तयारी दाल र कच्चा पदार्थको भन्सार दरमा १० प्रतिशतको भिन्नता हुनुपर्छ

काठमाडौं । नेपालमा दाल मिल सञ्चालन गर्दै आएका उद्योगीहरू तयारी दाल र कच्चा पदार्थको भन्सार दरमा १० प्रतिशतको भिन्नता हुनुपर्ने माग राख्दै आएका छन् । आयातित दालका कारण आफूहरू मर्कामा परेको भन्दै उद्योगीहरू विभिन्न कालखण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र अर्थ सचिवसमक्ष आफ्ना मागहरू राख्दै आएका छन् । आफूहरूले विभिन्न तहमा राखेका मागको सुनुवाइ भने कतैबाट नभएको उनीहरूको गुनासो छ ।   स्वदेशी उद्योगलाई जोगाउनुपर्ने भन्दै दाल मिल उद्योगीहरूले आगामी बजेटमा विभिन्न मागहरू राखेका छन् । उद्योगीहरूको प्रमुख माग तयारी दाल र कच्चा पदार्थको भन्सार दरमा १० प्रतिशतको भिन्नता हुनुपर्ने भन्ने रहेको छ । यसका साथै उद्योगीहरूले दाल निर्यात गर्दा अनुदान पाउनुपर्ने, विद्युत् महशुलमा छूट, कर्जामा सहुलियत, दक्ष जनशक्तिका लागि प्राविधिक तालीम केन्द्र स्थापनालगायत मागहरू राखेका छन् ।  नेपालमा वार्षिक अर्बौं रुपैयाँको कच्चा दाल र तयारी दाल आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ को पाँच वर्षको समय अवधिमा मात्रै ८२ अर्ब ३१ करोड रुपैयाँको दाल आयात भएको छ ।  विभागका अनुसार चालू आर्थिक वर्षको दस महीनामा मात्रै ११ अर्ब ९५ करोड रुपैयाँको विभिन्न प्रकारका दालहरू आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १५ अर्ब ७४ करोड रुपैयाँको दाल आयात भएको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैतसम्मको तुलनामा चालू आर्थिक वर्षको चैतसम्म २४ दशमलव शून्य ९ प्रतिशतले आयात घटेको छ ।  म्यानमार, चीन, भारत, क्यानडा, अमेरिकालगायत मुलुकबाट तयारी दाल आयात हुँदा नेपाली दाल मिल उद्योगहरू मर्कामा परेको उद्योगीहरूले गुनासो गर्दै आएका छन् ।  नेपाल चामल, तेल, दाल, उद्योग संघका अनुसार नेपालमा झन्डै चार दशकदेखि दाल उद्योगहरू सञ्चालनमा छन् । हाल नेपालमा आयातितका साथै स्वदेशी कच्चा पदार्थ प्रयोग गरी दाल उत्पादन गर्ने उद्योगहरूको संख्या २५ रहेको छ । अहिले राज्यको नीतिका कारण नेपालका दाल उद्योगहरू धराशयी भएको उद्योगीहरूले गुनासो राख्दै आएका छन् ।  संघका अनुसार सञ्चालनमा रहेका २५ उद्योगहरूमा प्रविधि, जनशक्तिलगायत गरी करीब १५ अर्ब रुपैयाँको लगानी रहेको छ । यस्तै यी उद्योगहरूमा करीब ५/६ हजारले प्रत्यक्ष र करीब १०/१२ हजारले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । सरकारले तयारी दाल र दालको कच्चा पदार्थबाट समान भन्सार शुल्क लिने नीति अवलम्बन गर्दा उद्योगमा गरिएको अर्बौंको लगानीसमेत धराशयी हुने अवस्थामा पुगेको उद्योगीहरूको गुनासो छ । नेपालमा कच्चा दाल र तयारी दाल आयात गर्दा दुवैको १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । दुवै वस्तुको समान भन्सारदर हुँदा विदेशी तयारी दालसँग नेपाली उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकेका कारण दाल उद्योगहरू संकटमा परेको उद्योगीहरूको निष्कर्ष छ । नेपाल चामल, तेल, दाल, उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ता भन्छन्, ‘धराशयी बन्न लागेका स्वदेशी दाल उद्योगहरूलाई संरक्षण गर्न राज्यले कच्चा दाल र तयारी दालका लागि दुई तहको भन्सार शुल्क निर्धारण गर्नुपर्छ ।’ कच्चा दाल आयात गर्ने उद्योगहरूलाई सहुलियत दिनुका साथै स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल नेपाल आयात गर्दा १ दशमलव ५ प्रतिशत एड्भान्स इन्कम ट्याक्स पनि लिनुपर्ने गुप्ताको भनाइ छ ।  ‘कच्चा दालको तुलनामा तयारी दालको भन्सार शुल्कको कम्तीमा १० प्रतिशत बढी गर्ने हो भने स्वदेशी उद्योगहरू प्रोत्साहन हुनुका साथै राजस्व पनि वृद्धि हुन्छ,’ उनले भने, ‘तयारी दाल आयात गर्दा व्यापारीलाई मात्र फाइदा हुन्छ ।’  नेपालका धेरै उद्योगहरूले फरक भन्सार दरमार्फत संरक्षण पाइरहेको अवस्थामा दाल उद्योगहरूले वषौंदेखि माग गर्दै आएको दुई तहको भन्सार दरको सुविधा प्राप्त गर्न नसकेको कारण स्वदेशी दाल उद्योग प्रभावित बनेको गुप्ताले गुनासो गरे । ‘सरकारले दाल निर्यात गर्दा दिँदै आएको ४ प्रतिशत अनुदान हटाएका कारण त्यसको प्रत्यक्ष असर दाल निर्यातमा पनि भएको छ,’ गुप्ताले भने, ‘अहिले सरकारको दाल निकासी गर्दा प्रतिकिलो १ रुपैयाँ निकासी शुल्क लिने नीतिका कारण अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेकाले बंगलादेश निकासी हुन छोडेको छ ।’ विगतमा नेपालले बंगलादेशमा दाल निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको उनको भनाइ छ । नेपालमा पर्याप्त दक्ष जनशक्तिको अभाव रहेको बताउँदै गुप्ता भन्छन्, ‘हामी कच्चा पदार्थ मात्र नभएर दाल मिलमा आवश्यक पर्ने जनशक्तिको लागि पनि भारतमै निर्भर छौं । त्यसैले उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्तिका लागि वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्जजस्ता औद्योगिक कोरिडोरहरूमा प्राविधिक तालीम केन्द्र सञ्चालन गरिनु आवश्यक छ । त्यसका लागि भारतका साथै अन्य विभिन्न निकायहरूसँग सहकार्य पनि गर्न सकिन्छ ।’ २०४६ सालदेखि दुर्गा मोडर्न दाल मिल सञ्चालन गर्दै आएका वृजेशकुमार अग्रवाल विगत १०/१५ वर्षअघिसम्म आफूहरूले नेपाली मुसुरोमा नै वर्षभरि मिल चलाउने गरेको सम्झन्छन् । ‘त्यसबेला हामीले उत्पादन गरेको नेपाली मुसुरो दाल बंगलादेशलगायत मुलुकमा निर्यात हुन्थ्यो,’ उनले भने, ‘अहिले भने उत्पादन घट्दै गएका कारण नेपाली मुसुरोबाट तीन महीना पनि हाम्रो उद्योग चल्दैन । हामी हाम्रो उद्योग चलाउन भारत, क्यानडालगायत मुलुकबाट दालको कच्चा पदार्थ ल्याउन बाध्य भएका छौं ।’  तयारी दाल र कच्चा पदार्थ दुवैको भन्सार शुल्क १० प्रतिशत भए पनि साफ्टा सम्झौताका कारण तयारी दालमा १ प्रतिशत छूट पनि छ । ‘कच्चा पदार्थ आयात गरेर दाल उत्पादन गर्दा रू. १२५ देखि १३० सम्म पर्छ, तर बजारमा आयातित तयारी दाल नै रू. ११६ मै पाइन्छ,’ अग्रवाल भन्छन्, ‘त्यसैले हामीले उत्पादन गरेको अहिले बजार पाउन नै मुस्किल छ । बजार पाउँदा पनि घाटामा बेच्नुपर्ने अवस्था छ ।’ अग्रवालका अनुसार स्वदेशी दाल उद्योगहरूलाई सरकारले भन्सारमा छूटका साथै विद्युत् महसुलमा छूट, कर्जामा सहुलियतलगायतको व्यवस्था गर्ने हो भने यहाँको उद्योगहरूको उत्पादन बढ्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत मिल्छ । त्रिवेणी दाल तथा तेल उद्योगका सञ्चालक विशाल खण्डेलवाल आयातित तयारी दालका कारण आफूहरूले बजार नपाएको बताउँछन् । ‘बाहिरबाट आयात गरिएको तयारी वस्तुका कारण हामीले बजार पाइरहेका छैनौं,’   उनले भने, ‘त्यसैले धेरैजसो दाल मिलहरू घाटामा चलिरहेका छन् । हामीले नेपाली बजारमा दाल बेच्दा पनि क्यानडा, भारतलगायत मुलुकबाट तयारी वस्तु ल्याउने आयातकर्ताहरूसँग प्रतिस्पर्धा गर्ने अवस्था छैन ।’  खण्डेलवालका अनुसार भारतमा अन्य मुलुकहरूबाट शून्य प्रतिशत ड्युटीमा दालको कच्चा पदार्थ आयात हुँदा नेपालमा भने तयारी र कच्चा दाल दुवैको भन्सार शुल्क नै १० प्रतिशत छ । त्यसैले नेपाली उद्योगहरू भारतबाट आयात हुने दालसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । उद्योगमा गरिएको लगानी जोखिममा रहेको विषय उल्लेख गर्दै खण्डेलवाल भन्छन्, ‘हामीले कामदारलाई समयमा पैसा दिन पनि सकिरहेका छैनौं । त्यसैले दाल उद्योगलाई धराशयी हुनबाट जोगाउन सरकारले कच्चा पदार्थ र तयारी वस्तुबीच १० प्रतिशतको अन्तर राख्नुपर्छ ।’ महावीर ओभरसिज प्रालिका व्यवस्थापक धनञ्जयकुमार सिंह नेपालमा पर्याप्त खेतीयोग्य जग्गा हुँदाहुँदै पनि उत्पादन नभएका कारण उद्योग सञ्चालनका लागि तेस्रो मुलुकको उत्पादनमा निर्भर हुनुपरेको बताउँछन् । ‘हामी अहिले दालको कच्चा पदार्थका लागि क्यानडा, भारतलगायत मुलुकमा निर्भर छौं । हामीसँग नै पर्याप्त जमीन र आवश्यक स्रोत र साधन छ,’ उनले भने, ‘हामी विगतमा झैं दालको कच्चा पदार्थ यहाँ नै उत्पादन गरेर अन्य मुलुकमा दाल निर्यात गर्न सक्षम पनि छौं । सरकारले भने किसानहरूलाई त्यही अनुरूप प्रोत्साहन गर्नुका साथै उद्योगीहरूलाई उद्योग सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक छ ।’   अर्थतन्त्रलाई चलायमान बनाउन र स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्न हामी कहाँ चुकेका छौं भनेर अब समीक्षा गर्ने बेला आएको उनी बताउँछन् । ‘अन्य मुलुकहरूबाट कच्चा पदार्थ आयात गर्नु हामी उद्योगीहरूको बाध्यता छ । त्यसैले राज्यले विभिन्न परियोजनाहरूमार्फत यहाँको किसानहरूलाई प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने । यस्तै स्वदेशी दाल मिल उद्योगहरूलाई प्रोत्साहन गर्न आवश्यक भन्सार शुल्क घटाउनुका साथै तयारी र कच्चा पदार्थको भन्सारमा १० प्रतिशतको फरक हुनुपर्ने उनले बताए । आशिर्वाद दाल मिल प्राइभेट लिमिटेडका सञ्चालक प्रमोदकमार शाह आफूहरूको लगानी खतरामा रहेको उल्लेख गर्दै उद्योगीहरूले कृषि कर्जामा सहुलियत नपाएको र कर्जाको चर्को ब्याजदर पनि तिर्दै आएको बताउँछन् । यस्तै खुला सिमानाका कारण अवैध बाटोबाट दाल नेपाल भित्रिँदा स्वदेशी उद्योगहरूलाई बजार पाउन पनि मुश्किल भएको उनको भनाइ छ । ‘कच्चा पदार्थहरू भारतको बन्दरगाहबाट नेपाली वीरगञ्जसम्म ल्याउँदा लागत महँगो छ तर भारतीय उद्योगले त्यही कच्चा पदार्थहरू कम मूल्यमा आयात गरिरहेका छन् । भारतीय उद्योगहरूले कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क पनि लाग्दैन । त्यसैले हामीले यहाँ दाल उत्पादन गरेर भारतीय दालसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । त्यसैले अहिले हाम्रो लगानी खतरामा परेको छ,’ उनले भने, ‘राज्यले नेपाली दाल उद्योगलाई साँच्चै नै जोगाउने हो भने दुई तहको भन्सार शुल्क बनाएर स्वदेशी दाल उद्योगहरूलाई जोगाउन आवश्यक छ ।’  

