विदेशी मुद्रा सञ्चितिमाथि दबाब केही घट्यो

काठमाडौं  । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ । यी दुई निकायको प्रतिवेदनले अर्थतन्त्र दबाबमा रहेको देखाए पनि खराब भइनसकेको देखाएका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय महँगी बढे पनि अन्य सूचक नियन्त्रणमै छन् । सबैभन्दा ठूलो समस्याको रूपमा हेरिएको विदेशी विनिमय सञ्चितिमाथिको दबाब केही घटेको राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ । विप्रेषण आप्रवाहमा पनि सुधार आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को फागुनमा उपभोक्ता मुद्रास्फीति (महँगी) ७ दशमलव १४ प्रतिशत छ । केन्द्रीय बैंकले चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य तोकेको थियो । चालू आवमा दोस्रोपटक मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेको हो । यसअघि मङ्सिरमा पनि मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकका अनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ५१ र गैर–खाद्य तथा सेवा समूहको  दशमलव ८४ प्रतिशत छ । पोहोर फागुनको तुलनामा यसपालि फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ, तेलको २६ दशमलव ३४, तरकारीको १३ दशमलव ९६, दूधजन्य उत्पादन तथा अण्डाको ११ दशमलव ३० र दाल तथा गेडागुडी उपसमूहको १० दशमलव ३० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ । महँगीले लक्षित सीमा पार गर्नुको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । अर्थविद् डा. चन्द्रमणि अधिकारी आन्तरिक र बाह्य दुवै कारणले महँगी बढेको ठान्छन् । रुस–युक्रेन तनावसँगै विश्वमा डलर, पेट्रोलियम पदार्थ र अन्य सामानको मूल्य बढेकाले त्यसको असर नेपालमा परेको उनले बताए । कमजोर आन्तरिक उत्पादन र बजार अनुगमन प्रभावकारी नहुँदा पनि महँगी बढ्न पुगेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल अर्थतन्त्र नियन्त्रणबाहिर नगएको ठान्छन् । उनले राजधानीमा आयोजित एक कार्यक्रममा अर्थतन्त्रमा अहिले देखिएको समस्या छिट्टै समाधान हुने बताए । रेमिट्यान्समा राहत चालू आवको पहिलो महीनादेखि नै घटिरहेको रेमिट्यान्स आप्रवाहमा थोरै सुधार देखिएको छ । विदेशका नेपालीले फागुनसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ पठाएका छन् । पोहोर यही अवधिको तुलनामा रेमिट्यान्स १ दशमलव ७ प्रतिशतले घटेको देखिए पनि चालू आर्थिक वर्षका अन्य महीनासँग तुलना गर्दा सुधार छ । माघसम्म मासिक औसत ७७ अर्ब रेमिट्यान्स आइरहेकोमा फागुनमा ९१ अर्ब रुपैयाँ आएको राष्ट्र बैंकले बताएको छ । रेमिट्यान्स नेपालको विदेशी मुद्रा आर्जनको मुख्य स्रोतमध्येको एक हो । औपचारिक माध्यमबाट रेमिट्यान्स आप्रवाह बढाउन बैंकहरूले सोको बचतमा अन्य बचतको तुलनामा १ प्रतिशत बिन्दु बढी ब्याज दिँदै आएका छन् । फागुनमा प्रत्यक्ष वैदेशिक लगानी पनि ६० प्रतिशतले बढेर १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । विनिमय सञ्चितिमा दबाब घट्यो रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी बढेपछि फागुनमा विदेशी मुद्रा सञ्चितिमा दबाब केही कम भएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले घटेर फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ । चालू आवको आठ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले ७ दशमलव ४ महीनाको वस्तु र ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्नेछ । यो अघिल्लो महीनाको बराबर हो । यसअघिका महीनाहरुको सञ्चिति पर्याप्तता लगातार घट्दै आएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि पछिल्लो समय बैंक, वित्तीय संस्थाले आयात कर्जा निरुत्साहित गर्दै आएका छन् । राष्ट्र बैंकले विलासी सामान आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । यो सातादेखि भने बैंकहरूले विलासी सामानको एलसी खोल्न छाडेका छन् । पर्यटक आगमन पनि बढेपछि विदेशी मुद्रा सञ्चितिमाथिको चाप कम हुने अपेक्षा गरिएको छ । अचेल दैनिक दुई हजार हाराहारी विदेशी पर्यटक हवाई मार्गबाट आइरहेका छन् । शोधनान्तर घाटा साढे २ खर्ब नाघ्यो रेमिट्यान्स आप्रवाह वृद्धि भए पनि शोधनान्तर घाटा बढेर साढे २ खर्ब नाघेको छ । फागुन मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा छ । पोहोर यही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले रुपैयाँले बचतमा थियो ।  अर्थविद् अधिकारी विप्रेषण आयमा केही सुधार देखिए पनि अर्थतन्त्रमा दबाब कायमै रहेको बताउँछन् । ‘तीन महीनाको ट्रेन्ड नहेरी रेमिट्यान्स बढ्यो भन्न सकिँदैन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिति बढेकै छैन, शोधनान्तर घाटा बढिरहेको छ, त्यसैले अर्थतन्त्रमा दबाब कायमै छ ।’

सम्बन्धित सामग्री

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

भारतको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ। सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पत्ति २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो ।सन् २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा करिब ५८ अर्ब डल

पाकिस्तानको केन्द्रिय बैंकको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर पुग्यो

पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ।स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो।वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिव ५ अर्ब डलर पुगेको केन्द्रिय बैंकले जनाएको छ। एसबीपीका अनुसार दक्षिण एशियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिव १३.२ अर्ब डलर रहेको छ।

रेमिट्यान्समा वृद्धि भएपछि विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार अहिले विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ । यो अमेरिकी डलरमा ११ अर्ब २९ करोड पुगेको छ ।

मंसिरमा बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं : मंसिर महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। चालु वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ…

चार महिनामा २.५ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं : मुलुकको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँले बढी हो असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो । गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेश

एक महिनामा बढ्यो ३० अर्ब विदेशी मुद्रा सञ्चिति

२७ असार, काठमाडौं । जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति […]

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ।राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ। तीव्र रूपमा विदेशी विनिम

भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो

भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति मार्च २५ तारिख सकिएको सातामा २.३ अर्ब डलरले घटेको छ । रिजर्भ बैंकको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति अहिले ६१९.६७८ अर्ब डलरबाट घटेर ६१७ अर्ब ६४८ अर्ब डलरमा झरेको छ । यसअघि मार्च १८ तारिख सकिएको साता २.५९ अर्ब डलरले घटेको थियो । त्यसैगरी मार्च ११ तारिख सकिएको सातामा यो गिरावट ९.६४६ अर्ब डलर पुगेको थियो । मार्च १५ तारिख समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको कारण कुल मुद्रा सञ्चित

भारतको विदेशी मुद्रा सञ्चिति बढ्दो

एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति ५८२.४०६ अर्ब डलर पुगेको छ। रिजर्भ बैंकको शुक्रबारको आँकडाले यस्तो सञ्चितिमा १.१९३ अर्ब डलर वृद्धि भएको देखाएको हो। भारतको विदेशी मुद्रा सञ्चिति जनवरी २९ मा ५९०.१८५ अर्ब डलरको सर्वाधिक उचाइमा पुगेको थियो। त्यसपछि केही समय गिरावट आएको सञ्चितिमा पुनः बढोत्तरी भएको हो।