मध्य भोटेकोशी जलविद्युत् कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

मंसिर २१, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि रू. ९४ दशमलव ३९ देखि २८३ दशमलव १७ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।  कम्पनीको आव २०७६/ ७७ को वास्तविक नेटवर्थ रू. ९४ दशमलव ३९ रहेकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त वास्तविक नेटवर्थको आधारमा सो मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले कुल शेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । उक्त शेयरको बाँडफाँट कात्तिक १० गते भएको थियो । उक्त आईपीओमा २३ लाख ९० हजार २१८ जना आवेदकले निवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ जना आवेदकको आवेदन रद्द भएको थियो । स्वीकृति भएका २२ लाख ९४ हजार ४९६ जना आवेकमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।   

सम्बन्धित सामग्री

६ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४९ दशमलव १९ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ८३४ दशलमव १३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये छ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सिभिल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ भने बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । बजार बढेसँगै ती छ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५७० दशमलव ९०, नेपाल फाइनान्सको रू.६९३,पोखरा फाइनान्सको ५७३ दशमलव १०, कर्पोरेट डेभलपमेन्ट बैंकको रू. ५५० दशमलव २०, मध्य भोटेकोशी जलविद्युत कम्पनीको रू.३१३ दशमलव ५० र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रू. १ हजार १८६ पुगेको छ ।