‘सेवाप्रवाहमा विलम्ब गरे कारबाही’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले दिने सार्वजनिक सेवालाई चुस्त र भरपर्दो बनाउन सचिवहरूलाई निर्देशन दिएका छन् । तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिँदै एकले अर्कोलाई देखाएर कमजोरीबाट उम्कन कसैलाई पनि छुट नभएको बताएका हुन् । निर्देशनका क्रममा प्रधानमन्त्री दाहालले राहदानी लिन, राष्ट्रिय परिचयपत्र बनाउन, सवारी लाइसेन्स लिन, शिक्षा मन्त्रालयबाट […]

सम्बन्धित सामग्री

कम्पनीमार्फत घरजग्गा कारोबारमा विलम्ब

घरजग्गा कारोबार निकै अव्यवस्थित भएको र सरकारले राजस्वसमेत गुमाइरहेको अवस्थामा यसलाई कम्पनीमार्फत मात्रै कारोबार गर्न पाइने व्यवस्था गर्ने भनिए पनि यसको कार्यान्वयनमा सरकारले कुनै चासो दिएको छैन । बजेट वक्तव्यमा उल्लेख गर्दै आए पनि त्यसको कार्यान्वयन गर्न आवश्यक कानून र कार्यविधि नबन्दा यो कार्यक्रम अलपत्र परेको हो । मुलुकको अनौपचारिक अर्थतन्त्र उच्च रहेको र घरजग्गा कारोबार नै अनौपचारिक कारोबारको ठूलो माध्यम भइरहेको बेला यथाशीघ्र कम्पनीमार्फत घरजग्गा किनबेच गर्ने व्यवस्था गर्न आवश्यक छ ।  अहिले व्यक्तिले सीधै घरजग्गा किनबेच गर्ने प्रचलन छ । तर, व्यवहारमा भने जग्गादलालहरूले क्रेता र विक्रेताबीच सम्पर्क मिलाउने काम गर्छन् । जग्गादलालहरूले जग्गाको मूल्य जथाभावी बढाउने गरेको पनि पाइन्छ । कम्पनीमार्फत घरजग्गाको कारोबार नहुँदा अहिले एउटै घरजग्गाको मूल्य नै फरकफरक मूल्यमा कारोबार देखाउने गरिएको छ । राजस्व तिर्ने प्रयोजनका लागि राखिने थैलीको मूल्य बेग्लै हुन्छ भने वास्तविक कारोबार अर्कै मूल्यमा भएको हुन्छ । त्यस्तै बैंक प्रयोजनका लागि अलग मूल्य बनाउने पनि गरिएको छ । थोरै मूल्य राखेर कम कारोबार शुल्क तिर्ने गरिएको छ । दलालले गर्ने आम्दानी पनि करको दायरामा आउन सकेको छैन । यसबाट सरकारले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । सरकारी कर्मचारी कम्पनीमार्फत कारोबार गराउने कुरामा अनिच्छुक देखिएका छन् । यो अनौपचारिक भएकाले उनीहरूको आमदानी लुकाउने, भ्रष्टाचारको पैसालाई शुद्धीकरण गर्ने माध्यम बनेको छ ।  