नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, यसअघिका आवेदकले पनि पुन : आवेदन दिन पाउने

पुस १५, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदको नियुक्ति प्रक्रिया पुन : शुरु गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले बिहीवार सूचना प्रकाशित गर्दै सेबोनको अध्यक्ष पदका लागि पुनः दरखास्त आह्वान गरेको हो । अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले   पुनः दरखास्त आह्वान गरेको हो। योसँगै यसअघि खुलाइएको दरखास्त र परेका आवेदन भने स्वतः खारेज भएको छ । लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि अर्थ मन्त्रालय र सिफारिस समिति बीच विवाद भएपछि पुन : नियुक्ति प्रक्रिया शुरु गरिएको हो । यसअघि अर्थ मन्त्रालयले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थ सचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो। तर, धितोपत्रसम्बन्धी ऐनमा छनोट समिति सरकारले बनाउनुपर्ने उल्लेख छ। सोही कारण अर्थ मन्त्रालयले बनाएको र मन्त्रीस्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै शुरुदेखि समिति गठनका विषयमा विवाद हुँदै आएको थियो।  सरकारले अहिले पुनः डा विश्व पौडेलकै संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। सोही समितिले पुनः दरखास्त आह्वान गरेको छ।  यसअघि गत कात्तिक १५ गते धितोपत्र बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको थियो । उक्त समयमा १२ जनाले दरखास्त दिएका थिए । ती आवेदकलाई पनि पुनः दरखास्त पेस गर्न आग्रह गरिएको छ। यदि आवेदन फिर्ता लिन चाहेमा १५ दिनभित्र लिन सक्ने पनि सूचनामा उल्लेख छ। पुनः गरिएको सूचनाको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिन भनिएको छ।  इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित अध्यक्षको छनोट तथा सिफारिसम्बन्धी कार्यविधिको दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदन स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ।  आवेदन दिंदा व्यावसायिक कार्ययोजना (५ हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेस गर्नुपर्नेछ। गत असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।  बर्खास्तीमा परेका ढुंगानाले भने पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको रिटमा सुनुवाइ भने भइसकेको छैन । यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन अन्तत: नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सुझाव समितिका अनुसार राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठलगायत १९ जनाको आवेदन प्राप्त भएको हो ।  अध्यक्ष नियुक्तिका सम्बन्धमा भएका क्रियाकलाप अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मामार्फत जानकारी गराउने निर्णय सुझाव समितिले गरेको छ । शर्मासँग सम्पर्क गर्न खोज्दा उनको फोन ‘स्विच अफ’ थियो ।  सुझाव समितिले दिएको जानकारीअनुसार नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठसँगै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरू डा. नवराज अधिकारी, कृष्ण पोख्रेल र मुक्तिनाथ श्रेष्ठले समेत आवेदन पेश गरेका छन् । बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी पनि दाबेदारका रूपमा अघि आएका छन् ।  अध्यक्ष पदका लागि तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, पूँजीबजार विज्ञद्वय डा. केशवप्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले पनि आवेदन दिएको जानकारी प्राप्त भएको छ । आवेदन दिने अन्य उम्मेदवारमा विमल तिवारी, प्रवीण पन्दाक, रघु काफ्ले लगायत रहेको सिफारिश समितिको भनाइ छ । केही व्यक्तिको नाम सिफारिश समितिको जानकारीमा नआएको र अर्थ मन्त्रालयलाई आधिकारिक नामावली सार्वजनिक गर्न आग्रह गर्ने बताइएको छ ।  पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद गत पुस २० गतेपछि रिक्त छ । अध्यक्ष नियुक्तिका लागि गत माघ ३ गते नै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिश समिति गठन गरेको थियो । उक्त समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । सिफारिश समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर दरखास्त आह्वान गरेको थियो । आगामी चारवर्षे कार्यकालका लागि बोर्डको अध्यक्ष पद नियुक्ति प्रक्रिया अघि बढाइएको हो । बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गर्नुअघि सिफारिश समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको थियो । समितिले बोर्ड अध्यक्षको नाम सिफारिशसम्बन्धी कार्यविधि आफै बनाउनुपर्ने व्यवस्थाबमोजिम कार्यविधि तयार गरेको हो । सोही कार्यविधिअनुसार समितिले नियुक्ति प्रक्रिया अघि बढाएको हो । सिफारिश समितिले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ५ मा रहेको व्यवस्थाबमोजिम तयार गरेको कार्यविधिमा बोर्ड अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको प्रतिष्ठित व्यक्तिहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उमेरका हिसाबमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उम्मेदवारको मूल्यांकनसम्बन्धी अंकभार चार शीर्षकमा विभाजन गरिएको छ । व्यावसायिक कार्ययोजनालाई ४०, शैक्षिक योग्यतालाई १२, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि १८ र अन्तरवार्ताका लागि ३० गरी १०० अंकको मूल्यांकनसम्बन्धी अमग्र अंकभार कायम गरिएको छ ।  उम्मेदवार छनोटका लागि सिफारिश समितिले सर्वप्रथम तोकिए बमोजिमको योग्यता र अनुभव भएका आवेदकले दरखास्तसाथ पेश गरेको व्यावसायिक कार्ययोजनाको परीक्षण गर्नेछ । परीक्षणबाट प्राप्त अंकको आधारमा औसत अंक निर्धारण गरी व्यावसायिक कार्ययोजना बापतको प्राप्तांक गणना गरिनेछ । तोकिएबमोजिमको योग्यता र पेशागत अनुभव भएका आवेदकको शैक्षिक योग्यताबापतको प्राप्तांक तथा पेश भएको व्यावसायिक कार्ययोजनाबापतको प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारमध्ये सम्भव भएसम्म पाँच जनाको संक्षिप्त सूची तयार गरी व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण एवं अन्तरवार्ताका लागि छनोट गरिनेछ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि छानिएका आवेदकले ३० मिनेटको समय पाउनेछन् । व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरण एवं अन्तरवार्ताका लागि छनोट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तरवार्ताका लागि उपस्थित उम्मेदवारको शैक्षिक योग्यताबापतको प्राप्तांक, पेश भएको व्यावसायिक कार्ययोजनाबापतको प्राप्तांक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्तांक तथा अन्तरवार्ताको औसत प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने तीन जनाको नाम वर्णानुक्रमानुसार सिफारिश हुनेछ । तीन जनाभन्दा कम आवेदकको आवेदन परेको अवस्थामा पहिलो चरणमा परेका आवेदकहरूलाई यथावत् राखी थप आवेदनका लागि ७ दिनको म्याद दिई पुन: दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ । पुन: दरखास्त आह्वान गर्दा थप आवेदन परे वा नपरे पनि छनोट प्रक्रिया अघि बढ्ने व्यवस्था छ । अहिलेको लागि १९ जनाको आवेदन परिसकेकाले पुन: दरखास्त आह्वान हुने सम्भावना टरिरहेको छ । सुझाव समितिले तीन जनामध्ये योग्य एक जनाको नाम सिफारिश गर्छ । समितिले गरेको सिफारिशको आधारमा मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्छ ।  यो पदको आकांक्षीमा बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, पूँजीबजार विज्ञद्वय डा. केशवप्रसाद श्रेष्ठ र मुक्ति अर्याल, नेप्सेका पूर्वसीईओ सीताराम थपलियालगायत छन् ।

‘कमोडिटी एक्सचेञ्ज’को लाइसेन्स दिँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी अगाडि बढाएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना असार...