गलत बीउका कारण किसान मर्कामा, क्षतिपूर्ति उपलब्ध गराउन माग

काठमाडौं । गलत धानको बीउका कारण किसानहरू मर्कामा परे पनि उनीहरूले क्षतिपूर्ति पाउन  सकेका छैनन् । यस वर्ष काठमाडौं उपत्यकाका किसानलाई धानको गलत बीउ बेच्ने काष्ठमाण्डप ट्रेड प्वाइन्टले धेरै फल्ने धानको जात भन्दै डी वाई–२८ नामक चिनियाँ वर्णसंकर धानको बीउ उपलब्ध गराएको थियो । कम्पनीले बढी धान फल्ने भनेर दाबी गरे पनि धानमा बाला नै लागेन । किसानको लगानी खेर गयो तर कम्पनीले किसानलाई क्षतिपूर्ति दिएको छैन ।  सरकारले हालसम्म यस्तो बीउ विक्री गर्ने कम्पनीलाई न कारबाही गरेको छ न त पीडित किसानलाई राहत नै प्रदान गर्न सक्यो । किसानलाई झुक्याएर बीउ बेचेको कम्पनीलाई कारबाही नभएकाले किसानहरूले सरकारले कम्पनीलाई संरक्षण दिएको आरोप लगाएका छन् । साथै, उनीहरूले क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन् ।  गत जेठमा कम्पनीले काठमाडौं उपत्यकाका करीब २ हजार २०० भन्दा बढी किसानलाई धेरै फल्ने धानको जात भन्दै डीवाई–२८ नामक चिनियाँ वर्णसंकर धानको बीउ उपलब्ध गराएको थियो । तर, यो बीउ रोपेका कुनै पनि किसानको धानमा बाला लागेन । उक्त धानको बीउ समुद्री सतहदेखि ७ सय मीटरभन्दा कम उचाइमा फल्ने र काठमाडौं उपत्यकाको उचाइ करीब १ हजार ४०० मीटर रहेकाले धानमा बाला नलागेको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीका कोषाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । कम्पनीले किसानहरूलाई झुक्याएको आरोप उनले लगाए ।  बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार किसानले लगाएको ७ हजार, ७४५ रोपनी जमीनको धानमा बाला लागेन । अधिकारीका अनुसार धान नफलेपछि किसानले गत असोजमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । त्यसपछि उक्त कम्पनी र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबीच प्रतिरोपनी २ हजार २५० रुपैयाँका दरले पीडित किसानलाई राहत उपलब्ध गराउने सहमति भए पनि अहिले आएर कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउन आनाकानी गरेको छ । बीउबिजन ऐन २०४५ ले कुनै कम्पनीले किसानलाई गलत बीउ उपलब्ध गराएमा वा एक बीउ दिनुपर्नेमा अर्को बीउ दिएर झुक्याउने काम गरेमा उक्त कम्पनीलाई २५ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।  महासंघ कोषाध्यक्ष अधिकारी भन्छन्, ‘कम्पनीलाई कारबाही गरेमा किसानलाई के फाइदा हुन्छ र रु किसानको माग त उचित क्षतिपूर्ति हो । कम्पनीलाई कारबाही गर्नेभन्दा पनि किसानलाई राहत दिलाउनेमा सरकार लाग्नुपर्छ ।’ राहत माग गर्दै शुक्रवार महासंघले आइतवार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि आफ्ना मागका विषयमा किसानले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवलाई भेट्न खोज्दा मन्त्रालयले किसानहरूलाई मन्त्रालय प्रवेश गर्न दिएको थिएन । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत डा। प्रकाश आचार्यले आफूहरूको पहिलो प्राथमिकता बीउ विक्री गर्ने कम्पनीलाई कारबाही गर्नेभन्दा पनि किसानलाई क्षतिपूर्ति दिन लगाउने भएको बताए । क्षतिपूर्ति उपलब्ध गराउने प्रयास गर्दा लामो समय बित्यो । तर, अहिले आएर कम्पनीले क्षतिपूर्ति दिने कुरामा आनाकानी गरेकाले कारबाहीबाहेक अर्को विकल्प नरहेको उनले जानकारी दिए । उनका अनुसार बीउबिजन ऐनअनुसार कारबाही गर्दा सानो रकम तिरेर कम्पनीले उन्मुक्ति पाउने देखिएकाले अब उसलाई हदैसम्मको कारबाहीका लागि प्रक्रिया अघि बढिसकेको छ । ‘त्यसका लागि हामीले वाणिज्य विभागसँग समन्वय गरी उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यसअनुसार कारबाही गर्दा बीउ आयातकर्ता कम्पनीलाई ३ लाख रुपैयाँसम्म जरीवाना, लाइसेन्स रद्दसहित उक्त कम्पनीसँग बीउ लगेर खुद्रा विक्री गर्ने एग्रोभेटहरू समेतलाई पनि कारबाही हुने गर्छ ।

सम्बन्धित सामग्री

हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै किसान सडकमा (फोटो फिचर)

जेठ २०, काठमडौं । नेपाल क्रान्तिकारी किसान संघले सरकारलाई तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ ।  किसनहरुले हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै जुलुस निकालेका हुन् । उनीहरुले रत्नपार्कमा जम्मा भएर बागबजार हुँदै पुतलीसडक, प्रदर्शनी मार्ग, शहिद गेट, न्यूरोड, इन्द्रचोक, बांगेमुडा, असन र भोटाहिटीमा जुलुस प्रदर्शन गरेका हुन् ।  देशभर रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा शुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।  केही सहकारीले बेलैमा ल्याएको मल विक्री शुुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् ।  कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेका छन् ।                                                         फोटो : सुनिल शर्मा /आर्थिक अभियान

