छोटकरीमा आज - २०७७ मंसिर २४, बुधबार

आज साझा र विवेकशीलबीच एकता, मंसिर २८देखि उखु किसानले माइतीघरमा धर्ना दिने, त्रिविको जग्गामा बसपार्क, सुरुको सय दिन कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन खट्ने बाइडेनको दाबी लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।

सरकारले बंगालदेशसँग सरकारी स्तर (जीटूजी) प्रक्रियाबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

१७ मंसिरको मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि जीटूजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।


सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ। मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । अब यी अस्पतालको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको हुनेछ ।


पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।


सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेका छन्। चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको वाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन्।

माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।


अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ। साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन्।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।


सरकारले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षकको दरबन्दी थप्‍न गरेको निर्णयको स्वामित्व गृहमन्त्री रामबहादुर थापाले लिएका छैनन्।

गृह मन्त्रालयअन्तर्गत पर्ने नेपाल प्रहरीमा भएको दरबन्दी थपको विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीले सांसदहरूले थप भएको दरबन्दी कार्यान्वयन नगर्न भनेर राखेको कुरामा घुमाउरो पारामा समर्थनसमेत गरेका छन् ।

सम्बन्धित :

संसदीय समितिले विश्वराज पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताए । गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेको बताए ।


छिमेकी जिल्ला जाजरकोट र सल्यानलाई समेत लक्षित गरी २०२८ सालमा चौरजहारीमा विमानस्थल बनाइयो । कच्ची धावनमार्गमा जहाज अवतरण गर्न समस्या भएपछि ४२ वर्षपछि २०७० सालमा कालोपत्रे गरियो । तर कालोपत्रे भएदेखि चौरजहारीमा जहाज अवतरण नै भएनन् ।


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको ‘युद्धविराम’ घर्किंदै गइरहेको छ । मङ्सिर २१ गते बसेको स्थायी कमिटीले अर्को बैठक ७ दिनसम्म स्थगित गरे पनि यसअवधिमा ठोस–मूर्त संवाद हुन सकेको छैन ।


त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्न दिएको जग्गा त्रिवि प्राध्यापक संघले बसपार्क बनाउन भाडामा दिएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस र विश्वविद्यालयको केन्द्रीय परिसरसँग जोडिएको जग्गा बल्खु–कुलेखानी हुँदै चल्ने टाटासुमो पार्किङ गर्न मासिक २ लाखमा भाडामा दिइएको हो ।


कोरोना भाइरसको संक्रमण जारी रहेकै अवस्थामा कसरी संसद् सञ्चालन गर्ने भन्ने बारेमा संघीय संसद सचिवालयले विज्ञहरूसँग छलफल गरेको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर संसद् बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् ।


अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड व्यक्तिलाई कोरोना खोप दिने वाचा गरेका छन्। आफ्नो कार्यकालको सुरुवाती महिनामा कोरोना महामारी अन्त्य नहुने भए पनि यसको बाटो मोड्ने रणनीतिमा आफूहरु लागेको उनको दाबी छ। 


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गृह मन्त्रालयको निर्देशनमा केन्द्र सरकारले घरमै नजरबन्द गरेको आम आदमी पार्टीले आरोप लगाएको छ । दिल्ली प्रवेश गर्ने नाकामा आन्दोलनरत किसानहरूलाई सर्मथन गर्न सोमबार केजरीवाल आन्दोलनस्थलमा पुगेका थिए ।


उनले आन्दोलनरत किसानहरूको अवस्थाबारे पनि सोधपुछ गरेका थिए । आज पनि पुनः आन्दोलनरत स्थलमा जान सक्ने आशंकामा केजरीवाललाई नजरबन्दमा राखिएको हुन सक्ने आम आदमी पार्टीको भनाइ छ । 


नेपाल र अस्ट्रेलियाबीचको व्यापार, लगानी तथा साझेदारी वृद्धि गर्ने उद्देश्यका साथ अस्ट्रेलियामा लगानी सम्मेलन आयोजना गरिएको छ । कोभिड–१९ का कारण अनलाइनमार्फत आयोजित कार्यक्रममा नेपालमा लगानीको सम्भावना भएका क्षेत्र, द्विदेशीय व्यापारका सम्भावना, नियम, कानुन र सरकारी सहयोगलगायत विषयमा छलफल गरिएको थियो ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक