फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी 

सम्बन्धित सामग्री

छठपछि कता जाला बजार ? के भन्छन् विश्लेषकहरू ?

काठमाडौं । तिहार र छठसहित १० दिनको बिदापछि मङ्सिर ४ गते अर्थात् आगामी सोमवारदेखि शेयर बजार खुल्नेछ । शेयर बजार खुल्ने दिन नजिकिरहँदा लगानीकर्ताहरूमा तिहारपछि बजार कतातिर जाला भन्ने आम चासो देखिन्छ । बजार अब कतातिर जाला त ? यसको जवाफका लागि पछिल्लो कारोबार दिनको समीक्षा गरौं ।  यसअघि दशैं र तिहारबीचमा १० दिन बजार खुलेको थियो । १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो । यो अवधिमा बजार १८१७ विन्दुसम्म झरेको थियो ।  पछिल्लो १० कारोबार दिनको यो आँकडा हेर्दा आम मानिसले बजार अझै घट्न सक्ने अनुमान लगाउन सक्छन् । तर, बजारसम्बन्धी विश्लेषकहरू अब बजारले गति लिने अनुमान गरिरहेका छन् । उनीहरू यत्तिकै यो अनुमान लगाइरहेका छैनन् । बजार सुधारको संकेत देखेरै यस्तो बताइरहेका छन् । यसको एक कारण हो– बैंकहरूले ब्याजदर घटाउनु । मङ्सिरका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । ब्याजदर घटेपछि शेयर बजार सकारात्मक प्रभाव पर्ने अनुमान लगाउन सकिन्छ ।  अब बजार सकारात्मक दिशामा जान्छ भन्ने अर्काे आधार हो– म्युचुअल फण्डहरूले आरक्षणमा पाएको शेयरमा ६ महीनाका लागि लकिङ पिरियडको व्यवस्था गरिनु । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको उक्त व्यवस्थाले बजारमा फण्डमार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने जानकारहरूको बुझाइ छ । बजार अब सकारात्मक दिशामा जान्छ भन्ने अनुमान गर्ने अरु आधारहरू पनि छन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा छ । राम्रा र बलियो वित्तीय अवस्था भएका कम्पनीहरूको शेयर मूल्य न्यून विन्दुमा झरेको छ । यो अवस्थामा बजारमा विस्तारै खरीदकर्ता आर्कषित हुने जानकारहरू बताउँछन् । बजारमा खरीदकर्ता आकर्षित हुँदा बजारले गति लिनेछ ।  त्यसो त सूचीकृत कम्पनीहरूले पनि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । त्यसकारण अहिले लगानीकर्तालाई आकर्षित गर्ने समय रहेको बजारसम्बन्धी जानकारहरू बताउँछन् । अहिले गरेको लगानी अल्पकालीन र दीर्घकालीनरूपमा उपयुक्त भएको उनीहरूको भनाइ छ ।

धैर्य गर्नुहोस, अब शेयर बजारले लय समात्छ : विष्णु पराजुली [अन्तरवार्ता]

विगत आठ वर्ष देखि शेयर बजारमा लगानी गर्दै आएकी विष्णु पराजुलीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानी सम्पादित अंश तपाई पूँजीबजारमा सक्रिय भएको कति समय भयो, यो अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ?   म पूँजी बजारमा २०७२ साल देखि सक्रिय रुपमा छु । त्यो बेला नेप्से परिसूचक १८ सय विन्दुमा थियो । सो समयमा मैलै त्यति बुझेको थिएन । त्यसपछि बजार वियरिश ट्रेण्डमा गयो । त्यती बेला ट्रेड भन्दा पनि लगानी गरे । बजार घट्दै जाँदा आफुसँगै भएको पैसाले शेयर किन्दै गए । शेयर बजार सम्बन्धी विस्तारै बुझ्दै थिए त्यसपछि कोभिडको समयमा  शेयर बजार बढ्यो । बुलिस ट्रेण्ड शुरु भएसँगै बिचमा ट्रेड गर्न थालसँगै राम्रै प्रतिफल प्राप्त गरे । जब बजार बढेर ३२ सय विन्दुमा पुग्यो त्यसपछि नियामक निकायले शेयरधितो कर्जामा ४/१२ को सीमा लगाइदियो र सेबोनले ५१ ओटा कम्पनीको लिस्ट निकाल्यो । त्यपछि बजार ओरालो लाग्न थालेपछि केही कमाएको गुमाएपनि । त्यसपछि बजार रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले प्रभावित भयो । यसबाट मैले बजार सधै बढ्ने मात्रै होइन बढेको बेलामा निश्चित विन्दुमा ठूलो भोलुम सहित कारोबार भएको समयमा विक्री गर्नु पर्छ र बजार घटेर तल्लो विन्दुमा आउदा खरीद गरेमा जोखिम कम हुन्छ भन्ने बुझे ।  शेयर बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भएको छ ? अहिले लगानीकर्ताहरूमा निराशा देखिन्छ, किन होला ?  बजार घटेर १८०६ विन्दुमा झर्दा बजारमा नेगेटिभ समाचारहरू आए । यसबाट लगानीकर्ताहरू केहि त्रासित भएको पनि देखियो । नेगेटिभ समाचारले लगानीकर्ताको मनोविज्ञानमा केही असर पारेको थियो । तर, बजार लामो समयदेखि वियरिस ट्रेण्डमा रहेकाले रिकभरी हुने चरणमा थियो । सोही समयमा कर विवादका कारण बजार प्रभावित भएको थियो ।  कर विवाद सुल्झिएसँगै शेयर बजारमा सकारातमक प्रभाव पर्न थालेको छ । सोही कारण पछिल्लो आठ दिन बजार निरन्तर, बढेको हो ।  विस्तारै बजारले लय समात्न थालेको पनि देखिन्छ । बढेको बजारमा एक दुई दिन करेक्सन आउनु समान्य हो । शेयर बजारलाई प्रमुख ब्याजरदरले असर पार्छ । सबैले आफूसँग भएको मात्र पैसाले लगानी गर्दैन । ऋण लिएर पनि लगानी गरेका हुन्छन् । यसकारण पनि १८/१९ प्रतिशतसम्म पुगेको ब्याजदर अव बैंकहरूले घटाउँदैछन् । धैर्य गर्नुहोस अव शेयर बजारले विस्तारै लय समात्ने देख्छु ।  अहिलेको समय भनेको धेरैजसोले लगानीको लागि उपयुक्त हो भन्नुहुन्छ, हजुरको विचारमा के लाग्छ ? यो समयमा कस्ता कस्ता कम्पनीमा लगानी गर्दा उपयुक्त हुन्छ ? पछिल्लो समय भनेको लगानीको लागि उपयुक्त समय हो जस्तो लाग्छ मलाई पनि । शेयर बजार हो । कहिले घट्ने बढ्ने भइरहन्छ नै । तर, यो बेला गरेको लगानीमा जोखिम कम हुने देख्छु ।  पछिल्लो समय कम पूँजी भएका कम्पनीमा बढी लगानीकर्ताहरूले ट्रेड गरेको देख्छु । कम्पनीको आधारभुत पक्ष हेरेर लगानी गर्ने कम देखिन्छन । यसो गर्दा चाहिँ अलि बढि नै जोखिम हुन्छ । किनभने निश्चित समूहले कम्पनीको शेयर मूल्य तल माथि पारेको हुन्छ । त्यसमा हामीले ट्रेड गर्दा तल्लो मूल्य भेटाएर सहि समयमा विक्री गर्न सकेमा केही प्रोफिट होला तर, धेरै नै जोखिम हुन्छ । यो समय फन्डामेन्टल बलियो भएका र विगतमा राम्रो लाभांश दिदै आएका कम्पनीमा लगानी गर्नु उचित हुन्छ । किनभने बजार घट्दा पनि बोनस शेयरले कभर गरेको हुन्छ । सोही कारण पनि लगानी गर्नु पूर्व बजारको ट्रेड कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाउनु पर्छ जस्तो लाग्छ ।  राजधानी बाहिर बसेर पूँजी बजारमा सक्रिय हुनुहुन्छ, पोखरामा  आम मानिसको शेयर प्रतिको आकर्षण कस्तो छ ?  