द्रुतमार्गमा विलम्ब हुँदाको असर

सडक मार्ग नेपालको सन्दर्भमा ज्यादै भरपर्दो मानिन्छ । तर, हाम्रो जमीनको बनावट र विकटताका कारणले पछिल्लो वर्ष सडक पनि कतै समस्या बनिरहेको अवस्था छ । जनसंख्याको असमान वितरण तथा चट्टानले ढाकिएको जमीन धेरै भएकाले पनि नेपालमा सडक विकास ज्यादा खर्चिलो बन्दै गएको छ । दिगो विकासको अवधारणाअनुसार विकास निर्माणका कामहरू गर्दा वातावरणीय पक्षलाई ज्यादा ख्याल गरिएको हुनुपर्छ । तर, हामीहरूले त्यस्ता जटिल र मानवलाई प्रत्यक्ष असर गर्ने महत्वको बारेमा पनि खासै ध्यान  दिइरहेका छैनौँ ।  तराई मधेश द्रुतमार्गको थालनी विसं २०७४ मा भएको थियो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस कार्य समयमा नै सम्पन्न गर्न नसकिने देखिएको छ । समयमा आयोजनाको काम नसक्दा लागत वृद्धि भएको छ । २०७९ को चैतसम्ममा आयोजना निर्माणका लागि ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये २६ किलोमीटर ३८० मीटर खण्डको भने अभैm ठेक्का व्यवस्थापन गर्न सकिएको छैन । यसको खोकना तर्फको खण्डको लम्बाइ ६ किलोमीटर ५०० मीटर लामो रहेको छ । यस आयोजनाको हालसम्म सातओटा प्याकेजको मात्र ठेक्का व्यवस्थापन भएको छ ।  समय थपिएपछि लागत २ खर्बभन्दा धेरै हुने देखिन्छ । जति समय थपियो त्यही दरमा आयोजनाको लागतसमेत बढ्न जाने भएकाले स्वतः आयोजना खर्चिलो र आर्थिक रूपमा बोझिलोसमेत बन्ने देखिन्छ । चर्चित मेलम्ची खानेपानी आयोजना होस् या माथिल्लो तामाकोशी नै किन नहोस् दुवैको लागत उच्च मात्रामा वृद्धि भएको छ ।  नेपालमा समयमा नै आयोजनाहरू सम्पन्न हुन नसक्नुको अर्को कारण छोटो समयमा नै आयोजना स्थलका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण गरी काम अगाडि बढाउन नसक्नु हो । द्रुतमार्गको विवाद मिलाउन नै लामो समय बिताउनु पर्दा थप समस्या परेको हामीले देखे सुनेकै छौं । हाल ठेक्कासम्बन्धी विवाद समाधान गर्न विसं २०८० वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चासोका साथ काम गर्ने भनेको छ । रक्षामन्त्रीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । यस समितिको कार्यभार भने स्थानीयहरूसँग समन्वय गरी जमीनसम्बन्धी विवाद ३ महीनाभित्र मिलाउने रहेको छ ।  हाम्रो देशमा सबै आयोजना समयभन्दा ढिला गरी सम्पन्न हुने गरेका छन् । सेनाको क्षमता र प्राविधिक ज्ञानको भरपुर उपयोग गरेर द्रुतमार्ग निर्माणका लागि राज्यले अनेक स्रोतको जोहो गर्दै रकम जुटाएर काम थालनी गरेको पनि ६ वर्ष भइसकेको छ । नाम भने द्रुतमार्ग रहेको छ तर त्यसको निर्माणको गति भने ज्यादै सुस्त रहेको छ ।  यस आयोजनाको थालनीमा ७६ अर्ब रकम खर्च गरी निर्माण गरिने भने पनि अब उक्त लागत बढेर १ खर्ब भएको पाइएको छ । आयोजनाको काम र प्रगति हेर्ने हो भने सेनाले समयमा नै कार्य सम्पन्न गर्न सक्छ भन्ने निश्चित छैन । खासगरी ज्यादा कठिन स्थानमा र कच्ची सडक निर्माणमा सेनाको कार्य प्रभावकारी बन्ने तर्क सडक विभागका अधिकारी राख्छन् । सेनालाई सडकको रेखांकन गर्न र अन्य कठिन अवस्थाको बेलामा मात्र कार्यमा खटाउन उपयुक्त हुने सरोकारवाला निकायका उच्च तहका व्यक्तिहरू बताउँछन् ।  आयोजनाका लागि आवश्यक सुरुङ निर्माण पनि दुई खण्ड गरेर ठेक्का गरिएको छ । आयोजनाको कार्य सम्पादनका लागि दुई कम्पनीलाई जिम्मा दिइएको छ । आयोजनाअन्तर्गत उक्त काम ३ वर्षभित्र सक्ने गरी २०७८ वैशाख ३१ गते ती दुई ठेक्का सम्झौता भएको हो । उक्त सम्झौताअनुसार सुरुङ निर्माण १४ महीनामा सकिसक्नुपर्नेछ । तर, उक्त कामको प्रगति भने जम्मा २० प्रतिशत मात्र भएको छ । यसैगरी छोक्रेडाँडादेखि धेद्रेसम्म ३ किमी ३ सय ५० मीटर लामो सुरुङमध्ये आहिलेसम्म जम्मा ६७६ मीटर र ३ किमी ३०० मीटर लामो रहेको धेद्रेदेखि लेनडाँडासम्म ६६२ मीटर सुरुङ खनिएको छ ।  द्रुतमार्ग आयोजनाको व्यवस्थापनको जिम्मा सेनाले लिएको ६ वर्षमा ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । समय बाँकी रहँदै किन आयोजनाको म्याद थपिएको होला भन्ने आम चासो पनि नभएको होइन, कोभिडले प्रभावित अन्य आयोजनाको म्याद १ वर्ष ९ महीना थप गरिएको थियो । यसलाई नै आधार मानेर यस आयोजनाको पनि समय २० महीना बाँकी रहँदै २८ महीना थप भएको छ । अब थप गरिएको म्याद २०८३ चैत महीनासम्म रहेको छ । पहिलेको समय नै २०८१ मङ्सिरसम्म रहेको थियो । हरेक आयोजनाका आपैmमा महत्वको रहन्छ । तसर्थ समयमा नै स्तरीय कार्यका साथ देशले नै गर्व गर्नलायक र दूरगामी प्रभाव पार्ने आयोजना निर्माणमा सबै सरोकारवाला निकाय ज्यादै गम्भीर रहँदै कार्य सम्पन्न गर्न सक्नुपर्छ । तब मात्र हामीले गौरव गर्न सक्छौं ।  लेखक सुदर्शन अधिकारी विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् । 

सम्बन्धित सामग्री

देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो

यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् ।

बीमा बदनाम  गराउँदै सरकार

सरकारले विभिन्न बीमा प्रडक्टमा अनुदान दिने नीति लिए पनि आफ्ना प्रतिबद्धता पालना नगर्दा बीमाक्षेत्रकै बदनाम भइरहेको छ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीमा आफ्नो दायित्व पूरा नगर्दा हजारौं बीमितले दाबी भुक्तानी पाएनन् । अहिले सरकारले अनुदान दिएको बीमामा अनुदान नदिँदा कम्पनीहरू कृषि तथा पशुपन्छी बीमा रोक्नुपर्ने बाध्यतामा पुगेका छन् । सरकारको निर्देशनपछि कृषि तथा पशुपन्छी बीमा गरेका बीमा कम्पनीहरूले बीमा अनुदानको २ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । अनेक बहाना गरेर भुक्तानीमा विलम्ब गर्दा बीमा कम्पनीले उक्त कार्यक्रम बन्द गरेपछि त्यसको असर पर्ने किसानलाई नै हो । बीमा हुन नसकेपछि बैंकले पनि कृषिक्षेत्रमा लगानी गर्दैनन्, जसले कृषिक्षेत्रको विकासमा नै असर गर्छ ।  सबैजसो देशले आफ्ना नागरिकलाई आर्थिक जोखिमबाट जोगाउन बीमालाई विशेष प्राथमिकता दिँदै आएका छन् । जोखिमको सम्भावना सधैं रहने र समस्या आइहाले त्यसका क्षतिपूर्ति दिन सरकार असमर्थ हुने भएकाले बीमाबाट यसको क्षतिपूर्ति दिन सकिने भएकाले बीमालाई उच्च प्राथमिकतामा राखिएको छ । जोखिम बढी भएपछि कुनै पनि क्षेत्रमा लगानीकर्ता हच्किनु स्वाभाविकै हो । कृषिक्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो । मौसम अनिश्चित हुन्छ र कृषि मौसम प्रणालीसँग सम्बद्ध छ । त्यसो हुँदा यो जोखिमबाट जोगाउन आवश्यक हुन्छ । अन्यथा कृषिको व्यावसायिक विकास हुन सक्दैन ।  कृषिलाई व्यावसायिक बनाउन सरकारले कृषिबीमामा अनुदान दिँदै आएको हो । २०६९ सालदेखि कृषिबीमा कार्यक्रम लागू भएको थियो । कृषिबीमामा कृषकका आकर्षण बढाउन सरकारले शुरूमा ५० प्रतिशत र पछि बढाउँदै ८० प्रतिशतसम्म पुर्‍यायो । यसले कृषिबीमाको क्रम पनि बढेको छ ।  सरकारी निकायले अनेक बहाना गरेपछि सर्वसाधारणमा बीमा भनेका यस्तै हुन् अनेक अड्चन सृजना गर्छन् भन्ने सन्देश जान्छ, जबकि यसमा सरकारको अड्चन बढी देखिएको छ । सरकारको कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका बीमा कम्पनीको काममा प्रश्न लगाउनु कुनै हिसाबले उपयुक्त देखिँदैन । किनकि जेठ ७ गतेसम्म जति पनि कृषि तथा पशुपन्छी बीमा गरिएका छन्, तिनका बीमालेख प्रमाणित गर्ने काम कृषिकै प्राविधिकले गरेका हुन् । बीमा व्यवसाय मुलुकको अर्थतन्त्रलाई जोगाउन अत्यावश्यक मानिन्छ किनभने यसले जोखिमबाट सबैलाई जोगाउँछ । सरकारले पनि बीमाको पहुँच व्यापक बनाउने लक्ष्य लिएको छ ।  कोरोना बीमामा पनि सरकारले आफ्नो दायित्व पूरा गरेको छैन । बीमा कम्पनी, बीमा प्राधिकरण र त्यसपछिको दायित्व सरकारले बेहोर्ने घोषणापछि कम्पनीहरूले कोरोना बीमा गरेका थिए । तर, दाबी बढ्दै गएपछि सबैले आआफ्नो दायित्व पूरा गरे पनि सरकारले आफूले कबोलेको रकम दिएन । त्यही कारण हजारौं कोरोनाप्रभावितले कोरोना बीमाको दाबी भुक्तानी पाएनन् । यसले बीमा व्यवसायमा नै कलंक लागेको छ ।  कृषि तथा पशुपक्षी बीमालेख बन्द भयो भने कृषि र पशुपालनलाई व्यावसायिक बनाउन सकिँदैन । अहिले यस क्षेत्रमा बढेको आकर्षण फेरि हट्नेछ । यसले कृषिक्षेत्रमा लगानी घट्ने र आयात झनै बढ्ने देखिन्छ ।  सरकारले यस्तो बीमाको रकम बढी भएको भन्दै संशोधन गरेर पठाउन भनेपछि समस्या बढेको छ । आपैmले कबुल गरेको रकम नदिएर यसो गर्नु सरकारको बदमासी हो । सरकारको बदमासीले बीमाक्षेत्र नै ध्वस्त हुने सम्भावना बढेर गएको छ ।  कृषि तथा पशुपन्छी बीमामा बदमासी भएको हो भने सरकारी निकायले यहाँनेर समस्या भयो भन्न सक्नुपर्छ । त्यति मात्र नभई गलत प्रमाणित भए बीमा कम्पनी र कृषि प्राविधिकलाई कारबाही गर्नुपर्छ । होइन भने कर्मचारीको स्वार्थ वा अन्य कारणले सरकारको यति ठूलो कार्यक्रममा अवरोध आउनु हुँदैन । हो, यतिखेर सरकार स्रोतको दबाबमा छ । तर, स्रोत छैन भने कटौतीका अन्य क्षेत्र हुन सक्छन् । दोहोरिने कार्यक्रम, अनुत्पादक कार्यक्रम, गाडी खरीद, विदेश भ्रमणलगायत शीर्षक कटौती गर्नुपर्छ । किसानलाई लाभ दिने कृषि तथा पुशपन्छी बीमाजस्ता कार्यक्रममा अवरोध सृृजना गर्नु हुँदैन । बरु संघीय सरकारलाई कार्यान्वयन गर्न झन्झट छ भने स्थानीय तहमार्फत यस्तो कार्यक्रम अघि बढाइनुपर्छ । स्थानीय तहबाट कृषि तथा पशुपन्छी बीमा कार्यान्वयन हुने हो भने किसानलाई त सहज हुन्छ नै साथै अहिले आशंका गरिएको दुरुपयोगको सम्भावना पनि कम हुन्छ ।

