१९९० यता अमेरिकाले गुमायो आधा  पब्लिक कम्पनी

काठमाडौं । अमेरिकाले सन् १९९० को दशकयता आधा पब्लिक कम्पनी गुमाएको छ । सन् १९९६ ताका अमेरिकामा कारोबार हुने पब्लिक लिष्टेड कम्पनीहरूको संख्या कीर्तिमानी उचाइमा रहँदा यस्ता कम्पनीहरू ८ हजारभन्दा धेरै थिए । अहिले यसको संख्या घटेर ३ हजार ७०० भन्दा तल आएको सेन्टर फर रिसर्च इन सेक्युरिटिज प्राइसेजको तथ्यांकले देखाएको छ । यसको अर्थ ३० वर्षअघिको तुलनामा अहिले अमेरिकामा कम्पनीहरू आधा पनि छैनन् भन्ने होइन । प्राइभेट नै बस्न रुचाउने कम्पनीहरू धेरै छन् भन्ने हो । पब्लिक लिष्टेड कम्पनीहरूमाथि नियामकको निगरानी हुन्छ । उनीहरूले आफ्नो आर्थिक वस्तु स्थिति पनि सार्वजनिक गरिरहनु पर्छ । कम्पनी पारदर्शी ढंगले सञ्चालन भइरहेको छ भन्ने सुनिश्चित गर्न अनि लगानीकर्ताहरूको मनोबल यथावत् राख्न यति त गर्नु परिहाल्यो । शेयर बजारमा थोरै मात्रै कम्पनीहरू सूचीकृत हुँदा समग्रमा पारदर्शिता घट्छ अनि बजारप्रति लगानीकर्ताको विश्वास पनि कम हुने रिनेसा क्यापिटलका डेटा तथा कन्टेन्ट हेड म्याथ्यू केनेडी बताउँछन् । शक्ति पनि सीमित कम्पनीको हातमा हुन्छ । बजारमा प्रतिस्पर्धा पनि त कम हुन्छ । एसएन्डपी ५०० को १५ प्रतिशत हिस्सा एप्पल र माइक्रोसफ्टले ओगेटेका छन् ।  सन् २०२२ को अक्टोबर १२ को न्यून बिन्दुबाट गएको बिहीवार एसएन्डपी ५०० २० प्रतिशत माथि थियो । तर, यो सबै वृद्धि औंलामा गन्न सकिने प्रविधि र एआई कम्पनीका कारण भएको हो । अहिले अमेरिकी शेयर बजार केही कम्पनीको इशारामा नाचिरहेको छ । कोभिडका कारण उत्पन्न भएको आर्थिक मन्दी अनि त्यसलगत्तै आएको महँगीले पब्लिक कम्पनीको संख्यामा असर पारिरहेको छ । अर्थतन्त्र सुस्ताइरहेको भय अनि बजारमा तीव्र उथलपुथलका कारण प्रारम्भिक शेयर निष्कासन (आईपीओ) ठ्याप्पै सुकेको छ । सन् २०२२ मा अमेरिकाको आईपीओ बजार ९४ दशमलव ८ प्रतिशतले घटेर ८ अर्ब डलरमा सीमित बनेको थियो । सन् २०२३ को पहिलो त्रैमासमा नयाँ सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण एक वर्षअघिको भन्दा ६० प्रतिशतले घटेकाे छ । अहिले कम्पनीहरूमा पब्लिक बन्ने रुचि छैन । यो अर्थतन्त्रको लागि राम्रो नभएको अर्थशास्त्रीहरू बताउँछन् । यति बेला अमेरिकामा पब्लिक कम्पनीको ५ गुणा हाराहारी प्राइभेट कम्पनी छन् । यो प्रवृत्ति अझै केही समय बढ्ने देखिन्छ । सन् १९९९ मा औसत अमेरिकी प्रविधि कम्पनीहरू स्थापनाको ४ वर्षपछि पब्लिक बजारमा छिरेका थिए । सन् २०१९ सम्म आइपुग्दा यो अवधि बढेर ११ वर्ष पुग्यो । प्राइभेट रहिरहँदा कम्पनीमा नियामक मापदन्डको भार र लागत पनि कम पर्यो । लामो अवधिको रणनीतिक योजनामा ध्यान दिन पाए । विगत २५ वर्षमा अमेरिकामा विश्वव्यापी शेयर, स्थिर आय र साना पूँजीकरण भएको शेयरमा हुने कमाईलाई निजी इक्विटी लगानीले उछिनेको छ । एजेन्सी

सम्बन्धित सामग्री

पहिलो पटक घट्यो हुवावेईको आम्दानी, मुनाफामा चाहीं उच्च वृद्धि

चैत १५, काठमाडौं। चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईको आम्दानी पहिलो पटक घटेको छ । अमेरिकाले कम्पनीमाथि लगाएको प्रतिबन्धका कारण आम्दानीमा कमी आएको हो ।  सन् २०२१ मा कम्पनीले ६ खर्ब ३६ अर्ब ८० करोड युआन (९९ अर्ब ९० करोड डलर) आम्दानी गरेको छ । सन् २०२० को तुलनामा यो २८ दशमलव  ५ प्रतिशत कम हो । हुवावेईको आम्दानी घटेको यो कम्पनीले आर्थिक प्रतिवेदनहरु सार्वजनिक गर्न थालेयता पहिलो पटक हो ।  कम्पनीकी प्रमुख वित्तीय अधिकारी मङ वान्चाउका अनुसार अमेरिकाले लगाएको प्रतिबन्ध, आपूर्तिमा देखिएको चुनौती र चीनमा फाइभ जीको मागमा आइरहेको सुस्ती आदिका कारण आम्दानी घटेको हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको पालामा  हुवावेईलाई कालो सूचीमा राखिएको थियो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण विश्वको स्मार्टफोन बजारमा हुवावेईको हिस्सा घटेको छ ।  आम्दानी घटेको भएपनि गत वर्ष कम्पनीको मुनाफा भने बढेको छ । गत वर्ष कमपनीको खूद मुनाफा १ खर्ब १३ अर्ब ७० करोड युआन रहेको छ । यो सन् २०२० को तुलनामा ७५ दशमलव ९ प्रतिशत धेरै हो । हुवावेई पब्लिक कम्पनी होइन । तर यसले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । एजेन्सी