जसरी शेयर कारोबारका लागि दलाल कम्पनीहरूले काम गर्छन् र बजार मूल्यअनुसार शेयर खरीदविक्री हुन्छ त्यसैगरी घरजग्गा पनि किनबेच हुन्छ । यसका लागि घरजग्गा व्यवसायी कम्पनी सरकारी कार्यालयमा दर्ता हुनुपर्छ । कम्पनीले कुनै गल्ती गरे उसलाई कारबाही हुन्छ । अहिले घरजग्गा कारोबार अनलाइन प्रणालीबाट समेत हुने गरेको छ । त्यसो हुँदा कम्पनीमार्फत कारोबार गराउन सजिलो छ । विश्वभरि नै यस्तै अभ्यास पाइन्छ । कम्पनीमार्फत घरजग्गाको कारोबार गराउनुपर्छ भनेर आवाज उठेको पनि निकै भइसकेको छ । सरकारले बजेटमा यसलाई समावेश गरेको पनि केही वर्ष भइसकेको छ । तर, कानून बन्न सकेको छैन । यसका लागि विद्यमान कानूनका केही बुँदाहरू संशोधन गर्नुपर्ने हुन्छ । संशोधन विधेयक संसद्मा दर्ता भइसकेको बताइन्छ । संसद्ले यसलाई छिटो पारित गर्नुपर्छ र यसअनुसार कार्यविधि बनाइनुपर्छ ।  तर, अहिले सरकार परिवर्तन भएको छ । संसद्मा प्रस्तुत भएको बजेटको प्राथमिकता र सिद्धान्तमा छलफल हुनुपर्ने हो तर नयाँ सरकारले त्यसैलाई निरन्तरता दिन्छ कि अर्को कार्यक्रम संसद्मा लैजान्छ भन्न सकिँदैन । अब केही समय मन्त्री बनाउने, प्रदेश सरकार फेरबदल गर्ने जस्ता काममा नै सरकार अलमलिने निश्चित छ । नयाँ गठबन्धन कसरी अघि बढाउने भन्नेमा नै यो सरकार लाग्नेछ र संसद्को बैठक पनि तत्काल नबस्न सक्छ । नयाँ बजेटमा यो कार्यक्रम पर्छ कि पर्दैन भन्ने निश्चित छैन । नेपालमा विकास निर्माणका कामले गति लिन नसक्नुमा यस्तै कारण रहेका छन् ।  संसद्को काम कानून बनाउने भए पनि उसले फटाफट त्यहाँ प्रस्तुत भएका विधेयक पारित गर्न सकेको छैन । कानून नबन्दा थुप्रै काम प्रभावित भएका छन् । घरजग्गा कारोबार कम्पनीमार्फत गराउन यही कारण विलम्ब भइरहेको छ ।  अर्को कुरा, सरकारी कर्मचारी कम्पनीमार्फत कारोबार गराउने कुरामा अनिच्छुक देखिएका छन् । धेरै कर्मचारीले घरजग्गामा लगानी गरेका छन् । हुन सक्छ, कतिपय कर्मचारी नै दलालीमा लागेका छन् । यो अनौपचारिक भएकाले उनीहरूको आमदानी लुकाउने, भ्रष्टाचारको पैसालाई शुद्धीकरण गर्ने माध्यम बनेको छ । कम्पनीबाट कारोबार गर्दा उनीहरू समस्यामा पर्न सक्छन् । त्यसैले घरजग्गा कारोबारमा देखिएका धेरै विकृति रोक्न कम्पनीमार्फत कारोबार गराउने व्यवस्था छिटो शुरू गर्न सरकारले काम गर्न ढिला भइसकेको छ ।

संक्रमणकालीन न्यायमा विलम्ब

काठमाडौं । सरकार र द्वन्द्वरतपक्ष माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष बिते पनि द्वन्द्वकालीन घटनाका पीडित भने अझै पनि न्याय पाउनबाट वञ्चित छन् । बेलाबेलामा संकटको अवस्थालाई हेरेर सरकार तातेजस्तो गरे पनि पीडितलाई न्याय र परिपूरणको विषयमा राजनीतिक दलको खिचातानीले संक्रमणकालीन न्याय गिजोलिरहेको छ । नेपालको अन्तरिम संविधान, २०६३ मा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता […] The post संक्रमणकालीन न्यायमा विलम्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभियान सम्पादकीय : द्रुतमार्गमा विलम्ब

सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र निर्माण सकिसक्ने गरी नेपाली सेनालाई काठमाडौं–तराईमधेश दु्रतमार्गको जिम्मा दिए पनि उक्त अवधि गुज्रिएर म्याद थप हुँदासमेत यसको प्रगति २२ प्रतिशतमात्रै भएको छ । नेपाली सेनाले जुन व्यावसायिकता र दक्षता यसको निर्माणमा देखाउने अपेक्षा गरिएको थियो त्यो पूरा हुन नसक्नु निकै दुःखद पक्ष हो । अहिलेकै गतिमा यसको निर्माण हुने हो भने अझै कैयौंपटक यसको म्याद थप्नुपर्ने हुन्छ जसबाट यसको लागत निकै गुणा बढी पर्छ र यो सेतोहात्ती नबन्ला भन्न सकिँदैन । नेपाली सेना सडक निर्माणमा संलग्न भएको यो पहिलो होइन । यसको ट्र्याक पनि सेनाले नै खोलेको थियो । सार्वजनिक निजी साझेदारी मोडलमा भारतीय कम्पनीलाई निर्माणको जिम्मेवारी दिँदा निकै विरोध भएपछि तत्कालीन सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । यसले निर्धारित समयमा निर्माण सक्ने दाबी गरे पनि उपलब्धि भने कछुवाको गतिमा छ । म्याद थपेपछि ३ वर्षभित्र निर्माण गरिसक्ने बताए पनि अहिले फेरि म्याद थप्नुपर्ने अवस्था आएको छ र थपिएका म्यादमा पनि निर्माण हुन सक्ने स्पष्ट आधार देखिएको छैन । यसले गर्दा ३५ अर्बमा तयार हुने भनिएको यो सडकको लागत ४/५ खर्ब पुग्ने सक्ने विश्लेषण गर्न थालिएको छ । निर्माण कार्यमा विलम्ब हुन थालेपछि यसको जिम्मा सेनालाई दिनुको अर्थ के हो त ? भन्ने प्रश्नसमेत गर्न थालिएको छ । अरूले काम गर्न नसकेपछि सेनालाई त्यसको जिम्मा लगाइएको हो भन्ने कुरा बिर्सन मिल्दैन ।  नेपालमा साना वा ठूला जस्तासुकै आयोजना होऊन् ती समयमा सम्पन्न भएको पाइँदैन । यसो हुनुमा व्यवस्थापनसँग सम्बद्ध समस्यादेखि प्राविधिक ज्ञानको कमीसम्मका कारण रहेका देखिन्छन् । त्यसो त गलत नियतले ठेक्काको काम नगर्ने ठेकेदारकै कारण आयोजनामा विलम्ब हुने गरेको पनि छ । अन्य मुलुकमा समयमै काम गरेर नाम कमाएको चिनियाँ कम्पनी भने नेपालमा काम नगरी आयोजनाको म्याद बढाउने खेलमा लागेको देखिन्छ । यसले नेपालको विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचारलाई देखाउँछ । समयमा काम नगर्ने र फोर्स मेजर अर्थात् विशेष अवस्था भन्दै म्याद थप्न लगाउने प्रवृत्ति देखिन्छ । नेपाली सेनाबाट यस्तो नहुने अपेक्षा आमजनतामा छ । त्यसैले आमजनताको विश्वास नतोडिने गरी सेनाले दु्रतमार्गलाई तीव्र गतिमा सम्पन्न गर्नु जरुरी छ ।  नेपाली सेनाले राज्यले दिएको जिम्मेवारी पूरा गर्ने गरेको छ । त्यस्तै सेना चेन अफ कमान्डमा चलेको हुन्छ र यसले भ्रष्टाचार गर्दैन भन्ने पनि धेरैमा विश्वास छ । मुलुकका अन्य संयन्त्र कामै नलाग्दा पनि सेनाले भने काम गर्छ भन्ने जनविश्वासलाई आधार मानेर नै सरकारले यो सडक निर्माणको काम सेनालाई दिएको देखिन्छ । यस्तोमा सेनाले आफ्नो छवि बचाएर काम गर्नु जरुरी छ ।  नेपालको सार्वजनिक खरीद ऐन, विकास निर्माणमा हुने स्थानीयको अवरोध, समयमा काम नगर्ने कम्पनीहरूका कारण हरेक आयोजनाको प्रगति निकै सुस्त छ । सरकारी संयन्त्रमा समन्वयको अभाव र एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने प्रवृत्तिले पनि काममा विलम्ब हुने गरेको छ । यो आयोजना सेनाले जिम्मा लिएपछि यस्तो समस्या कम हुन्छ भन्ने सोचिए पनि त्यसो हुन सकेन । खोकना क्षेत्रमा स्थानीयको विरोध रहेकाले सेनाले तराई क्षेत्रबाट निर्माण थालनी गर्‍यो जसको समाधान अझै भएको छैन । सुरुङ मार्गको ठेक्कामा भएको विलम्बले पनि आयोजनामा असर पर्‍यो । यस्ता अवरोधलाई छिचोल्न र व्यवस्थापकीय क्षमता देखाउन सेनाले थप गम्भीर हुन र गृहकार्य गर्न जरुरी देखिन्छ ।  हुन त विकास निर्माणका आयोजनाको ठेक्का लिनु सेनाको कार्यक्षेत्र होइन तर राज्यले आवश्यक ठानेर जिम्मेवारी दिएपछि त्यो पूरा गर्नु उसको दायित्व हो । यो दायित्व पूरा गर्न उसले आफ्नो संगठनको पूरा क्षमता लगाउन आवश्यक छ । तर, त्यसो गर्न सकेको देखिँदैन । अतः सेनाले सरकारबाट केकस्ता सहयोग चाहन्छ त्यो स्पष्ट माग गर्नुपर्छ र आयोजनालाई छिटो सम्पन्न गरेर आफ्नो छवि जोगाउन सक्नुपर्छ ।  #abhiyan #editorial #FastTrack