पोखरामा कोभिडको समयमा शेयरप्रति लगानीकर्ताको आकर्षण केही बढेको थियो । त्यो समय सबै ब्यवसायहरू भन्दा हुँदा शेयर बजार खुला थियो र आम मानिसले धेरै चासो राखेको थिए  । अर्को कुरा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको हो । पछिल्लो समय बुझेका र शिक्षित वर्गहरूमात्रै  हुनुहुन्छ । मलाई लाग्छ अझै शेयर शिक्षाको कमि छ । धेरैजसोलाई शेयर भनेको के हो भन्ने थाहा छैन, कतिपयले मलाईपनि सोध्नु हुन्छ डिम्याट,आईपीओ, सिआरएन नम्बर भनेको के हो भनेर मैले जानेको बुझाउँछु । यस्तो अवस्थामा नियामक निकाय अथवा ब्रोकरहरूबाट नै शेयर शिक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू ल्याउनुपर्छ जस्तो लाग्छ ।  नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सेचन्ज आउने प्रक्रियामा रहेकोमा अर्थ समितिले रोकेको छ । अन्तिममा  समयमा आएर यो प्रक्रिया रोकिँदा लगानीकर्ताको मनोविज्ञानमा कस्तो असर परेको छ ? अन्तिम समयमा  आएर नयाँ ब्रोकर लाइसेन्स रोकिनू उचित होइन । सर्वोच्चमा रिट परेर फैसला भई अगाडि बढेको प्रक्रियालाई कुनै हालतमा पनि रोकिनू हुदैन ।  अदालत भन्दा माथि अर्थ समिती हुँदैन । कुनै समूहको प्रलोभनमा परेर नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया रोकिनु हुँदैन । यो एक किसिमको ब्यापार हो । ब्यापरमा प्रतिष्पर्धा हुनुपर्छ । राम्रो सेवा सुविधा पाइन्छ । नयाँ ब्रोकर लाइसेन्स आउने वित्तिकै पूँजी बजारको पहुँच बढ्छ । नयाँ लगानीकर्ता, नयाँ कारोबारहरू थपिन्छन् । यसले गर्दा शेयर बजार बढ्नमा टेवा पुग्ने देख्छु । कमोडिटिज मार्केट र नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ भनेर धेरै पहिलादेखि नै लगानीकर्ताको माग हो । अब यी प्रक्रियाहरू अगाडि बढ्दा पूँजी बजारको विकास र विस्तार हुने देखिन्छ । शेयर बजारमा लगानी गरेर सफलता हासिल गर्न विचार पुर्‍याउनु पर्ने मुख्य कुरा के के हुन ? सबैभन्दा पहिला लगानीकर्ताले बजारको ट्रेण्ड र कम्पनीको वित्तीय विवरणलाई राम्रोसँग केलाउनु पर्छ । प्रमुख कुरा भनेको मेरो अनुभवमा कम्पनीको समग्र वित्तीय पक्षलाई राम्रो सँग अध्ययन अनुसन्धान गर्नुपर्छ जस्तो लाग्छ । कम्पनीका विगतका वित्तीय विवरणमा नाफा, पूँजी, रिजर्भ, लाभांशदर, प्रतिशेयर आम्दानी लगायतका सूचकहरू अध्ययन गर्नु जरुरी छ । शेयर बजारमा हामीले जहिले पनि उल्टो गरिरहेका हुन्छौं । बजार घट्दा आत्तिएर विक्री गर्ने र बढ्दा खरीद गर्ने यो एकदमै गलत कुरा हो । बजार घटेर तल आउँदा लगानी गर्ने र बजार बढ्दा आफ्नो टार्गेट मिट भएपछि  विक्री गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ जस्तो लाग्छ । शेयर बजारमा सधै प्रोफिट हुन्छ भन्ने हुँदैन हामीले लगानी गर्ने वित्तिकै प्रोफिट भइहाल्छ भन्ने सोचेका हुन्छौ, त्यस्तो होइन । आफूले कस्तो खालको लगानी गरेको हो । त्यसमा ध्यान दिनु जरुरी हुन्छ । शेयर बजारलाई स साना घटना क्रमले पनि छोटो समयमा प्रभावित पारिराखेको हुन्छ । यस्तो अवस्थामा आफूले कस्तो खालको कम्पनीमा लगानी गर्दैछु र कति समयको लागि लगानी गर्ने भनि एकिन गर्नुपर्छ । बजारको ट्रेण्ड र कम्पनीको सम्पूर्ण अवस्थालाई राम्रोसँग केलाएर लगानी गर्न सकेमा शेयर बजारबाट जोखिम भन्दा पनि प्रतिफल नै बढी हुने देख्छु ।

भारतीय शेयर बजारमा हाहाकार, एशियन बजार पनि राताम्मे

काठमाडौं । शुक्रबार भारतीय शेयर बजार राताम्मे बनेको छ । अघिल्लो दिनको कारोबामा अमेरिकी शेयर बजारमा आएको तीव्र कमीको प्रभाव एशियाका बजारमा पर्दा भारतीय बजारमा समेत हाहाकार देखिएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ५० आधार बिन्दुले बढाउने अनुमानले पनि बजारमा दबाब बढाएको हो ।  शुरुआती कारोबारमै प्रमुख शेयर परिसूचक सेन्सेक्स ७२४ दशमलव ५४ अंकले घटेर ५९ हजार ८१ दशमलव ७४ अंकमा आएको थियो ।  बजार बन्द हुँदा कमी केही घटेर ६७१ अंकमा झरेको थियो । बैंकका शेयर मूल्यमा आएको कमीले पनि लगानीकर्ताको मनोबल घटाएको विश्लेषण गरिएको छ । शुरुआती कारोबारमा १९५ अंकले घटेको निफ्टी बजार बन्द हुँदा १७७ अंकले घटेर १७ हजार ४५० मा समेटियो । ऊर्जा क्षेत्रको शेयरमा हरियाली देखिएपनि, बैंक, खुद्रा, पूँजीगत वस्तु र सरकारी बैंकहरुको शेयर भने रातोमा आए । अघिल्लो दिनको कारोबारमा पनि सेन्सेक्स ५४२ अंकले घटेको थियो भने निफ्टीमा १६५ अंकको कमी आएको थियो ।  शुक्रबारको कारोबारमा निफ्टीमा सबैभन्दा धेरै गुमाउनेमा अदानी इन्टरप्राइजेज, हिन्डाल्को, टेक महिन्द्रा, आईसीआईसीआई र एक्सिस बैंक थिए । निफ्टीमा सबैभन्दा धेरै भने टाटा मोटर्स, ब्रिटानिया र बजार अटोले कमाए । हालैका दिनमा रिकभरी मोडमा देखिएका भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनीहरुको शेयरमा शुक्रबार व्यापक कमी आए । एशियाका अन्य बजारको कुरा गर्नु पर्दा शुक्रबार अधिकांश बजार राताम्मे थिए । बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक १ दशमलव ७ प्रतिशतले घटेको थियो । चीनमा साङहाई कम्पोजिट इन्डेक्स १ दशमलव ४२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ ३ दशमलव १४ प्रतिशतले घट्यो । एशियामा हङकङ सबैभन्दा धेरै गुमाउने बजार बन्यो । सिंगापुर देखि इन्डोनेशिया अनि दक्षिण कोरिया देखि थाइल्यान्डसम्म अन्य सबै प्रमुख बजार पनि रातोमा आएर बन्द भए । यूरोपमा क्यानडा, बेलायत र जर्मनी तीन ओटैमा शेयर बजार रातोमा थिए । एजेन्सी

ब्याजदर वृद्धिको होडबाजीले पार्ने प्रभाव

बजारमा अहिले देखिएको तरलता समाधानको निमित्त बैंकहरूबीच ब्याजदर उच्च पार्ने होडबाजी देखिएको छ । तरलता समाधानको निमित्त उच्च ब्याजदरले शायद कतै कुनै ठाउँबाट केही सीमित बैंक बाहिर रहेका रकम आकर्षित गर्ला, तर यसले एउटा बैंकमा रहेको निक्षेप अर्को बैंकमा रकमान्तर हुने कार्य मात्र हुन जान्छ । यसले अर्थतन्त्रमा कुनै सहयोग गर्दैन । केही रकम तरलताको निमित्त सहयोगी हुने देखिन्छ । तर, अन्तत: यसले कुनै दिगो समाधान पक्कै दिँदैन । यसले एक बैंकको तरलता समाधान गर्न मात्र सहयोग गर्ने र अन्य क्षेत्रलाई नकारात्मक प्रभाव र असर पार्ने देखिन्छ । ब्याजदर उच्च हुँदा मुद्दतीतर्फ आकर्षण बढ्नु स्वाभाविक हो । त्यसमाथि बैंकहरूले विभिन्न विकल्पसहितका निक्षेप योजनाहरू बजारमा ल्याइरहँदा त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेप वृद्धि हुन्छ । सन १९४५ मा पल साम्युलशनले गरेको एक अध्ययनमा बैंकको ब्याजदर बढ्दैमा बैंकको आफ्नो उत्पादकत्व वा नाफामा कुनै प्रभाव नपार्ने, बरु अन्य क्षेत्र बढी प्रभावित हुने उल्लेख गरेका छन् । यसले समग्र बैंकिङ क्षेत्रमा कुनै चोटसमेत नलाग्ने उल्लेख गरेका छन् । यसले निक्षेप संकलनमा होडबाजी सृजना गर्छ । यसमा नीतिगत भ्रष्टाचार नै हुन सक्छ । बैंकिङ क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा निम्तिन्छ । अहिले कर्मचारी र शाखालाई अनावश्यक दबाब दिएको देखिन्छ । खुला बजारीकरणको सिद्धान्त पालना गरिरहँदा यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ प्रणालीमा एउटा नराम्रो विकृति उत्पन्न हुन सक्छ । उच्च ब्याजदरले गर्दा निक्षेप आकर्षित त होला तर यसले अन्य क्षेत्रमा प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ । शेयरबजार र बैंकको ब्याजदरबीच प्रत्यक्ष सम्बन्ध भएको हुन्छ । बैंकको ब्याजदर बढ्दा स्वाभाविक तरीकाले शेयर बजार घट्न जान्छ, जसको प्रत्यक्ष असर अहिले नेप्से परिसूचकले प्रस्तुत गरिसकेको देखिन्छ । बैंकको ब्याजदर बढ्दै गर्दा बीमाक्षेत्र होस् या अन्य वित्तीय क्षेत्र, तिनीहरूमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना हुन्छ । त्यसैगरी आगामी दिनमा निष्कासन हुने नागरिक बचतपत्र होस् या ऋणपत्र त्यसमा आकर्षण घट्न जाने खतरासमेत रहन जान्छ । बैंकदर ७ प्रतिशत पुगिरहँदा अन्तरबैंक ब्याजदरसमेत सोहीअनुरूप बढ्न जाने देखिन्छ । त्यसले गर्दा दिगो रूपमा समस्या निम्तने डर रहन्छ । निक्षेपको ब्याजदर आफैमा स्वतन्त्र अवश्य छैन । यसको ब्याजदर बढ्दा कर्जाको ब्याजसमेत महँगो हुन जान्छ । कर्जाको ब्याज महँगो हुनु भनेको अर्थ समग्र अर्थतन्त्र महँगो हुनु हो । उद्योग कलकारखाना सञ्चालनको निमित्त होस् या सामान्य घर निर्माणको निमित्त लिइएको कर्जा होस् । ब्याजदर उच्च हुँदा यसले पार्ने प्रभावले पनि सोहीअनुरूपको उत्पादकत्व महँगो हुन जान्छ । उद्योग, कलकारखाना वा होटेल व्यवसायले उच्च ब्याजदर बुझाउनु पर्दा ग्राहकसँग पनि सामान्यभन्दा बढी शुल्क उठाउन बाध्य हुन्छन् । यसले महँगीलाई प्रोत्साहन गर्छ । तरलताका कारण महँगो भएको कर्जा तरलता सहज हुनासाथ घट्दैन । १० हजार तिर्ने डेरावालले आज १२ हजार तिर्नुपर्ने हुन्छ तर, घरबेटीको कर्जा सस्तो हुँदैमा डेरावालले तिर्नुपर्ने रकम घट्दैन । यसरी ब्याजदर महँगो हुँदा  घरजग्गा, वस्तुभाउ, सेवासुविधाको मूल्य बढ्न जान्छ र मुद्रास्फीतिको सम्भावना उच्च हुन्छ । यसरी ब्याजदर उच्च हुँदा स्वदेशी लगानीमा आकर्षण बढ्ने र विदेशी लगानीबाट बैंक तथा वित्तीय संस्थाको रुचि घट्ने सम्भावनासमेत रहन जान्छ । विदेशी मुद्रा रिजर्भ राख्नुको साटो नेपाली मुद्रा राख्दा नै बैंकहरूलाई फाइदा हुने देखिएपछि विदेशी मुद्राको एकलौटी भार केन्द्रीय बैंकमा थुप्रन सक्ने सम्भावना रहन जान्छ । बैंकदर ७ प्रतिशत पुग्दा अन्तरबैंक कारोबार पनि सोही अनुपातमा पुग्न जान्छ, जसले गर्दा अन्य क्षेत्रमा बैंकले गर्ने लगानी जस्तो शेयरबजार, घरजग्गा वा सुनचाँदीमा रुचि घट्न सक्छ । कर्जामा रोकटोक हुँदा घरजग्गामा भएको महँगी केही नियन्त्रण हुन सक्ला । तर, समग्र अर्थतन्त्रलाई कुनै तरीकाले सहयोग गर्दैन । आज बजारमा सयको ३ देखि ४ रुपैयाँसम्मको ब्याज चल्न थालिसकेको भेटिन्छ । ब्याजदर उच्च हुँदा मुद्दतीतर्फ आकर्षण बढ्नु स्वाभाविक हो । त्यसमाथि बैंकहरूले विभिन्न विकल्पसहितका निक्षेप योजनाहरू बजारमा ल्याइरहँदा त्यसको प्रत्यक्ष असर मुद्दती निक्षेप वृद्धि हुन्छ । यसरी ठूला निक्षेपकर्ताले आफूसँग भएको रकम बैंकको मुद्दतीमा राख्दा बाहिरी लगानी घट्न थाल्छ र समग्र अर्थतन्त्र बैंककै भरमा चल्नेसरह देखिन्छ । चालू रकम कम र पूँजी रकम वृद्धि हुँदा अर्थतन्त्र चलायमान राख्ने रकम बजारमा अभाव हुन सक्छ । सामान्य नागरिकले खर्चभन्दा बचत गर्ने बानी निर्माण गरेमा कुल गार्हस्थ्य उत्पादनमै केही कटौती हुन जान्छ । वैकल्पिक मुद्रा, क्रिप्टो करेन्सी आदिले मुद्रास्फीति नहुने भनी प्रचार भइरहेको छ । यसलाई नेपालमा गैरकानूनी भनिएको छ । त्यसतर्फ आकर्षण बढ्ने सम्भावनासमेत छ । जति नै गैरकानूनी भनिए तापनि यसको पहुँच नेपाली र दक्षिण एशियाली मुलुकमा सहजै हुने भएको हुँदा यसबाट भाग्न कठिन रहन्छ । अहिले कर्जाको ब्याजदर उच्च रहेको देखिन्छ । २०७५ भदौबाट लागू भएको मुलुकी देवानी संहिताले साहूले ऋणीसँग साँवा रकमको वार्षिक बढीमा १० प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको थियो । हुन त यो व्यवस्था अनौपचारिक क्षेत्रको लेनदेनमा मात्र लागू हुने र बैंकिङ क्षेत्रमा यो ऐन आकर्षित नहुने उल्लेख भएकाले बैंकको तरलतामा कुनै प्रभाव त पर्दैन । तर, यसैका कारण बजारमा अहिले प्रवाह हुने ऋण १० प्रतिशतभन्दा माथि रहेको स्पष्ट देख्न सकिन्छ, जसलाई अहिले नियन्त्रण गर्न कठिन छ । ब्याजदर निर्धारण गर्न नेपाल राष्ट्र बैंकले नीति शायद पहिलोपल्ट ल्याउनुपर्ने अवस्था आयो । यद्यपि सोही नीतिको अधीनमै रहेर पनि अहिले बैंकको ब्याजदर उच्च रहेको छ । यदि यसैगरी यो ब्याजदर बढ्दै जाने हो भने नेपालमा श्रीलंकाको अवस्था छिटै नआउला भन्न सकिँदैन । रेग्मी बैंकर हुन् ।

शेयर बजार अर्थतन्त्रको अभिन्न अंग : गभर्नर अधिकारी

पुस २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् । लेखा समितिमा आइतवार आयोजित छलफलमा उनले शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो भनेका छन् । साथै उनले शेयर बजार स्थिर हुनुपर्छ भन्दै  अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ भनेका छन् । ‘शेयर बजार पूँजी निर्माणको आधार हो, अर्थतन्त्रका सूचकहरु हेर्दा शेयर बजारलाई समेत हेर्ने गरिन्छ’, गभर्नर अधिकारीले भने । उनले अहिलेको अवस्थामा अर्थतन्त्र संकटमा आइनसकेको तर चुनौतीपूर्ण अवस्थामा भने रहेको बताए । उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको पनि बताए । उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्नसमेत चुनौती थपिएको बताए । उनले यो साताबाट तरलता केही सहज बनेको  बताउँदै अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको र यसको मुख्य कारण बढ्दो आयात बताए । उनले वित्तीय प्रणालीको स्थिरताका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् । समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो भन्दै उनले वित्तीय प्रणालीको स्थिरताका लागि हस्तक्षेप आवश्यक भएको बताए । उनले कर्जाको प्रयोग आन्तरिक परिचालनभन्दा आयातमा बढी प्रयोग भएको हुँदा बजारमा तरलता अभाव भएको बताए । यसैगरी अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले कोभिड- १९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताए । उनले  अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । उनले यदि यसो गर्न सकिए चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने पनि बताए ।    छलफलमा सांसद अमनलाल मोदी तथा पार्वती बिसीलगायतले देशको अर्थतन्त्र विद्यमान अवस्थाको बारेमा गभर्नर तथा अर्थसचिवको धारणा मागेका थिए ।

मार्जिन कर्जाका कारण प्रभावित शेयर बजार : के भन्छन् सरोकारवाला ?

असोज ४, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका बीच हालसम्मकै उच्च विन्दु कायम गरेको शेयर बजार पछिल्लो समय भने घट्दो क्रममा रहेको छ ।  भदौ ३१ गते बिहीवार नेपालको शेयर बजार २ हजार ८१२ दशमलव ३८ विन्दुमा कायम भएको छ । १ हजार १०० विन्दुदेखि उकालो लागेको नेपालको शेयर बजारले ३ हजार २०० विन्दु पार गरेको थियो । नेप्से परिसूचकले भदौ २ गते हालसम्मकै उच्च ३ हजार २२६ दशमलव ८९ विन्दुसम्म पुगेर ३ हजार १९८ दशमलव ६० को अन्तिम विन्दु कायम गरेको  थियो ।उच्च विन्दुदेखि बजार १२ प्रतिशतले घटिसकेको छ । चालू आर्थिक वर्षदेखिनै दिर्घकालिन र अल्पकालिन लगानीकर्ताको लागि छुट्टा छुट्टै पूँजीगत लाभकरको व्यवस्था लागू भएपनि लगानीकर्ताहरुको उत्साह कायमै रहेको थियो । शेयर कारोबारबाट नाफा हुँदा अल्कालिन लगानीकर्ताहरुले ७ दशमलव ५० प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था सरकारले यसै वर्षको बजेट मार्फत गरेको हो । यस अघि अल्पकालिन र दिर्घकालिन दुबै प्रकारका लगानीकर्ताहरुले एकै अनुपातमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ताहरुका लागि २ दशमलव ५ प्रतिशत विन्दु अर्थात्  ५० प्रतिशत वृद्धि भएको हो । पूँजीगत लाभकरलाई सहज रुपमा स्वीकारेका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमालाई भने कठिन रुपमा लिएको देखियो । राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा एक वर्षभित्र कायम गर्न निर्देशन दिएसँगै बजारमा विक्री चाप देखिएको हो । यतिबेला भने असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाएर लागू गरेका छन् । मार्जिन कर्जाका कारण प्रभावित बन्दै आएको बजार बैंक ब्याजदरका कारण थप प्रभावित होला भन्ने विषयमा  सरोकारवाला के भन्छन् त ? प्रस्तुत छ, सरोकारवालाको भनाइ : भरत रानाभाट  पूर्व अध्यक्ष, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल  विगत डेढ वर्षमा नेपालको शेयर बजारले ऐतिहासिक रेकर्डहरु कायम गरेको छ । कोभिड महामारीका बीच जनजीवन अस्तव्यस्त भएको अवस्थामा गति लिएको बजार पछिल्लो समय केहि कारोबार दिन प्रभावित बन्दैमा आत्तिनुपर्ने अवस्था छैन । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश नेपाल राष्ट्र बैंकको नीतिबाट प्रभावित हुने भएकाले केहि समय नीतिगत प्रभाव देखिएको हो । पछिल्लो समय बैंकहरुमा तरलता अभाब भई ब्याजदर बढेका कारण लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था भने छैन् । यतिबेला रेमिट्यान्स बढ्ने समय हो भने सरकारी खर्च रोकिदा बैंकमा तरलता कम भएको हो । सरकारी बजेट निकासा भएसँगै बजारमा तरलता थपिने र ब्याजदरमा परिवर्तन आउने सम्भावना देख्छु । दुर्गा तिवारी  महासचिव, नेपाल इन्भेष्टर्स फोरम  - ठूला लगानीकर्ताहरुबाट विक्री चाप बढ्ने गरी राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा तोकेकाले बजार केहि समय प्रभावित बन्यो । मौद्रिक नीतिमा आएको उक्त व्यवस्था परिमार्जन हुने आशामा रहेका लगानीकर्ताहरुलाई झनै निरास बनाउने गरी मार्जिन कर्जाको सीमा एक वर्ष वा नविकरणको मितिदेखि कायम गर्न निर्देशन आएसँगै तत्काल नविकरण गर्नुपर्ने लगानीकर्ताहरु शेयर विक्री गर्न सक्रिय भएका हुन् । तर यतिवेला मार्जिन कर्जा सीमाबाट प्रभावित हुने लगानीकर्ताहरुले शेयर विक्री गरिसकेको जस्तो लाग्छ । आगामी दिनमा मार्जिन कर्जाकै कारण शेयर विक्रीको चाप भने नआउला । यस अघिका वर्षहरुमा पनि यो समयमा तरलता अभाव भई ब्याजदर वृद्धिको कारण बजारमा असर परेकाले यसलाई क्षणिक समस्याको रुपमा मैले लिएको छु । संरक्षणा चौधरी  अध्यक्ष, नेपाल पूँजीबजार संघ  - रातारात धनी बन्छु वा कमाउछु भनेर आउनेका लागि पक्कै पनि पूँजीबजार उपयुक्त छैन । विगत केहि समयदेखि निरन्तर बढीरहेको बजारमा विभिन्न अस्त्र प्रयोग गरि घटाउन लागि परेको प्रष्टै देखिन्छ । चाहे त्यो नेपाल धितोपत्र बोर्डबाट आएको ५१ ओटा कम्पनीको सूची होस या राष्ट्र बैंकबाट व्यवस्था भएको रू. १२ करोडको मार्जिन कर्जा सीमा । ढिलो चाडो यी कुराहरुबाट प्रभावित भई बजार आफ्नो गतिमै फर्किनेछ । बजार निरन्तर बढेकोले पनि करेक्सन आवश्यक थियो । मार्जिन कर्जाको सीमाका कारण बजार घटिरहेको भनेता पनि यस्का अलवा बजारमा छोटो समयका लागि ट्रेड गर्नेले प्रोफिट बुक गर्नु, निषेधाज्ञा खोलिनु, अन्य क्षेत्रका व्यवसायीहरु आफ्नो व्यवसायतर्फ फर्किनु जस्ता कारणले पनि बजार प्रभावित भएको पाइन्छ । अहिले ब्याजदर वृद्धिका कारण बजार घटेको भन्ने कुरा पक्कै हैन । बजारमा लामो समयदेखि रहनेहरुका लागि ब्याजदरले असर गरेको छैन । तर पछिल्लो समय नयाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि तथा बिना अध्ययन लगानी गरेकाहरुलाई भने बजारसँग सम्बन्धित हरेक साना कुराले प्रभाव पारेको देखिन्छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट