सरकार घोषणा गर्छ कार्यान्वयन गर्दैन

काठमाडौं । सरकारले विभिन्न समयमा गरेका घोषणा कार्यान्वयन नगर्दा व्यवसायी र सर्वसाधारणलाई धोका भएको अनुभूति हुने गरेको छ । विभिन्न क्षेत्रमा लोकप्रियता कमाउन गरिएका घोषणा कार्यान्वयन नहुने परिपाटीले नकारात्मक असर पर्ने जानकारहरू बताउँछन् । कृषिबीमा, कोरोना बीमा, निर्यातमा नगद अनुदान, पूँजीगत लाभकरलगायतमा विगतका नीति कार्यान्वयन नहुँदा वा परिवर्तन गरिँदा अहिले सकसपूर्ण अवस्था सृजना भएको छ । राज्यको दोहोरो चरित्रले एकातिर अविश्वासको वातावरण सृजना गर्ने, अर्कोतिर उद्यमी,  व्यवसायी र सर्वसाधारण अन्योलमा पर्ने गरेका छन् ।  सरकारले कृषिबीमाको अवधारणा ल्याएपछि प्रिमियममा अनुदानको व्यवस्था ग¥यो । सरकारले कृषिबीमाको प्रिमियममा १० वर्षदेखि अनुदान दिइरहेको छ । शुरूमा अनुदान ५० प्रतिशत थियो । त्यसपछि क्रमश: ७५, ५० र ८० प्रतिशत गरियो । सरकार परिवर्तन हुनेबित्तिकै अनुदानको प्रतिशत हेरफेर हुने गरेको जानकार बताउँछन् । तीन वर्षदेखि चाहिँ सरकारले घोषणा गरेको अनुदान बीमा कम्पनीहरूले नपाएको स्थिति छ । कृषिबीमा अनुदानको बक्यौता नै तीन अर्ब रुपैयाँ पुगिसकेको र उक्त रकम उपलब्ध गराउन सरकारले आनाकानी गरिरहेको बीमा कम्पनीका  सञ्चालकहरू बताउँछन् ।  आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा सरकारले कृषिबीमामा अनुदानका लागि ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आवमा उक्त बजेट ७५ करोड रुपैयाँ थियो । बीमा कम्पनीहरू कृषिबीमालाई घाटाको व्यवसाय मान्छन् । सरकारले लिएको नीतिलाई आपूmहरूले सहयोग गरे पनि राज्यले बीमा कम्पनीलाई नै अप्ठ्यारोमा पारिदिएको उनीहरूको गुनासो छ ।   बीमा कम्पनीहरूका अनुसार बीमितलाई निरन्तर दाबी भुक्तानी भइरहे पनि सरकारले दिनुपर्ने रकम नपाउँदा असहज स्थिति आएको छ ।  विगत ६ महीनादेखि कृषि मन्त्रालय, कृषि विभाग, बीमा प्राधिकरण सबैतिर धाउँदा समेत सरकारले दिने सुरसार नदेखाएपछि बीमा कम्पनीहरूले प्रेस विज्ञप्ति जारी गरी कृषिबीमालेख जारी र दाबी भुक्तानी स्थगन भएको  बताएका छन् । सरकारले कोभिड–१९ को शुरूताका सर्वसाधारणको कोरोना बीमाको ग्यारेन्टी लियो । त्यसमा पनि अनुदान भुक्तानीको स्थिति कृषिबीमाको भन्दा फरक छैन । करीब डेढ लाख बीमितले भुक्तानी पाएका छैनन् । यस्तो रकम साढे ११ अर्ब रुपैयाँ बराबर पुग्ने बीमा कम्पनी सञ्चालक बताउँछन् । उक्त रकम सरकारले दिनुपर्ने भए पनि दिएको छैन ।  कोरोना बीमामा साढे ३ अर्ब रुपैयाँसम्म बीमा कम्पनीले र बाँकी सरकारले भुक्तानी गर्ने भनिएको थियो । आपैmले जमानत बसेर/ग्यारेन्टी गरेर आपैmले भुक्तानी नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको र यसले अविश्वास पैदा भएको बीमा कम्पनी सञ्चालक बताउँछन् ।  नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री सरकार परिवर्तन हुनेबित्तिकै पहिलेको सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन नगर्नु वा ढिलासुस्ती गर्नु गलत भएको बताउँछन् ।  ‘राज्य भनेको स्थायी हुन्छ । सरकार परिवर्तन हुँदैमा वा व्यक्ति बदलिँदैमा पहिलेका प्रतिबद्धता कार्यान्वयनमा अनिच्छा देखाउनु गलत हो,’ अध्यक्ष क्षेत्रीले भने, ‘सरकारले आपूmले गरेका प्रतिबद्धता पूरा नगर्दा उसको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ । यस्तो स्थिति सृजना हुँदा भविष्यमा सरकारलाई के आधारमा र कसरी विश्वास गर्ने ?’   सरकारले नेपालमा उत्पादित सिमेन्टको निकासी बढाउन नगद अनुदान दिने घोषणा गरेको थियो । चालू आवको बजेटमार्पmत सरकारले ८ प्रतिशतसम्म निर्यात अनुदान दिने बताउँदा सिमेन्ट उत्पादकहरू हौसिए । अर्घाखाँची सिमेन्ट उद्योग र पाल्पा सिमेन्ट उद्योगले निर्यात पनि गरे ।  शुरूमा ८ प्रतिशत अनुदान दिने बताएको सरकारले कार्यविधि बनाउँदा ५० करोड रुपैयाँभन्दा बढीको निर्यातलाई मात्रै ८ प्रतिशत अन्यथा ४ प्रतिशत दिने व्यवस्था गरेकाले निकासी असहज भएको व्यवसायीको गुनासो छ ।  कार्यविधिका प्रावधानले सीमावर्ती क्षेत्रका साना उद्योगका लागि अनुदान अर्थहीन बनेको उद्योगीहरूको भनाइ छ । शिवम् लगायत केही सिमेन्ट उद्योगले त शुरूकै वर्ष ५० करोडको निकासी गर्न नसकिने र त्योभन्दा कमको निर्यातमा अनुदान कम हुने भन्दै निर्यात योजना नै स्थगित गरेको जानकारी दिए ।  सरकारको निर्यात अनुदान कार्यविधिमा सिमेन्ट निकासीकर्तालाई शुरूमा कुल निर्यात मूल्यको ४ प्रतिशत रकम अनुदानस्वरूप दिने भनिएको छ । निकासीकर्ताले कम्तीमा ७० प्रतिशत मूल्य अभिवृद्धि गरी वस्तु निर्यात गरे १ प्रतिशत थप रकम अनुदानमा जोडिनेछ । त्यस्तै राष्ट्रिय टे«डमार्कमा निर्यात गरे १ प्रतिशत रकम थपिन्छ । अघिल्लो आव निर्यात गरेको परिमाणभन्दा २० प्रतिशत बढी निर्यात गरे थप १ प्रतिशत  अनुदान बढ्छ । कार्यविधिमा ८ प्रतिशत अनुदान पाउन १ आवमा ५० करोडभन्दा बढी मूल्यको उत्पादन निकासी गरेको हुनुपर्ने प्रावधान छ ।  शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू कार्यविधिमा उद्योगीले सोचेभन्दा फरक कुरा आउँदा अप्ठ्यारो परेको बताउँछन् । ‘शुरूमा हामीलाई जति निर्यात गरे पनि ८ प्रतिशत अनुदान पाउने भनिएको थियो । पछि सरकारले संशोधन गरेर कार्यविधि ल्यायो,’ प्रबन्ध निर्देशक मारूले आर्थिक अभियानसँग भने ।   चालू आवमा निर्यात भएको सिमेन्टको अनुदान आगामी आवको ३ महीनाभित्र दिइसक्ने भनिएको छ । सरकारले कार्यविधिमा ल्याएको प्रावधान र अन्य गतिविधि हेर्दा व्यवसायी अनुदान समयमै भुक्तानी हुनेमा विश्वस्त बन्न सकेका छैनन् । सरकारले आव २०८०/८१ को बजेटमार्पmत बैंक तथा वित्तीय संस्था मर्जरबाट प्राप्त आयमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले मर्जर वा एक्वीजिशनबाट प्राप्त गरेको आम्दानीमा कर नलाग्ने प्रावधान थियो । आर्थिक विधेयक २०८० मार्पmत मर्जर/एक्वीजिशनबाट भएको आम्दानीबापत आयकर नबुझाएको भए २०८० मङ्सिरसम्ममा बुझाए शुल्क र ब्याज नलाग्ने भनिएको छ । अन्यथा जरीवानासमेत तिर्नुपर्नेछ ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्षको बजेटमार्पmत मर्जरबाट प्राप्त आम्दानीमा लगाएको थप करको विरोध गरेको छ । परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मान्यताविपरीत भूतप्रभावी कानून बनाएर कर लगाउन खोजेको र यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको हो ।  कानूनी धरातलविना र राष्ट्रिय अन्तरराष्ट्रिय अभ्यासविपरीत जबरजस्ती कर दायित्व थोपर्दा बैंक, वित्तीय संस्थालगायत क्षेत्र र समग्र अर्थतन्त्रमा अकल्पनीय क्षति पुग्ने सिबिफिनले बताएको छ ।  अर्थविद् नरबहादुर थापा सरकारले नीति तथा कार्यक्रम एवं बजेटमार्पmत व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नैपर्ने बताउँछन् । ‘सरकारले आप्mना प्रतिबद्धता पूरा गर्नैपर्छ । भनाइ र गराइमा तादात्म्यता हुन आवश्यक छ । प्रतिबद्धता गरिसकेपछि त्यसको कार्यान्वयन नगर्नु एकदमै गलत हो,’ उनले भने ।  थापाका अनुसार सरकारका नीतिको कार्यान्वयन नहुँदा गलत सन्देश जान्छ । विश्वसनीयता गुम्छ । नीतिको समीक्षा गरेको स्थितिमा पनि सरकार समीक्षापूर्वको दायित्वबाट भाग्न नपाउने अर्थविद् थापाको भनाइ छ ।    

