संसद्का लागि दैनिक ८ लाख रुपैयाँ खर्च, सांसदले सुविधा लिए तर जिम्मेवारी पालना गरेनन् !

काठमाडौं । प्रतिनिधिसभामा र राष्ट्रियसभाका जनप्रतिनिधिका निम्ति दैनिक ८ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । सांसदहरूले जिम्मेवारीअनुसार काम नगर्ने हो भने दैनिक त्यति रकम खेर गएको मान्नुपर्छ ।  प्रतिनिधिसभामा र राष्ट्रियसभाका लागि राज्य कोषबाट मासिक २ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ । महीनाको २५ दिनलाई कार्यदिन मानेर दैनिक ८ लाख रुपैयाँका दरले गुणा गर्दा मासिक २ करोड रुपैयाँ हुन्छ । यो खर्चमा सांसदहरूको मासिक पारिश्रमिक, विशेष भत्ता र सञ्चार खर्च मात्रै जोडिएको छ । संसद् बसेको दिनको भत्ता, यातायात, आवास भत्ता र कर्मचारीगायत अन्य प्रशासनिक खर्च जोड्ने हो भने खर्च अझ बढ्छ ।  सांसदहरूलाई एकपटक फर्निचर सुविधा दिने गरिन्छ । यसबाहेक सभामुखलगायतले दैनिक भ्रमण भत्ता ३ हजार पाउँछन् । सांसदहरूले २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता पाउने व्यवस्था छ । यसपटकको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुरू भएयता बैठक अवरूद्ध नभए पनि अपेक्षाकृत रूपमा कानून निर्माण हुन सकेको छैन ।  प्रतिनिधिसभाको बैठक शुरू भएको ८०औं दिनसम्म जम्मा तीनओटा विधेयक पेश भएका छन् । संसद्मा सरकारले सरकारी विधेयक पेश गर्ने र सांसदहरूले गैरसरकारी विधेयक पेश गर्न सक्ने व्यवस्था छ । तर, सार्वजनिक हितका विषयमा विधेयक पेश गरी कानून निर्माण गर्न न सरकार न सांसदलाई चासो छ । उनीहरूको चासो सत्ताप्राप्तिमा बढी केन्द्रित हुने गरेको छ ।  सरकारले अहिले संसद्मा पेश गरेका विधेयकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयक छन् । प्रतिनिधिसभा नियमावलीको मस्यौदा महीना दिनदेखि सदनमा थन्किँदा कानून निर्माण गर्ने थलो संसद् कानूनविहीन अवस्थामा छ । अहिले संसदीय समिति पनि गठन हुन सकेका छैनन् । अब बढीमा १० दिन चल्ने अधिवेशनभित्रै नियमावली पारित भएर संसदीय समिति गठन हुनेमा सन्देह छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभामा क्रमशः अध्यक्षरउपाध्यक्ष, सभामुखरउपसभामुख र सांसदहरू ३३२ जना छन् । तिनीहरूमध्ये प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि ६७ हजार ३२० रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ । उनीहरूले सञ्चार र विशेष भत्ताका रूपमा मासिक ४ हजार रुपैयाँ थप पाउँछन् । त्यस्तै प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको मासिक पारिश्रमिक ६० हजार ९७० रुपैयाँ छ । सञ्चार र विशेष भत्ता शीर्षकमा उनीहरूलाई मासिक ४ हजार रुपैयाँका दरले उपलब्ध गराइन्छ । दुवै सदनका ३३२ सांसदले प्रतिसांसद ५५ हजार २३० रुपैयाँ दरले मासिक १ करोड ८३ लाख ३६ हजार ३ सय ४० रुपैयाँ पारिश्रमिक बुझ्ने गर्छन् ।  