रू. १ अर्ब ३१ करोडको केरा आयात

काठमाडौं । नेपालमै फलाउन सकिने सम्भावना प्रशस्त भएको केरा चालू आर्थिक वर्ष (आव) को ९ महीनामा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको अभिलेखअनुसार गत साउनदेखि चैतसम्ममा भारतबाट ४६ हजार १७६ र इन्डोनेशियाबाट १ गरी कुल ४६ हजार १७७ मेट्रिक टनभन्दा बढी केरा आयात भएको छ । केरा आयातका लागि उक्त अवधिमा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँभन्दा बढी भारत र इन्डोनेशिया गएको देखिन्छ । अघिल्लो आव २०७७/७८ मा भने वर्षभरमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५८ हजार ४६५ मेट्रिक टन केरा आयात भएको देखिन्छ । गत आवमा भारतबाट मात्रै केरा आयात भएको भन्सार विभागको अभिलेखले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । त्यसमध्ये १६ हजार ६ सय ९९ सय हेक्टरमा केराखेती हुन्छ । त्यसबाट वार्षिक २ लाख ५४ हजार १ सय ६१ मेट्रिक टन केरा उत्पादन हुन्छ । आन्तरिक उत्पादनले ३/४ महीनाको बजार माग पनि धान्न मुश्किल पर्ने गरेको केरा उत्पादक किसान तथा व्यवसायी बताउँछन् । पछिल्लो समय केराखेतीतर्फ किसानको आकर्षण बढेको जस्तो देखिए पनि आवश्यक समयमा मल र औषधि उपलब्ध नहुँदा पछिल्लो समय उनीहरू हतोत्साहित हुन थालेको कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले बताए । यसको असर उत्पादनमा परेको उनले जानकारी दिए । उनका अनुसार अन्य बालीमा १/२ पटक मल राख्दा पुग्छ तर केराखेतीलाई चैत, असार, असोज र पुस वर्षमा चारपटकसम्म मल हाल्नुपर्ने हुन्छ । यसो नगरे उत्पादनमा ह्रास आउँछ । तर, सरकारले उपयुक्त समयमा किसानलाई मल उपलब्ध गराउन सकेको छैन । यसले खेती गरिरहेका किसान अझै हतोत्साही हुने उनको भनाइ छ । सानोतिनो परिमाणमा सबैजसो जिल्लामा केराखेती हुने भए पनि कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, झापालगायत जिल्ला केराखेतीका लागि प्रख्यात छन् । ती जिल्लाका ४ हजार २ सयभन्दा बढी किसान व्यावसायिक केराखेतीमा आबद्ध छन् । नेपालमा केराखेतीको उत्पादन बढाई यसको अयात कम गर्न सरकारले समयमा मल र औषधिको व्यवस्थापन गरी किसानको मेहनतको उचित मूल्य तोक्ने काम गर्नुपर्ने चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी बताउँछन् । केराको आकार, सफाइ, गे्रडिङ, प्याकेजिङ र ब्रान्डिङलगायत मापदण्ड बनाई उपयुक्त मूल्य तोक्ने वातावरण सरकारले बनाउन सके कोही पनि किसान बिचौलियाका कारण ठगिनुपर्ने अवस्था नआउने उनको बुझाइ छ । मल अभावले किसान मर्कामा रासायनिक मलको अभाव हुँदा केराखेती गर्ने किसान मर्कामा परेका छन् । यसपटक केराखेतीमा मल हाल्नुपर्ने समय बितिसक्दा पनि किसानले मल पाएका छैनन् । मल अभावका कारण यतिबेला कैलाली, कञ्चनपुर, चितवन, झापालगायत जिल्लाका केरा किसानले सास्ती बेहोर्नुपरेको छ । खेतमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसान पूर्ण साउदले बताए । ‘स्वदेशमा मलको हाहाकार भएपछि किसान भारतको सीमावर्ती बजार जान थालेका छन् । उताबाट किनेर ल्याएको मल पनि प्रहरीले बोरा च्यातेर बाटोमै फालिदिन्छ । न त सरकारले हामीलाई मल उपलब्ध गराउन सक्छ न सीमापारिबाट ल्याउन दिन्छ । यस्तो अवस्थामा उत्पादन राम्रो हुने कुरै भएन,’ उनले भने । कञ्चनपुरमा २५ सय किसानले करीब ५ सय हेक्टर जमीनमा केराखेती गरेका छन् । कञ्चनपुरको जस्तै अवस्था छ– कैलाली, चितवन र झापाका किसानको पनि । कैलालीमा ७ सय हेक्टर, चितवनमा ३ हजार बिगाहा र झापामा २ हजार बिगाहाभन्दा बढीमा केराखेती छ । यी जिल्लाका किसानले मल अभावका कारण सास्ती खेपिरहेका बेला सरकारी अनुदानको मल विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीसँग मलको मौज्दात नै छैन ।

भारतीय बजारबाट रासायनिक मल ल्याउन पाउनुपर्ने किसानको माग

रौतहटका किसानले भारतीय बजारबाट आफ्नो आवश्यकता अनुसार रासायनिक मल ल्याउन पाउनुपर्ने माग गरेका छन् ।सदरमुकाम गौरमा ‘आइटी किसान’ले बुधबार आयोजना गरेको कोणसभामा बोल्दै किसानका प्रतिनिधिले सीमा क्षेत्रमा किसानले भारतबाट ल्याएको मललाई सुरक्षाकर्मीले तस्करीको भन्दै नियन्त्रणमा लिने गरेकोमा आपत्तिसमेत जनाए ।सरकारले पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि नसक्ने र किसान आफैले जेनतेन ल्याएको मललाई पनि तस्करीको भन्दै प्रहरीले नियन्त्रणमा लिने गर्दा कयौं किसान मर्कामा परेको