काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो ।
चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो ।
विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का गर्न सम्झौता गरिने केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । अबको २ साताभित्र ठेक्का पाएको उक्त कम्पनीसँग ईपीसी पद्धतिमा ग्वार्को फ्लाईओभर निर्माण १७ करोड लगानीमा हुनेछ ।
‘ग्वार्कोमा बन्ने फ्लाईओभर सम्झौताको चरणमा छ,’ झाले भने, ‘सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाइओभरका लागि आर्थिक सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं ।’ १ महीनाअघि यी दुई स्थानका फ्लाईओभरको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए । चक्रपथकै एकान्तकुना र सातदोबाटोमा बन्ने फ्लाईओभरको विभागले अध्ययन तथा डिजाइन गरिसकेको छ । यद्यपि ती फ्लाईओभर पनि ईपीसी पद्धतिमा निर्माण हुने उनको भनाइ छ ।
अर्र्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेमा यो चालू आर्थिक वर्षमै ती २ फ्लाईओभर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । यसैगरी गौशाला र कोटेश्वरमा बन्ने फ्लाइओभरको पनि अध्ययन भएको छ भने बानेश्वरमा बन्ने भनिएको फ्लाइओभरको अध्ययन भइरहेको झाले बताए । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएका बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको हो ।
खासगरी फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारणखालको ३५ मीटरको पुल बनाउने गरी विभागले डिजाइन तयार गरेको थियो । यद्यपि ईपीसी पद्धतिमा बन्ने भएपछि अब अन्तिम डिजाइन भने निर्माण कम्पनीले नै तयार गर्नेछ ।
चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा ४ लेनमा फ्लाईओभर बन्नेछ ।
४५५ मीटर लामो फ्लाईओभरमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट उक्त फ्लाईओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ ।