माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ । संसद सचिवालयले तयार पारेको कार्यसूची 'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।