नेपाली पर्यटनको विकास र विस्तार

विश्वका अधिकांश देशका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा राम्रो आमदानी गर्ने स्रोतका रूपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवासाय शुरू भएको लगभग १ सय ८२ वर्षको भइसकेको छ । सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई आन्तरिक पर्यटकका रूपमा घुमाउन शुरू गरेका थिए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि पनि विश्वका अधिकांश देशका मान्छेहरूले विश्वभरि नै अनेक खालका भ्रमण गर्ने गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू अनेक स्वार्थ र उद्देश्य लिएर हुने गथ्र्यो । त्यस्तो भ्रमणलाई पर्यटकीय उद्देश्यले गरेको भ्रमण मान्ने गरिँदैन । त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय भ्रमण टोली मान्ने गरिएको हो । थोमस कुकले शुरूमा आफ्नै देश बेलायतका पर्यटकलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकका रूपमा भ्रमण व्यवसायको शुरुआत गरेका थिए । जुन टोलीको पर्यटकीयबाहेक अरू कुनै उद्देश्य थिएन । यसरी कुनै नाफा वा व्यक्तिगत स्वार्थ र उद्देश्य नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई प्रथम ‘पर्यटकीय भ्रमण टोली’ मानियो । यसरी उनले ‘भ्रमण व्यवसाय’ अर्थात् भ्रमण व्यवसाय शुरू गरे । शुरूमा उनले दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय शुरू गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? त्यसपछि उनले पाठ सिकेर फेरि निश्चित प्रतिशत कमिशन खाएर ‘भ्रमण व्यवसाय’को शुरुआत गरे । भनिन्छ, शुरूमा उनले लागत खर्चबाहेक ५ प्रतिशत कमिशन खान्थे । यसरी उनले सन् १८४५ मा कमिशनको आधारमा व्यवसाय शुरू गरेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यसरी कुकले आन्तरिक रूपमा शुरू गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा दशजना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशमा भ्रमण गर्न निस्किए । यसरी हेर्दा लगभग १ सय ८२ वर्षअघि थोमस कुकले दशजना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अर्बौं मानिसले विश्वका अधिकांश देशको पर्यटकीय स्थलको भ्रमण गरिसकेका छन्, पर्यटकीय उद्देश्यका साथ । नेपालमा १०४ वर्षे राणा शासनकालमा विदेशीलाई (कूटनीतिक उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न बन्देज लगाएकाले गर्दा पयर्टनले फस्टाउने अवसर पाएन । त्यसो त विसं २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ पछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको शुरुआत गरे । त्यसमा पनि बेलायती, जर्मन, जापानी, स्वीस, रूसी, फ्रान्सेली आदि विदेशी नागरिकले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा शुरूमा धेरै नै योगदान दिएका थिए । ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू शुरूमा शुद्घ पर्यटन व्यवसायीका रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरू बेच्न जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रूप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरूबाटै शुरू भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । तीसवर्षे पञ्चायती कालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले लाखको संख्या नाघ्न थाल्यो । सन् १९८९/९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्त्व पाउन थाल्यो भन्न सकिन्छ । बीचको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकास र विस्तारका लागि खासै गर्व गर्नलायक कामचाहिँ केही गरेन । तर, हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्‍याफ्टिङ) मा जाने पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने काममा भने हेरविचार गरिएन । बरु उल्टै निषेधित क्षेत्रबाट झनै महँगो शुल्क लिने गरियो । सरकारले अहिले पनि निषेधित क्षेत्रबाट त मनग्गे शुल्क असुली रहेकै छ । हो, पर्यटन क्षेत्रमा त्यो बेलाको सरकारले गरेको काम जसलाई बाहिरबाटै देख्न सकिन्छ, त्यो भनेको ‘पर्यटन बोर्ड’को गठन हो । समग्रमा हेर्दा विसं २०६२/६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि विदेशी पर्यटकले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको प्रतिव्यक्ति प्रतिदिन नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यस्तै, सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले नेपाली पर्यटन अरू थिलथिलो भएको थियो । तथ्यांक हेर्ने हो भने, सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा जम्मा ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटक मात्रै नेपाल आएका थिए । तर, सन् २०१५ को भूकम्प र भारतीय नाकाबन्दीपछिका वर्षहरूमा जस्तै सन् २०१६, सन् २०१७, सन् २०१८, सन् २०१९ मा भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रूपमा बढ्दो क्रममा रहेको थियो । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् २०१८ मा एक विदेशी पर्यटकले दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । लेखक पर्यटनकर्मी हुन् ।

सम्बन्धित सामग्री

पर्यटनमा खेलाँची

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको मुलुकमा चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मीटरभन्दा अग्ला १४ मध्ये ८ हिमालय नेपालमै छन् । धार्मिक, सांस्कृतिक विशेषता झल्कने थुप्रै मौलिक परम्परा छन् । तर, विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा गर्दा नेपालको एउटै परेन । किन यसो भयो ? नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने भनेर नेपाल पर्यटन बोर्ड स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । त्यति मात्र नभई हरेक प्रदेशमा पनि पर्यटनको विकास र विस्तारमा काम गर्ने मन्त्रालय स्थापना गरिएका छन् । हरेक स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको बताउने गर्छन् । यतिधेरै सरकारले काम गरेको पर्यटनको अवस्था पक्कै पनि राम्रो हुनुपर्छ । तर, विश्वका उत्कृष्ट गाउँको सूचीमा नेपालको एउटै पर्न नसकेपछि अनेक आशंका उब्जाएको छ । यदि उत्कृष्ट गाउँमा पर्न सकेको भए पर्यटन क्षेत्रको विकासमा योगदान पुग्न सक्थ्यो । यसो नहुनु भनेको सरकारले काम गरेन भन्ने हो, नेपालको पर्यटनमा मौलिकताको कमी छ र सृजनात्मकता कम छ भन्ने हो । पर्यटनको विकासका लागि जसरी आन्तरिक रूपमा काम गर्न आवश्यक छ, त्यसैगरी अन्तरराष्ट्रिय मञ्चको पनि प्रयोग गर्नुपर्छ । उत्कृष्ट गाउँका लागि नेपालले तयारी गरेको भए र त्यसअनुसार काम गरेको भए नेपालको कुनै न कुनै गाउँ उक्त सूचीमा पर्न सक्थ्योे । परेनन् भने पनि प्रतिस्पर्धामा आउँदासमेत पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्थ्यो । अहिलेको जस्तो कार्यालय कुरेर वा अनावश्यक कुरा मात्र गरेर पर्यटनको विकास हुन नसक्ने भएकाले कार्यशैली सुधार गरी नतीजा निकाल्नतर्फ लाग्नुपर्छ । अक्टोबरमा १ लाख १७ हजार पर्यटन भित्रिए भनेर बस्ने छूट अब हुनु हुँदैन । के नेपालको सम्भावना त्यति संख्यामा मात्रै पर्यटक भित्त्याउने हो त ? नेपालभन्दा कमजोर देशमा यो भन्दा ठूलो संख्यामा पर्यटक भित्रिरहेका छन् । तर नेपालमा किन यस्तो भइरहेको छ ? यतातर्फ ध्यान दिएर कमजोरी सुधार गर्न आवश्यक छ । उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो ।  नेपाल गाउँले भरिएको देश हो । मौलिक संस्कृति र रहनसहन पनि छ । मुस्ताङको गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा परे पनि यूएनडब्ल्यूटीओको सूचीमा भने पर्न सकेन । ग्रामीण पर्यटनका लागि नेपालका गाउँहरू थुप्रै छन् । ग्रामीण पर्यटन बढाउनकै लागि भिलेज टुरिजम प्रमोशन फोरम नेपाल (भीटोफ) को स्थापना गरिएको छ । यसले उत्कृष्ट ग्रामीण पर्यटन क्षेत्र भनेर गाउँहरू छान्ने गरेको पनि छ । तर, सम्भावना भएर पनि नेपाल उत्कृष्ट ग्रामीण पर्यटनमा छानिएन । खासमा यूएनडब्ल्यूटीओेले छान्न यस्तो ग्रामीण पर्यटनमा सूचीमा पर्न दरखास्त दिनुपर्ने हुन्छ । यसरी उत्कृष्ट गाउँ छान्न थालेको ३ वर्ष भयो । यस वर्ष २६० ओटा आवेदन परेका थिए जसमध्ये ५४ ओटा गाउँ छानिए । त्यस्तै २० वर्ष गाउँ स्तरीकरणका लागि छानिएका छन् । ७४ ओटा गाउँ यूएनडब्ल्यूटीओ बेस्ट टुरिजम भिलेज नेटवर्कमा परेका छन् । उत्कृष्ट गाउँमा पर्ने आधार नौओटा छन् । सांस्कृतिक र प्राकृतिक स्रोत, संस्कृतिको प्रवर्द्धन र संरक्षण, आर्थिक दिगोपन, सामाजिक दिगोपन, वातावरणीय दिगोपन, पर्यटन विकास र मूल्य शृंखलामा समायोजन, पर्यटनमा प्राथमिकीकरण र सुशासन, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षाजस्ता पक्षको मूल्यांकन गरी उत्कृष्ट पर्यटन गाउँ चयन गरिन्छ । तर, यसमा नेपालले भाग लिएको समेत जानकारीमा आएको छैन । भीटोफ नेपालले यसमा ध्यान नदिएको हो कि आवेदन दिएर पनि जानकारी नदिएको  हो ? स्पष्ट छैन । यसरी उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो । वार्षिक यति लाख पर्यटक भित्त्याउने, भ्रमण वर्ष वा दशक मनाउने जस्ता कुरामा हल्लाखल्ला भए पनि पर्यटनमा मौलिकता दिन र त्यसका लागि दाबी गर्न पाउने अवसर गुमिरहेको छ । यसले नेपालको पर्यटन अद्वितीय छ भन्ने विषयलाई ओझेलमा पारेको छ । निकट छिमेकी चीनका तीन गाउँ र भारतको एक गाउँ यो सूचीमा छनोट हुँदा नेपालको उपस्थितिसमेत नहुनु भनेको लाजको विषय हो । पर्यटनमा नेपाल कति योजनारहित ढंगले अघि बढेको रहेछ भन्ने कुराको उदाहरण पनि हो ।

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनस्थलका रुपमा प्रवर्द्धन गर्ने

काठमाडौं । सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका …

युकेको नेपाली पर्यटन दूतमा मोक्तान नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवं प्रवर्द्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ वर्षका लागि पर्यटन दूत नियुक्त