सौर्य ऊर्जामा उपेक्षा

नेपालको वातावरणीय अवस्थाले सौर्य ऊर्जामा उच्च सम्भावना देखिए पनि सरकारी उपेक्षाका कारण यसबाट विद्युत् उत्पादन ठूलो परिमाणमा हुन सकेको छैन भने आयोजनाको अनुमति पाएर पनि प्राधिकरणले चासो नदिँदा लगानीकर्ता यसमा उत्साहित हुन सकेका छैनन् । लोडशेडिङ हुँदा प्राथमिकतामा परेको सौर्य ऊर्जा अहिले विद्युत् आपूर्ति पर्याप्त हुन थालेपछि सरकारी उपेक्षाको शिकार बनेको छ । तर, नेपालले सौर्य ऊर्जालाई उपेक्षा गर्न मिल्दैन । नेपालमा वार्षिक ३ सय दिन सूर्यको किरण प्राप्त हुने भएकाले वर्षेनि ५० हजार ट्रेटा आवर सौर्य ऊर्जा उत्पादनको सम्भावना रहेको बताइन्छ । तर, यसको प्रयोग नाममात्रको छ । विश्वमा सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन र खपत गर्ने मुलुक चीन हो । भारतमा सौर्य ऊर्जाको प्रयोगमा विश्वमै चौथो मुलुकमा पर्छ । यसरी सौर्य ऊर्जाको प्रयोग हुनुको कारण प्रविधिको विकाससँगै सस्तोमा बिजुली उत्पादन हुन सक्नु हो । यो जलविद्युत्भन्दा पनि सस्तो पर्छ र नवीकरणीय ऊर्जा हो । नेपालले ऊर्जा सम्मिश्रणको नीति लिएको छ जसअनुसार नदी प्रवाही आयोजना, जलाशययुक्त आयोजना र अर्धजलाशययुक्त आयोजनाहरूबाट बिजुली उत्पादन गरिनेछ । त्यसमा सौर्य ऊर्जाको हिस्सा १० प्रतिशत पुर्‍याइने उल्लेख छ । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भए पनि सौर्य ऊर्जाको अलगै महत्त्व छ । पहिलो त भूकम्प, बाढीलगायत प्राकृतिक समस्यामा सौर्य ऊर्जा बढी लाभदायी हुन्छ । त्यस्तै कथंकदाचित् जलविद्युत्का आयोजनामा समस्या आयो भने सौर्य ऊर्जालाई प्रयोग गर्न सकिन्छ । त्यही भएर नेपालले सौर्य ऊर्जालाई पनि महत्त्व दिएको हो । नेपालमा कुल ६२३ मेगावाट क्षमताको २६ वटा सौर्य ऊर्जा आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन् । कुल ११७ मेगावाट क्षमताको १९ वटा परियोजनाले उत्पादन अनुमतिपत्र पाएका छन् भने कुल ९०७.९ मेगावाट क्षमताको ३५ भन्दा बढी परियोजनाले सर्वेक्षणका लागि अनुमतिपत्र पाउन निवेदन दर्ता गरेका छन् । तर, अहिले सरकार आफैले सौर्य ऊर्जामा चासो दिएको पाइँदैन । त्यसैले सौर्य ऊर्जामा नयाँ पीपीए हुन सकेको छैन । हालसम्म नेपालमा ४० मेगावाट सौर्य ऊर्जा मात्र उत्पादन हुनुले सरकारले यसलाई उपेक्षा गरेको पुष्टि हुन्छ । प्राधिकरणले अब सौर्य ऊर्जाका लागि पनि विद्युत् खरीद सम्झौता गर्नुपर्छ । सौर्य ऊर्जाको लागत घट्दै गएकाले प्राधिकरणले सौर्य ऊर्जाको खरीद मूल्य पनि घटाएको छ । कुनै बेला प्रतिमेगावाट ९ रुपैयाँभन्दा बढी मूल्य दिएको प्राधिकरणले अहिले ५ रुपैयाँभन्दा केही बढी मात्रै मूल्य दिएको छ । त्यसमा पनि अनुमति र पीपीए दिन अहिले बेवास्ता गरिरहेको छ । तसर्थ, परियोजना विकासमा पर्याप्त रूपमा अगाडि बढेका, प्रसारण लाइन जडान सम्झौतामा हस्ताक्षर गरेका र पीपीएका लागि ६ महिनाभन्दा बढी समय पर्खिरहेका सौर्य ऊर्जा आयोजनाहरूलाई अघि बढाउन ढिला गर्नु हुँदैन । सौर्य ऊर्जाको खरीद मूल्य पटक पटक घटाइएको छ । त्यही घटाइएको मूल्यमा पनि खरीद सम्झौता भइरहेको छैन । दर्जनौं आयोजनाहरू अनुमति र पीपीएका लागि कुरेर बसेका छन् । तिनलाई अनुमति पत्र दिने र पीपीए गर्ने काम तत्काल अघि बढाउन आवश्यक छ ।  नेपालमा विद्युत् अपुग भएका बेला भारतबाट आयात हुने गरेको छ । त्यसका आधाभन्दा कम मूल्यमा सौर्य ऊर्जा खरीदका लागि पीपीए भएको छ । त्यसैले सौर्य ऊर्जा नेपालका लागि आवश्यक छ भन्ने देखिन्छ । मुलुकले आवश्यक परेर नै सौर्य ऊर्जासम्बन्धी नीति ल्याएको हो । जलविद्युत्मा समस्या आउँदा विकल्पमा बलियो प्रणाली बनाउन आवश्यक भएकाले नै सौर्य ऊर्जा पनि प्राथमिकतामा परेको हो । यो ऊर्जा सस्तो पनि छ । नेपालका खाली ठाउँमा सौर्य ऊर्जाका प्लान्ट राख्न सकिन्छ । पहाडी भूभाग, मौसम परिवर्तनको चपेटामा परेको मुलुक, लम्बेतान वितरण लाइन भएको नेपालमा सौर्य ऊर्जा वैकल्पिक मात्र होइन आधारभूत ऊर्जा हो । यो अन्य निजी क्षेत्रले उत्पादन गर्ने जलविद्युत् जस्तो पनि होइन । घाम लागेको बेला पिकिङको पानी जम्मा गरेर राति बिजुली उत्पादन गर्न सकिन्छ । त्यसैले सरकार आफैले कुल विद्युत्मा सौर्यको हिस्सा १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो । तर, लक्ष्यअनुसार सरकारले काम गरेको छैन । पीपीए नै रोकेर सौर्य ऊर्जाको विकासमा अवरोध पुर्‍याएको छ जुन गलत छ । सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जडानसमेत गरिएको छ । निजी क्षेत्रले उत्पादन गर्ने सौर्य ऊर्जा पनि प्रसारणलाइनमा जोडेर नै वितरण गर्ने हो । त्यसैले सौर्य ऊर्जालाई उपेक्षा गर्नु हुँदैन, जलविद्युत्को विकल्पका लागि पनि यसको विकास हुन जरुरी देखिन्छ । यसले निरन्तर गुणस्तरीय विद्युत् आपूर्तिको वातावरण तयार हुन्छ । 

सम्बन्धित सामग्री

हरित ऊर्जामा सफलता

विश्वमा हुँदै आएको खनिजजन्य इन्धनको अधिक प्रयोगले उत्पन्न वातावरणीय प्रदूषण कम गर्नेतर्फ घनीभूत बहस हुँदै आएको छ । विश्वव्यापी तापमान वृद्धि न्यूनीकरणका लागि भइरहेका अन्तर्राष्ट्रिय पहल तथा कार्बन उत्सर्जन कटौतीप्रतिको प्रतिबद्धता अनुरूप केही वर्षयता वैकल्पिक ऊर्जाको खोजीलाई व्यापक बनाइएको छ । विद्युतीय तथा सौर्य ऊर्जा हुँदै थप वैकल्पिक ऊर्जाका रूपमा अब ग्रिन हाइड्रोजनलाई लिन थालिएको छ । विश्वमा ग्रिन हाइड्रोजनबाट सवारीसाधन प्रशस्त मात्रा

नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ [अन्तर्वार्ता]

नवीकरणीय ऊर्जामा अहिले जलविद्युत्पछिको भरपर्दो स्रोत सौर्य ऊर्जा मानिन्छ । हरितगृह ग्यास उत्सर्जन घटाउने विश्वव्यापी अभियानमा जलविद्युत्सँगै सौर्य ऊर्जाको विकास एवं प्रवर्द्धनको खाँचो बढ्दै गएको छ । नेपालमा पनि यस क्षेत्रमा काम अघि बढेका छन् । प्रस्तुत छ, नेपालमा सौर्य ऊर्जाको आवश्यकता, यस क्षेत्रमा भएका काम, सम्भावना, महत्त्व लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्काले रिडी पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सदस्य कुबेरमणि नेपालसँग गरेको कुराकानीको सार : खासमा सौर्य ऊर्जा के हो ? सामान्यतया सूर्यको प्रकाशबाट पाइने ऊर्जा नै सौर्य ऊर्जा हो । सोलार प्यानलबाट उत्पादन हुने बिजुली बत्ती बाल्ने, खाना पकाउने, पानी तताउने लगायत काममा प्रयोग गरिन्छ । जलविद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जालाई ब्याट्रीमार्फत बिजुलीमा रूपान्तरण गरिन्छ भने जलविद्युत् पुगेको ठाउँमा त्यसलाई सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडेर बिजुली परिणत गरिन्छ । नेपालको ९५ प्रतिशत घरपरिवारमा जलविद्युत् पुगिसकेको छ । यो अवस्थामा सौर्य ऊर्जा किन आवश्यक छ ? हामीसँग बिजुली नहुँदा घरको छानामा सोलार प्लानल राखेर ब्याट्री चार्ज गरी बिजुली बालिन्थ्यो । अहिले पनि बिजुली नपुगेका ठाउँमा सोलार प्यानलबाट ब्याट्री चार्ज गरी बत्ती बाल्न सकिने विकल्प छ । यसैगरी प्रसारण लाइनमा सौर्य ऊर्जा जोडेर विद्युत् क्षमता विस्तार गर्न सकिन्छ । बिजुली नपुगेका ठाउँमा सोलार लिफ्टिङ प्रणालीबाट पानी तान्न सकिन्छ । पहाडी क्षेत्रमा सोलार लिफ्टिङ खानेपानी आयोजना निकै प्रभावकारी मानिएका छन् । सौर्य ऊर्जाका अन्य थुप्रै फाइदा छन् । नेपालमा हाल सौर्य ऊर्जा उत्पादनको अवस्था कस्तो छ ? हाल ८१ दशमलव २६ मेगावाट क्षमताका १३ ओटा आयोजनाबाट उत्पादित सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ भने ६ ओटा आयोजना निर्माणको चरणमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । त्यसको १–२ प्रतिशत मात्र पनि उपयोग गर्ने हो भने सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गर्न डेढ बिघा जमीन चाहिन्छ । त्यसबाट वार्षिक १७ देखि २० लाख युनिट विद्युत् उत्पादन हुन्छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सौर्य आयोजनाबाट प्रतिमेगावाट वार्षिक रू. १ करोड २४ लाखदेखि १ करोड ५३ लाखसम्म आम्दानी हुन्छ । नेपालका छिमेकी मुलुकमा सौर्य ऊर्जा उत्पादनको परिदृश्य कस्तो छ ? अहिले चीनमा करीब ४ लाख मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यहाँ सौर्य ऊर्जा पनि सोही परिमाणको हाराहारीमा उत्पादन भइरहेको छ । चीन सौर्य ऊर्जा उत्पादनमा विश्वमा पहिलो स्थानमा छ । त्यसैगरी भारतमा ४५ हजार मेगावाट जलविद्युत् र ६५ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन भएको छ । यस्तै ३०–३५ मेगावाट बिजुली हावाबाट उत्पादन भइरहेको छ । पूर्वाधार तयार पार्ने हो भने काठमाडौंमै करीब १०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । काठमाडौंका घरका छतमा सोलार प्यानल लगाएर पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यसरी उत्पादित बिजुली सम्बन्धित घरमा खपत गरी बढी भएमा सौर्य प्रणाली नभएका घरमा पुर्‍याउन सकियो । यसरी काठमाडौंको दिउँसोको आवश्यकता सौर्य ऊर्जाबाट पूर्ति गर्नुपर्छ । अहिले ‘ग्राउण्ड माउन्टेन्ड सोलार प्यानल’ प्रविधि आएको छ । सोही प्रविधिअनुसार बुटवलको तिलोत्तमामा २६ बिघा जमीनमा सोलार प्यानल लगाइएको छ । त्यसबाट साढे ८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यसरी वर्षमा १ करोड ४४ लाख युनिट बिजुली उत्पादन हुन्छ । यो बिजुली राष्ट्रिय प्रसारण लाइनबाट उपभोक्ताको घरसम्म पुग्छ । सौर्य ऊर्जाबाट उत्पादित बिजुली खपतका लागि के गर्न सकिन्छ ? हाम्रो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन क्षमता भनिन्छ । ‘डिजाइन डिस्चार्ज’ बढाउने हो भने करीब २ लाख मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । अब त्यति नै परिमाणमा सौर्य ऊर्जा किन उत्पादन नगर्ने ? खपतको विषयमा नेपालीको प्रतिव्यक्ति विद्युत् खपत परिमाण निकै कम छ । यसलाई बढाउनुपर्छ । अहिले सबै करीब ९५ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । तर आपूर्ति प्रणाली अझै सुदृढ भइसकेको छैन । लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्ति अनियमित हुने गरेको छ । स्तरीय वितरण तथा आपूर्ति नहुँदा खपत बढ्न सकेको छैन । प्रसारण लाइन लगायत अत्यावश्यक पूर्वाधारमा सुधार हुने हो भने घरायसी तथा औद्योगिक प्रयोजनमा समेत सहजै विद्युत् खपत बढाउन सकिन्छ । आन्तरिक माग धानेर बढी भएको बिजुली अहिले नै पनि भारतमा निर्यात गर्न थालिएको छ । १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी नेपाल र भारतबीच भएका सहमति भर्खरै भारत सरकारले स्वीकृत गरेको छ । उक्त सहमति अनुसारको बिजुली भारत पठाउन उत्पादन बढाउनुको विकल्प छैन । यस्तोमा सौर्य ऊर्जाको समेत ठूलो भरथेग हुन सक्छ । त्यसैले मध्यकालीन र दीर्घकालीन रूपमा हेर्दा बिजुली खेर जाला कि भन्ने चिन्ता नै गर्नुपर्दैन । भारत मात्र नभई बंगलादेशमा पनि बिजुली बेच्ने विषय अघि बढिसकेको छ । बरु हामीले उनीहरूको मागअनुसार विद्युत् पुर्‍याउन चुनौती हुन सक्छ । त्यो हाम्रा लागि अवसर पनि हो । उत्पादन बढाएर प्रसारणतर्फका पूर्वाधार निर्माण तथा क्षमता सुधार गरी बिजुली निर्यात बढाउन सकिन्छ । अहिले निर्माणको चरणमा प्रवेश गरेको एमसीसी परियोजना अन्तर्गत बन्ने अन्तरदेशीय प्रसारण लाइन तथा सबस्टेशन त्यसका लागि महत्त्वपूर्ण पूर्वाधार हुन् । समय लागे पनि दीर्घकालमा ती आयोजना नेपालको विद्युत् व्यापारका लागि अत्यावश्यक छन् । सौर्य ऊर्जा उत्पादनको सम्भावनाको हिसाबले नेपालको भूगोल तथा हावापानी कस्तो छ ? नेपालमा वर्गमिटरमा प्रतिदिन औसत ४ दशमलव ७ किलोवाट युनिट उत्पादन गर्ने क्षमता छ । तराईमा सोलार प्यानलबाट बिजुली उत्पादन गर्ने क्षमता कम छ । पहाडमा धेरै मात्रामा उत्पादन गर्न सकिन्छ । सौर्य ऊर्जा उत्पादनका लागि भौगोलिक अवस्था र हावापानीका हिसाबले नेपाल निकै अनुकूल मुलुक हो । त्यसकारण नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ । सौर्य ऊर्जाका आयोजनाबाट बिजुली उत्पादन गर्न कति समय लाग्छ ? जलविद्युत् आयोजनाबाट १०० मेगावाट बिजुली निकाल्न सामान्यतया ४–५ वर्ष लाग्छ । तर त्यति नै परिमाणमा सौर्य ऊर्जा उत्पादन गर्न २ वर्ष मात्र लाग्छ । त्यसकारण जलविद्युत्को तुलनामा सौर्य ऊर्जा परियोजना निर्माण निकै छिटो हुन्छ ।

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

बझाङ, १७ वैशाख । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर […]

अभियान टिप्पणी: सौर्य ऊर्जाको विस्तार

नेपाल जलस्रोतमा पर्याप्त धनी मानिएको छ र यसको उपयोग विद्युत् उत्पादनमा पनि हुने गरेको छ । यो हरित र नवीकरणीय ऊर्जा भएकाले जलविद्युत् नेपालको उच्च प्राथमिकतामा छ । जलविद्युत्को निर्यातसमेत शुरू भइसकेको अवस्थामा नेपालले आफ्नो सम्पूर्ण सामथ्र्य यसमै खन्याउनु उपयुक्त छ । तैपनि एउटामात्रै स्रोतमा निर्भर हुनु हुँदैन । कथंकदाचित् ठूलो विपत्ति आएमा त्यसको ब्याकअपका लागि विकल्पमा जानै पर्ने हुन्छ । यस्तोमा नेपालले सौर्य ऊर्जालाई पनि प्राथमिकतामा राखेको छ ।  ७७ ओटा आयोजनाबाट नेपालमा १४ सय ४३ मेगावाट सौर्य ऊर्जा उत्पादन हुने देखिएको हो । सर्वेको लाइसेन्सका लागि आवेदन दिएकादेखि निर्माणको लाइसेन्स पाएकासम्मका आयोजनाबाट यो परिमाणमा विद्युत् उत्पादन हुने हो । सौर्य ऊर्जाको आयोजना बनाउन धेरै समय लाग्दैन । घाम लाग्ने जग्गा धेरै चाहिन्छ । नेपालमा खाली जग्गा प्रशस्त भएकाले सौर्य ऊर्जाका लागि उपयुक्त देखिन्छ । ऊर्जा सम्मिश्रणको नीति लिएर सरकारले सौर्य ऊर्जा र वायु ऊर्जालाई समेत प्राथमिकतामा राखेको छ । सौर्य र वायु ऊर्जा उत्पादनका लागि सहज भए पनि भण्डारणको सुविधा नहुँदा चौबीसै घण्टा प्रयोग गर्न समस्या हुन्छ । अहिले सौर्य प्यानलहरू निकै सस्तोमा बन्न थालिसकेका छन् । प्रविधिको विस्तार र ठूलो परिमाणमा उत्पादन हुन थालेसँगै यसको मूल्य घट्दो छ । तर, घाम नलागेका बेला प्रयोग गर्न ब्याट्री महँगो पर्छ । यही कारण जलविद्युत्को महत्त्व बढी देखिएको हो । भारत र चीन दुवैले सौर्य ऊर्जामा ठूलो लगानी गरेका छन् । ब्याट्री सस्तो र टिकाउ हुनासाथ जलविद्युत्को महत्त्व घट्ने देखिन्छ ।  जलविद्युत् नै नेपालका लागि उत्तम विकल्प हो । यसको विकासका लागि नै ठूलो परिमाणमा लगानी आवश्यक छ । जलविद्युत् सबै मुलुकले उत्पादन गर्न सक्दैनन् । भारतले पनि आफूलाई आवश्यक पर्ने विद्युत् जलस्रोतबाट उत्पादन गर्न सक्दैन । नेपालमा बिजुली भन्नेबित्तिकै जलविद्युत् भन्ने दिमागमा आउँछ तर भारतमा कोइलाबाट उत्पादित बिजुलीको परिमाण अत्यधिक छ । यस्तोमा नेपालले जलविद्युत्को विकासमा ढिलाइ गरे सौर्य ऊर्जाबाट उसले काम चलाउनेछ र विद्युत् आयातमा रुचि राख्नेछैन ।

ऊर्जा सन्तुलनमा सौर्य ऊर्जा महत्त्वपूर्ण

नेपालको हरित ऊर्जा आपूर्तिलाई सन्तुलित गराउन सौर्य ऊर्जाको विकासलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी मञ्चमा आयोजित ऊर्जामा लगानीसम्बन्धी सत्रमा जलविद्युत् क्षेत्रसँगै सौर्य ऊर्जालाई थप प्रवद्र्धन गर्नु आवश्यक रहेको औँल्याइएको हो । सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्रिड पुग्न नसकेका स्थानमा सौर्य ऊर्जा अझै विस्तार गर्नुपर्ने बताउनुभयो । खासगरी ठूला जलविद्युत् आयोजना नबनेको पश्चिम नेपालमा ऊर्जा सन्तुलनका लागि सौर्य ऊर्जा आयोजना छिटो बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले सौर्य ऊर्जाको विकासकै लागि प्राधिकरणले प्रतिस्पर्धी दरमा ऊर्जा खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । “विभिन्न स्थानमा करिब ६० मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना निर्माणाधीन छन् । यस क्षेत्रमा निजी क्षेत्रले अझै योगदान गर्न सक्ने अवसर छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्राधिकरणले ऊर्जा सन्तुलनकै लागि हाइड्रोजन उत्पादनको योजनामा पनि काम गरिरहेको बताउनुभयो ।

करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिन्छ : मन्त्री भुषाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिएको बताएकी छिन् । विद्युत स्वच्छ ऊर्जा भएकोले यसलाई जीवन व्याबहारमा सहज बनाउँदै  लैजानु पर्ने उनको भनाई थियो ।  नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताईन्। उनले भनिन्, “विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ ।”प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले भनिन्, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ ।  यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।”नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याईन्।नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवस्यकता रहेको बताईन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६)मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन्।सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताईन् । उनले भनिन्, “वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।” हाल ऊर्जा प्रणालीमा करिब २१ सय मेगावाट विद्युत जडित क्षमता छ ।दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । उनका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत खरिद बिक्री सम्झौता(पिपिए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरूको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताईन्।छ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताईन्। सौर्य विद्युत उत्पादकहरूले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

सीमित स्रोतमा अधिक विकासको योजना छ

प्रदेश नम्बर २ का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्मा निजीक्षेत्रबाट राजनीतिमा सक्रिय भएका व्यक्तित्व हुन् । यसअघि पहिलो संविधानसभामा समेत सभासद् रहेका शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत हुन् । यो बारा–पर्साका उद्योगी व्यापारीहरूको वर्गीय संस्था र संविधानसभामा रहँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि निरन्तर पहल गरेका उनले प्रदेश २ को ऊर्जा तथा खानेपानी विकास मन्त्रालयको नेतृत्व सम्हालेपछि ऊर्जा विकास र खानेपानीको सहज उपलब्ध गराउने रणनीतिक योजनामा छन् । प्रस्तुत छ, प्रदेशमा ऊर्जा तथा खानेपानीको अवस्था र योजनाका बारेमा आर्थिक अभियानका ओमप्रकाश खनालले मन्त्री शर्मासित गरेको कुराकानी : विगतमा तपाईं निजीक्षेत्रको संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो । अहिले प्रदेश २ को ऊर्जा तथा खानेपानी मन्त्रालय सम्हाल्न पुग्नुभएको छ । प्रदेश २ मा ऊर्जा र खानेपानीको अवस्था कस्तो छ ? तपाईंका योजनाहरू केके छन् ? म प्रदेश नम्बर २ को ऊर्जा तथा खानेपानी विकास मन्त्री बनेको छु । यो मेरा लागि अवसर र चुनौती दुवै हो भन्ने लाग्दछ । मैले सम्हालेको मन्त्रालयको स्रोतसाधन अत्यन्तै न्यून छ । यो मन्त्रालयको वार्षिक बजेट अहिले ५० करोड रुपैयाँमात्र छ । त्यसमा पनि १५ करोड रुपैयाँ त चालू खर्चमा जाने अवस्था छ । र, पूँजीगत खर्चमा ३५ करोड रुपैयाँमात्रै छ । प्रदेश २ तुलनात्मक रूपमा सुगम भएर पनि केही क्षेत्रमा अहिले पनि खानेपानीको समस्या छ । बाराको अमलेखगञ्जमा तीसौं वर्षदेखि मानिस बसेका छन् । त्यहाँ १० हजार घरधुरीको बसोबास छ । त्यहाँ अहिलेसम्म खानेपानी पुगेको छैन । खानेपानीको चरम संकट छ । त्यस क्षेत्रमा खानेपानीको आपूर्तिका लागि सम्भाव्यता अध्ययन गर्ने सोच छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम जान सक्छ भने बारा जिल्लाकै जितपुर–सिमरा वा पथलैया क्षेत्रबाट पानी किन लैजान सकिन्न ? राज्यको उपस्थिति तबमात्रै देखिन्छ, जब हरेक जनताले बिजुली र पानीजस्तो आधारभूत आवश्यकताको आपूर्ति सहज रूपमा पाउन सक्छन् । यो मेरो पहिलो प्राथमिकता हो । प्रदेश २ मा ऊर्जा विकासका लागि कस्ता प्राथमिकता तय गर्नुभएको छ ? प्रदेश नम्बर २ का मिडियाका लागि ऊर्जाको सहुलियतपूर्ण व्यवस्था मेरो अर्को मुख्य प्राथमिकता हो । प्रदेशका मिडियासँगै सामुदायिक र संस्थागत विद्यालयमा ऊर्जाको सुलभ आपूर्ति मिलाउने योजना राखेको छु । आज मिडियाका हरेक चिज विद्युत्बाट चल्ने हुन्छन् । विद्युत्को खर्च मिडिया हाउसका लागि एउटा मुख्य लागत पनि हो । पहिलो चरणमा प्रदेश २ का प्रत्येक एफएम रेडियोहरूलाई सौर्य ऊर्जाका लागि प्रोत्साहन गर्ने सोच छ । रेडियोलाई सौर्य ऊर्जाका लािग प्रदेश सरकारले २५ प्रतिशत अनुदान दिने योजना छ । त्यसमा २५ प्रतिशत मिडिया हाउसबाट र बाँकी रकम वित्तीय संस्थाबाट शून्य ब्याजदरमा उपलब्ध गराइनेछ । यसरी सौर्य ऊर्जा जडान गरेपछि ४ देखि ५ वर्षमा विद्युत् खर्चको बचतबाट ऋण चुक्ता भइसकेको हुन्छ । त्यसपछि बाँकी २०/२१ वर्षसम्म विद्युत्को खर्च शून्यमा झर्छ । यो योजनामा सामुदायिक र संस्थागत विद्यालयलाई पनि समट्ने योजना छ । यसमा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखिनेछ । त्यस्तै किसानलाई पनि सौर्य ऊर्जाका लागि प्रोत्साहन गर्ने सोच छ । सामूहिक रूपमा सञ्चालित सिँचाइ व्यवस्थाका लागि सौर्य ऊर्जामा जोड दिनेछौं । अहिले पनि सबै ठाउँमा विद्युत् आपूर्ति नपुगेकाले डिजेलबाट जेनेरेटर चालएर सिँचाइको काम भइरहेको छ । यसको लागत बढी परिरहेकाले सौर्य ऊर्जाबाट कृषिको लागत कटौती गर्न सकिन्छ । अर्को, सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भने पनि सञ्चालनको सहज पूर्वाधार नहुँदा उद्देश्य पूरा हुन सकेको छैन । यसका लागि ठाउँठाउँमा चार्जिङ स्टेशनको खाँचो छ । प्रदेश २ का सम्भाव्य ठाउँहरूमा यस्ता चार्जिङ स्टेशन बनाउने योजनालाई पनि प्राथमिकता दिनेछु । विगतमा प्रदेश २ मा २०० मेगावाट सौर्य ऊर्जा उत्पादनको योजना राखिएको थियो । निजीक्षेत्रले उत्पादनमा रूची देखाएको पनि हो । तर, त्यो योजना यसै अलमलमा परेको बेला नयाँ योजना आउनेमा कसरी विश्वस्त हुन सकिएला र ? वास्तवमा २ नम्बर प्रदेशमा जलविद्युतको सम्भावना छैन । यहाँको खुबी भनेकै सौर्य ऊर्जा नै हो । यहाँ वर्षका १२ महीनामा १० महीना मज्जाको घाम लाग्छ । सौर्य ऊर्जाको राम्रो सम्भावना छ । बितेको वर्षमा १३ मेगावाट विद्युत् उत्पादन भएको पनि छ । तर, विगतमा राखिएको योजना अपेक्षाकृत तरिकाले अघि बढ्न नसकेको भने सत्य हो । संघीय संसद्ले ऐन बनाएरै २० मेगावाटसम्मको विद्युत् उत्पादनका लागि स्वीकृति दिनसक्ने अधिकार प्रदेश सरकारलाई दिएको छ । तर, नेपाल विद्युत् प्राधिकरणको नियमावलीमा १ मेवाभन्दा बढीको स्वीकृति प्राधिकरणसँगै लिनुपर्ने व्यवस्था रहेछ । प्राधिकरणले त्यो नियमावली देखाएर प्रदेशले सिफारिशमात्र गर्न सक्ने भनेर अड्काइरहेको छ । हामी त संविधान र कानूनअनुसार चल्ने हो । प्रदेश सरकार नेपाल विद्युत् प्राधिकरणको नियमावलीले चल्ने त होइन नि । एकातिर २० मेगावाटसम्म उत्पादनको अधिकार दिने, अर्कातिर १ मेगावाटभन्दा बढीको स्वीकृति र सम्झौता प्राधिकरणसित गर्नुपर्ने छ । यस्तो विरोधाभासले समस्या भएको छ । हात्ती छिराएर पुच्छर अड्काउने काम भएको छ । धेरै लगानीकर्ता आए, तर योजना अघि बढेन । यस्तो दोहोरो मापदण्डले गर्दा सौर्य ऊर्जा विकासमा सम्भावना भएर पनि अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । यसमा हामीले संघीय सरकारका ऊर्जामन्त्रीसँग पनि कुरा गरिरहेका छौं । प्रदेश २ को ऊर्जा र खानेपानी विकासका अन्य योजना कस्ता छन् ? मेरा इच्छा र सोच त थुप्रै छन् । स्रोतसाधन सीमित छ । यो सीमित स्रोतमा मैले कसरी २ नम्बर प्रदेशका लागि बढीभन्दा बढी काम गर्न सक्छु भन्ने मुख्य विषय हो । कुनै योजना छोटो समयमा पूरा हुन्छन् । कतिलाई बढी समय लाग्छ । वहुवर्षीय योजनामा जानुपर्ने हुन्छ । काम गर्न कति समय पाइन्छ भन्ने पनि हो । अब राजनीतिक घटनाक्रम सामान्य ढंगले अघि बढ्यो भने करीब डेढ वर्ष मैले यो मन्त्रालयको नेतृत्व सम्हाल्ने हो । यो कार्यकालमा सौर्य ऊर्जा र खानेपानी विकासका योजनाको शुरुआत गरेर समयान्तरमा त्यसलाई पूर्णता दिने अपेक्षा छ । मैले अहिले रोपेको योजनाको विरूवालाई त्यसपछि पनि पुनः सरकारमा आएर फल दिने अवस्थामा पु¥याउने मेरो इच्छा छ । तपाईंले विगतमा वीरगञ्ज उद्योग वाणिज्य संघलाई पनि नेतृत्व गर्नुभयो । कोरोना महामारीका कारण थलिएको उद्योग व्यापार क्षेत्रको पुनरुत्थानका लागि के गर्नु पर्लाजस्तो लाग्छ ? करोना महामारीले सबै क्षेत्रको ढाड भाँचेको छ । उद्यम व्यापार अर्थतन्त्रको मेरुदण्ड हो । यो थलिएपछि अर्थतन्त्रको अवस्था कस्तो होला ? उद्यमी व्यापारीले ९० प्रतिशत पैसा बैंकबाट लिएर काम गरेको हुन्छ । १० करोड रुपैयाँले २०० करोड रुपैयाँको उद्यम व्यापार चलेको हुन्छ । कोरोना संकटका कारण धेरै करोडपति रोडपति हुने अवस्थामा पुगेका छन् । तर, हिम्मत हारेका छैनन् । काम गरिरहेका छन् । उद्योग व्यापार क्षेत्रको पुनरुत्थानका लागि सरकारले प्रोत्साहन दिनुपर्छ । प्रदेश सरकारसित आफै बजेट कम छ, यसमा संघीय सरकार अग्रसर हुनुपर्छ । अहिले घोषणा गरिएका योजना पर्याप्त छैनन् । बारा–पर्सा औद्योगिक कोरिडोरको अर्को समस्या भनेको कोरिडोरमा उद्योग र स्थानीयको द्वन्द्व मुख्य हो । आगामी दिनका लागि निर्बाध रूपमा उद्योग सञ्चालन गर्न बेग्लै औद्योगिक क्षेत्रको खाँचो छ । अहिले बारा–पर्सामा दिनहुँ समस्या भइरहेको छ । उद्योगका लागि जग्गा पनि महँगो भयो । अब १०० वर्षसम्मको सोच लिएर जानुपर्छ । यसका लागि सरकारबाट कम्तीमा २ हजार बिगाहा जग्गा व्यवस्था हुनुपर्छ । त्यो जग्गा सरकारले निजीक्षेत्रलाई दिनुपर्छ । त्यहाँ औद्योगिक तथा पारवहनका सुविधा पुर्‍याउनुपर्छ । यसका लागि बारा र पर्साकै ग्रामीण क्षेत्र छनोट गरिनु उपयुक्त हुन्छ । र, उद्योगका लागि छुट्ट्याइएको क्षेत्रमा मानवीय बस्ती राख्नु हुँदैन । अर्को, मुख्य नाका वीरगञ्जनजिकै रहेको बाराको सिमराबाट कम्तीमा भारतको नजिकको शहर पटनासम्म हवाई सेवा हुनुपर्छ । यसले उद्यमी व्यवसायी र प्राविधिकहरूको आवागमन सहज हुन्छ ।

प्रदेश २ मा सौर्य ऊर्जा : प्रदेश सरकार र प्राधिकरण तानातानले योजना अलमलमा

वीरगञ्ज । जल विद्युत् उत्पादनमा सम्भाव्यता नदेखिएको प्रदेश २ मा सौर्य ऊर्जा उत्पादनको योजनासमेत अलमलमा परेको छ । प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणबीच क्षेत्राधिकारको तानातानले ऊर्जा विकासले गति लिन नसकेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७५ चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा चौधरी ग्रूपसँग २०० मेगाबाट सौर्य ऊर्जा उत्पादनको सम्झौता गरेका थिए । संघीय सरकारले आर्थिक २०७६/७७ को बजेटमार्फत प्रत्येक प्रदेशमा सौर्य ऊर्जाका दुईओटा ठूला योजना विकास गर्ने घोषणा गरेपछि २ नम्बर प्रदेश सरकारले सौर्य ऊर्जामा अग्रसर भए पनि अपेक्षित प्रगति देखिएको छैन । प्रदेश २ का आठै जिल्लामा सौर्य ऊर्जा उत्पादनको योजना बनेको थियो । प्रत्येक जिल्लामा कम्तीमा २५ मेगावाटसहित ३०० मेगावाट विद्युत् उत्पादनको योजना राखेको प्रदेश २ बाट गतवर्ष १३ मेगावाट ऊर्जा नेपाल विद्युत् प्राधिकरणको पावर ग्रीडमा जोडिएको छ । यो तथ्यांक आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । प्रदेश २ बाट प्राधिकरणको ग्रीडमा जोडिएको यो पहिलोपटक हो । प्रदेश सरकारका ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा नेपाल विद्युत् प्राधिकरणको नियमावलीको अवरोधका कारण प्रदेशमा ऊर्जा विकासको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँछन् । कानूनले २० मेगावाटसम्मको विद्युत् उत्पादनको अनुमति प्रदेश सरकारको क्षेत्राधिकारमा राखे नियमावली देखाएर प्राधिकरणले अवरोध गरेको मन्त्री शर्माले गुनासो गरे । प्राधिकरणको अवरोधका कारण लगानीकर्ताले प्रदेश सरकारलाई नपत्याएको उनले बताए । प्रदेशले दिएको स्वीकृति प्राधिकरणले नमानेपछि ऊर्जा उत्पादनमा लगानी गर्न चाहनेहरू पछि हटेको पनि मन्त्री शर्माको भनाइ छ । ‘संसद्ले ऐन बनाएरै २० मेगावाटसम्मको विद्युत् उत्पादनका लागि स्वीकृति दिनसक्ने अधिकार प्रदेश सरकारलाई दिएको छ । तर, नेपाल विद्युत् प्राधिकरणको नियमावलीमा १ मेगावाटभन्दा बढीको स्वीकृति प्राधिकरणसँगै लिनुपर्ने व्यवस्था रहेछ,’ शर्माले आर्थिक अभियानसित भने, ‘प्राधिकरणले त्यो नियमावली देखाएर प्रदेशले सिफारिशमात्र गर्न सक्ने भनेर अड्काइरहेको छ ।’ जल विद्युत्को सम्भावना नभएको २ नम्बर प्रदेशमा ऊर्जा उत्पादनको खुबी भनेकै सौर्य ऊर्जा भएको उनले बताए । ‘यहाँ वर्षका १२ महीनामा १० महीना मज्जाको घाम लाग्छ । सौर्य ऊर्जाको राम्रो सम्भावना छ । तर, प्राधिकरणको अत्तोले अघि बढ्न सकिएन,’ मन्त्री शर्माले गुनासो गरे ।

कर्णाली उज्यालोलाई २० अर्ब आवश्यक

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको अध्ययनले कर्णालीमा सौर्य ऊर्जा र साना जलविद्युत् आयोजना सञ्चालनबाट विद्युतीकरण गर्न सम्भव रहेको देखाएको छ । तर, यसका लागि २० अर्ब बराबारको बजेट आवश्यक देखिन्छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्म सबै स्थानीय तहमा ५ सयदेखि १ हजार किलोवाटसम्मको विद्युतीकरण गर्ने योजना बनाएको छ । योजनाअन्तर्गत कर्णालीमा ४३.१३ मेगावाट जलविद्युत् उत्पादन गर्न १५ अर्ब ८२ करोड लागत रहने अनुमान गरिएको छ । तर, ३३ मेगावाट सौर्य ऊर्जाका लागि भने ५ अर्ब ५१ करोड र ०.३ मेगावाट जैविक आयोजनाका लागि ९ करोड ६९ लाख लाग्ने अनुमान केन्द्रका निर्देशक मधुसुदन अधिकारीले बताए । अधिकारीका अनुसार कर्णालीका जलविद्युत्मा प्रतिकिलोवाट ३ लाख ६६ हजार, सौर्य ऊर्जामा प्रतिकिलोवाट १ लाख ६७ हजार र जैविक ऊर्जामा प्रतिकिलोवाट २ लाख ९० हजार लागत लाग्ने अनुमान छ ।

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

१८ पुस, रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी …