कृषि कर्जा सहज बनाउन ‘कृषक क्रेडिट कार्ड’ वितरण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिट कार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । धितो दिन नसक्ने र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न नसक्ने कृषकका लागि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए । मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक, मकवानपुरगढी शाखाबाट कृषकले ऋण प्राप्त गर्नेछन् । नेपाल बंगलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्ड मार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । रासस

सम्बन्धित सामग्री

व्यावसायिक किसानलाई क्रेडिट कार्डमार्फत कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक किसानलाई क्रेडिट कार्डमार्फत कर्जा योजनामा आकर्षित गर्न थालेका छन् । कृषि कर्जा विस्तारमा सरकारको जोड र आधुनिक प्रविधि प्रयोगतर्फ सर्वसाधारणको रुचिका कारण बैंकहरूले किसानलाई क्रेडिट कार्डमार्फत कर्जा प्रवाहमा जोड दिन थालेका हुन् । नेपाल राष्ट्र बैंकले कृषि कर्जा अघि बढाउन घोषणा गरेको ‘लिड बैंक’ कृषि विकास बैंकसँगै निजीक्षेत्रका मेगा, सिभिल, नेपाल बंगलादेश, ग्लोबल आईएमईलगायत बैंकले समेत किसान कार्ड विक्री गर्न थालेका छन् । बैंकहरूले स्थानीय निकाय तथा निजी कम्पनीसँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिन थालेका हुन् । यस योजनाअन्तर्गत बैंकले किसानलाई स्वीकृत ऋण रकम क्रेडिट कार्डमार्फत उपलब्ध गराउँछन् । किसानले आफूलाई आवश्यक मल, बीउ, कृषि उपकरणलगायत सामान किन्दा उक्त कार्डमार्फत भुक्तानी दिन सक्ने व्यवस्था छ । यसका लागि सामान विक्री गर्ने विक्रेता पनि बैंकमा आबद्ध भएको हुनुपर्छ । राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७७/७८ को मौद्रिक नीतिमार्फत किसान क्रेडिट कार्डको व्यवस्था गर्ने घोषणा गरेको थियो । केन्द्रीय बैंकको नीतिलाई बल पुग्ने गरी कृषि विकास बैंकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर पोहोर माघमै किसान क्रेडिट कार्ड शुरू गरेको थियो । किसानलाई क्रेडिट कार्डमार्फत वित्तीय सेवाका साथै बजारका सूचनासमेत दिने गरी सेवा सञ्चालनमा जोड दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बताउँछन् । ‘क्रेडिट कार्डबाट किसानले स्वीकृत ऋणसम्म खरीद गर्न पाउँछ,’ उनले भने । बैंकले क्रेडिट कार्ड प्रयोग गर्न किसान एप्स प्रयोगमा ल्याएको छ । यसबाट किसानलाई बजार मूल्य, मौसमी अवस्थाको जानकारीका साथै प्राविधिक सल्लाह दिने गरेको बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै किसान कार्डको व्यवस्था घोषणा गरेपछि निजी बैंकहरू पनि यसमा आकर्षित देखिएका छन् । बैंकहरूले निजी कम्पनीका साथै स्थानीय तहका सरकारसँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिन थालेका हुन् । किसानलाई ससानो ऋण उपलब्ध गराउन क्रेडिट कार्डको सुविधा प्रभावकारी हुने भए पनि प्रयोगमा उनीहरूलाई अभ्यस्त बनाउन प्रचारप्रसार जरुरी रहेको कार्ड जारी गर्न प्राविधिक सेवा दिँदै आएको आर एन्ड डी इनोभेशन सोलुशनकी अध्यक्ष सुनिता नेमाफुकी बताउँछिन् । ‘किसानलाई विनाधितो ससानो ऋण क्रेडिट कार्डमार्फत दिन एकदमै प्रभावकारी हुन्छ,’ उनले भनिन्, ‘क्रेडिट कार्डको रकम तोकिएको केन्द्रमा सामान किन्न मात्र खर्च गर्न सकिने भएकाले कर्जा दुरुपयोगको सम्भावनासमेत कम हुन्छ ।’ कम्पनीले अहिले विभिन्न पालिकासँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिने काम गरिरहेको छ । कृषिक्षेत्रमा वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले बैंकहरूलाई निश्चित प्रतिशत कृषिमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले कुल कर्जाको १५ प्रतिशत कृषिक्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको हो । राष्ट्र बैंकको तालिकाअनुसार बैंकहरूले २०७९ असारसम्ममा कुल कर्जाको १२ प्रतिशत, २०८० असारसम्ममा १३ प्रतिशत, २०८१ असारसम्ममा १४ प्रतिशत र २०८२ असारसम्ममा कृषिमा १५ प्रतिशत लगानी गर्नुपर्नेछ । गत माघसम्ममा बैंकहरूले कृषिक्षेत्रमा ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सरकारले पनि कृषिक्षेत्रमा वित्तीय लगानी बढाउन कृषि कर्जामा ब्याज अनुदान दिइरहेको छ । यस सुविधाअन्तर्गत चालू आवको पुससम्ममा बैंकहरूबाट ५१ हजार ७ सय ५६ सर्वसाधारणले ऋण लिएका छन् । उनीहरूले यो वर्ष १ खर्ब ३६ अर्ब रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

खेतीपाती गर्नेेलाई किसान क्रेडिट कार्ड !

२ साउन, काठमाडौं । सरकारले किसानहरुलाई बेलाबखत विभिन्न आश्वासनहरु बाँड्दै आएको छ । यही सिलसिलामा शुक्रबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा अबदेखि कृषकहरुलाई ‘किसान क्रेडिट कार्ड’ दिइने उल्लेख छ । मौद्रिक नीतिमा ‘कृषि कर्जा’ …