अभियान सम्पादकीय : द्रुतमार्गमा विलम्ब

सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र निर्माण सकिसक्ने गरी नेपाली सेनालाई काठमाडौं–तराईमधेश दु्रतमार्गको जिम्मा दिए पनि उक्त अवधि गुज्रिएर म्याद थप हुँदासमेत यसको प्रगति २२ प्रतिशतमात्रै भएको छ । नेपाली सेनाले जुन व्यावसायिकता र दक्षता यसको निर्माणमा देखाउने अपेक्षा गरिएको थियो त्यो पूरा हुन नसक्नु निकै दुःखद पक्ष हो । अहिलेकै गतिमा यसको निर्माण हुने हो भने अझै कैयौंपटक यसको म्याद थप्नुपर्ने हुन्छ जसबाट यसको लागत निकै गुणा बढी पर्छ र यो सेतोहात्ती नबन्ला भन्न सकिँदैन । नेपाली सेना सडक निर्माणमा संलग्न भएको यो पहिलो होइन । यसको ट्र्याक पनि सेनाले नै खोलेको थियो । सार्वजनिक निजी साझेदारी मोडलमा भारतीय कम्पनीलाई निर्माणको जिम्मेवारी दिँदा निकै विरोध भएपछि तत्कालीन सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । यसले निर्धारित समयमा निर्माण सक्ने दाबी गरे पनि उपलब्धि भने कछुवाको गतिमा छ । म्याद थपेपछि ३ वर्षभित्र निर्माण गरिसक्ने बताए पनि अहिले फेरि म्याद थप्नुपर्ने अवस्था आएको छ र थपिएका म्यादमा पनि निर्माण हुन सक्ने स्पष्ट आधार देखिएको छैन । यसले गर्दा ३५ अर्बमा तयार हुने भनिएको यो सडकको लागत ४/५ खर्ब पुग्ने सक्ने विश्लेषण गर्न थालिएको छ । निर्माण कार्यमा विलम्ब हुन थालेपछि यसको जिम्मा सेनालाई दिनुको अर्थ के हो त ? भन्ने प्रश्नसमेत गर्न थालिएको छ । अरूले काम गर्न नसकेपछि सेनालाई त्यसको जिम्मा लगाइएको हो भन्ने कुरा बिर्सन मिल्दैन ।  नेपालमा साना वा ठूला जस्तासुकै आयोजना होऊन् ती समयमा सम्पन्न भएको पाइँदैन । यसो हुनुमा व्यवस्थापनसँग सम्बद्ध समस्यादेखि प्राविधिक ज्ञानको कमीसम्मका कारण रहेका देखिन्छन् । त्यसो त गलत नियतले ठेक्काको काम नगर्ने ठेकेदारकै कारण आयोजनामा विलम्ब हुने गरेको पनि छ । अन्य मुलुकमा समयमै काम गरेर नाम कमाएको चिनियाँ कम्पनी भने नेपालमा काम नगरी आयोजनाको म्याद बढाउने खेलमा लागेको देखिन्छ । यसले नेपालको विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचारलाई देखाउँछ । समयमा काम नगर्ने र फोर्स मेजर अर्थात् विशेष अवस्था भन्दै म्याद थप्न लगाउने प्रवृत्ति देखिन्छ । नेपाली सेनाबाट यस्तो नहुने अपेक्षा आमजनतामा छ । त्यसैले आमजनताको विश्वास नतोडिने गरी सेनाले दु्रतमार्गलाई तीव्र गतिमा सम्पन्न गर्नु जरुरी छ ।  नेपाली सेनाले राज्यले दिएको जिम्मेवारी पूरा गर्ने गरेको छ । त्यस्तै सेना चेन अफ कमान्डमा चलेको हुन्छ र यसले भ्रष्टाचार गर्दैन भन्ने पनि धेरैमा विश्वास छ । मुलुकका अन्य संयन्त्र कामै नलाग्दा पनि सेनाले भने काम गर्छ भन्ने जनविश्वासलाई आधार मानेर नै सरकारले यो सडक निर्माणको काम सेनालाई दिएको देखिन्छ । यस्तोमा सेनाले आफ्नो छवि बचाएर काम गर्नु जरुरी छ ।  नेपालको सार्वजनिक खरीद ऐन, विकास निर्माणमा हुने स्थानीयको अवरोध, समयमा काम नगर्ने कम्पनीहरूका कारण हरेक आयोजनाको प्रगति निकै सुस्त छ । सरकारी संयन्त्रमा समन्वयको अभाव र एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने प्रवृत्तिले पनि काममा विलम्ब हुने गरेको छ । यो आयोजना सेनाले जिम्मा लिएपछि यस्तो समस्या कम हुन्छ भन्ने सोचिए पनि त्यसो हुन सकेन । खोकना क्षेत्रमा स्थानीयको विरोध रहेकाले सेनाले तराई क्षेत्रबाट निर्माण थालनी गर्‍यो जसको समाधान अझै भएको छैन । सुरुङ मार्गको ठेक्कामा भएको विलम्बले पनि आयोजनामा असर पर्‍यो । यस्ता अवरोधलाई छिचोल्न र व्यवस्थापकीय क्षमता देखाउन सेनाले थप गम्भीर हुन र गृहकार्य गर्न जरुरी देखिन्छ ।  हुन त विकास निर्माणका आयोजनाको ठेक्का लिनु सेनाको कार्यक्षेत्र होइन तर राज्यले आवश्यक ठानेर जिम्मेवारी दिएपछि त्यो पूरा गर्नु उसको दायित्व हो । यो दायित्व पूरा गर्न उसले आफ्नो संगठनको पूरा क्षमता लगाउन आवश्यक छ । तर, त्यसो गर्न सकेको देखिँदैन । अतः सेनाले सरकारबाट केकस्ता सहयोग चाहन्छ त्यो स्पष्ट माग गर्नुपर्छ र आयोजनालाई छिटो सम्पन्न गरेर आफ्नो छवि जोगाउन सक्नुपर्छ ।  #abhiyan #editorial #FastTrack

विकास खर्चमा गैरजिम्मेवारी

आर्थिक वर्षको अन्त्यमा हतारमा विकास बजेट सक्ने परिपाटी अन्त्य गर्नका लागि संविधानमै बजेट ल्याउने मिति उल्लेख गर्नेेदेखि विभिन्न सुधारका काम भए पनि खर्च प्रवृत्तिमा भने अझै सुधार आउन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले विकास बजेट खर्चका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै  छलफल गरे पनि चालू आर्थिक वर्ष २०७८/७९ को साढे १० महीना बित्दा विकास खर्च भने गत आवको भन्दा कमजोर देखिएको छ । मुलुकको विकास निर्माणको सबैभन्दा ठूलो समस्या मानिएको कमजोर विकास खर्चमा सुधार ल्याउन सबैजसो सरकार किन असफल भइरहेका छन् त ? खर्च नहुनुमा दर्जनौं कारण देखाइन्छ र त्यसमा सुधारका विभिन्न योजना पनि बनाइन्छ तर सधैं परिणाम भने नकारात्मक नै आउने गरेको छ । चालू आवको बजेटमा पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब रूपैयाँभन्दा बढी बजेट विनियोेजन भएकामा १ खर्ब ११ अर्ब मात्रै खर्च भएको छ । यो भनेको २९ प्रतिशत हो । अबको दुई महीनामा पूरै बजेट खर्च हुने सम्भावना निकै कम छ । अतः विकास बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्त्यतिर हतारहतार खर्च गर्ने प्रवृत्ति यसपटक झनै बढ्ने देखिन्छ । ११ महीनामा गरिसक्नुपर्ने खर्च अन्तिममा हतारहतार सक्न कर्मचारी संयन्त्रलाई केले प्रोत्साहित गरिरहेको छ भन्नेमा सरकार राम्रै जानकार छ । तर, यसलाई रोक्न कुनै पनि सरकारले सकेका छैनन् वा प्रयास गरेको अनुभव हुन्न । सरकारी संयन्त्रमा खर्च गर्न सक्ने क्षमता छैन भनेर विकास साझेदार मुलुकहरूले पनि भनिरहेको पाइन्छ । खर्च नहुनुमा दर्जनौं कारण देखाइन्छ र त्यसमा सुधारका विभिन्न योजना पनि बनाइन्छ तर सधैं परिणाम भने नकारात्मक नै आउने गरेको छ । यसको उल्टो चालू खर्च भने करीब करीब शतप्रतिशत नै हुने गरेको छ । त्यसैले नेपालको बजेट खर्च प्रणालीमै ठूलो भ्वाङ छ जसमा सुधार आवश्यक छ । विकास निर्माणका बेथिति रोक्ने मूल जिम्मा राजनीतिक नेतृत्वको हो । तर, राजनीतिक नेतृत्वमा प्रतिबद्धताको कमी छ । योजनाको छनोटदेखि बजेट निकासासम्म राजनीतिक नेतृत्वको हस्तक्षेप एकातिर पाइन्छ भने अर्कातिर सकेसम्म आर्थिक वर्षको अन्त्यमा हतारले खर्च गर्न पाए हुन्थ्यो भन्ने कर्मचारीको प्रवृत्ति र मनोवृत्ति पाइन्छ । यसमा सुधार ल्याउन नसकिएकाले नै विकास निर्माणले गति लिन नसकेको हो । राजनीतिक अस्थिरता, द्वन्द्व, बजेट स्वीकृतिमा ढिलाइ, बजेट अख्तियारीमा विलम्ब जस्ता कारण विगतमा देखाउने गरिएको थियो । बजेट खर्चमा सुधार ल्याउन संविधानमा जेठ १५ गते बजेट ल्याउनै पर्ने व्यवस्था गरियो । विकास बजेट समयमै खर्च होस् भन्नका लागि कार्यसम्पादन करार गर्नेदेखि प्रधानमन्त्रीको कार्यालयमा एक्सन रुम बनाउनेसम्मका काम नभएका होइनन् । तर पनि विकास बजेटको खर्चमा सुधार आउन सकेको छैन, झन् कमजोर भएको छ । विकास आयोजनाहरूमा नेतृत्व परिवर्तन चाँडो चाँडो हुनु एउटा समस्या हो । काम गर्दा भएका सामान्य त्रुटिका लागि दण्डित हुनुपर्ने तर काम नगर्दा त्यसबापत कुनै कारबाही भोग्नु नपर्ने व्यवस्थाले कर्मचारीलाई काम नगर्न प्रोत्साहित गरेको छ । त्यस्तै, सार्वजनिक खरीदका समस्या र त्यसमा भएका छिद्रको दुरुपयोगले पनि पूर्वाधार निर्माणका काममा ढिलासुस्ती हुने गरेको छ । खरीद ऐनमा पटकपटक भएका संशोधनले पनि समस्याको समाधान हुन सकेको छैन । त्यसैले समस्याको मूल जरो पहिचान गरी त्यसमै प्रहार गर्न सकिएको छैन र त्यसको असर विकास खर्चमा परिरहेको छ । विकास खर्च समयमा हुँदा गुणस्तरीय निर्माण हुन्छ र दिगो पूर्वाधार बन्छ । तर असारे विकासकै कारण नेपालका पूर्वाधारहरू कमजोर बनिरहेका छन् । अहिलेको संकटपूर्ण घडीमा निर्माण व्यवसायीहरूले महँगी बढेको भनी निर्माणका काम ठप्प पारेका छन् । यसले समस्यालाई झनै बढाउँछ । त्यसैले निर्माण व्यवसायी र सरकार दुवै गम्भीर भई तत्काल काम गर्ने वातावरण बनाइहाल्नुपर्छ ।   पूँजीगत खर्चमा सुधार ल्याउन महालेखा परीक्षकको प्रतिवेदनले केही सुझाव दिएको छ । तिनको कार्यान्वयन गर्न सके पनि केही सुधार आउन सक्छ । मुख्य कुरा सरकारको प्रतिबद्धता नै हो । सधैं विकास बजेट खर्च गर्न समस्या भइरहने हो भने नेपाल पछौटे अवस्थाबाट माथि उक्लन नसक्ने भएकाले सरोकार राख्ने सबै जिम्मेवार हुनैपर्छ । पूर्वाधार विकासका लागि अधिकतम बजेट चाहिने बेला उल्टै विनियोजित बजेट नै खर्च हुन नसक्नु दुर्भाग्य हो ।

