद्धि गर्ने पाठ्यसामग्रीहरूको प्रकाशन गर्नेलगायत वित्तीय साक्षरतासँग सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले भौगोलिक अवस्थितिको आधारमा स्थानीय विद्यालयमै गई वित्तीय जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारण जनतालाई वित्तीय साक्षरता प्रदान गर्नेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । उल्लिखित कार्यक्रमहरू राष्ट्र बैंक आफैले र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू, सहकारी आदिमार्फत सञ्चालन हुँदै आएको छ । वित्तीय साक्षरता अभियानलाई राष्ट्र बैंक आफैले सञ्चालन गर्दै आएको र यस अभियानलाई विस्तार गरी मुलुकव्यापी बनाउनका लागि बैंक तथा वित्तीय संस्थाको संलग्नता प्रभावकारी हुने कुरालाई मनन गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्र्ने निर्देशन पनि जारी गरेको छ । यसअनुरूप सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने र उक्त कोषबाट सञ्चालन गरिने कार्यक्रममध्ये ५ प्रतिशत रकम वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरूका लागि खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकले प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च हुनेगरी गर्नुपर्ने व्यवस्था रहेको छ । विपन्न तथा न्यून आय भएका सर्वसाधारणहरू लघुवित्त वित्तीय संस्थाका लक्षित वर्ग हुन् । यस वर्गको वसोवास विशेषगरी दुर्गम तथा विकासका दृष्टिकोणले ओझेल परेका क्षेत्रमा हुने भएकाले अधिकांश लक्षित वर्गको कमजोर साक्षरता अवस्था, कमजोर आर्थिक अवस्था, यातायात र सञ्चारमाध्यमको न्यून उपलब्धता, विकट भौगोलिक अवस्था, वित्तीय पहुँचको न्यूनतालगायत अवस्था रहेको हुन्छ । ती क्षेत्रमा बसोवास गर्ने विशेषगरी लघुवित्तका लक्षित वर्गमा वित्तीय साक्षरताको स्तर पनि कमजोर रहेको पाइन्छ, जसका कारण उनीहरूलाई लक्ष्यअनुरूप वित्तीय पहुँचले समेट्न सकेको पाइँदैन । त्यसैले लक्षित वर्गलाई लघुवित्तीय सेवाप्रति आकर्षित गराउन उनीहरूलाई वित्तीय दृष्टिकोणबाट साक्षर बनाउनु जरुरी हुन्छ । लघुवित्त क्षेत्रले लक्षित वर्गको पहिचान गरी सदस्य बनाउने क्रममा नै बचत, कर्जा, भुक्तानी तालिका, किस्ता रकम र सोको ब्याज भुक्तानी, खराब कर्जा र वित्तीय जोखिमले निम्त्याउन सक्ने दुर्घटनालगायत विषयमा सदस्यलाई जानकारी दिने प्रबन्ध मिलाउनुपर्ने सैद्धान्तिक व्यवस्था रहेको छ । यसैको आधारमा लक्षित वर्गले लघुवित्त वित्तीय संस्थासँग आबद्ध भई वित्तीय कारोबारको माध्यमबाट आफ्नो आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले लघुवित्तीय सेवाको विस्तार हुन सक्छ । पूँजी अभावमा आर्थिक गतिविधिमा संलग्न हुनबाट वञ्चित भएको लक्षित वर्गलाई लघुवित्तीय सेवामा आबद्ध गराई स्वरोजगारीताको माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिन्छ । यसरी वित्तीय साक्षरताको माध्यमबाट ग्रामीण र पिछडिएको क्षेत्रमा वित्तीय पहुँचको विस्तार गरी गरीबीको मात्रालाई न्यूनीकरण गर्न सहयोग पुग्छ । बैंक तथा वित्तीय संस्थामा आबद्ध गराई सर्वसाधारणलाई वित्तीय कारोबारभित्र समेट्नुलाई वित्तीय पहुँच र पैसा तथा वित्तीय उत्पादनको उचित तवरले व्यवस्थापन गर्नसक्ने क्षमताको विकास गर्नुलाई वित्तीय रूपले साक्षर भएको मानिन्छ । वित्तीय साक्षरताले सर्वसाधारणलाई वित्तीय कारोबार गर्ने प्रक्रिया, विभिन्न वित्तीय उत्पादनको जानकारी र त्यसको उचित उपयोग, प्रविधिमैत्री वित्तीय उपकरण र त्यसको प्रयोग, वित्तीय कारोबारसँग सम्बद्ध जोखिम र त्यसको न्यूनीकरणजस्ता विषयमा जानकारी दिलाउँछ । विगतदेखि नै वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका उच्च शिक्षा प्राप्त गरेका उच्च पदस्थ व्यक्ति, व्यवसायीहरू, जागीरे वर्ग पनि वित्तीय रूपले साक्षर नभएका हुन सक्छन् भने समाजको तल्लो तहमा रहेका सर्वसाधारण त वित्तीय साक्षरताका दृष्टिकोणले कमजोर हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । त्यसैले समाजमा रहेका सबै तह र तप्काका मानिसलाई वित्तीय शिक्षाको आवश्यकता पर्ने भएकाले उमेर, वर्ग, शिक्षाको स्तर, कार्य र बसोवास गर्ने क्षेत्र, आर्थिक अवस्था आदिको आधारमा वित्तीय साक्षरताका लागि उपयुक्त कार्यक्रम छनोट गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । वित्तीय पहुँच र वित्तीय साक्षरता एकअर्काका पुरक हुन् । वित्तीय साक्षरताविना वित्तीय पहुँचको उपलब्धताले मात्र गुणस्तरीय वित्तीय सेवा सञ्चालन हुन सक्दैन । सेवाग्राहीलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्न र सर्वसाधारणलाई वित्तीय सेवाप्रति आकर्षित गर्नका लागि वित्तीय साक्षरता र वित्तीय पहुँचको उत्तिकै महŒव रहेको हुन्छ । त्यसैले विगतदेखि राष्ट्र बैंकबाट सञ्चालन गरिँदै आएका वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको समीक्षा गर्र्दै जारी भएका निर्देशन र मार्गदर्शनको अनुपालन गरी अघि बढेमा वित्तीय साक्षरताले आशातीत गति लिने र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

कर्णालीमा वित्तीय पहुँच बढाउने अभियान

वित्तीय साक्षरताको दृष्टिकोणले गएको मार्च महिना विशेष महत्त्वको रह्यो । मार्च महिनाको १० र ११ तारिखका दिन कर्णाली प्रदेशको सुर्खेतमा मिडिया इन्टरनेशनलको आयोजनामा पहिलो पटक दुई दिने वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम सम्पन्न भयो । २१ देखि २७ तारिखसम्म नेपाल राष्ट्र बैंकको अगुवाइमा दशौं विश्व वित्तीय सप्ताह मुलुकभर मनाइयो । यी दुवै कार्यक्रमको मुख्य उद्देश्य बचत, कर्जा, बीमा, विप्रेषण, उद्यमशीलताको विकास लगायतका विषयमा जानकारी दिई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु रहेको थियो । प्रविधिको विकास सँगसँगै विद्युतीय वित्तीय कारोबारलाई वित्तीय साक्षरता कार्यक्रमले जोड दिँदै आएको छ । वित्तीय साक्षरताको माध्यमबाट पैसाको सदुपयोग गरी वर्तमानमा उचित वित्तीय व्यवस्थापन र भविष्यको जोखिम न्यून गर्न सकिने भएकाले मानिसको जीवनमा वित्तीय साक्षरताको ठूलो महत्त्व रहेको हुन्छ । विश्व वित्तीय सप्ताह मनाउने क्रममा नेपाल राष्ट्र बैंकको अगुवाइमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, धितोपत्र बोर्ड, सहकारी विभाग, बीमा समितिलगायतको सहभागितामा विभिन्न उपलब्धिमूलक कार्यक्रमहरूको आयोजना गरिएको थियो । यसका साथै, नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई मुलुकव्यापी बनाइएको थियो । ‘तिम्रो भविष्य बनाऊ, पैसाको बारेमा विवेकशील बन’ भन्ने नाराका साथ मनाइएको विश्व वित्तीय सप्ताहको मुख्य उद्देश्य किशोर/किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्त्व बारे जागरण ल्याउनु रहेको थियो । ओईसिडिको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष मनाउँदै आएको वित्तीय साक्षरता अभियानले वित्तीय जनचेतना वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । मुलुकका सातै प्रदेशहरू आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, मानव विकास आदि दृष्टिकोणले समान छैनन् । भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको विकास, वित्तीय पहुँच, शिक्षा, स्वास्थ्य आदि दृष्टिकोणले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर रहेको देखिन्छ । प्राप्त तथ्यांक अनुसार यस प्रदेशमा बसोबास गर्ने झण्डै १६ लाख जनसंख्यामध्ये गरीबीको रेखामुनि रहेको जनसंख्या २९ प्रतिशत रहेको छ भने ४४ प्रतिशत जनसंख्या आर्थिक रूपले अति पछाडि परेका छन् । कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको योगदान ३.४ प्रतिशत र प्रतिव्यक्ति आय ५९७ अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ । गरीबीका दृष्टिले नेपालका सबैभन्दा गरीब ५ मध्ये ३ जिल्ला कालीकोट, मुगु र हुम्ला यही प्रदेशमा पर्ने र मानव विकासका सबै सूचकहरूमा कर्णाली प्रदेश सबैभन्दा कमजोर रहेको देखिन्छ । यस प्रदेशमा आर्थिक गतिविधिहरू सञ्चालन हुन नसक्दा आर्थिक रूपले विपन्न जनसंख्याको उल्लेख्य अंश रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहिआएको छ । आर्थिक गतिविधिको न्यून सञ्चालन, भौगोलिक अवस्थिति, कमजोर भौतिक पूर्वाधार र प्रविधिको विकास तथा वित्तीय पूर्वाधारको कमीलगायतका कारण बैंक तथा वित्तीय संस्थाको उपस्थिति यस प्रदेशमा अत्यन्त न्यून रहेको छ । प्राप्त तथ्यांक अनुसार यस प्रदेशमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको कुल शाखामध्ये ४४४ वटा शाखा (३.