सम्बन्धित सामग्री

बन्दरगाह भन्सारलाई ‘अवैध व्यापारी’ले टेरेनन्

वीरगञ्ज। ड्राइपोर्टबाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याएको खुलासा भएपछि त्यस्ता व्यवसायीलाई बयानका लागि उपस्थित गराउने भन्सारको प्रयास असफल भएको छ ।  फरक वस्तु घोषणा गरेर प्र्रतिबन्धित मालसामान भित्त्याउने आयातकर्तालाई उपस्थित हुन पत्र काटेको १ महीनाभन्दा बढी भइसकेको छ । त्यस्ता कारोबारीले अटेर गरेपछि नेपाल राष्ट्र बैंकमार्फत विवरण खोज्ने काममा भन्सार प्रशासन लागेको छ ।  चार वर्षभन्दा लामो समयदेखि भन्सारमा थन्किएका कन्टेनर लिलामको प्रक्रिया अघि बढाएपछि यस्तो रहस्य खुलेको थियो । ४०० कन्टेनरमध्ये करीब सयओटा कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएको थियो ।  भन्सारले पत्र काटेकामध्ये कोही पनि उपस्थित नभएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख रामप्रसाद मैनालीले बताए । अनुसन्धानमा तान्नुपर्ने आयातकर्ता उपस्थित नभएपछि नेपाल राष्ट्र बैंकमार्फत थप विवरण मागिएको उनले बताए । ‘व्यापारीले आयातका लागि कागजात बनाएका बैंकहरूसँग थप जानकारी लिने काम भइरहको छ । अन्य वस्तु लिलामीको प्रक्रिया अघि बढाएका छौं,’ मैनालीले भने ।  केही ठूला व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको पोल खुलेको हो । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, मदिरा, हार्डवेयरका सामानमा स्कूटरलगायत फेला परेको थियो । गिरोहले भन्सारको हरियो लेनमा जाँचपास हुने वस्तु घोषणा गरेर प्रतिबन्धित वस्तु भित्त्याउने गरेको खुलासा भएको थियो । यो तथ्य खुलेपछि भन्सार विभागले जाँचपासमा हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका मालसामान भित्रिने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएपछि जोखिम मूल्यांकन समितिले लेन नै हटाइदिएको हो ।  भन्सारमा हरियो, पहेँलो र रातो लेनमा जाँचपास हुन्छ । हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । यो लेनमा आउने वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेँलोमा कागजातको जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेरमात्रै छोडिने भन्सार अधिकारी बताउँछन् । सरकारले २०७६ चैतमा केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका बेला तत्कालीन सत्ताधारी, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा यो काम भएको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए ।

व्यवसायीको प्रश्न : भन्सारको कर्तव्य व्यापार सहजीकरण कि हस्तक्षेप ?