सम्बन्धित सामग्री

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

सरकार गिज्याउने घोषणा

सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनमा अनिवार्य जान्छन् भन्ने मानिन्छ । अन्य देशमा प्रधानमन्त्री वा मन्त्रीले कुनै कुरा भाषणमै बताए पनि त्यो सरकारी कार्यक्रम मानिन्छ र त्यो लागू हुन्छ । तर, नेपालमा भने सरकारले दिनप्रतिदिन विश्वास गुमाउँदै गएको छ किनभने उसले घोषणा गर्छ तर कार्यान्वयनको पाटोचाहिँ बिर्सन्छ । सरकारका धेरै घोषणाको अवस्था हेर्ने हो भने तिनले सरकारलाई नै गिज्याइरहेको भान हुन्छ ।  सरकारकै घोषणालाई हेरेर निजीक्षेत्रले लगानी गर्छ । यो विश्वभरि नै प्रचलित अवधारणा हो । नेपालमा पनि सरकारले बनाउने नीति र ल्याउने कार्यक्रमका आधारमा निजीक्षेत्रले लगानी रणनीति तय गर्छ । तर, सरकारका घोषणा कार्यान्वयनमा नजाँदा कैंयौंको लगानी खेर गएको छ । यसरी सरकारले सर्वसाधारण र व्यवसायीलाई धोका दिएको छ । यस्तो परिपाटीले राज्यप्रति नै अविश्वास पैदा हुने र त्यसले मुलुकमा गम्भीर असर निम्त्याउने सम्भावना हुन्छ ।  पहिलो त संविधानमै लेखिएका कुरा विवादित छन् । संविधानमा सबै कुरा अटाउने लोभले राज्यले गर्न नसक्ने कुरा राखिएका छन् । संविधानमै लेखिएको कुरा सरकार आफैले कार्यान्वयन नगर्दा सरकार कानून पालना गर्दैन भन्ने सन्देश जान्छ । उदाहरणका लागि संविधानमा कक्षा १२ सम्म शिक्षा निःशुल्क हुने भनिएको छ तर सरकारको सामथ्र्यले यसो गर्न अझै कैयौं वर्ष लाग्छ । पछिका लागि यस्तो व्यवस्था गरिएको भन्ने जवाफ संविधान निर्माणमा संलग्नहरूको पाइन्छ तर यसका लागि क्रमशः भनेर मात्र लेखिदिएको भए पनि शंका कम हुन जान्थ्यो । सरकारले गरेका घोषणा उसले पालना नगरेको मात्र होइन, सर्वोच्च अदालतले पैmसला पालना नगरेकोमा खबरदारी गर्दासमेत कार्यान्वयनतर्फ लागेको देखिँदैन । यसले कानूनी राज्यको मान्यतालाई समेत लत्याएको देखिन्छ । सरकारले कृषिबीमामा किसानलाई अनुदान दिने नीति ल्यायो । त्यसअनुसार बीमा कम्पनीहरूले बीमा गरिदिए पनि अहिले अनुदानको रकम दिने बेलामा सरकार सरक्क पन्छिएको छ । त्यसले गर्दा बीमा कम्पनीहरू समस्यामा परेका छन् । उनीहरूले बीमा कार्यक्रम नै स्थगित गरेका छन् । सरकारले घोषणा गरेअनुसार आफ्नो दायित्व पूरा नगर्दा बीमा व्यवसायप्रति नै सर्वसाधारणमा नकारात्मक धारणा पैदा हुने सम्भावना बढेको देखिन्छ । यति मात्र नभई सरकारको यस्तो व्यवहारले कृषिक्षेत्रमा लगानी घट्ने सम्भावना देखिएको छ । बीमा कम्पनीहरू कृषि तथा पशुपक्षी बीमा नगरेसम्म बैंकहरू कर्जा नै दिँदैनन् । बैंकहरूले कर्जा नदिएपछि कृषि कसरी फस्टाउन सक्छ ? त्यस्तै निर्यातमा अनुदान दिने नीति छ तर निर्यातकर्ताले वर्षौंसम्म पनि अनुदान नपाउँदा सरकारी कार्यक्रमप्रति अविश्वास गरी अनुदानका लागि कतिपयले निवेदनसमेत नदिएको अवस्था छ । सरकारले घोषणा गरे पनि सम्झौताअनुसार कोरोना बीमाको दाबी भुक्तानीका लागि आफ्नो भागको रकम उपलब्ध नगराउँदा बीमितले दाबीभुक्तानी पाउने आश नै मारिसकेका छन् । प्लास्टिक प्रतिबन्धमा पनि यस्तै भएको छ । सरकारले २० एमएमभन्दा थोरैको प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाए पनि बजारमा त्यसको प्रयोग भएकै देखिन्छ ।  सरकार भनेको स्थिर हुन्छ र यो निरन्तर चलिरहन्छ । सरकारको नेतृत्व फेरिन्छ त्यो अलग कुरा हो तर राज्यले घोषणा गरेपछि सरकार फेरियो भन्न पाइँदैन । त्यो घोषणा पूरा गर्नैपर्छ ।  यस्तै अवस्था मर्जर र प्राप्तिमा गएका कम्पनीहरूको हकमा पनि देखिन्छ । सरकारी घोषणाअनुसार उनीहरू विगतमा मर्जरमा गए । तिनले केही सुविधा पाए तर अहिले आएर भूतप्रभावी कानून नबन्ने विश्वव्यापी मान्यताविपरीत मर्जरमा भएको ‘बार्गेन गेन’मा कर उठाउन खोजिरहेको छ । यो भनेको त राज्यले जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित गर्नु हो । लोकतान्त्रिक शासनको मूल आत्मा भनेको कानून र विधिको शासन हो । यस्तो शासनमा सरकार फेरिएपछि भूतप्रभावी कानून ल्याउनु भनेको कानूनी राज्यको उपहास गर्नु हो । अहिले सरकारले यस्तै उपहास गरेको छ । आफ्नै घोषणाले गिज्याउने गरी सरकार अघि बढेको देखिन्छ जुन गलत हो ।

यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेको २० वटा संस्था तथा समितिहरु

काठमाडौं,१६ जेठ । सरकारले २० वटा सार्वजनिक संस्था तथा समितिहरु खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् । सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै सरकार स्थायी संरचनामा दोहारो कार्यक्षत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यकता सकिएका २० वटा सर्वाजनिक […]

वर्तमान सरकारको पहिलो निर्णय नै भएन कार्यान्वयन

काठमाडौं । नयाँ सरकार आउने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दौडधुप बढ्ने अन्त्यमा निर्देशन दिने परम्परा नै बसिसक्यो । पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि त्यही क्रम दोहोरियो । देश र जनताका नाममा सपथ गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले राहदानी, राष्ट्रिय परिचयपत्र, यातायतलगायत सरकारी सेवामा जनतालाई मर्का नपर्ने गरी सेवा प्रवाह गर्ने घोषणा निर्णय गरेपनि आखिर हिँड्दैछ, पाइला मेट्दैछ भने […]

सरकार र मुक्त कमलरीबीच भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न माग

काठमाडौं, ३० साउन । नेपालको पश्चिमी जिल्लाहरु दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको मुक्त कमलरीहरुले २०७० जेठ २४ गते भएको सरकारसँगको १० बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुक्त कमलरीहरुले यस्तो माग गरेका हुन् । सरकारले निरन्तर दवावपछि कमलरी प्रथालाई अवैध घोषणा गर्दै १३ […]

१० महिना बराबरको खर्च असारमा गर्दै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी– असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ । प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ । जेठसम्म आइपुग्दा ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको […]

मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।