विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…

सम्बन्धित सामग्री

यो साताका २० तस्बिर

काठमाडौं – यो साता त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहले निकै चर्चा पायो । युवा पुस्ताको पढ्न विदेश जाने रहरको चर्चासमेत दिक्षान्त समारोहसँगसँगै उठ्यो । यसबाहेक यो साताका तस्बिरमा चितवन राष्ट्रिय निकुञ्ज, परम्परागत प्रविधि, कृषि उत्पादन, हस्तकला, पर्यटन, विकास निर्माण, शिक्षा, बालबालिका, सुन्दर हिमाल, गाउँबस्ती, व्यवसायिक खेतीपाती, विवाह पञ्चमी र किशानको दैनिकीलाई समेटिएको छ । तस्बिरः रासस […]

प्रजातन्त्रको ७३ वर्ष

देशले पहिलो प्रजातन्त्र पाएको पनि ७३ वर्ष बितेछ । अब बितेछ त बितेछ यसमा हाम्ले के नै गर्न सक्छौं र ? न तपाईंले केही गर्न सक्नुहुन्छ । न मैले केही गर्न सक्छु । अरूले पनि के नै गर्न सक्छन् र ? अहिले सत्तरी नाघ्यो । भोलि असी, पर्सी नब्बे र अलि वर्षमा सय वर्ष नि नाघ्छ । देश यही हो र यही रहन्छ । उत्तरमा हिमाल, पहाड, दक्षिणमा तराई, पूर्वमा कोशी, पश्चिममा महाकाली । यत्रो ठूलो देश छ । अलि अलि जंगे पिलर सरेर के हुन्छ र ?  हुन त देश ठूलो वा सानो भएर के नै फरक पर्छ र ? देश त देश नै हो नि । देशलाई त के नै भएको छ र ? जो नेपाली विदेशमा बस्दैनन्, ती देशमै बस्छन् । विदेश जाने धेरै भए पनि देशमा बस्ने पनि अझै कम छैनन् । सडकमा ट्राफिक जाम नै हेर्नोस् न, मान्छेहरूको कति भीड छ । यदि हामीले देशलाई अघि बढाउन सक्तैनौं भने पनि कमसेकम जनसंख्यालाई त अघि बढाउन सक्छौं । आखिर कुनै कुनै कुरामा त हाम्रो पुरुषार्थ पनि देखिएकै छ त ! प्रजातन्त्रको यो ७३ वर्षमा हाम्रो देशले ठूल्ठूला नेता पायो । जब ठूल्ठूला नेता बने, तब हामीले साना साना नेता जन्मायौं । ती साना साना नेताले अझ साना साना नेता जन्माए । हामीले नेताको पिरामिड बनायौं । अनि नेताहरूमा आत्मनिर्भर बन्यौं । अब मार्गनिर्देशनका लागि विदेशतर्फ हेरिरहनु आवश्यक छैन । हामी आफै एकअर्कालाई मार्गनिर्देश गर्न सक्छौं । हामीले नेतृत्वको ढोका सबैका लागि खोलिदिएका छौं । यदि तपाईंसँग कुनै कामधाम छैन भने हाम्रो देशको नेता बन्न सक्नुहुन्छ । यदि तपाईंसँग कुनै कामधन्दा छ भने तपाईं हाम्रो देशको नेता हुनुहुन्छ नै । यदि तपाईं राम्रो काम गर्न चाहनुहुन्छ भने नेता बन्नुहोस् । यदि तपाईं नराम्रो काम गर्न चाहनुहुन्छ भने झन् पक्का नेता बन्नुहोस् । तपाईं अभिनेता हो भने झन् ठूलो नेता । जुन शहरमा अभिनेता धेरै हुन्छन्, त्यहाँ नाटक मण्डलीको संख्या बढ्छ । त्यसैगरी जुन देशमा नेताहरूको संख्या धेरै हुन्छ, त्यहाँ राजनीतिक दल धेरै हुन्छन् । लोकतन्त्रको बस चलाउने ड्राइभर यी दलहरू नै त हुन् । तर हिजोआज बस ड्राइभरले भन्दा बेसी खलासीहरूले चलाउन थालेका छन् । त्यसैले दुर्घटना बढेका छन् । हाम्रो देशको धर्ती महान् हो । देशमा जति अन्न उब्जन्छन्, त्योभन्दा बढी त खाने मुख उम्रन्छन् । त्यै भएर त अन्न आयात गरेका छौं, टन्न पेट भरेका छौं । प्रजातन्त्रका यी वर्षमा देशमा पनि अन्न उमारिरह्यौं । विदेशबाट पनि मागिरह्यौं । खाइरह्यौं । पचाइरह्यौं । विदेशी अन्न र स्वदेशी चूर्णले पेटको सन्तुलन ठीक राख्यो । हामीले रुख कटायौं, घर अफिसमा एअर कण्डिसन लगायौं । देशले भान्छा र शयनकक्षको महत्त्व बुझ्यो । अनि भित्रै भान्छा, बाथरुम र बेडरुम भएको भवन बनाउन शुरू गर्‍यौं । भवन बनाउन ठेकेदारहरूको फौज पनि तयार गरियो । तर ठेकेदारहरूले कस्तो भवन ठड्याए कुन्नि ! भवनहरू अग्लाअग्ला हुँदै गए, देश तलतल धसिँदै गयो । प्रजातन्त्रका यी वर्षहरूमा देशमा उत्पादन बढ्यो । उत्पादनको भाउ झन् बढ्यो । मान्छे सस्ता भए, सामान महँगा भए । शरीर सस्तो भयो, कपडा महँगो भयो । पानी महँगो भयो, खुन सस्तो भयो । घरको इज्जत कम भयो, होटल रिसोर्टहरूको बढ्यो । शरीरभन्दा गहनाको सम्मान बढी भयो । पदको सम्मान मनुष्य र मनुष्यताभन्दा माथि गयो । छनोटमा द्विविधा बढ्यो, किनकि सुविधा बढ्यो । हामी छिमेकीमा मात्रै बहादुर भनिन्थ्यौं, अब त विश्वभरि बहादुर बन्न पुगेका छौं । कलाकौशल बेच्नेबाट शुरू गरेका थियौं, अहिले ढुंगा, गिट्टी, बालुवा, पानी र जवानी बेच्नेमा पुगेका छौं । यही रेसमा हाम्रा इमान र सम्पदा बिक्दै जाने हो भने देश पनि चाँडै बिक्न सक्छ भन्नेमा सन्देह रहेन । दूध खाइरहन पाए गाई कल्ले पाल्ला र ? प्रजातन्त्रका यी वर्षहरूमा हाम्रा खल्ती खाली र कपाल लामो हुँदै गए । नेताहरूले आफ्ना सोच छोटा बनाए, तर केवल आफ्ना जुँगा र घमण्ड लामा बनाए । प्रजातन्त्रका यी वर्षहरूमा देश उठ्यो, फेरि लड्यो । लडेर उठ्यो । उठेर लड्यो । तर ठीकसँग उभिन सकेन । घण्टाघरको घडी घुमिरह्यो, हाम्रो देश मस्त निद्रामै घुरिरह्यो, त्यसैले समयभन्दा निकै पछि परिसकेको छ । हामीसँग विचार भएन, त्यसैले हामीले हाम्रो परिस्थितिको विश्लेषण गर्नै सकेनौं । त्यसैले जबसम्म विदेशबाट ऋण वा अनुदान प्राप्त गर्न सक्तैनौं हाम्रा चुला नबल्नेमा पुगेका छन् । त्यसैले हाम्रो शरीर स्वदेशमा भए पनि आत्मा विदेशमा पुगेको छ । हाम्रा पाइलाहरू विदेशी धुन र विदेशबाट ल्याएको सुन अनुसार चल्छन् । यो ७३ वर्षमा हामी कहाँबाट शुरू गरेका थियौं, तर पुग्यौं कहाँ । यत्तिका वर्षहरूमा हाम्रो प्रगतिको पहिचान यै हो कि हामीले हाम्रा खोला, नदीहरूलाई फोहोर बनायौं, सडकहरूलाई पासो बनायौं । तर त्यसमाथि गुड्ने गाडीहरूमात्र सुन्दर, सफा र चिल्ला मगायौं । सडकमा फोहोर थुप्रिएका छन् । तर त्यस वरपर बस्नेहरू टाईसुटमा सजिएका छन् । हाम्रा घर राम्रा छन्, देश जस्तो भए पनि । मुस्कुराउनु