मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

काठमाडौँ,२५ मँसिर । विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको […]

सम्बन्धित सामग्री

वित्तीय साक्षरतालाई यसरी प्रभावकारी बनाऔं

सामान्यतया वित्तीय साक्षरताले पैसाको व्यवस्थापन गर्न सिकाउँछ तर पछिल्लो समय वित्तीय क्षेत्रमा भएको विकास र विस्तारले वित्तीय साक्षरतालाई यत्तिमा नै सीमित राख्न मिल्दैन । वित्तीय साक्षरताले बैंकिङ उत्पादन तथा सेवा सम्बन्धी ज्ञान र शीपको प्रयोग गरी दैनिक जीवनलाई बैंकिङ कारोबारसँग अभ्यस्त बनाउने बानीको विकास गर्न आवश्यक जानकारी दिन्छ । परम्परागत बैंकिङ कारोबारका साथै बैंकिङ क्षेत्रमा प्रयोगमा आएका नयाँनयाँ प्रविधिको प्रयोगमार्फत गरिने वित्तीय कारोबारसम्बन्धी जानकारीसमेत यसभित्र समेटिएको हुन्छ । त्यसैले बैंकिङ उत्पादन र सेवाको उपलब्धता, प्रविधिको विकास र उपलब्धता, सेवाग्राहीलाई दिइने सेवासुविधाले मात्र वित्तीय कारोबारलाई व्यापक र सहज बनाउन सकिँदैन, यसका लागि वित्तीय साक्षरता अपरिहार्य हुन्छ ।  वित्तीय साक्षरताको क्षेत्रमा राष्ट्र बैंकले गरेका कार्य वित्तीय समावेशितालाई वित्तीय क्षेत्रको नवीनतम अवधारणा मानिन्छ । यसअन्तर्गत वित्तीय पहुँच, ग्राहक संरक्षण र वित्तीय साक्षरताका विषयहरू समेटिएका हुन्छन् । गत असार मसान्तसम्ममा मुलुकका ७५३ स्थानीय निकायमध्ये ७५२ मा वाणिज्य बैंकको शाखा पुगिसकेको र ५४ बैंक/वित्तीय संस्थाका ६ हजार ४६१ शाखाहरूले लाखौं सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । जसअनुसार प्रतिशाखाले ४ हजार ५१४ जनालाई वित्तीय सेवा प्रदान गरिरहेका र ५७ ओटा लघुवित्त वित्तीय संस्थाका ५ हजार १२८ शाखाले प्रवाह गरेको वित्तीय सेवालाई समेत जोड्ने हो भने प्रतिशाखा २ हजार ५१७ जनाले वित्तीय सेवा प्राप्त गरिरहेकाले वित्तीय पहुँचको क्षेत्रमा मुलुकले निकै फड्को मारेको देखिन्छ ।  ओईसीडीको सहयोगमा सन् २०२२ मा गरिएको वित्तीय साक्षरतासम्बन्धी सर्वेअनुसार मुलुकमा ५७ दशमलव ९ प्रतिशत जनता वित्तीय दृष्टिकोणले साक्षर भएका, बागमती प्रदेशमा वित्तीय साक्षरताको अवस्था उच्चतम (६४ दशमलव ५ प्रतिशत) र मधेशप्रदेशमा न्यूनतम (५२ प्रतिशत) रहेको देखिन्छ । त्यसैगरी करिब ६२ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला वित्तीय रूपले साक्षर भएको सोही सर्वेको प्रतिवेदनमा उल्लेख छ । उल्लिखित तथ्यांकले सर्वसाधारणको उल्लेख्य संख्या अझै पनि वित्तीय साक्षरताबाट विमुख रहेको देखिन्छ ।  ग्राहक संरक्षणतर्फ नियामकले आवश्यकतानुसार विभिन्न व्यवस्थाहरू गर्दै आएको पाइन्छ । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्थाहरूलाई वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरतासम्बन्धी निर्देशन जारी गरेर सेवाप्रदायक संस्थाहरूलाई सेवाग्राहीप्रति जिम्मेवार बनाएको देखिन्छ । त्यसैगरी वित्तीय कारोबार गर्ने क्रममा ग्राहकवर्गलाई परेका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले ग्राहकको गुनासो सुनुवाइसम्बन्धी व्यवस्था गरेको छ । यसका लागि ग्राहकले आफूलाई परेको मर्काको विवरण बैंकको वेबसाइटमा रहेको गुनासो सुनुवाइको अनलाइन पोर्टल, ईमेल ठेगाना, बैंकका प्रदेशस्थित कार्यालय र टोलफ्री नम्बरमार्फत दर्ता गर्नसक्ने व्यवस्था रहेको छ । त्यसैगरी बैंक/वित्तीय संस्थाले गुनासो अधिकारीसहितको सूचना तथा गुनासो सुनुवाइ डेस्कको सञ्चालन गर्नुपर्ने र सेवाग्राहीलाई बैंक/वित्तीय संस्थाले प्रदान गरेको सेवासुविधासँग सम्बन्धित सम्पूर्ण जानकारी दिनुपर्ने व्यवस्था गर्दै आएको छ । उल्लिखित अवस्थालाई हेर्दा वित्तीय पहुँच र ग्राहक संरक्षणको क्षेत्रमा विगतदेखि नै विभिन्न कार्य सञ्चालन हुँदै आएको भए पनि वित्तीय साक्षरता पर्याप्त नभएकाले यी कार्य प्रभावकारी हुन नसकेको देखिन्छ । त्यसैले वित्तीय साक्षरतासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले राष्ट्र बैंकले वित्तीय समावेशिता र ग्राहक संरक्षण महाशाखाको व्यवस्था गरी वित्तीय साक्षरता, गुनासो सुनुवाइ, ग्राहक संरक्षण र यससँग सम्बन्धी कार्यहरूलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्दै आएको छ । बैंकले वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले विगतदेखि विद्यार्थीसँग नेपाल राष्ट्र बैंक र सर्वसाधारणका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी बैंकको वेबसाइटमा भिडियो क्लिप, चेतनामूलक गीतहरूको सँगालो, पाठ्यसामग्री, फाइनान्सियल लिटरेसी डिजिटल ब्यानर, फाइनान्सियल अवेरनेस ब्यानर, वित्तीय साक्षरता मार्गदर्शन, २०७८, वित्तीय साक्षरता पे्रmमवर्क, २०२२ लगायत वित्तीय साक्षरतासँग सम्बन्धित विभिन्न सामग्री राखिएका छन् ।  समावेशी वित्तीय सेवाबाट मात्र मुलुकका सबै तह र तप्काका जनतालाई वित्तीय पहुँचमा समेट्न सकिन्छ । यसका लागि वित्तीय साक्षरता एउटा अनिवार्य शर्त भएकाले आगामी दिनमा यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने हुन्छ । सेवाग्राहीलाई वित्तीय रूपले साक्षर बनाउन सामाजिक उत्तरदायित्व कोषको कम्तीमा ५ प्रतिशत रकम प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ । यसका साथै, हरेक वर्ष बैंकको संयोजनमा विश्व वित्तीय सप्ताह कार्यक्रमका अवसरमा बैंकिङ तथा गैरबैंकिङ संस्थाहरू, सहकारीलगायत संस्थाहरूमार्फत वित्तीय साक्षरतासँग सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने र त्यस्ता कार्यक्रमलाई वर्षैभरि निरन्तरता दिन अभिप्रेरित गर्दै आएको छ । यसैबीच वित्तीय साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउन बैंकले हालै २५ जना अनुभवी सहजकर्ताको रोस्टर तयार गर्ने कार्य सम्पन्न गरेको छ । अब के गर्नुपर्छ ? नेपाल राष्ट्र बैंक र बैंक/वित्तीय संस्थाले विगतदेखि सञ्चालन गर्दै आएकोे वित्तीय साक्षरता सम्बन्धी कार्यहरूले सर्वसाधारणमा वित्तीय साक्षरताको अवस्थामा सुधार ल्याएको कुरामा द्विविधा छैन तर यतिमा नै सन्तोष मानेर बस्ने अवस्था भने अझै बनिसकेको छैन । मौद्रिक अधिकारीको हिसाबले राष्ट्र बैंकले र नियामकीय प्रावधानको अनुपालना गर्दै बैंक/वित्तीय संस्थाद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रम आपूर्तिपक्षबाट सञ्चालन हुँदै आएका कार्यक्रम हुन् । मागपक्षबाट सञ्चालन भएका यस्ता कार्यक्रमको संख्या नगण्य रहेको देखिन्छ । वित्तीय साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउन माग पक्षबाट पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि वित्तीय साक्षरता कार्यक्रमलाई राष्ट्रिय मुद्दाका रूपमा उठान गर्नुपर्छ ।  स्थानीय तह (पालिकास्तर) मा सञ्चालन गर्नेगरी नेपाल सरकारले वित्तीय साक्षरता कार्यक्रमलाई बजेटमा नै समेट्न सकेमा त्यस क्षेत्रमा रहेका सर्वसाधारणलाई वित्तीय दृष्टिकोणले साक्षर बनाउन सहज हुन्छ । त्यसैगरी राजनीतिक पार्टीले आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत रहेका कार्यकर्ता तथा समर्थकहरूलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराउन सकेमा यसबाट ठूलो संख्या लाभान्वित हुनसक्ने देखिन्छ । त्यसैगरी माध्यमिक तहमा बैंकिङ क्षेत्रसँग सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न सकेमा उक्त तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई वित्तीय कारोबारका बारेमा आवश्यक जानकारी प्रदान गर्न सकिन्छ ।  विद्यार्थीहरूले किसान, साना उद्यमी, महिला, निश्चित आम्दानी भएका रोजगार व्यक्ति, विप्रेषण प्राप्त गर्ने परिवार आदिबाट प्रतिनिधित्व गर्ने भएकाले एकातिर विद्यार्थीमार्फत परिवारका सदस्यहरूसमेत वित्तीय रूपले शिक्षित हुन्छन् भने अर्कोतिर वार्षिक करीब ५ लाख विद्यार्थी माध्यमिक तह (एसईई) उत्तीर्ण भई उच्चशिक्षा/श्रमबजारमा जाने भएकाले वित्तीय साक्षरताका दृष्टिकोणले यो फोरम उपयुक्त हुने देखिन्छ । सामान्यतया मागपक्षबाट सञ्चालन गरिने कार्यक्रममा सहभागीहरूलाई कार्यक्रमबारे जान्ने र बुझ्ने इच्छाशक्ति मनैबाट पैदा हुने भएकाले यस्ता कार्यक्रम तुलनात्मक रूपमा बढी उपलब्धिमूलक हुने गरेको पाइन्छ । समावेशी वित्तीय सेवाबाट मात्र मुलुकका सबै तह र तप्काका जनतालाई वित्तीय पहुँचमा समेट्न सकिन्छ । यसका लागि वित्तीय साक्षरता एउटा अनिवार्य शर्त भएकाले आगामी दिनमा यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने हुन्छ । त्यसैले वित्तीय साक्षरता कार्यक्रमलाई उपलब्धिमूलक बनाउन माग र आपूर्ति दुवै पक्षबाट नै सञ्चालन गर्नुपर्ने र यसका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक/वित्तीय संस्था, स्थानीय निकाय तथा सरोकारवाला सबैको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।  लेखक लघुवित्त सम्बन्धी जानकार हुन् ।

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम...

वित्तीय साक्षरता मार्गदर्शन २०७८ ले वित्तीय पहुँच मा पार्ने प्रभाव

वित्तीय साक्षरता अभियानलाई थप व्यवस्थित र नियमित बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले गत माघ ३ गतेदेखि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यान्वयनमा ल्याएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सोही मार्गदर्शनबमोजिम वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय साक्षरताको पूर्वाधार निर्माण गर्ने, अध्ययन सामग्रीको उचित प्रयोग गर्ने, कार्यक्रमको अनुगमन गर्ने, वित्तीय चेतना, ज्ञान र शीपको अभिवृद्धि गर्ने र वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यहरूलाई मार्गदर्शनले समेटेको छ । यसैगरी सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन र पत्रपत्रिका), पम्प्लेट, कथा, कविता, सडक नाटकजस्ता विभिन्न पाठ्यसामग्रीका माध्यमबाट रोजगारप्राप्त व्यक्ति, कृषक, उद्यमी, विद्यार्थी, महिला, विप्रेषण प्राप्त गर्ने वर्गलाई समेट्नेखगरी प्रभावकारी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयलाई मार्गदर्शनमा उल्लेख गरिएको छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई श्रव्यदृश्य तथा छापा आदि माध्यमहरूबाट प्रसारण र प्रकाशन गर्ने र ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’लगायत कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको थियो । सोहीअनुरूप राष्ट्र बैंकले टेलिभिजनमार्फत वित्तीय कारोबारसँग सम्बद्ध विभिन्न जानकारीमूलक श्रव्यदृश्य कार्यक्रमहरू प्रसारण गर्ने, वित्तीय चेतनामूलक गीतहरूको सँगालो जारी गर्ने, वित्तीय ज्ञान अभिवृद्धि गर्ने पाठ्यसामग्रीहरूको प्रकाशन गर्नेलगायत वित्तीय साक्षरतासँग सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले भौगोलिक अवस्थितिको आधारमा स्थानीय विद्यालयमै गई वित्तीय जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारण जनतालाई वित्तीय साक्षरता प्रदान गर्नेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । उल्लिखित कार्यक्रमहरू राष्ट्र बैंक आफैले र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू, सहकारी आदिमार्फत सञ्चालन हुँदै आएको छ । वित्तीय साक्षरता अभियानलाई राष्ट्र बैंक आफैले सञ्चालन गर्दै आएको र यस अभियानलाई विस्तार गरी मुलुकव्यापी बनाउनका लागि बैंक तथा वित्तीय संस्थाको संलग्नता प्रभावकारी हुने कुरालाई मनन गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्र्ने निर्देशन पनि जारी गरेको छ । यसअनुरूप सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने र उक्त कोषबाट सञ्चालन गरिने कार्यक्रममध्ये ५ प्रतिशत रकम वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरूका लागि खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकले प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च हुनेगरी गर्नुपर्ने व्यवस्था रहेको छ । विपन्न तथा न्यून आय भएका सर्वसाधारणहरू लघुवित्त वित्तीय संस्थाका लक्षित वर्ग हुन् । यस वर्गको वसोवास विशेषगरी दुर्गम तथा विकासका दृष्टिकोणले ओझेल परेका क्षेत्रमा हुने भएकाले अधिकांश लक्षित वर्गको कमजोर साक्षरता अवस्था, कमजोर आर्थिक अवस्था, यातायात र सञ्चारमाध्यमको न्यून उपलब्धता, विकट भौगोलिक अवस्था, वित्तीय पहुँचको न्यूनतालगायत अवस्था रहेको हुन्छ । ती क्षेत्रमा बसोवास गर्ने विशेषगरी लघुवित्तका लक्षित वर्गमा वित्तीय साक्षरताको स्तर पनि कमजोर रहेको पाइन्छ, जसका कारण उनीहरूलाई लक्ष्यअनुरूप वित्तीय पहुँचले समेट्न सकेको पाइँदैन । त्यसैले लक्षित वर्गलाई लघुवित्तीय सेवाप्रति आकर्षित गराउन उनीहरूलाई वित्तीय दृष्टिकोणबाट साक्षर बनाउनु जरुरी हुन्छ । लघुवित्त क्षेत्रले लक्षित वर्गको पहिचान गरी सदस्य बनाउने क्रममा नै बचत, कर्जा, भुक्तानी तालिका, किस्ता रकम र सोको ब्याज भुक्तानी, खराब कर्जा र वित्तीय जोखिमले निम्त्याउन सक्ने दुर्घटनालगायत विषयमा सदस्यलाई जानकारी दिने प्रबन्ध मिलाउनुपर्ने सैद्धान्तिक व्यवस्था रहेको छ । यसैको आधारमा लक्षित वर्गले लघुवित्त वित्तीय संस्थासँग आबद्ध भई वित्तीय कारोबारको माध्यमबाट आफ्नो आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले लघुवित्तीय सेवाको विस्तार हुन सक्छ । पूँजी अभावमा आर्थिक गतिविधिमा संलग्न हुनबाट वञ्चित भएको लक्षित वर्गलाई लघुवित्तीय सेवामा आबद्ध गराई स्वरोजगारीताको माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिन्छ । यसरी वित्तीय साक्षरताको माध्यमबाट ग्रामीण र पिछडिएको क्षेत्रमा वित्तीय पहुँचको विस्तार गरी गरीबीको मात्रालाई न्यूनीकरण गर्न सहयोग पुग्छ । बैंक तथा वित्तीय संस्थामा आबद्ध गराई सर्वसाधारणलाई वित्तीय कारोबारभित्र समेट्नुलाई वित्तीय पहुँच र पैसा तथा वित्तीय उत्पादनको उचित तवरले व्यवस्थापन गर्नसक्ने क्षमताको विकास गर्नुलाई वित्तीय रूपले साक्षर भएको मानिन्छ । वित्तीय साक्षरताले सर्वसाधारणलाई वित्तीय कारोबार गर्ने प्रक्रिया, विभिन्न वित्तीय उत्पादनको जानकारी र त्यसको उचित उपयोग, प्रविधिमैत्री वित्तीय उपकरण र त्यसको प्रयोग, वित्तीय कारोबारसँग सम्बद्ध जोखिम र त्यसको न्यूनीकरणजस्ता विषयमा जानकारी दिलाउँछ । विगतदेखि नै वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका उच्च शिक्षा प्राप्त गरेका उच्च पदस्थ व्यक्ति, व्यवसायीहरू, जागीरे वर्ग पनि वित्तीय रूपले साक्षर नभएका हुन सक्छन् भने समाजको तल्लो तहमा रहेका सर्वसाधारण त वित्तीय साक्षरताका दृष्टिकोणले कमजोर हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । त्यसैले समाजमा रहेका सबै तह र तप्काका मानिसलाई वित्तीय शिक्षाको आवश्यकता पर्ने भएकाले उमेर, वर्ग, शिक्षाको स्तर, कार्य र बसोवास गर्ने क्षेत्र, आर्थिक अवस्था आदिको आधारमा वित्तीय साक्षरताका लागि उपयुक्त कार्यक्रम छनोट गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । वित्तीय पहुँच र वित्तीय साक्षरता एकअर्काका पुरक हुन् । वित्तीय साक्षरताविना वित्तीय पहुँचको उपलब्धताले मात्र गुणस्तरीय वित्तीय सेवा सञ्चालन हुन सक्दैन । सेवाग्राहीलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्न र सर्वसाधारणलाई वित्तीय सेवाप्रति आकर्षित गर्नका लागि वित्तीय साक्षरता र वित्तीय पहुँचको उत्तिकै महŒव रहेको हुन्छ । त्यसैले विगतदेखि राष्ट्र बैंकबाट सञ्चालन गरिँदै आएका वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको समीक्षा गर्र्दै जारी भएका निर्देशन र मार्गदर्शनको अनुपालन गरी अघि बढेमा वित्तीय साक्षरताले आशातीत गति लिने र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।