प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३३४ सांसद छन् । तीमध्ये हाल कायम संख्या ३३१ छ । सरकारले संघीय संसद्को यस आर्थिक वर्षमा चालू शीर्षकमा ११ अर्ब ६ करोड र पूँजीगत शीर्षकमा ३ करोड रुपैयाँ गरी जम्मा ११ अर्ब ९४ करोड बजेट छुट्ट्याएको छ । सोही बजेटबाट संघीय संसद् सचिवालयले सांसदहरूको पारिश्रमिकलगायत सचिवालयमा कार्यरत कर्मचारीलाई तलब, भत्ता र अन्य सुविधा दिँदै आएको छ । संसद् सचिवालयका उपसचिव दशरथ धमलाले ऐनमा गरिएको व्यवस्थाअनुसार संघीय संसद्का पदाधिकारीलाई सुविधा दिँदै आएको बताए । ‘ऐनमा गरिएको व्यवस्थाअनुसार सबै पदाधिकारीले समयमै सुविधा र पारिश्रमिक पाइरहनुभएको छ,’ उनले भने ।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: असाञ्जलाई आत्मवृत्तान्त लेख्न १३ लाख डलर

विकिलिक्सका प्रमुख जुलिआन असाञ्जले आत्मवृत्तान्त लेख्ने भएका छन् । आत्मवृत्तान्त लेख्न असाञ्जले लगभग १३ लाख डलरमा दुई प्रकाशन गृहसँग सम्झौता गरेका छन् । बेलायती समाचारपत्र सण्डे टाइम्समा प्रकाशित एक अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । आत्मवृत्तान्त लेखेवापत आएको पैसाले आफूमाथि लागेको आरोपमा मुद्दा लड्न सहयोग हुने पनि उनले बताए । असाञ्जमाथि स्विडेनका दुई महिलाले लगाएको यौन दुराचारको आरोपमाथिको मुद्दा अदालतमा विचाराधीन छ । उक्त पुस्तक बेलायत तथा अमेरिकाबाट प्रकाशित हुनेछ । अमेरिकी प्रकाशक राण्डम हाउसको एक शाखा अल्फ्रेड ए नफबाट ८ लाख डलर तथा बेलायती प्रकाशक क्याननगेट बक्स लिमिटेडबाट ४ लाख २ हजार डलर असाञ्जले पाउनेछन् । राण्डम हाउसका एक प्रवक्ताले सम्झौता भएको पुष्टि गरे तापनि यो रकम दिने पुष्टि गरेनन् ।  वर्ष ६, अंक ९८, मंगलवार, १३ पुस, २०६७

सरकार खोप कूटनीतिमा किन कमजोर ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै अविकसित देशहरूलाई अगामी डेढ महीनाभित्र थप २ करोड डोज खोप उपलब्ध गराउने घोषणामात्र गरेनन्, उनले चीन र रसियाले खोपमा व्यापार गरेको आरोपसमेत लगाउन भ्याए । खोपको उत्पादन र आपूर्तिमा अग्रस्थानमै रहेका चीन र रसियाले पनि खोपसँगै उपचार सामग्रीको सहायतालाई आक्रामक बनाएका छन् । चीनले आफू कहाँ प्रवेश गर्नेहरूले चिनियाँ खोप लगाएको हुनु पर्ने शर्तनै राख्याो । अहिले कोरोनाको दोस्रो लहरले आहत भारतले नेपाललाई १० लाख मात्रा खोप उपहार दिएको थियो । लगत्तै नेपालले भारतबाटै खोपको १० लाख मात्रा खरीद गर्‍यो । भारत अहिले आफै महामारीबाट आक्रान्त छ । उत्पादक राष्ट्रहरूबीच खोप सहायतामा देखिएको तत्परतासँगै अभिव्यक्ति र व्यवहारले यी देश खोप कूटनीतिको प्रवर्द्धन स्पष्ट हुन्छ । अहिलेका लागि खोपलाई कोरोनाबाट बाँच्ने एकमात्र विकल्प मानिएको अवस्थामा शक्ति राष्ट्रहरूको खोप कूटनीतिको उपयोगमा हाम्रो दक्षता कत्ति पनि देखिएन । खोप उत्पादक देशहरूले खोपलाई आफ्नो वर्चस्व र बजार विस्तारको कूटनीतिक हतियार बनाइराख्दा हाम्रो सरकारले खोपको प्राप्तिमा जनु स्तरको कूटनीतिक चातुर्य अपनाउनुपर्ने हो त्यसको अभाव खट्किएको छ । जनताले किनेरै लगाउन चाह्यो भने पनि सरकार आपूर्तिमा सक्षम छैन, न चाँजोपाँजो मिलाउन तत्पर छ । खोपको