पनि व्यावसायिक बन्यो । चाकरी परम्परा बन्यो । भ्रष्टाचार शिष्टाचारमा परिणत भयो । बाहिर चमकदमक बढ्यो, भित्र खोक्रो बाँकी रह्यो । प्रजातन्त्रका यी वर्षहरूमा हाम्रा खल्ती खाली र कपाल लामो हुँदै गए । नेताहरूले आफ्ना सोच छोटा बनाए, तर केवल आफ्ना जुँगा र घमण्ड लामा बनाए । देश बलियो भयो कि भएन, तर जातीयता बलियो भयो, दलहरू बलिया भए । दलका झुण्ड बलिया भए, झुण्डका चण्डमुण्ड बलिया भए । ठाउँठाउँमा मस्ती गर्ने ठाउँहरू बने । दूध र दबाई पाइयोस् वा नपाइयोस् मदिरा नपाइने कुनै कुनो छैन । अरू उद्योग चले पनि नचले पनि बालुवा, गिट्टी, ढुंगा र मान्छे निर्यात उद्योग राम्रै फस्टाएका छन् । खेतमा पानी नभए के भो त ? सिँचाइले कतिका भुँडीहरू सिञ्चित भए भए यस ७३ वर्षमा । गर्मीमा खडेरी पर्छ, मान्छे भोकै पर्छन् । वर्षामा बाढी आउँछ, मान्छे र चौपाया दुवै मर्छन् । भलै तटबन्धका बजेटले कतिले जेट उडाए, कति गाडी कुदाए । थुप्रै सडकहरू त्यहाँ पुगे जहाँ पुग्नुपर्ने नै थिएन । ‘यताका माल उता गएनन्, तर उताका माल मात्र यता आए ।’ स्मगलिङमा गति आयो । जताततै जनता ठग्ने मति आयो ।  सारा देश एकआपसमा जोडियो । सडकदेखि इन्टरनेटकोे जालसम्म, बिजुलीको तारदेखि टेलिफोनको झंकारसम्म । तर मनहरू जोडिएनन् । हुन त यता जसै नेप्सेमा आइपीओ जारी हुन्छ, देशैभरिका शेयरका खेलाडीहरूको एकाएक उछलकुद भारी हुन्छ । राष्ट्रको एकताको यो भन्दा बलियो प्रमाण के हुन सक्छ र ? ७० वर्षको प्रजातन्त्रको यो यात्रा बडो गज्जपको छ हजुर ! गरीबी हटाउन हिँड्याथे, आफ्नै अमिरी बढाउनतिर लागे । जसरी ७३ वर्ष बितेको छ, त्यसैगरी १७३ वर्ष पनि बित्नेछ । तर यो ७३ वर्ष खुबै रह्यो ! देशले ठूलै प्रगति पो गरिसकेको छ त । अनुभव गर्नु भएकै छ नि ! गणेशमानजीले भनेको शिशु प्रजातन्त्र अहिले साँच्चै पाको भइसकेछ त ।

प्रगतिको आर्थिक वर्ष

यतिबेला देशमा विभिन्न संस्था तथा कम्पनीहरूले गत आर्थिक वर्षको अडिट रिपोर्ट बनाएर सम्बन्धित निकायमा पेश गर्ने चरणमा छन् । धेरैको प्रगति सन्तोषजनक छैन । देशको प्रगति विवरण चैं कस्तो छ त ? सरकार भन्छ– देशको प्रगति त निकै राम्रो छ ।  तर जनता मान्दैनन् । जो भेट्यो उही देशले उन्नति र विकास गर्न सकेन भनेर गुनासो गरिरहन्छन् । देशमा यत्रा यत्रा सुन्दर काण्डहरू भइरहँदा पनि देशले प्रगति गरेन भन्न मिल्छ र ? वास्तवमा यो काण्डैकाण्डहरूको कालखण्डमा देशले निकै प्रगति गरिसकेको छ नि । यो अफवाह हो भनेर कसरी मान्नु ? अफवाह नै हो भने कसैले तथ्यांकसहित खण्डन किन नगरेको त ? हेर्नुस्, हाम्रा नेताहरू सत्यतथ्यसँग डराउँछन्, तर अफवाहसँग फिटिक्कै डराउन्नन्, बरु फैलाउँछन् । तर समाचार सत्य नै हो कि देशले प्रगति चैं गरेकै छ । तर कहाँबाट, कताबाट कति प्रगति भएको छ भन्नेमा चाहिँ सरकार र जनताको फरक तथ्य छ । गएको आर्थिक वर्षमा देशले गरेको प्रगति विवरण चैं यस्तो छ, सरकारका अनुसार ।  