बीआरआईमा विलम्ब

चीनले निकै महत्त्वाकांक्षाका साथ अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी हुन नेपालले हस्ताक्षर गरे पनि यसअन्तर्गत आयोजनाहरू अघि बढ्न सकेको छैनन् । पछिल्लो समय नेपालप्रति चीनको चासो बढेको विश्लेषण गरिए पनि  उसले निकै महत्त्व दिएको बीआरआईअन्तर्गत किन कुनै पनि परियोजना नेपालमा अघि बढेनन् भन्नेमा नेपालले ध्यान दिनु जरुरी छ । बीआरआई विश्वलाई जोड्ने प्राचीन रेशममार्गको झझल्को दिने आधुनिक अभियान हो । यसबाट चीनले विश्वभरि आफ्नो सञ्जाल विस्तार गर्न खोजेको छ । नेपाल छिमेकी भएका नाताले यसबाट बढी लाभ लिन सक्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । नेपालले चीनसँग रेलमार्गबाट जोडिन चाहेको छ । तिब्बतको केरुङसम्म आइपुगेको रेल्वेलाई काठमाडौंसम्म ल्याउन नेपाल र चीनबीच विस्तृत अध्ययनका लागि सम्झौता भइसकेको छ । तर, कोरोनाका कारण अहिले यो अध्ययन अघि बढेको छैन । अन्तर्देशीय यो रेल्वेका लागि चीनले बीआरआईअन्तर्गत रहेर ऋणमा बनाइदिने आशय व्यक्त गरेको छ । तर, नेपालमा ऋण लिएर यस्तो ठूलो परियोजना अघि बढाउन हुँदैन र बढाउनुपर्छ भन्नेबीच निकै विवाद भइरहेको छ । नेपालको भूराजनीतिक अवस्था निकै संवेदनशील भएकाले कस्तो सहयोग स्वीकार गर्ने र कस्तो सहयोग अस्वीकार गर्ने भनेर निकै होसियारीपूर्वक निर्णय लिनुपर्ने हुन्छ । नेपालको विकासका लागि वैदेशिक सहयोग अनिवार्य छ । यस्तो सहयोग लिँदा कसैको सामरिक स्वार्थमा पर्नु भने हुँदैन । अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्जलाई लिएर निकै विरोध भयो । यद्यपि बीआरआई सहयोगमा यस्तो विरोध कम छ । एउटा मुलुकको सहयोगलाई अर्को मुलुकको विरोधको माध्यम भने बनाइनु हुँदैन । नेपालको विकास निर्माणमा चीनको पनि ठूलै सहयोग रहिआएको छ । चीन नेपालको ठूलो व्यापारिक साझेदार पनि हो । बीआरआईमा रहेर चीनसँग मिलेर पूर्वाधारका आयोजना अघि बढाउनु आवश्यक छ तर त्यो आयोजनाबाट नेपालले फाइदा लिन सक्नुपर्छ । दाताको प्रभावमा परेर सहयोग लिँदा कस्तो हुन्छ भन्ने कुराको उदाहरण चीनसँग अनुदान र ऋणमा लिइएको चिनियाँ जहाज नै छन् । त्यसैले नेपालले आफ्नो आवश्यकताको राम्रो विश्लेषण गरेर मात्रै बीआरआईका परियोजना अघि बढाउनु आवश्यक छ ।