शोधभर्नामा विलम्ब

वैदेशिक सहायतामा निर्माण गरिने विभिन्न विकास आयोजनामा विकास साझेदारहरूसँग सम्झौता भएका ऋण तथा अनुदान रकम प्राप्त गर्न सरकारले आफ्नै स्रोतको रकम खर्च गरेर तोकिएको काम गर्नुपर्ने हुन्छ । सम्झौतामा भएका शर्त र मापदण्ड पूरा गरी आवश्यक प्रक्रिया पूरा गरेर अर्थ मन्त्रालयमार्फत माग गरेपछि मात्रै ती संस्थाबाट शोधभर्ना पाइन्छ । तर, सरकारले एकातिर विकास निर्माणका काममा तीव्रता दिन सकेको छैन भने अर्कातिर सम्पन्न कामहरूको भुक्तानी लिन पनि आवश्यक प्रक्रिया पूरा गर्न सकेको छैन । यसरी शोधभर्नामा विलम्ब हुँदा विदेशी विनिमय सञ्चितिमा थप दबाब परेको देखिन्छ । मन्त्रालयहरूले अर्थमा बुझाउनुपर्ने कागजातहरू नबुझाएको अर्थको भनाइ पाइन्छ भने मन्त्रालय वा विभागहरू चाहिँ अर्थले निकासा रोकेको बताउने गर्छन् । यसले नेपालको खर्च प्रणाली र त्यसको निकासा प्रक्रियामा समस्या छ भन्ने देखाउँछ । नेपालको विकास निर्माण निकै सुस्त गतिमा चलेको छ । कुनै पनि आयोजनाहरू समयमा सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय प्राथमिकतामा परेका आयोजनादेखि स्थानीय तहले गर्ने सानातिना काममा समेत ढिलासुस्ती हुने गरेको छ । कतिपय आयोजनामा हुने ढिलासुस्ती राष्ट्रिय लज्जाको विषय नै बनेको छ । यसमा सुधार ल्याउन सरकारले प्रयास नगरेको होइन । तर, परिणाम सकारात्मक आउन सकेको छैन । यसकै असर शोधभर्नामा परेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार नेपालले विकास साझेदारसँग गरेको सम्झौताअनुसार अहिले २४ अर्ब रुपैयाँ शोधभर्ना लिन बाँकी छ । उसले उपलब्ध गराएको तथ्यांकअनुसार कुनै कुनै मन्त्रालय तथा विभागले बढी शोधभर्ना पाएका छन् । तर, शोधभर्ना दिने प्रक्रिया पारदर्शी हुने हुँदा बढी रकम आउने सम्भावना देखिँदैन । त्यसैले शोधभर्नासम्बन्धी सही तथ्यांक अर्थसँग छैन कि भन्ने देखिन्छ । विकास निर्माण सम्पन्न भएकै आयोजनाहरूको पनि प्रक्रिया पूरा नहुँदा शोधभर्ना हुन बाँकी रहेको देखिन्छ । मन्त्रालयहरूले अर्थमा बुझाउनुपर्ने कागजातहरू नबुझाएको अर्थको भनाइ पाइन्छ भने मन्त्रालय वा विभागहरू चाहिँ अर्थले निकासा रोकेको बताउने गर्छन् । यसले नेपालको खर्च प्रणाली र त्यसको निकासा प्रक्रियामा समस्या छ भन्ने पनि देखाउँछ । यस्तो अवस्थामा शोधभर्ना प्रक्रियामा पनि त्रुटि हुन सक्छ । यसमा सुधार ल्याउनुपर्छ । एशियाली विकास बैंक, विश्व बैंकजस्ता विकास साझेदारहरूका गभर्निङ एकाइमा नेपालका अर्थमन्त्री पनि सदस्य हुन्छन् । नेपाल प्रक्रिया पूरा गरेर पनि शोधभर्ना नपाएको हो भने नेपालले त्यसमा आवाज उठाउन सक्छ । आर्थिक कार्यविधिमा बढीमा ४५ दिनभित्र दाता पक्षको निर्देशिका बमोजिम माग दरखास्त फाराम तयार गरी शोधभर्ना लिने व्यवस्था छ । शोधभर्ना नमाग्नेमाथि कानूनी कारबाही हुने व्यवस्था कार्यविधिमा उल्लेख छ । यसरी प्राप्त हुने शोधभर्ना रकम सञ्चित कोषमा दाखिला गर्ने गरिन्छ । यति स्पष्ट कानूनी व्यवस्था हुँदा पनि ठूलो रकम शोधभर्ना हुन नसक्नुमा नेपालकै कमजोरी हो भन्ने देखिन्छ । सरकारी अधिकारीहरूले यसमा सुधार आएको र शोधभर्ना लिने रकमको मात्रा घट्दै गएको बताएका छन् । हो, केही सुधार भएको छ तर जति हुनुपर्ने हो त्यति हुन भने सकेको छैन । त्यसैले सरकारले सुधारलाई प्रभावकारी बनाउनुपर्छ । विकास साझेदारहरूबीच नेपालले विकास खर्च गर्नै सक्दैन भन्ने सन्देश गएको छ । शोधभर्नामा भएको ढिलाइले यसलाई थप पुष्टि गर्छ । यस्तोमा साझेदारहरूले थप सहयोग नगर्न सक्छन् । त्यस्तै शोधनान्तर स्थिति र विनिमय सञ्चितिमा समेत असर पर्न सक्छ । अत: छिटो शोेधभर्ना लिनेगरी सरकारले काम गर्नुपर्छ । यतिखेर शोधभर्ना मात्र नभई सरकारले विकास निर्माणका कामलाई पनि तीव्रता दिने बेला हो । यसले एकातिर पूँजीगत खर्चमा वृद्धि हुन्छ भने अर्कोतर्फ अहिले बैंक तथा वित्तीय संस्थामा भइरहेको तरलता अभावलाई पनि घटाउन मद्दत गर्छ । त्यसैले अबको आवश्यकता विकास निर्माणका कार्यलाई तीव्रता दिनसक्ने संयन्त्र निर्माणमा जोड दिनेतिर हुनुपर्छ । नेपाल अझै पनि गरीब मुलुककै सूचीमा रहकाले काम नगरी विकसित हुँदैन भन्ने सोच आउनुपर्छ । किनकि नेपालमा विकास निर्माणका धेरै काम हुन बाँकी छन् ।

रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

विराटनगर । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरूले विलम्ब गरिरहेको व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले एलसी खोलेर सामान मगाइएको तर सम्भावित युद्धका कारण त्यहाँबाट त सामान डिसप्याच नभएकाले चिन्ता थपेको बताए । उनले भने, ‘युद्ध शुरू भइहाल्यो भने त्यहाँको कम्पनीले सामान पठाउँदैन, यहाँका उद्योगहरूको करोडौं रुपैयाँ डुब्न सक्छ ।’ दुवै देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ । नेपालमा युक्रेनबोहक अस्ट्रेलियाबाट पनि तोरीको दाना आयात गरिन्छ । युक्रेनमा भएको तनावपछि अस्ट्रेलियाबाट तोरी मगाइएको र माग बढेपछि त्यहाँबाट ढिला ढुवानी हुने देखिएको उद्योगीले बताएका छन् । अस्ट्रेलियामा समेत तोरीको मूल्य प्रतिटन ६० डलर बढेको छ । यसको असर नेपाली बजारमा केही समयपछि नै देखिने उनको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवाल रसिया र युक्रेन बीचको युद्धको तनावका कारण नेपालका तेल उद्योगहरूले युक्रेनको सट्टा अस्ट्रेलियाबाट तोरी मगाउन थालेकाले कच्चा पदार्थको अभाव नभए पनि बजारमा खानेतेलको मूल्य वृद्धि हुने बताए । कोभिड महामारीका कारण तोरी, सूर्यमुखी र भटमासको तेलमा १ वर्षदेखि मूल्य बढेको छ । तोरीको तेलमा लिटर १ सयका दरले बढेको मूल्य थप बढ्ने देखिएको छ । तोरी लिटरको खुद्रा मूल्य अहिले २ सय ८० रुपैयाँ छ । सूर्यमुखी २ सय ३० र भटमासको तेलको मूल्य २ सयको हाराहारीमा छ । मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले सिपमेन्ट नरोकिएकाले अहिले युक्रेनबाट आउने तोरी, गहुँ र सूर्यमुखीको कच्चा पदार्थ आयात भइरहे पनि केही दिनमा त्यहाँबाट हुने आयात रोकिने बताए । उनले भने, ‘युद्ध शुरू भएमा त्यहाँबाट आउने सामानहरू रोकिन्छन् । तर, अस्ट्रेलियालगायत मुलुकबाट आउने भने रोकिँदैन ।’ नेपाली उद्योगहरूलाई कच्चा पदार्थको अभाव नहुने भए पनि मूल्य भने बढ्ने उनले बताए । उनले अहिले नै पहिलेको तुलनामा एक टनमा ३० देखि ६० अमेरिकी डलर मूल्य वृद्धि भएकाले त्यसको असर नेपाली बजारमा पनि पर्ने बताए । युद्ध भएमा पेट्रोलियमको समेत मूल्य बढ्ने भएकाले त्यसले ढुवानीको लागत समेत बढ्ने उनको भनाइ छ । युक्रेन र रसिया बीचको युद्धको त्रासले नेपालका बैंकहरूले केही समयदेखि एलसी खोल्न आनकानी गरिरहेका छन् । दुई महीनामा अन्तरराष्ट्रिय बजारमा ६० डलर प्रतिटनमा तोरीको मूल्य बढेको नेपाल चामल, दाल, तेल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बताए । चन्द्रशिव राइस एन्ड आयल मिल्सका सञ्चालकसमेत रहेका राठी भन्छन्, ‘मैले २ महीनाअघि टनको ७ सय ५५ डलरमा खोलेको एलसीको तोरी अहिले कोलकाता आइपुगेको छ । तर, यतिबेला अस्ट्रेलियामा तोरीको मूल्य टनको ८ सय २० डलर पुगिसकेको छ । यही तोरीको मूल्य गतवर्षको माघ महीनामा टनको ५ सय ८० देखि ६ सय डलरसम्म थियो ।’ पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुईओटा क्षेत्रलाई रूसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो । ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन् । नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरूको विषयमा चासो दिएर उनीहरूको लगत संकलन थालेको छ । यूरोपेली मुलुक र अमेरिकाले रूसी कदमको आलोचना गरेका छन् ।