गतवर्ष मौसम राम्रो रह्यो । गर्मीमा गर्मी भयो, जाडोमा जाडो । वर्षा मौसम सकिने बेलामा झरी पर्‍योे । झरीले खेतलाई मात्र पानी दिएन, सडकका खाल्टाखुल्टी पनि पानीले नै पुर्दियो । सरकारले निर्णय लियो कि पानी पर्नासाथ धान रोपाइँ गर्ने भनेर । बाढीले पुल पुलेसा सडक बगाँउदा अर्को वर्ष नयाँ ठेक्का लगाउन बाटो खुलेको छ । तर समयमा पानी नपरेका कारण सरकारले भारतबाट चामल आयात गर्ने निर्णय गर्‍यो । तर भारतले चामल निर्यातमा रोक लगाएकाले अब सरकारले कुनै अर्को देशबाट वा चीनबाट चामल ल्याउने निर्णय गर्दै छ । निर्णय गर्ने, आह्वान गर्ने, आदेश दिने वा समिति गठन गर्ने काममा सरकारले ढिलासुस्ती फिटिक्कै गरेको छैन । देशको के भो कुन्नि नेताहरूको आर्थिक स्थिति चाहिँ खुब राम्रो रह्यो । देशले विदेशबाट रिन माग्यो, त्यो रिन जनताको नाममा आयो, नेता र कर्मचारीको भागमा गयो । नेताहरूले आफैलाई चाहिँ कसैसँग पनि रिन मागेनन्, बरु अरूलाई दिए । जो धनी थिए, अझ धनी भए । जो गरीब थिए, अझ गरीब भए । जो दुवैका बीचमा थिए, उनीहरू कहीँका पनि रहेनन् । त्रिशंकुझैं बीचमै अड्किरहेका छन्, जताततै भड्किरहेका छन् । कुल मिलाएर औसतमा उन्नति नै भयो ।  यो वर्ष देशमा प्रतिव्यक्ति आय बढ्यो अर्थात् कमाइ बढ्यो, खासगरी ती मानिसहरूको जो कि कमिशन खान्छन् वा घूस । देशमा रोजगारी बढ्न सकेन, तर बेरोजगार भने बढे । त्यसैले विदेश जाने बढे, नजाने देशमै सडे । जो काम गर्न चाहन्थे, उनीहरूसँग काम थिएन । जोसँग काम थियो, उनीहरू गरिरहेका थिएनन् । जसले गरे, त्यसको प्रतिफल राम्रो निस्केन । तर पनि मानिस हाँसिरहेकै देखिन्थे । त्यसैले प्रतिव्यक्ति खुशी यति बढ्यो कि मानिसहरूले ५० को साटो सय र सयको साटो ५०० को नोट खर्च गर्न थाले । कसैले कसैलाई ऋण दिएन । जसले दियो, उसले फिर्ता पाएन । जीवनस्तर यति माथि उठ्यो कि भिखारीले पनि ५/१० रुपैयाँको साटो ५०/१०० माग्न थाले । डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । मान्छेहरूले अलिअलि दूध बेचेर, नभए जग्गा बेचेर वा विदेश गएर कमाएर टिभी, फ्रिज र मोबाइल चैं किने । टिभी र मोबाइल दुई भागमा बाँडियो । आधा हिस्सा नेताहरूले लिए, आधा अभिनेताहरूले । अर्थात् टिभी र मोबाइलका पर्दामा कि नेता देखिए, कि अभिनेता, अभिनेत्री । मानिसहरू देशतर्फ हेर्नुको साटो टिभी वा मोबाइलतर्फ हेर्न थाले । देशमा स्मार्ट मोबाइल के छिर्‍याथ्यो, देश मोबाइलभित्रै छिर्‍यो । मानिसको जीवनस्तर उठ्यो । जो सडकमा हिँड्थे अब फ्लाईओभरमाथि हिँड्न थाले । जो साइकलमा गुड्थे, उनीहरु पाखा लागे, वा मोटरसाइकल चलाउने भए वा गाडीमा गुड्ने भए, अझ चिलगाडीमा उड्ने भए । यसरी देशले प्रगति गरिरहेकै छ । यसको मतलव देश सुरक्षित छ । नेता पनि सुरक्षित छन् । नेताका चम्चा अझ सुरक्षित छन् । जो सुरक्षित छैनन्, ती आत्महत्या गर्नतिर लागेका छन्, जसको अवसर सरकारले छताछुल्ल उपलब्ध गराएको छ । आफ्ना सुरक्षाका खातिर डाँकाहरू नेतासँग वा दलसँग आत्मसमर्पण गरिरहेका छन् र नेताहरूले डाँकाहरूसँग । पत्रपत्रिकामा छापिने फोटोहरू हेरेर सर्वसाधारणले को नेता हो, को डाँका हो, छुट्ट्याउन नसक्ने भएका छन् ।  डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । २–४ वर्ष अगाडि ५० रुपैयाँमा हुने एउटा सानो सिफारिशकोे शुल्क अहिले ५००० नाघेको छ । डाँकाहरूले लुटेको धनबाट मन खोलेर मोटरसाइकल र गाडी खरीद गरेका छन् । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । यसरी सबैतिर शान्ति छाएको छ ।  विश्वविद्यालयमा आगो लगाउन र प्रोफेसरलाई मोसो दल्न यो वर्ष पनि कालोमोसो र मट्टीतेलको अभाव रहेन । शिक्षाको क्षेत्रमा स्थिति यस्तो रह्यो कि जहाँ विद्यार्थी थिए, त्यहाँ पढाउनेहरू थिएनन् र जहाँ पढाउनेहरू थिए, त्यहाँ विद्यार्थी थिएनन् । तर जहाँ दुवै थिए, त्यहाँ पढाइ हुँदै भएन । तैपनि नतीजा ठीकै निस्कियो । तर जागीर मिलेन । हाम्रो देशमा पढाइ सकिएपछि जब जागीर पाइँदैन, तब उनीहरू कि त अरूलाई पढाउनतिर लाग्छन्, कि पार्टीतिर । नभए विदेशतिर भाग्छन् । जो पार्टीतिर लागे, उनीहरूले कुनै न कुनै राजनीतिक नियुक्ति पाएर सात पुस्तालाई पुग्नेगरी कमाए । नेता मन्त्रीहरू पनि विदेश यात्रामा निस्किरहे । जो गएनन्, तिनलाई भेट्न विदेशी देशमै आए, कोही सुन त कोही डलर उपहार लिएर ।  प्रदेश सरकारले केन्द्र सरकारसँग बजेट र समय मागिरह्यो । तर केन्द्र सरकारले दिन सकेन । यसले गर्दा प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशमा काम गर्न नसकेकाले त्यहाँका जनताका सामु मुख देखाउन लायक रहेनन् । त्यसैले मुख लुकाउन प्रदेश सरकारका मुख्यमन्त्रीहरू बस्ने स्थायी किसिमको आवास भवन केन्द्रमै तयार गरियो । यो पनि अर्को एउटा प्रगतिको सूचक नै हो । अब गाउँपालिका र नगरपालिका प्रमुखहरूलाई पनि तीन शहर नेपालमा यस्तै व्यवस्था गर्न सके झन् प्रगति हुन्छ । यो वर्ष सबैभन्दा बढी आम्दानी नाटकमा काम गर्नेहरूकै रह्यो, खासगरी राजनीतिक रंगमञ्चमा काम गर्नेहरूको । लोकतन्त्रकालीन यो वर्ष पनि सबैले खाइरहेकै छन्, गाइरहेकै छन्, केही न केही पाइरहेकै छन् । त्यसैले सबै ठीकठाक नै छ । यसलाई देशले उन्नति, प्रगति गरिरहेकोे मान्नैपर्छ । केवल एउटा कुरामा भने देश अलि पछाडि परेको छ । त्यो हो– विशुद्ध नागरिक हुनु चैं श्राप भएको छ यो वर्ष पनि । ‘उप्रान्त रैतीहरू भन्याका प्रगतिका शत्रु हुन्’ भन्या अग्रगामी दिव्योपदेशमा लेख्याको रहेछ ।