विश्वभर आर्थिक मन्दीको भय : विश्वका ठूला शेयर बजार सबै राताम्मे, डलरको भाउ अहिलेसम्मकै उच्च

 काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यसको अर्थ बिहिबार एक डलर किन्न नेपालीहरुले १२४ रुपैयाँ ४४ पैसा तिर्नु परेकोमा शुक्रवार डलरको भाउ बढेर १२४ रुपैयाँ ६७ पैसामा पुग्नेछ । डलर रुपैयाँ सटही दर यो स्तरमा उक्लिएको इतिहासमै यो पहिलो पटक हो ।  योसँगै लागतार तेस्रो दिन पनि डलर रुपैयाँ विनिमय दरले कीर्तिमानी उचाई छोएको छ । बुधवार सटही दर १२४ रुपैयाँ ४१ पैसा थियो । गत वर्षको सोही दिनको तुलनामा डलरको भाउ ७ रुपैयाँ ३० पैसा महँगो भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो वर्ष शुरु भएयता चाँहि डलर २ रुपैयाँ ४८ पैसाँ महँगो भएको छ ।   नेपाली रुपैयाँ आबद्ध रहेको भारतीय रुपयाँ अमेरिकी डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि सोको असर नेपाली रुपैयाँमा देखिएको विज्ञहरु बताउँछन् ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन नहिच्काउने बताएपछि बुधवार डलरको भाउ उकालो लागेको थियो । यो क्रमले बिहिवार पनि निरन्तरता पाएको छ । १०३ दशमलव २० रहेको डलर सूचक बिहिवार १०३ दशमलव ५१ मा पुगेको थियो । मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको मूल्य मापन गर्ने डलर सूचकको प्रयोग हुन्छ । विदेशी लगानीकर्ताहरुले भारतको ऋणपत्र र शेयर बजारमा भएको लगानी धमाधम झिक्न थालेपछि बिहिवार पनि भारतीय रुपैयाँ दबाबमा आएको थियो । डलर सूचक बढेसँगै भारतीय रुपयाँ दबाबमा आएकोले  पनि यसको सिधैं असर भारुसँग आबद्धता रहेको नेपाली रुपैयाँमा देखिएको हो । बुधवार भारतीय मुद्रा बजार बन्द हुँदा प्रतिडलर भाउ ७७ रुपयाँ ५९ पैसा थियो ।  बिहीवार बिहानी कारोबार देखि नै भारु कमजोर हुन थालेको थियो । बिहीवार बिहान बजार खुल्दा खेरि नै डलर भारु विनिमय दर ७७ रुपैयाँ ७१ पैसा थियो । बेलुका कारोबार बन्दा हुँदा यो दर ७७ रुपयाँ ७२ पैसा कायम भयो । बिहीवार इन्ट्राडे कारोबारमा रुपयाँको भाउ ७७ रुपयाँ ७६ पैसासम्म आएको थियो ।  घरेलु र अन्तरराष्ट्रिय शेयर बजारमा व्यापक सेल–अप देखिएपनि डलर भारु विनियम दर थोरैले मात्रै बढेको मुम्बईस्थित मोतिलाल ओस्वाल फाइनान्सियल सर्भिसेजका फरेक्स विश्लेषक गौराङ सोमैया बताउँछन् । बुधवार भारतीय पूँजीबजारबाट विदेशी संस्थागत लगानीकर्ताहरुले १२ अर्ब ५४ करोड भन्दा बढीको लगानी झिकेका थिए । डलर सूचक बलियो बन्दै गइरहेकोले विनिमय दर झनै घट्ने प्रक्षेपण गर्न लागिएको छ ।   ओर्लियो एशियाली शेयर बजार बिहीवार एशियाली शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन अमेरिकी शेयर बजारमा देखिएको सेल–अफ (न्यून मूल्यमै भएपनि आफूसँग भएको शेयर मिल्काउने प्रवृत्ति)को प्रभाव पोखिंदा यस क्षेत्रका अधिकांश शेयर बजार ओरालो लागेका हुन् । बुधवार बजार बन्द हुँदा एसएन्डपी ५००  प्रतिशतभन्दा धेरैले घटेको थियो । दाउ जोन्स इन्डष्ट्रियल एभरेजमा साढे ३ प्रतिशतको कमी आउँदा नाष्डाक पनि ४ दशमलव ७ प्रतिशतले घटेको थियो ।  बढ्दो महँगी र अर्थतन्त्रहरुमा आइरहेको सुस्तीका कारण विश्वको आर्थिक वृद्धिदर घट्ने भयका कारण पनि बिहीवार एशियाली शेयर बजार ओरालो लागेका हुन् । चीनको शून्य कोभिडको नीति, युक्रेनी युद्ध र सेफ हेभन एसेटको रुपमा डलरको भाउमा रातारात भएको वृद्धिले पनि बजार प्रभावित भएका छन् ।  बिहीवार जापानबाहिर एशिया प्रशान्त क्षेत्रको एमएससीआई बृहत परिसूचक चार दिनयताको वृद्धिको क्रम भंग गर्दै २ दशमलव ३ प्रतिशत घटेको छ । उक्त दिन अष्ट्रेलियामा एएसएक्स२०० परिसूचक १ दशमलव ६५ प्रतिशत तल आएर बन्द भएको थियो । जापानमा निक्केई बजार बन्द हुँदा १ दशमलव ८९ प्रतिशतले घटेको थियो । हङकङमा हाङशेङ २ दशमलव ५४ प्रतिशतले ओरालो लागेको थियो । बिहीवार हाङशेङ एशिया क्षेत्रमा सबैभन्दा धेरै कमी बेहोर्ने बजार बनेको थियो ।  दक्षिण कोरियामा पनि कोस्पी १ दशमलव २८ प्रतिशत तल आएर बन्द भएको थियो । भारतमा बीएसई सेन्सेक्स र निफ्टी इन्डेक्स दुबै रातोमा आएका थिए । कारोबार बन्द हुँदा सिंगापुर, थाईल्यान्ड, ताइवान लगायत एशिया क्षेत्रका अधिकांश बजार रातोमा आएका थिए । इन्डोनेशियामा जर्काता कम्पोजिट र चीनको शाङ्हाई कम्पोजिट भने क्रमशः शून्य दशमलव ४४ प्रतिशत र शून्य दशमलव ३६ प्रतिशतले उकालो लागेका थिए ।  यूरोपमा पनि बजार रक्ताम्मे छ । यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँझ ४ बजेतिर बेलायमा फुट्सी १०० २ दशमलव ७६ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० २ दशमलव ३७ प्रतिशत तल आएको थियो भने जर्मनीमा डीएएक्स पनि २ दशमलव २२ प्रतिशतले घटेको थियो । अमेरिकामा एसएन्डपी ५००, नाष्डाक र दाउ जोन्स तीन ओटै परिसूचक ओरालो लाग्ने शेयर फयूचर्सले देखाएका छन् ।  सुनको भाउ थोरै बढ्यो, तेल घट्यो  अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन शेयर बजारमा देखिएको तीव्र सेल–अफबाट सुनको भाउलाई बिहीवार धेरै टेवा मिलेन । डलर महँगो बनेकोले पनि लगानीकर्ताहरुमा सुनप्रतिको आकर्षण घटेको छ । यो समाचार तयार पार्दा खेरी न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ७१ प्रतिशतले बढेर १ हजार ८२९ डलर २२ सेन्टमा पुगेको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स चाँहि शून्य दशमलव १६ प्रतिशतले घटेर १ हजार ८१५ डलर ९० सेन्टमा किनबेच भइरहेको थियो । बिहीवार कच्चा तेलको भाउ भने घटेका छन् । लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ १ दशमलव ९२ प्रतिशतले घटेर १०७ डलर ६४ सेन्टमा आएको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेन्चमार्क पनि २ दशमलव ३४ प्रतिशतले घटेर १०६ डलर ५१ सेन्टमा झरेको छ । 

सम्बन्धित सामग्री

फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी

रुसमाथि प्रतिबन्ध र दबाब बढेसँगै तेल बजार तरङ्गित

फागुन १६, काठमाडौं । विश्व बजारमा सोमवार कच्चा तेलको भाउ बढेको छ । पश्चिमी देशहरुले रुसमाथि एक पछि अर्को गर्दै प्रतिबन्ध कसिलो बनाउँदै गएको  र केही रुसी बैंकहरुलाई विश्वव्यापी भुक्तानी प्रणालीमा बन्देज लगाएपछि तेलको भाउले टेवा पाएको हो ।  सोमवार बिहानी कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०५ डलर शून्य ७ सेन्टसम्म उक्लिएको थियो । यो सामाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजेतिर ब्रेन्टको भाउ प्रतिब्यारेल ५ दशमलव शून्य ८ प्रतिशतले बढेर १०२ डलर ९० सेन्ट कायम भएको थियो ।  बिहानी कारोबारमा न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ९९ डलर १ सेन्टसम्म पुगेको थियो । यो सामाचार तयार पार्दाखेरि डब्ल्यूटीआई प्रतिब्यारेल ४ दशमलव ९५ प्रतिशतले बढेर ९६ डलर ३८ सेन्ट कायम भएको थियो ।  केही रुसी बैंकहरुलाई स्वीफ्ट प्रणालीबाट हटाउने अमेरिका र यूरोपको कदमले निकट भविष्यमा आपूर्तिमा केही खालको अवरोध हुने आशंका बढेको बताउँछन्, एएनजेडका कमोडिटी रणनीतिज्ञ डेनियल हायन्स । आपूर्तिमा खतरा केही समय निकै धेरै रहने यो बजारमा आपूर्ति कसिलो भएको समयमा भएकोले पनि भाउ बढ्ने उनको भनाइ छ । पश्चिमी देशहरुले रुसमाथि कठोर प्रतिबन्धहरुको घोषणा गरेपछि रुसले तेल देखि अन्न सम्म सबै कमोडिटिजको निर्यातमा चरम अवरोधको सामना गरेको छ । केही रुसी बैंकहरुलाई स्वीफ्ट अन्तरराष्ट्रिय भुक्तानी प्रणालीबाट बहिस्कार गरिएको छ । विश्वको तेल आपूर्तिमा रुसी तेलको अनुपात करीब १० प्रतिशत छ । यसअघिको प्रतिब्यारेल ९५ डलरबाट बढाएर गोल्डम्यान श्याख्सले ब्रेन्ट क्रुडको एक महीनाको मूल्य प्रक्षेपण ११५ ब्यारेलमा पुर्‍याएको छ ।  रुस प्रमुख उत्पादक भएको कमोडिटिजहरुको भाउ बढ्ने अपेक्षा गरिएको बैंकले बताएको छ । रुसले पछिल्लो समय युक्रेनमाथि जताततैबाट आक्रमण गरिरहेको छ । बेलारुसको सीमामा वार्ता गर्न सोमबार युक्रेनी अधिकारीहरु आइपुगेका छन् । दुई देश बीच वार्ता सफल भयो र आक्रमण स्थगित गर्न दुबै पक्ष तयार भए अनि रुसी सेनाहरु फिर्ता गए भने चाँही शेयर बढ्ने, डलरको भाउ उक्लिने र तेलको भाउमा कमी आउन सक्ने बताउँछन्, ओन्डाका विश्लेषक जेफ्री हेली ।  सोमवार एशियाली शेयर बजार मिश्रीत देखिएका छन् । बजार बन्द हुँदा चीनमा शाङहाई काम्पोजिट शून्य दशमलव ३२ प्रतिशतले बढेको थियो । शेन्चन कम्पोनेन्ट पनि सोही स्तरमा बढेको थियो । हङकङमा भने हाङशेङ शून्य दशमलव २४ प्रतिशत तल आएर बन्द भएको थियो । जापानमा निक्केई २२५ परिसूचक शून्य दशलमव १९ प्रतिशत माथि आएर बन्द भयो । ताइवान, दक्षिण कोरिया, सिंगापुर र भारतीय बजार पनि हरियोमा आएर बन्द भएको थियो । इन्डोनेशियामा बजार बन्द थियो भने थाइल्यान्डमा शेयर परिसूचक रातोमा आएर बन्द भएको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मनीमा शेयर बजार रातोमा थिए । यो समाचार तयार पार्दाखेरि बेलायतमा फुट्सी १ दशमलव शून्य ४ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० ले २ दशमलव ७५ प्रतिशतको कमी बेहोर्दा जर्मनीमा डीएएक्स २ दशमलव ३२ प्रतिशतले घटेको थियो । एजेन्सीहरुको सहयोगमा