असार १०, मकवानपुर । वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुंगेधारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको हो ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचिन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको बताए ।
उनले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई, वडा नम्वर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ ओटा ढुंगेधाराको पुनर्निर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।
मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शंकरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक/एक ओटा गरी ३ ओटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
प्रदेश सरकारले प्रदेशको १३ ओटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा संकलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै उनले जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भने ।
मन्त्री फुँयालले प्रदेशको विभिन्न जिल्लामा कृषि शीतभण्डार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर कृषकलाई आर्थिक आत्मनिर्भरतातर्फ उन्नमुख गराउन सरकारको लक्ष्य रहेको बताए ।
उनले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ३० ओटा विद्युतीय बस खरीद गरी २०७९ जेठको दोस्रो हप्तासम्ममा हेटौँडाबाट काठमाडौंसहित विभिन्न सात शहरमा यातायात सञ्चालन गर्ने योजना प्रदेश पूर्वाधार यातायात व्यवस्था निर्देशनालयले अगाडि बढाइसकेको जानकारी दिए ।
उनका अनुसार हेटौँडा, भरतपुर, काठमाडौं, सिन्धुलीलगायत सातओटा स्थानमा स्थानीय तहद्वारा उपलब्ध गराएको जग्गामा नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीय चार्जिङ स्टेशनको निर्माण कार्य प्रारम्भ भइसकेको छ ।
मन्त्री फुँयालले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर हेटौँडाबाट काठमाडौं जोडिने भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय वोलपत्र आह्वान भइसकेको र केही महीनाभित्रै सरकार तथा निर्माण कम्पनीबीच सम्झौता सम्पन्न हुने जानकारी दिए ।
प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई अनिवार्य रुपमा खोप लगाउने, संक्रमणबाट प्रभावित भएका बिरामीलाई उपचारका लागि तत्काल सहजीकरण गर्ने र कोभिड अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट स्थापनाका लागि वोलपत्र आह्वान गर्ने बताउँदै उनले पाँच ओटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहेको पनि जानकारी दिए । रासस