वीरगञ्ज। भन्सारलाई वैदेशिक व्यापार सहजीकरण गर्ने निकाय भनिए पनि भन्सार नीतिकै कारण व्यापार असहज बन्दै गएको निजीक्षेत्रले बताएको छ । भन्सार प्रक्रियामा पाइलैपिच्छे नीति र भन्सार अधिकारीहरूले नियतपूर्वक गर्ने हस्तक्षेपले वैदेशिक व्यापार अत्यन्तै कठिन काम बन्दै गएको व्यापारीले बताएका छन् । अवधारणमा व्यापार सहजीकरण भनिए पनि व्यवहारमा राजस्वमुखीमात्र बन्दा भन्सारका कारण व्यापारी पीडित बनेको सबैभन्दा ठूलो भन्सार कार्यालय रहेको वीरगञ्ज नाकाका व्यवसायीले बताएका छन् ।  आयातित मालवस्तुको भन्सार मूल्यांकनको क्रममा प्रतिष्ठित कम्पनीको बिल बिजकमा अंकित मूल्यलाई भन्सारले मान्यता नदिँदा मूल्यांकनमा झमेला हुने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । ‘भारतीय सरकारले जारी गरेको आधिकारिक वस्तु तथा सेवा करको बिल र त्यहाँको भन्सारले जारी गरेको बिल अफ एक्सपोर्टलाई आधार बनाएर मूल्यांकन गरिनुपर्छ,’ संघका अध्यक्ष अनिल अग्रवालले भने ।  भन्सारले सूचना मूल्यका आधारमा मूल्यांकन गर्ने र त्यसमाथि ५० प्रतिशत जरिवाना लिँदा झन् समस्या थपिएको आयातकर्ताले बताएका छन् । ‘भन्सारले मूल्यांकनको प्रमुख आधार भन्सार सन्दर्भ मूल्यपुस्तिकालाई नै बनाएको हुन्छ । सन्दर्भ मूल्यभन्दा कम मूल्यको बिल बिजक पेश गरेमा भन्सारले जरिवाना लिने गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ देखि त अन्त:शुल्कमा समेत जरिवाना लिन थालेको छ,’ वरिष्ठ उपाध्यक्ष हरि गौतमले भने, ‘जरिवाना जोगाउनकै लागि आयातकर्ताले वस्तुको वास्तविक मूल्यभन्दा बढी रकमको एलसी खोल्ने गरेका छन् । पठाइएको बढी रकम हुन्डीबाट भित्रिन्छ ।’ हालै भन्सार विभागले लाइटरको मूल्यांकनमा गरेको लफडा यसको पछिल्लो उदाहरण भएको अग्रवालले बताए । भन्सार कार्यालयहरूले राजस्व बढी उठाउनकै लागि वस्तुको हार्मोनाइज्ड सिस्टम कोड आफूखुशी परिवर्तन गरेको गुनासो व्यापारीले गरेका छन् । भन्सार अधिकारीहरूले जीएसटी, साफ्टा जस्ता बिललाई मान्यता नदिएर कोड परिवर्तन गरेको उपाध्यक्ष माधव राजपालले बताए । कति अधिकारीले यसलाई अनधिकृत आर्जनका लागि व्यवसायीसँग बार्गेनिङको माध्यम पनि बनाउने गरेको व्यापारी बताउँछन् ।  एलसीबाट आयात भएको मालसामानलाई मात्र साफ्टा सहुलियत दिने गरिएकोमा यो नीति अव्यावहारिक भएको राजपालले बताए । डीएए, आरटीजीएस, डीएपी, टीटीजस्ता बैंकिङ प्रक्रियाबाट आएको मालसामानमा पनि यो सहुलियत दिनुपर्ने माग  व्यापारीको छ ।  भन्सार महशुलमा चित्त नबुझेर धरौटीमा राखिएको रकम आयातकर्तालाई जानकारी नै नदिई सदरस्याहा गर्ने गरेकोप्रति व्यवसायीले आपत्ति जनाउँदै आएका छन् । तेस्रो मुलुकबाट आयात भएको औद्योगिक उपकरणको पार्टपूर्जा भारतबाट ल्याउन नदिनु पनि भन्सारको अव्यावहारिक नीति भएको वरिष्ठ उपाध्यक्ष गौतमले बताए । भन्सार प्रक्रियामा देखिएका यस्ता अप्ठ्यराहरूको समाधानका लागि संघले सरकारलाई लिखित रूपमै ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।  सरकारले आर्थिक वर्ष २०७३/७४ देखि दाल उद्योगको कच्चा पदार्थ मसुरो, मुंग, मास र रहरको दाना आयातमा ५० प्रतिशत महशुल छूट दिने गरेकोमा अहिले तयारी दाल र दानाको भन्सार महशुृल बराबर बनाएपछि दाल उद्योग संकटमा परेको व्यवसायीले बताएका छन् ।