९६ प्रतिशत) रहेको छ । यस तथ्यांकले कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले (लघुवित्त वित्तीय संस्था सहित) ३,५३६ जनालाई वित्तीय सेवा प्रदान गरिरहेको देखाउँछ । त्यसैगरी, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको २२७ वटा शाखा (४.५० प्रतिशत) सञ्चालनमा रहेका छन् भने मुलुकभर रहेका २९,८८६ सहकारी मध्ये १,९६७ सहकारी संस्था (६.५८ प्रतिशत) यस प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । आर्थिक गतिविधि सञ्चालन गर्न पूँजीको आवश्यकता पर्दछ र यस्तो पूँजी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले उपलब्ध गराउँछन् । तर, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाको न्यून उपस्थितिले यस प्रदेशमा आर्थिक गतिविधि सञ्चालन हुन नसकेकाले गरीबीको चाप घट्न सकेको छैन । विगतमा सरकारका तर्फबाट यस प्रदेशमा सञ्चालित गरीबी न्यूनीकरणसँग सम्बन्धित कतिपय कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्नै सकेनन् भने पुगेका कार्यक्रम पनि माछा मार्न सिकाउनेभन्दा पनि माछा मारेर हातमा राखिदिने ढाँचामा सञ्चालन भए । त्यसैले ती कार्यक्रमहरू उपलब्धिमूलक र दिगो हुन सकेनन् । बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थितिले गर्दा बैंकिङ क्षेत्रबाट सञ्चालित गरीबी न्यूनीकरणसँग सम्बन्धित निर्देशित कार्यक्रमहरू स्वाभाविक रूपमा न्यून संख्यामा सञ्चालन हुँदै आएका छन् । यसरी आर्थिक गतिविधिको न्यून सञ्चालन र गरीबीको रेखामुनि रहेको जनसंख्याको अंश उल्लेख्य रहेकाले यस प्रदेशमा ठूला बैैक तथा वित्तीय संस्था भन्दा लघुवित्त वित्तीय संस्थाको उपस्थिति बढी आवश्यक देखिन्छ । लघुवित्त वित्तीय संस्थामार्फत विनाधितो सामूहिक जमानीमा प्रदान गरिने कर्जाले लक्षित वर्गमा स्वरोजगारको विकास गरी आर्थिक गतिविधिमा संलग्न गराउन सहयोग पुग्दछ । तर, लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थितिले त्यस्ता कार्यहरू सञ्चालन हुन नसकेकाले लक्षित वर्गको समग्र अवस्थामा सकारात्मक परिर्वतन हुन सकेको पाइँदैन । उल्लिखित परिदृश्यमा कर्णाली प्रदेशमा हालसालै सञ्चालन गरिएको वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी कार्यक्रमले त्यस क्षेत्रका सर्वसाधारणमा वित्तीय चेतना वृद्धि भई पैसाको सही व्यवस्थापन र वित्तीय कारोवार कसरी गर्ने भन्ने वारेमा जानकारी पाउने अवसर प्राप्त भएको छ । विगतदेखि मुलुकका विभिन्न भागमा सञ्चालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियानलाई निरन्तरता दिने उद्देश्यले नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, नेपाल लघुवित्त बैंकर्स संघलगायतले आ–आफ्ना उत्पादनसँग सम्बन्धित जानकारीमूलक कार्यक्रमहरूले सर्वसाधारणलाई ती उत्पादनसँग परिचित हुने अवसर प्राप्त भएको छ । वित्तीय साक्षरता कार्यक्रमका विभिन्न विधिहरूमध्ये वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम एउटा प्रभावकारी विधि हो । यस्ता कार्यक्रमले वित्तीय कारोबारसँग सम्बन्धित वित्तीय अनुशासन, बजेट र योजना, बचतको महत्त्व, कर्जाको सदुपयोग, विप्रेषण र यसको वैधानिक कारोबार, आयआर्जनका उपायहरू, ब्याजदर, खराब कर्जा र यसले निम्त्याउन सक्ने जोखिम, सफा नोट नीति, विद्युतीय वित्तीय कारोबार लगायतका बारेमा विस्तृत रूपमा जानकारी दिने भएकाले कर्णाली प्रदेशका लक्षित वर्गलाई वित्तीय साक्षरता प्रदान गरी वित्तीय कारोबार र उद्यमशीलतातर्फ आकर्षित गर्न प्रेरणा प्रदान गर्नेछ । लेखक लघुवित्तसम्बन्धमा जानकार व्यक्ति हुन् ।

दिगो आर्थिक विकासका लागि नबिल बैंकसँग सहकार्य

काठमाडौँ – उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ। पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट […]

उद्यमशीलता विकास गर्न कम्युनिटी होमस्टेसँग नबिल बैंकको सहकार्य

नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता र वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्वेश्यले होमस्टेसँग सहकार्य गरेको बैंकले जनाएको छ । सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन्...

नबिल बैंकको वित्तीय साक्षरता

काठमाडौं (अस) । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल पालिकामा नबिल दिगो बैंकिङअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले बित्थडचिर र आलिताल पालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहँुचका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साझेदारीमार्फत पालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहनेलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउनेछ । त्यस्ता कार्यक्रम/तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले बताएको छ । यस्तै, बैंकले बैतडीको पञ्चेश्वर पालिकामा ८ दिने तालिम कार्यक्रम सुरु गरेको छ । पञ्चेश्वरमा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी  ८ दिने तालिम दिइने बैंकले जनाएको छ । कार्यक्रमका लागि बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर पालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । कार्यक्रममार्फत स्थानीय युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम दिएर उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।

बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता

लमजुङ सदरमुकाम बेंसीसहरमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम भएको छ । ग्लोबल आईएमई बैकको आयोजनामा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम भएको हो ।डिजिटल बैकिङसम्बन्धी जानकारी गराइ डिजिटल बैंकिङका प्रविधिहरूमा सेवाग्राहीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले साक्षरता कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, ग्लोबल आईएमई बंैकले लागू […]

लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले बुधवार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउने   साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत् उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो । एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, ड...

कालिकोटमा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच समझदारी समेत गरेको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त साझेदारीमार्फत गाँउपालिकाहरूले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफ

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा लाहानमा

नेपाल इन्भेष्टमेण्ट बैंकले लाहान नगरपालिका–८ सिराहामा आफ्नो ८७ औं शाखाको सुरुवात गरेको छ । नयाँ शाखाका लाहाल नगरपालिकाका मेयर मुनी साह र बैंकका प्रदेश–२ प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान शाखाले आफ्ना ग्राहकलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।नेपाल […]

नेपाल इन्भेष्टमेन्ट बैङ्कको ८७औं शाखा लाहानमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नेछ ।