अंकगणित कोरोनाबाट सुरक्षित हुन खोप अभियानलाई प्रभावकारीमात्र होइन, तीव्र बनाइनुपर्नेमा विश्व एकमत छ । खोपको उत्पादन, आपूर्ति र उपभोगमा विकसित देशको वर्चस्व छ । अविकसित र विकासशील देशमा खोप उपलब्ध नभएसम्म कोरोनालाई पराजित गर्न नसकिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । न्यून र मध्यम आय भएका मुलुकमा खोप आपूर्ति सहज नभएको संगठनले दाहोर्‍याउँदै आएको छ । खोपको धेरै मात्रा सम्पन्न देशहरूले कब्जा गर्दा विश्वव्यापी खोप अभियान कोभ्याक्सले अपेक्षित काम गर्न नसकेको दाबी संगठनको छ । हामीकहाँ खोप कहिलेसम्म र कसरी उपलब्ध हुन्छ भन्ने नै अनिश्चित छ । सरकारी अनुमानअनुसार नेपालमा ४ करोड ३० लाख मात्रा खोप चाहिन्छ । अहिलेसम्म भारतले अनुदानमा दिएको १० लाख, सिरम इन्स्टिच्युटसँग किनेको १० लाख, कोभ्याक्सबाट ३ लाख ४८ हजार र चीनबाट अनुदान ८ लाख गरी ३१ लाख ४८ हजार खोपको मात्रा भित्रिएको छ । अहिलेसम्म १८ लाख २३ हजार जनाले खोप लगाएका छन् । तीमध्ये १४ लाख ५० हजारभन्दा बढी व्यक्ति खोपको दोस्रो मात्राको पर्खाइमा छन् । भारतबाट खोप आएको भए जेठ ११ मा दोस्रो मात्रा दिने तयारी थियो । भारतबाट आउने भनिएको १० लाख मात्रा रोकिँदा ६५ वर्ष माथि उमेर समूहलाई दोस्रो मात्रा कहिले दिने भन्ने अन्योल छ । अहिले चीनबाट अनुदानमा आएको खोप १८ देखि ५९ वर्ष उमेरकालाई लगाइँदै छ । ६० देखि ६४ वर्ष उमेर समूहको खोपको पहिलो मात्रा अनिश्चित छ । प्रमुख खोप उत्पादक भारत र चीनको बीचमा रहनुका कारण नेपालमा खोपको आपूर्ति त्यति असहज नहुनुपर्ने हो । सरकारले खोप कूटनीति त परको कुरा खरिदमा समेत ढंग नपुर्‍याउँदा खोप प्राप्तिमा अन्योल छ । भारतमा भर किन ? उत्पादन र खोप कूटनीतिमा अग्रसर भारत अहिले आफै कोरोनाको चरम संकटमा घेरिएको छ । कोरोनाबाट त्यहाँ अहिले दैनिक ४ हजारभन्दा बढीले ज्यान गुमाइराखेका छन् । आउँदो डिसेम्बरभित्र १८ वर्षभन्दा बढी उमेरका सबै नागरिकलाई खोप लगाइसक्ने योजना सार्वजनिक गरिएको छ । भारत सरकारले सबैभन्दा बढी उत्पादन भएका कोभिसिल्ड र कोभ्याक्सिनलगायत ८ प्रकारका खोपको उत्पादन र परीक्षण तीव्र पारेको छ । आउँदो डिसेम्बरभित्र २ अर्ब १६ करोड मात्रा खोप आपूर्तिको योजना छ । बढ्दो महामारीमा खोपको दबाब कम गर्न दोस्रो मात्रा लिने समयलाई १२ हप्ताबाट बढाएर १६ हप्ता पुर्‍याइएकोमात्र छैन, संक्रमण जितेकालाई ३ महीनापछि मात्रै खोप दिने भनिएको छ । त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टिच्युटले भारतमा खोप आपूर्ति मुख्य प्राथमिकता भएको बताइसकेको छ । हाम्रो सरकार अझै पनि भारतको मुख ताकिराखेको मात्र छैन, आपूर्तिका लागि पत्राचार गर्दै छ । अगिम्र भुक्तानी भइसकेको १० लाख डोज त दिन नसकेको भारतले यो महामारीमा अरू खोप देला भन्ठान्नु आत्मघाती आश हुनेछ । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि १४ करोड डोज खोप निर्यात हुन पाएको छैन । अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भारत अपेक्षा गरिएभन्दा लामो समयसम्म खोप निर्यातमा प्रतिबन्ध लगाउने तयारीमा छ । एक प्रमुख खोप उत्पादक मानिएको भारतको यो कदमबाट कोभ्याक्स कार्यक्रम प्रभावित हुने देखिएको छ । यही योजनाअन्तर्गत नेपालले यसअघि ३ लाख मात्रा खोप भियभयाएको थियो । अमेरिकाकै हाराहारीमा खोप निर्यात गरेको भारतमा अहिले उत्पन्न संकटबाट नेपालसहित बंगलादेश, श्रीलंकाजस्ता छिमेकी देशमा खोप आपूर्ति प्रभावित निश्चित भइसकेको छ । अबको बाटो अहिले हामीकहाँ कोरोनाबाट दैनिक २ सयको हाराहारीमा ज्यान गइराखेको छ । महामारी नियन्त्रणका निम्ति निषेधाज्ञा लगाइएको छ, संक्रमण अपेक्षित घटेको छैन । अहिले उपचार र खोप अभियानलाई सँगसँगै अघि बढाउनुपर्छ । नेपाललाई खोपको ४ करोड मात्रा चाहिन्छ । सरकार कोभ्याक्सबाटै १ करोड ३० लाख मात्रा अपेक्षा पालेर बसकेको छ । कोभ्याक्सको एक प्रमुख आपूर्तिकर्ता भारत आफै अरूको सहयोग खोजिराखेको स्थितिमा सरकारको अनुमान गलत हुन सक्छ । अनुदानको आशमा जनताको जीवनमाथि अझै जोखिम मोल्ने उपक्रम अब बन्द गरिनुपर्छ । सरकारले भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ । सरकारले यसका उत्पादकलाई खरीद प्रस्ताव पठाएको समाचार आएको छ । निकट छिमेकी चीनको सिनोफार्मको ठेगाना पत्ता नलागेको भनिएको छ । यसलाई सत्ता राजनीतिको आग्रहसँग जोडेर हेरिएको छ । जब कि, त्यहाँस्थित नेपाली दूतावासका अधिकारीहरूले उत्पादकसँग भेटेर खोपको २० लाख मात्रा दिन प्रस्ताव गरेका समाचार प्रकाशित भएका थिए । निजक्षेत्रले चीनबाट ३५ दिनभित्र खोप भित्र्याउने प्रस्ताव पेश गरे पनि सरकारले निर्णय नदिएको खुलासा भइसकेको छ । सत्तासीनहरू खोपमा समेत सत्ता र शक्तिको लाभहानीको हिसाब खोज्छन् भने त्योभन्दा निन्दनीय अरू केही हुन सक्ला ? समस्या स्रोतको कि सोचको ? समस्या स्रोतको हुँदै होइन, जिम्मेवारी बोध, इमान र तत्परताको अभाव हो । शासकलाई जनताको जीवनप्रति अलिकति पनि जिम्मेवारी बोध हुन्थ्यो भने काठमाडाैंमा धरहरा ठड्याउने खचर्ले सबै नेपालीलाई खोपको मात्रा पुर्‍याउन सकिन्थ्यो । जनताको जीवनमरणसँग सरोकार राख्ने महामारीको बेला खर्च कटौती गर्न सकिने यस्ता असान्दर्भिक योजनाहरूको सूची लामै बन्न सक्दछ । खोप आयातमा निजीक्षेत्रलाई सहजीकरणमात्रै गरिदिए सरकारलाई स्रोतको टाउको दुखाइ हुँदैन । सक्षमले आफ्नै खर्चमा लगाउँछन् । सरकार गरीब जनताप्रति साँच्चै संवेदनशील हो भने अनुदान दिएर सस्तो वा निःशुल्क खोप दिन कुनै कुराले बाधा पुग्दैन । कोरोनाको अनुसन्धानमा खटिएका विज्ञले अबको १/२ महीनामा दोस्रो लहर मत्थर हुने र दोस्रोमा संक्रमित भएकाहरू तेस्रो लहरमा प्रभावित नहुने बताइराखेका छन् । भारतले अहिले संक्रमणमुक्त भएकालाई ३ महीनापछि खोप लगाउने योजना बनाएको छ । हामीले पनि खोप अभियानमा यो उपाय अपनाउन सकिन्छ । यसका निम्ति खोप आपूर्तिमा विलम्ब र बाहानाबाजीको सहुलियत उपलब्ध हुनु हुँदैन । यो जतिसक्दो चाँडो खोपको प्रबन्ध मिलाएर अर्थसामाजिक दिनचर्यालाई गति दिनेतर्फ अघि बढ्ने समय हो ।