औचित्यहीन विकास समिति

विकास निर्माणका आयोजनाको समीक्षा र मन्त्रालयहरूको समन्वय नहुँदा देखिएका समस्याहरूको समाधानका लागि गठन गरिएको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण समितिको बैठक बस्न नसकेको हो । यसले विकास आयोजनाको समीक्षा हुन सकेको छैन र आयोजनाहरूमा देखिएको अवरोधका गाँठो फुकाउन पनि समस्या भएको छ । तर, यो समितिले विकासका अवरोधहरूको गाँठो फुकाउन खासै भूमिका खेलेको छैन । वास्तवमा यो समितिको औचित्य नै पुष्टि हुन सकेको छैन । खासखास आयोजनामा देखिएका समस्यालाई लिएर तिनको समाधानका लागि ठोस निर्णय भई कार्यान्वयन भएको पनि खासै पाइँदैन । त्यसैले राष्ट्रिय विकास समस्या समाधान समितिको औचित्य के हो भन्ने पुष्टि हुन सकेको छैन । यो समितिमा प्रधानमन्त्री, मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, मन्त्रालयका सचिवहरू, तथा योजना आयोगका पदाधिकारीहरू रहेका छन् । यसमा विकासे मन्त्रालयहरूले आआफ्ना मन्त्रालयहरूमा पारित गरेका प्रतिवेदनहरू छलफल हुन्छन् । यी छलफल औपचारिक मात्रै हुने गरेको पाइन्छ । त्यसमा अन्त मन्त्रालय र अन्तरनिकायबीच देखिएको असमन्वय हटाउने गरी कुनै निर्णय भएको पाइँदैन । खास खास आयोजनामा देखिएका समस्यालाई लिएर तिनको समाधानका लागि ठोस निर्णय भई कार्यान्वयन भएको पनि खासै पाइँदैन । त्यसैले यो समितिको औचित्य के हो भन्ने पुष्टि हुन सकेको छैन । अर्थात् जुन उद्देश्यले यो समिति बनाइएको छ त्यसअनुसार काम भएको पाइँदैन । यो संरचना नै गलत हो भन्ने देखिन्छ । विकास निर्माणका काममा समस्या नै समस्या छन्, चुनौती नै चुनौती छन् । यही कारण राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिन सकेका छैनन् । पूँजीगत खर्च हुन सकेको छैन । मन्त्रालयहरूका आआफ्नै प्राथमिकता हुन्छन् । आफ्नो मन्त्रालयको प्राथमिकताअनुसार उनीहरूले काम गर्छन् । उद्योग मन्त्रालयले उद्योग खोल्न प्राथमिकता दिन्छ र प्रक्रियालाई अनुमति दिन्छ । तर, वातावररण मन्त्रालयले वातावरण असर पुग्ने भन्दै उद्योगहरू खोल्न दिँदैन । विद्युत् प्रसारण लाइन बनाउनलाई रूख काट्नुपर्ने हुन्छ । त्यस्तै सडक, विमानस्थल, जलविद्युत् आयोजना आदि पूर्वाधार निर्माण गर्दा पनि रूखहरू काट्नुपर्ने हुन्छ । तर, वन मन्त्रालयले रूख काट्न अनुमति दिँदैन । यही कारण कैयौं प्रसारणलाइन निर्माणमा विलम्ब भइरहेको छ । खानीहरूको उपयोगमा पनि यस्तै खालको समस्या छ । यी समस्याको समाधानमा अन्तरमन्त्रालय समन्वय जरुरी छ । समितिले यस्तो काम गर्नुपर्ने हो तर उसले यसमा कुनै भूमिका खेलेको देखिँदैन । समितिमा कर्मचारीको संख्या बढी छ । तिनले त्यहाँ प्रस्ताव पेश गर्नेमात्र हो । उनीहरूबाट यो समस्या समाधानका लागि कुनै भूमिकाको अपेक्षा गर्नु नै व्यर्थ हो । यो गाँठो फुकाउने काम राजनीतिक नेतृत्वको हो । तर, धेरै मन्त्रीहरू समितिमा हुँदा त्यसमा पर्याप्त छलफल र निर्णय हुन सकेको छैन । प्रधानमन्त्रीले पनि यसमा त्यति धेरै भूमिका खेल्न सक्ने देखिँदैन । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजसो प्रमुख विभागहरू र समितिहरू प्रधानमन्त्री मातहत ल्याएका छन् । यसले प्रधानमन्त्री बलियो हुने विश्वासले यसो गरिएको हो भनिन्छ । तर, प्रधानमन्त्री मातहतमा धेरै विभागहरू राखिँदा प्रधानमन्त्रीले समय दिन कठिन हुन्छ । त्यस्तै समस्याको अध्ययन र त्यसका लागि आवश्यक निर्देशन दिन पनि सहज हुँदैन । धेरै निकायहरू यही कारण समस्यामा परेका छन् । सचिवहरू फाइल लिएर जाने र प्रधानमन्त्रीलाई भेट्न नपाएपछि रित्तै फर्किने गरेको समाचार आइरहेको पाइन्छ । अझ उद्योग मन्त्रालय प्रधानमन्त्री आफूले लिएकाले थुप्रै कामहरू गर्न समस्या भएको सचिवहरूको भनाइ छ । यो समितिमात्र होइन, लगानी बोर्डको बैठक पनि प्रभावित भइरहेको छ । विश्वविद्यालयहरूको कुलपति पनि प्रधानमन्त्री हुने व्यवस्था भएकाले ती कार्यालयका काम पनि प्रभावित भइरहेका छन् । यसरी सबै अधिकार प्रधानमन्त्रीमातहत ल्याउनु पनि ठीक होइन । भारतमा अन्तरमन्त्रालयको समन्वयका लागि सानो आकारको समिति छ, जसमा विज्ञ केही मन्त्रीहरू रहेका हुन्छन् । उनीहरूले समस्याको समाधानबारे निर्णय गर्छन् र त्यो निर्णय मन्त्रिपरिषद्ले पारित गर्छ । नेपालमा पनि यस्तै मन्त्रीहरूको छरितो समिति बनाउनु आवश्यक छ ।

शून्य कार्बन उत्सर्जन र जलवायु वित्त

देवेन्द्र अर्याल ‘आँसु’ बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ सम्मेलनमा सहभागी राष्ट्रहरुले जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाए । जसमा नेपालको तर्फबाट सहभागी प्रतिनिधिमण्डलले पनि आफ्नो धारणा राखेका थिए । उक्त सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र आगामी दिनमा यसले निम्त्याउन सक्ने समस्याका बारेमा बृहत् छलफल भएको छ भने जलवायु वित्त परिचालनमा पनि विलम्ब […]

कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

देश कोरोना महामारीको चपेटामा छ । महामारी नियन्त्रणका निम्ति अग्रस्थानमा देखिनुपर्ने सरकारको भूमिका सत्ता राजनीतिमा एकोहोरिएको छ । महामारीबाट अर्थसामाजिक दैनिकीलाई कसरी जोगाउनेभन्दा पनि सत्ता कसरी ढाल्ने र बचाउने भन्ने ध्याउन्नमा राजनीति केन्द्रित छ । यसैबीच अबको केही दिनमा आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक ल्याउनैपर्ने अवस्था छ । संविधानले नै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको छ । कोरोना महामारीबाट विश्व नै अक्रान्त भइरहेको बेलामा जनताको जीवन रक्षा र अर्थतन्त्रको पुनरुत्थान बजेटको मूल प्राथमिकता हुनुपर्छ, यसमा द्विविधा आवश्यक छैन । सरकारले यो आवश्यकतालाई स्वीकार गरेको पनि छ । आर्थिक विकासको अग्रभागमा देखिने निजीक्षेत्रले पनि यो कुरालाई बारम्बार उठाउँदै आएको छ । यो आवश्यकताको प्रत्याभूतिमा भने अनेक सन्देह र असन्तोषहरू छन् । समस्याको चुरो नै यहीँ छ । मुख्य बजार र उत्पादनका केन्द्रमा लगाइएको निषेध आदेश अब तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेध आवश्यक भए पनि यो अवधिमा उपचारका पूर्वाधारको व्यस्थापनमा जुन तदारुकता हुनुपर्ने हो, सरकारी तवरबाट त्यो सक्रियता देख्न पाइएको छैन । अहिले कोरोना संकट दिनप्रतिदिन गहिरिँदै गएको छ । अधिकांश जिल्लामा निषेधाज्ञा छ । ४ जिल्लामात्र निषेध आदेशमुक्त छन् । मुख्य बजार र उत्पादनका केन्द्रमा लगाइएको निषेध आदेश अब तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेध आवश्यक भए पनि यो अवधिमा उपचारका पूर्वाधारको व्यस्थापनमा जुन तदारुकता हुनुपर्ने हो, सरकारी तवरबाट त्यो सक्रियता देख्न पाइएको छैन । संक्रमित अस्पतालमा छटपटाइरहेका छन्, सद्दे मानिस घरभित्र थुनिएका छन् । अस्पतालमा बेड छैन, सास फेर्न अक्सिजन छैन । उपचारका लागि स्वास्थ्यकर्मी पर्याप्त छैनन्, भएका पनि अत्यावश्यकीय पूर्वाधारको अभावमा दुव्र्यवहार सहेर उपचारमा खटिन विवश छन् । संक्रमितका आफन्तहरू उपचारको अभावमा जीवन गुमाउँदै गरेका प्रियजनको मृत्यु हेर्न लाचार छन् । संकटका बेला जनतासँग उभिनुपर्ने सरकार नामको संयन्त्रका गतिविधिले भने जनतालाई राहतको सट्टा आहत बनाउने काममात्र गरेको छ । राजनीति त सत्ता विघटन र बचाउमा लागेको छ । स्मरण हुन्छ, २०७२ सालको भूकम्पलाई कारण देखाएर राजनीतिक दलहरू सत्ता र शक्तिको झगडा प्रमुख होइन भन्दै संविधान निर्माणका लागि एक ठाउँमा उभिएका थिए । अहिले जनजीवन यत्रो महामारीको कहरमा हुँदा पनि नेतृत्वमा त्यो जिम्मेवारी बोध देखिएको छैन । भूकम्पताका संविधान निर्माणका लागि देखिएको त्यतिखेरको मतैक्यता सत्ता र शक्ति साझेदारीको फरक आवरणमात्र रहेछ भन्ने लाग्नु अस्वाभाविक होइन । सरकारले किस्ताबन्दीमा थपेको निषेधाज्ञा कम्तीमा १ महीना जाने निश्चित भइसकेको छ । गतवर्षको चैतमा शुरू भएको बन्दाबन्दी र त्यसपछिको निषेध ६ महीनासम्म चलेको थियो । त्यतिबेला महामारीको क्षति अहिलेको तुलनामा कम भए पनि नियन्त्रणमा सरकारी भूमिका सन्तोषजनक थिएन । सरकार योजनाभन्दा पनि छिमेकी देश भारतको सिको गरिरहेको थियो । त्यतिबेला सीमा नाका बन्द थिए । तर, अहिले खुला राखिएको छ । खुला सिमानाबाट भइरहेको आवागमन र मापदण्डको पालनामा लापरबाही अहिले संक्रमण र क्षतिको उत्कर्षको कारण हो भन्न द्विविधा मान्नु पर्दैन । अहिले संक्रमण र क्षति बढी हुँदा कहिले कसरी नियन्त्रणमा आउला यसै भन्न सकिने अवस्था छैन । सरकार देशैभरि कडा बन्दाबन्दी लगाउने तयारीमा रहेका समाचार सञ्चारमाध्यममा आएका छन् । जनतालाई घरभित्रै थुन्ने र स्वास्थ्य पूर्वाधारमा सक्रिय नहुने हो भने बन्दाबन्दीको अर्थ छैन । महामारी नियन्त्रणबाहिर गइसकेको छ । नेतृत्व सत्ता र शक्तिको राजनीतमै मग्न हुने हो भने नियन्त्रण सम्भव छैन । यस्तै अवस्था कायम रहने हो भने अहिलेको निषेधाज्ञा विगत वर्षभन्दा लामो समयसम्म जाने अनुमानचाहिँ गर्न सकिन्छ । कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । सँगै आर्थिक दिनचर्या पनि दिनदिनै संकटतिर धकेलिँदै गएको छ । अर्थ मन्त्रालय आगामी वर्षको बजेटको तयारीमा छ । अहिलेको राजनीतिक दृश्यले बजेटको विधि, प्रक्रिया र प्रभावकारितामा अन्योल उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बसेको संसद् बैठकमै पनि विपक्षी नेताहरूले राजनीतिक गतिरोधबीच आगामी बजेट कस्तो हुने र कसरी आउने भन्नेमा आशंका व्यक्त गरिसकेका छन् । तर, आशा र अपेक्षा भने हराएको छैन । चालू आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनप्रति असन्तुष्ट रहँदै आएको निजीक्षेत्रले आगामी वर्षको बजेटमा कोरोना महामारीबाट उत्पन्न असहजता समाधानको लागि विशेष राहतका प्याकेज ल्याउनुपर्ने माग गर्दै आएको छ । आगामी वर्षको बजेट एउटा असाधारण परिस्थितिको बीचमा आउन लागेको छ । कारोना महामारीले देश अस्तव्यस्तमात्र छैन, राजनीतिक दाउपेचले सरकारको प्राथमकिता महामारी नियन्त्रणबाट हटेर सत्ता जोगाउने तिकडमका केन्द्रित भएको अवस्था छ । यस्तो परिवेशमा आउने बजेट यथार्थ आवश्यकताभन्दा पनि राजनीतिक आग्रह र आवश्यकतामा दुरुपयोग हुने सम्भवना बढी हुन्छ । कोरोना माहामारीले आर्थिक र सामाजिक दैनिकी अस्तव्यस्त भएको अवस्थामा जनताको जीवन बचाउन स्वास्थ्य उपचार र पूर्वाधारमा लगानीको खाँचो छ । अर्थतन्त्रको पुनरुत्थानका निम्ति प्रोत्साहनमूलक प्याकेजको आवश्यकता छ । समग्रमा बजेट आर्थिक र सामाजिक क्षेत्रमा महामारीले पारेको क्षति न्यूनीकरण एवम् पुनरुत्थानमा केन्द्रित हुनुपर्छ । विश्वका सबैजसो अर्थतन्त्रले यस्ता योजना ल्याइरहेको अवस्थामा हामीले त्यसलाई बेवास्ता गर्न मिल्दैन । बेवास्ता भएमा अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चित छ । यसो त यो महामारी र यसको असर नियन्त्रणमा आर्थिक शक्तिहरूलाई त हम्मेहम्मे परेको छ भने हामीजस्तो सीमित स्रोतसाधनको जगमा उभिएको देशका निम्ति सहज पक्कै छैन । भएकै साधनको समुचित व्यवस्थापन र उपयोग हुन सक्यो भने त्यो अपेक्षित नभए पनि आवश्यकतालाई सहजीकरण बनाउने सन्दर्भमा उपलब्धि हुनेमा आशावादी बन्न सकिन्छ । सरकारले चालू वर्षका लागि ल्याएका राहतका कार्यक्रमको कार्यान्वयनमा देखिएको कमजोरीका कारण लक्षित वर्गले त्यसको लाभ उठाउन सकेको छैन । यसले कतिसम्म राहत दिएको छ र प्रभावकारिता कति छ भन्ने कुरा त निजीक्षेत्रले बारम्बार उठाउँदै आएको छ । विगतभन्दा यसपटक कोरोना महामारीको असर बढी पर्ने अनुमान छ । यो अवस्थमा आउने बजेटले यसको यस्तो असर सम्बोधनमा प्रभावकारी काम गर्न सकेन भने अर्थतन्त्रका अवयवहरू उठ्नै नसक्ने गरी थला पर्ने छ । बजेटलाई महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थानका कार्यक्रम, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास र निजीक्षेत्रलाई प्रोत्साहन गरिनुपर्ने निजीक्षेको आग्रह छ । यस्ता कार्यक्रमले उपभोक्ताको क्रयशक्ति बढाएर निजीक्षेत्रले काम गर्न सक्ने वातावरण बन्ने निजीक्षेत्रका अगुवाहरूको आग्रहलाई सरकारले बेवास्ता गर्नु हुँदैन । कर तथा राजस्व नीतिमा सुधारका सवालहरू निजीक्षेत्रले उठाउँदै आएको छ । छिमेकी देश भारतले वस्तु तथा सेवा करमार्फत कर प्रणालीमा व्यापक सुधार गरेको परिप्रेक्ष्यमा हामीकहाँ भने यो जटिलमात्र होइन, अव्यावहारिक बन्दै गएको सत्य हो । दुई तिहाइ व्यापार भारतमै केन्द्रित भएकाले त्यहाँ गरिएको सुधारको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि परिरहेको तथ्यप्रति नीति निर्माताले आँखा चिम्लिनु हुँदैन । भारतले कर प्रणालीमा सुधार गरिरहँदा हाम्रोमा देखिएको संरचनागत र प्रक्रियागत जटिलताले अर्थतन्त्रको प्रतिस्पर्धी क्षमतालाई कमजोर पार्नेमा आशंका आवश्यक छैन । स्वदेशी उत्पादन र व्यापारलाई प्रतिस्पर्धी बनाउने प्रतिबद्धतामा सरकार इमानदार छ भने यो आवश्यकतालाई सम्बोधनमा विलम्ब गर्नुपर्ने कारण छैन । कोरोना प्रभावित उद्यम व्यापारका लागि आर्थिक प्याकेज, श्रमका समस्याको समाधान, रुग्ण तथा घाटामा गएका उद्योगका समस्या सम्बोधनलाई बजेटले प्राथमिकतामा राख्न सक्नुपर्छ । कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले यसको दीर्घकालीन बचाउका उपायमा केन्द्रित हुनु आवश्यक छ । बन्दाबन्दी र निषेधाज्ञा संक्रमणको चेन तोड्ने तत्कालीन उपायमात्र हुन् । सबै नागरिकलाई खोपको उपलब्धता र पर्याप्त स्वास्थ्य पूर्वाधार यसको दीर्घकालीन उपाय हो । खोप र उपचारलाई सहज बनाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अर्थसामाजिक दैनिकीलाई चलायमान बनाउँदै अघि बढ्नुको विकल्प छैन । तयारी केही नगर्ने तर निषेधाज्ञालाई हतियार बनाएर दैनिकीलाई अवरोधमात्रै गर्ने हो भने रोगभन्दा भोक गम्भीर समस्याका रूपमा उपस्थित हुनेछ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

एमसीसीमा विलम्ब

करीब करीब सबैजसो प्रक्रिया पूरा भएर पनि संसद्बाट पारित हुन नसकी रोकिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गर्न ढिला हुँदा यो परियोजना ढिला हुने देखिएको छ । राजनीतिक दलहरूको विवादमा चेपुवामा परेको यो परियोजना ५ वर्षभित्र सम्पन्न भइसक्ने भए पनि यसबारे नेपालभित्र निकै विवाद सृजना गरिएको छ । अनावश्यक हो भने त्यसैअनुसार नेपालले निर्णय लिनुपर्छ अन्यथा यसलाई शीघ्र निर्णय गरी कार्यान्वयनमा लैजान ढिला गर्नु हुँदैन । एमसीसी राष्ट्रिय अहित हुने खालको छ, राष्ट्रिय स्वार्थविपरीत छ भने त्यसका सही विश्लेषण हुनुपर्छ र त्यसलाई नस्वीकार्न सकिन्छ । तर, महत्त्वपूर्ण परियोजनालाई राजनीतिक स्वार्थपूर्तिको गोटी भने बनाइनु हुँदैन । एमसीसी सम्झौताका बारेमा धेरै नै विवाद उठाइएको विषय यसलाई किन संसद्बाट पारित गर्नुपर्ने बनाइयो भन्नेमा रहेको छ । एमसीसीको सहयोग परिचालन भएका अन्य देशमा पनि यस्तो भएको देखिन्छ । हाल २७ देशमा एमसीसीको अनुदान सहयोग छ । १७ देशमा नेपालमा जस्तै सहयोग कार्यान्वयन शुरू हुने चरणमा छ । १० देशमा परियोजना कार्यान्वयनमा गइसकेको छ । मंगोलियामा यही एमसीसीबाट सञ्चालित परियोजनाले ठूलो परिवर्तन ल्याएको छ । राजनीतिक परिवर्तन हुँदा परियोजनामा असर नपरोस् भनेर संसद्बाट अनुमोदन गराउन खोजिएको मानिन्छ । त्यसैले नेपालका लागि आवश्यक परियोजना हो भने संसद्बाट पारित गराउँदा कुनै समस्या हुने देखिँदैन । त्यतिबेला कानून मन्त्रालयले नै यसो गर्न सुझाव दिएको थियो । एमसीसी सम्झौताअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन निर्माण तथा सडकको स्तरोन्नतिमा हुने खर्चबारे अमेरिकी कम्पनीले अडिट गर्नुपर्छ भन्ने उल्लेख भएको भनी यसमा आपत्ति जनाएको पाइन्छ । तर, यो बुँदा सम्झौतामा परेको छैन र महालेखा परीक्षकले जुनसुकै बेला पनि अडिट गर्न सक्छ । दुवै सरकारले चाहेमा ३० दिने सूचना दिएर यो परियोजना खारेज गर्न सक्ने व्यवस्था यस सम्झौतामा रहेको छ । त्यसैले नेपालको स्वार्थविपरीत भए कुनै पनि बखत खारेज गर्न समस्या हुने देखिँदैन । नेपाल विद्युत् उत्पादनमा बढी केन्द्रित हुँदा प्रसारण लाइनको कमजोर समस्या देखिएपछि यसका लागि अमेरिकी सहयोग लिन तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा सही गरेका थिए । ५७ अर्ब रुपैयाँको अनुदान नेपालजस्तो विकासशील देशका लागि महत्त्वपूर्ण हुन्छ नै । साथै, त्यसबाट भित्रिने प्रविधि पनि लाभदायी हुने देखिन्छ । तर, नेपालमा यसलाई राजनीतिक विवादको विषय बनाइएको छ । अमेरिकी विश्व रणनीतिअन्तर्गतको इन्डोप्यासिफिक रणनीतिअन्तर्गत सहयोग लिएको भनी यसको आलोचना गर्ने गरिएको छ । यही कारण नेपाल अमेरिकी सैन्य गतिविधि बढ्ने केहीको आशंका छ । तर, यसलाई अमेरिकाले नै खण्डन गरिसकेको छ । त्यसैले आफूअनुकूल हुने गरी त्यसको कार्यान्वयनका लागि पहल गर्नु नै उपयुक्त हुन्छ । प्रसारण लाइनको अभावका कारण कोशी, दोर्दी आदि कोरिडोरमा समस्या देखिएको छ । विद्युत् उत्पादन शुरू भएर पनि कतिपय आयोजनाले विद्युत् विक्री गर्न पाएका छैनन् । यस्तोमा विदेशी अनुदानमा प्रसारण लाइन बन्नु उपयुक्त नै देखिन्छ । भारतीय क्षेत्रमा पर्ने अन्तरदेशीय प्रसारणलाइनका लागि उसको सहमति खोजिएको छ । भारतीय सीमासम्म नेपालले प्रसारण लाइन बनाउने भए पनि त्यसउता भने उसले नै बनाउनुपर्ने भएको हुँदा यसलाई अन्यथा लिइहाल्नुपर्ने देखिँदैन । एमसीसी सहयोगका विषयमा शंका उपशंका गरिएको छ र यसलाई असफल पार्न खोजिँदै छ । अहिले यसलाई राजनीतिक सौदाबाजीको विषय बनाउन खोजिएको छ जुन गलत हो । आफ्नो स्वार्थका लागि राष्ट्रिय महŒवको परियोजनालाई बन्धक बनाउनु गलत हो । एमसीसीको मूल दस्तावेजलाई लिएर अनेक ढंगले व्याख्या गर्दै विरोध गर्ने गरिएको छ । विगतमा यस्तै तर्क गरी अरूण तेस्रो बन्न दिइएन र देश दशकौं अन्धकारमा बस्न बाध्य भयो । त्यसैले साँचीकै राष्ट्रिय अहित हुने खालको छ, राष्ट्रिय स्वार्थविपरीत छ भने त्यसका सही विश्लेषण हुनुपर्छ र त्यसलाई नस्वीकार्न सकिन्छ । तर, महत्त्वपूर्ण परियोजनालाई राजनीतिक स्वार्थपूर्तिको गोटी भने बनाइनु हुँदैन ।