कृषि उद्योगमा विरोधाभासपूर्ण नीति

कृषि उद्योगविना कृषिको व्यवसायीकरण हुन कठिन हुने तथा यसविना कृषिको विकास हुन नसक्ने यथार्थ भए पनि सरकारले कृषि उद्योगलाई प्राथमिकतामा राखेको पाइँदैन । अहिले चामल, तेल दाल उद्यमीले सरकारलाई यस उद्योगका समस्याका बारेमा बताइरहेका छन् तर सरकारले उद्यमीका समस्या समाधान गर्न चासो कमै दिएको पाइन्छ ।  कृषि उद्योगको विकासले कृषि उपजको बजारीकरण हुन्छ तर सरकारको नीति कृषि उद्योगका बारेमा विरोधाभासपूर्ण देखिन्छ । चामल, दाल आदि केही कृषि वस्तुको निर्यातमा सरकारले १ प्रतिशत निर्यात कर लगाइरहेको छ । अन्य वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारले बलियो सम्भावना भएको प्राथमिक क्षेत्र कृषि भित्रको चामल, दाल निर्यातमा भने कर लिइरहेको छ । हो, नेपाल कृषिमा परनिर्भर भइरहेको छ । त्यसैले आयात कम हुन दिन चामल, दालको निर्यातमा कडाइ गरेको हुन सक्छ । तर, यस्तो कडाइले कृषकहरू निरुत्साहित हुनेतर्फ भने सरकारको ध्यान जान सकेको छैन । नेपालमा महँगोमा विक्री हुन नसकेको कुनै प्रजातिको चामल भारतमा राम्रो माग छ र नेपालमा भन्दा बढी मूल्य प्राप्त हुन्छ । तर, यस्तो चामल निर्यात गर्दा सरकारले १ प्रतिशत कर लिनुमा तर्कसंगत देखिन्न । निर्यातमा किन कर लिन परेको हो सरकारले स्पष्ट पार्न सकेको छैन ।  चामल निर्यातमा कर लगाएको सरकारले यसको आयातमा पनि कर लगाएको छ । एउटा वस्तु आयात गर्दा पनि कर लगाउने र निर्यात गर्दा पनि कर लगाउने कुरा सरकारी नीतिको विरोधाभास नै हो । प्रशोधित दाल, चामल आयातमा सरकारले १० प्रतिशत भन्सार लगाइरहेको छ । त्यस्तै कृषि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अर्थात् धान आदिको आयातमा पनि कर नै लगाइएको छ । संसारमा कतै पनि कच्चा पदार्थ र प्रशोधित/उत्पादित वस्तुको आयातमा समान कर लगाएको पाइँदैन । यसले सरकारी नीतिमा रहेको विरोधाभासलाई उजागर गरेको छ । कच्चा पदार्थको आयात र प्रशोधित वस्तुको आयातमा कम्तीमा पनि १० प्रतिशत कर अन्तर हुनुपर्छ । समान कर लगाउँदा नेपाली व्यवसायीलाई मर्का पर्छ । उनीहरूले कामदारलाई दिनुपर्ने तलबभत्ता, पूर्वाधार र मेशिनरी आदिमा भएको खर्च इत्यादि हेर्दा नेपालमा उद्योग खोल्नु भनेको अपराध गर्नुसरह हो भन्ने देखाएको छ । तयारी वस्तु ल्याएर बेच्दा व्यापारीलाई फाइदा त हुन्छ तर त्यसले रोजगारी सृजना गर्दैन । उद्योगीले मूल्य अभिवृद्धि गर्ने मात्र होइन, कैयौंलाई रोजगारी दिएर अर्थतन्त्रमा ठूलो गुन पनि लगाइरहेको हुन्छ । यस्तो कृषि उद्योगलाई कुनै न कुनै रूपमा प्रोत्साहित गर्नु आवश्यक छ ।  अन्य उद्योग र कृषि उद्योगका बीचमा रहेको अन्तर सरकारी संयन्त्रले बुझ्न नसकेको र बुझ्न नचाहेको व्यवसायीको गुनासो छ । त्यसैले सिमेन्ट निर्यात गर्दा सरकारले अनुदान दिन्छ तर कृषि वस्तुको निर्यातमा प्रतिबन्ध लगाएसरह छ, अनुदान दिने त परको कुरा । यसरी कुनै पनि मुलुकले औद्योगिक विकास गर्न सक्दैन ।  सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताए पनि अपेक्षित उपलब्धि प्राप्त गर्न नसक्नुमा कृषि नीतिमा रहेकोे यही विरोधाभास एउटा प्रमुख कारण हो । कृषिलाई प्राथमिकता दिइरहँदा किसानलाई प्रोत्साहित गर्ने स्पष्ट नीति पनि ल्याउनुपर्छ । सरकारले व्यावहारिकताको कसीमा कुन कुरा उपयुक्त हो र कुन कुरा सही छैन भन्ने निक्र्योल गर्नु आवश्यक हुन्छ । त्यसो हुँदा कुनै वस्तुलाई निरुत्साहित गर्नुपर्ने हुन्छ भने कुनैलाई प्रोत्साहित । सरकारले एउटै वस्तुलाई निर्यातमा पनि कडाइ गर्नु र आयातमा पनि कडाइ गर्नुको चित्तबुझ्दो जवाफ दिनुपर्छ । सबैलाई एकै डालोमा राखेर पन्छिने सरकारी प्रवृत्ति कृषिक्षेत्रको विकासका लागि निकै घातक छ । निर्यात/आयातमा समस्या छन् भने कुनमा के हो टुंगो लगाएर मात्र नीति बनाउनुपर्छ । अहिले चामल, तेल दाल संघले पत्रकार सम्मेलन गरेरै विरोधाभासपूर्ण नीति सच्याउन माग गरेको छ । यदि कृषि र कृषि उद्योगमा ठूलो परिवर्तन ल्याउने हो भने आगामी आर्थिक वर्षको बजेटमा यी जायज मागलाई सम्बोधन गर्नुपर्छ । यस्ता द्वैध नीतिलाई सुधार नगर्ने हो भने कृषिको विकासका लागि जति गफ गरे पनि कुनै अर्थ हुने छैन ।

बजेटमा निजीक्षेत्रको अपेक्षा : 'अवैध कारोबार बढाउने करका दर घटाऊ'

करको दर कम भए राजस्व बढी उठ्छ । २०५१/५२ सालमा मूल्य अभिवृद्धिकर लागू गर्दा सरकारले अन्तःशुल्क हटाउने भनेको थियो । तर, वर्षेनि अन्तःशुल्क लाग्ने वस्तुको सूची बढिरहेको छ । भन्सारमा पनि महशुल बढाउने, अन्तःशुल्क र भ्याट पनि लगाउने गर्दा ग्रे इकोनोमी बढेको छ । हामीकहाँ भन्सार र भ्याट मिलाएर भारतको जीएसटीबराबर हुन गयो भने यो समस्या समाधान हुन्छ । सबै कारोबार भन्सारको दायरामा आउँछ । यसबाट राजस्व बढ्छ ।  सामाजिक सुरक्षा कोषको केही रकम औद्योगिक पूर्वाधार विकास र विस्तारमा खर्च गर्नुपर्छ । व्यवसायीलाई थुन्ने कानूनले औद्योगिक र व्यापारिक वातावरण बन्दैन । सरकारको काम राजस्व बढाउने हो, व्यापारी थुन्ने होइन । यस्ता कानून संशोधन हुने नीति लिनु पर्छ । आर्थिक अपराधमा सजाय पनि आर्थिक नै हुनुपर्छ ।  व्यापारिक र औद्योगिक कच्चा पदार्थको भन्सारमा एक तह फरक भन्सार महशुलको नीति ठिक भए पनि त्यसमा व्यावहारिक कठिनाइ छ । कति उद्योगले सानो परिमाणमा प्रयोग हुने कतिपय कच्चा पदार्थ ठूलो परिमाणमा ल्याउन सम्भव छैन । त्यसैले व्यापारिक प्रतिष्ठानबाट आएको यस्तो कच्चा पदार्थमा पनि कम भन्सार हुनुपर्छ । अहिले तरलता सहज भएकाले चालू पूँजी कर्जाको सीमा हटाउनु पर्छ । २५ प्रतिशतको सीमा हटाए व्यापारमा सुधार आउँछ । वर्षमा एकपटक कर्जाको शून्य ब्यालेन्सको बाध्यता व्यावहारिक छैन । उद्योग र व्यापारमा शून्य ब्यालेन्स सम्भव हुँदैन । उधारो असुलीसम्बन्धी कानून ल्याउनुपर्छ । यसले उद्योग व्यापारमा भुक्तानीका समस्या समधान भएर जान्छन् । भारतीय पर्यटकलाई सिमानामा राम्रो व्यवहार हुन सकेको छैन । हामीकहाँ धेरै पर्यटक भारतबाटै आउने हुन् । भारतीय पर्यटकलाई सिमानामा दिइने हैरानीले पर्यटक बढ्दैनन् । भारतीय मुद्रा सटही र सहजीकरणको व्यवस्था हुनुपर्छ ।   चालू पूँजी कर्जा मार्गदर्शन स्थगन  चालू पूँजी कर्जा मार्गदर्शन स्थगित गरी बजारको आर्थिक अवस्थामा सुधार भएपछि क्रमबद्ध रुपमा लागू गर्नुपर्छ । उच्च ब्याजदरले बजारको व्यावसायिक कारोबारको चक्रलाई प्रभावित गरिरहेको छ । बचत खातामा दिइने ब्याजदरको सीमा ४ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यसले ऋणको ब्याजलाई घटाउन सहयोग गर्नेछ । बैंकहरूले व्यावसायिक ऋणमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिनु हुँदैन । नेपाली दाल निर्यातकर्तालाई सरकारले पहिले ४ प्रतिशत नगद अनुदान दिने गरेको थियो ।  अहिले आएर पूर्ण रूपमा हटाइएको छ र १ प्रतिशत भन्सार शुल्कसमेत लिने गरेको छ । निर्यातजन्य उद्योगलाई सरकारले निर्यातमा अनुदान प्रदान गर्ने कार्यविधिअनुसार अनुदान उपलब्ध गराउँदै आए पनि बेलाबखत भुक्तानीमा कठिनाइ हुने गरेको छ । उद्योगको प्रवर्द्धनका लागि कच्चा पदार्थमा लाग्ने भन्सार महशुललाई शून्य गरी तयारी वस्तुमा भन्सार महशुल लिने प्रावधान हुनुपछ । सिमेन्ट तथा इँटा उद्योगका लागि आवश्यक कच्चा पदार्थ फ्लाई एस भारतबाट आयात हुने गरेको छ । भारत सरकारले फ्लाई एस विस्थापन गर्न राज्यस्तरबाटै सम्बद्ध उद्योगलाई सुविधासमेत दिने गरेको छ । हामीकहाँ भने आयात हुने फ्लाई एसमा प्रतिटन हजार रुपैयाँ भन्सार शुल्क लिने गरेको छ । यसलाई घटाएर सय रुपैयाँ कायम गर्नुपर्छ । पीपीसी उत्पादनमा फ्लाई एसको मात्रा अहिले नेपालमा २५ प्रतिशत छ । भारत तथा अन्य मुलुकमा ३५ प्रतिशत रहेकाले नेपाली सिमेन्ट उद्योगका लागि पनि फ्लाई एस मिश्रणको मात्रा ३५ प्रतिशत गरिनुपर्ने हाम्रो माग छ ।

दाल-चामलको भन्सार शुल्क बढाउँन सरकार सकारात्मक, कति सम्म बढ्ला ?

चामल र दालमा भन्सार शुल्क बढाउनुपर्ने विषय अहिले जोडतोडले उठेको छ । चामल तेल, दाल, उद्योग संघमा आवद्ध उद्योगी व्यवसायीहरुले दाल र चामलको आयोगमा भन्सार महशुल बढाउन माग गरेपछि यो विषय अहिले जुर्मुराएको हो । चामल तेल, दाल, उद्योग संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीलाई भेटेर केहीदिन अघि दाल र चामल आयात गर्दा भन्सार महशुल बढाउनुपर्ने सुझाव दिएको हो । संघले चामल आयात गर्दा १५ प्रतिशत भन्सार महशुल लगाउन सुझाव दिएको छ । विदेशबाट चामल आयात गरेर बिक्रि गर्दा त्यसले ब्यापारीलाई मात्रै फाइदा पुग्ने र मुलुकको खाद्य स्थिति नै शत् प्रतिशत परनिर्भर बन्ने चेतावनीसहित संघले आयात निरुत्साहितका लागि यस्तो सुझाव दिएको हो ।डा. गुप्ता नेतृत्वको संघले चामल आयातको सट्टा औद्योगिक प्रयोजनका लागि धान आयात गर्न दिन र बन्द रहेका स्वदेशी उद्योगहरुको पुनःसञ्चालनको वातावरण बनाईदिन अर्थ सचिव समक्ष माग पनि गरेको छ । चामलको आयात रोकिँदा वा कम हुँदा नेपाली रातो बासमती चामलले मूल्य पाउने र यसले स्वदेशी किसानलाई फाईदा पुग्ने दाबी गुप्ताको छ । ‘धान आयात हुँदा यहाँ रहेका उद्योगमा कामदार बढाउनुपर्ने हुन्छ, यसले रोजगारी थप गर्छ, धानबाट उत्पादन हुने भुसलाई पशु आहार अथवा इन्धनको रुपमा प्रयोग गर्न पनि सकिन्छ’ डा. गुप्ताले भनेका छन्, ‘पशु आहारका लागि विदेशबाट छुट्टै भुस ल्याईरहनु पनि पर्दैन ।’ संघले तयारी दालको आयातमा २० प्रतिशत भन्सार महशुल लगाउन पनि माग गरेको छ । हाल दालको कच्चा पदार्थ तथा गेडागुडी र तयारी दालको आयातमा १० प्रतिशत भन्सार लाग्दै आएकोमा अब तयारी दाल आयातमा २० प्रतिशत भन्सार भहशुल कायम गर्न संघले माग गरेको छ । आयात गरेर बिक्रि गर्दा यसले औद्योगिक रुपमा कुनै फाइदा नगर्ने र ब्यापारीलाई मात्रै कमाउने बाटो बनाउने संघको ठहर छ ।त्यस्तै, संघले मुसुरोको दाल विदेश निर्यात गर्दा उद्योगहरुलाई दिइँदै आएको ४ प्रतिशत अनुदान सुविधा कटौती गरेकोप्रति आपत्ति जनाउँदै यसलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । दाल निर्यात गर्दा प्रतिकिलो १ रुपैयाँ निकासी शुल्क लिँदा महँगो भएकाले अन्तराष्ट्रिय बजारमा नेपाली दालले प्रतिस्पर्धा गर्न नसकेको दाबी गर्दै संघले हाल नेपाली दाल बंगलादेश जान नसकेको पनि बताएको छ ।कति सम्भव ?तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने बस्तुमा ७औँ नम्बरमा धान चामल छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म ३६ अर्ब ५८ करोडको धान चामल आयात भएको छ । उद्योगीहरुले दिएको सुझावलाई एकपटक ‘ट्रायल’का रुपमा हेर्न कम्तीमा १ वर्ष सुझावहरुलाई नीतिगत निर्णयमा समावेश गराएर लागू गर्ने तयारीमा अर्थ मन्त्रालयको रहेको बताईन्छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत दाल र चामलमा भन्सार महशुल बढाउने गरी सरोकारवालासँग अर्थ मन्त्रालयले आवश्यक छलफल गरिरहेको स्रोतले बताएको छ ।‘उद्योगीहरुले औद्योगिक वातावरण बन्नुपर्छ भनेर दाल र चामलमा भन्सार बढाईदिन अनुरोध गर्नुभएको कुरा साँचो हो’ अर्थ मन्त्रालय स्रोत भन्छ, ‘तर, यदि भन्सार बढ्दा आयात पूरै प्रभावित हुने र स्वदेशी उद्योगहरुले माग अनुसार दिन नसक्ने अवस्था आयो भने के हुन्छ ? साँच्चै स्वदेशी उद्योगहरु सबै खालका चामल र दाल माग अनुसार दिन सक्ने हुन् त ? भनेर हामीले अहिले इन्टरनल अध्ययन गरिरहेका छौँ ।’

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीले गरे माग

चैत २९, काठमाडौं । चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । संघका पदाधिकारीले मंगलवार भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयातमा कडाइ गर्न आग्रह गरेका हुन् ।            संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिले स्वदेशी चामल उद्योगलाई बचाउन आयातमा कडाइ गर्नुपर्ने माग राखेका थिए । संघका अध्यक्ष गुप्ताले विदेशी आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने माग राखे । उनले भन्सार विभागका महानिर्देशकसँग धान आयातमा एक प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्न आग्रह गरिएको जानकारी दिए ।            चामल आयातभन्दा नेपालमा धान उत्पादन कम भएको समयमा धान आयात गर्दा कामदारले कामलाई निरन्तरता दिन पाउने, चामल मिलबाट उत्पादित भुसले अन्य इन्धनको काम गर्ने, करोडौं लगानीमा सञ्चालित उद्योगले निरन्तरता पाउने संघको बुझाइ छ ।            दाल आयातमा २० प्रतिशत शुल्क लगाउन माग            व्यवसायीले दालको कच्चा वस्तु तथा गेडागुडी आयातको भन्सार शुल्क बढाउन माग गरेका छन् । हाल दाल तथा गोडागुडी आयातमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । संघका पदाधिकारीले दाल तथा गेडागुडीको १० प्रतिशत शुल्कसँगै तयारी दाल आयातमा २० प्रतिशत गरी दुई प्रकारका शुल्क निर्धारण गर्न आग्रह गरेका छन् ।            मुसुरो दाल विदेश निकासी गर्दा सरकारले दिँदै आएको चार प्रतिशत अनुदान सुविधा कटौटी गरिएको भन्दै व्यवसायीले निर्यातमा समस्या भएको बताएका छन् । अनुदान कटौती हुँदा र थप निकासी शुल्क लाग्दा बङ्गलादेशमा निकासी रोकिएको भन्दै व्यवसायीले नेपाली मसुरो दालको उत्पादन बढाउन तथा निर्यातलाई प्रोत्साहन गर्न सहयोग गर्न आग्रह गरेका छन् ।            व्यवसायीले तोरी तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको शुल्क घटाउन सरकारसँग अनुरोध गरेका छन् । हाल तोरी तेलको कच्चा पदार्थकोे आयात गर्दा पाँच प्रतिशत आयात शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।            व्यवसायीले भन्सार शुल्क महँगो हुँदा भारतीय तेलले नेपाली बजार कब्जा गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार भारतीय बजारमा पाँच प्रतिशत मात्र शुल्क लाग्दा भारतीय तेल सस्तो हुने गरेको छ । व्यवसायीले पिना निर्यातमा लाग्ने गरेको शुल्क हटाउनसमेत आग्रह गरेका छन् । नेपालका दाना उद्योगले पिनाको खपत कम गर्दा ७५ प्रतिशत पिना निर्यात गर्नुपर्ने भन्दै व्यवसायीले भन्सार शुल्क हटाउन आग्रह गरेका हुन् । हाल प्रतिकिलो पिना निर्यात गर्दा ५० पैसा शुल्क लाग्ने गरेको छ  । रासस

तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन माग

१६ मंसिर, काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ । तयारी अवस्थामा आयात हुने दाल, चामल, खाने तेलमा र यसको कच्चा पदार्थमा दुई तहको भन्सार दर कायम गर्न संघले सरकारलाई लिखित आग्रह गरेको हो । कच्चा पदार्थ आयातमा कम र तयारी खाद्य वस्तु आयातमा […]

चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारको ध्यानाकर्षण

मंसिर १४, काठमाडौं । नेपाल चामल तेल, दाल, उद्योग संघको  एक प्रतिनिधिमण्डलले मंगलवार चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलवार अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग विभागका महानिर्देशक जिवलाल भुसाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकप्रेमकुमार श्रेष्ठसँग उनीहरुकै कार्यकक्षमा भेट गरेको हो ।  सोही प्रतिनिधिमण्डलले सो अवसरमा चामल, तेल, दाल दैनिक जिवनमा नभइनहुने खाद्य वस्तु भएकोले ती उद्योगहरुको संरक्षण गरी भविश्यमा हुनसक्ने खाद्यान्न परनिर्भरताबाट जोगिन सरकारलाई अनुरोध गरेको छ। सो अवसरमा कृषि उत्पादनको कच्चा पदार्थ र तयारी बस्तुको भन्सार दर दुई तह हुनु पर्ने तथा सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छूट हुनु पर्ने बारे ध्यानाकर्षण गराइएको थियो ।  राष्ट्र बैंकको निर्देशन अनुरुप सबैबैकले कृषिमा लगानी गर्नु भनेकोमा चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत ब्याजदरमा लगाएको ऋणसमेत कृषिमा लगानी गरेको भनी बैंकहरुले तथ्याङक तयार गरी भ्रम फैलाएको भन्दै उक्त प्रतिनिधिमण्डले  कि त बैंकले चामल, तेल दाल उद्योगलाई  एग्रो बेस उद्योगमा राखी ऋण सुबिधा दिनु पर्‍यो होइन भने ती उद्योगमा गरेको ऋण लगानीलाई कृषि उपजको लगानीबाट हटाउन परयो भनी माग गरेको थियो । प्रतिनिधिमण्डलले  चामल आयातलाई निरुत्साहित गर्न सरकारले सहकार्य गरी दिएमा व्यवसायिले किसानसँग हातेमालो गरी काम गर्ने, चामल आयातमा लाग्दै आएको आठ प्रतिशत आयात शुल्कलाई १५ प्रतिशत गर्नु पर्ने अथवा उद्योगले धान आयात गर्दा लाग्दै आएको पाँच प्रतिशत आयात शुल्कलाई एक प्रतिशत गर्नु पर्ने र जसबाट देशको व्यापार घाटा कम हुने र बन्द भएका चामल उद्योग पूनः सञ्चालन हुने  साथै नेपाली बासमति उच्च मूल्यको उत्पादन भएकाले  निर्यात खुला गर्न ध्यानाकर्षण गराएको छ ।  साथै प्रतिनिधिमण्डलले नेपालमा विभिन्न माध्यमबाट आयात हुने खाद्यबस्तुको एमआरपी र गुणस्तर जाँच गरी आायातकर्ताको नाम, ठेगाना र नेपालको सम्पर्क नम्वर, ब्याच नं, तौल, उत्पादन मिति, लेवल अनिबार्य उल्लेख हुनु पर्ने बारे पनि ध्यानाकर्षण गराएको छ । साथै सोही प्रतिनिधि मण्डलले तोरीतेल तर्फ  तेलमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) को दर तोकी स्वदेशी तेल उद्योग बचाउन तथा  तोरीको गेडा आयातमा लाग्दै आएको पाँच प्रतिशत भन्सार दर परिमार्जन गरी एक प्रतिशत कायम भएमा स्वदेशी तोरी तेललाई केहि राहत मिल्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ । उनीहरुले  तोरी आयातमा पाँच प्रतिशत आयात शुल्क, तेलमा १३ प्रतिशत भ्याट  हुँंदै १८ प्रतिशत कर लग्ने हुँदा भारतकोभन्दा प्रतिकेजी लगभग १० रुपैयाँ फरक पर्नेहुँदा नेपालमा अनाधिकृत तेलको व्यापारले प्रोत्साहन पाइरहेको बारे पनि ध्यानाकर्षण गराएका छन् ।        प्रतिनिधिमण्डले तयारी र कच्चा दाल गेडागुडीको आयात भन्सारदर समान १० प्रतिशत रहेको भन्दै सरकारको प्रतिबद्दता अनुरुप दुई तह फरक हुनु पर्ने र कच्चा दाल आयातमा पाँच प्रतिशत भन्सार दर हुनु पर्ने बारे पनि ध्यानाकर्षण गराएको छ । साथै उनीहरुले दाल निकासीमा लाग्दै आएको निकासि कर प्रतिकेजी एक रुपैयाँ हटाउन तथा  दाल बिदेश निकासी गर्दा दिंदै आएको चार प्रतिशत निकासी सुबिधा इन्टेन्सिभ दिन पर्ने माग राखेका छन् । उनीहरुले यसमा निर्यात सुबिधा हटाए पछि प्रतिस्पर्धा गर्न नसकी बंगलादेश निकासी हुन छोडेको र नेपालमा मुसुरोको उत्पादननै कमी हुन थालेको बारे पनि ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिमण्डलमा संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगड, उपाध्यक्ष नरेश राठी, महासचिव दिपक कुमार पौडेल र कार्यालय प्रमुख अजय पराजुलीको समेत सहभागिता रहेको थियो।