लेखापरीक्षणमा विलम्ब

अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई ३ महीनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । यी दुवै सरकारी कम्पनी हुन् । एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न नपाउने मापदण्ड बनेपछि बीमा संस्थानलाई टुक्र्याएर नयाँ कम्पनी बनेको हो । बीमा संस्थानले अहिलेमात्र होइन, पटकपटक धेरै वर्षसम्म लेखापरीक्षण नगराएको पाइन्छ । १३ वर्षसम्म लेखापरीक्षण नगराएको इतिहाससमेत छ । संस्थानका अनुसार ८ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । किन यसरी सरकारी कम्पनीले लेखापरीक्षण गर्न सकिरहेको छैन त ? बीमा कम्पनीहरूले पेस गरेको वासलात समितिले पारित गर्नुपर्ने हुन्छ । तर, समितिले यसमा विलम्ब गर्ने, कम्पनीहरूको वासलातमा कैफियत देखिने र त्यसलाई सुधार गर्न समय लाग्ने भएकाले पनि लेखापरीक्षण प्रभावित भएको देखिन्छ । बीमा कम्पनीको नियामक निकाय बीमा समिति (हाल बीमा प्राधिकरण) हो । तर, नियामक निकायले सरकारी कम्पनीलाई कारबाही गर्न नसक्दा यस्तो भएको हो भन्ने भनाइ पाइन्छ । यद्यपि बीमा समितिले यी कम्पनीलाई लेखापरीक्षण नगरेका कारण रू. १० हजार जरीवाना तिराएको थियो । जरीवाना तिर्नेमा निजी कम्पनीहरू पनि थिए । बीमा कम्पनीमा नै यो समस्या बढी देखिनुमा पक्कै केही कारण होलान् । ती कारणको खोजी गरेर तिनको समाधान नगरे समयमा लेखापरीक्षण हुन सक्दैन । सरकारी कम्पनीमा समयमा नै लेखापरीक्षण हुन नसक्नुमा कर्मचारीको गुटबन्दी र राजनीतिक खिचातानी पनि एउटा कारण रहेको देखिन्छ । बीमा संस्थानमा पनि त्यस्तै भएको हुन सक्छ । त्यसो त लेखापरीक्षण गर्न कर्मचारी अपुग भएको पनि हुन सक्छ । अर्को बीमाको लेखापरीक्षण बढी प्राविधिक हुने र त्यसका लागि पर्याप्त जनशक्ति नहुनु पनि एक कारण हो । बीमाको लेखापरीक्षणका लागि एक्च्युअरी भ्यालुएशन जरुरी हुन्छ भनिन्छ । नेपालमा पर्याप्त एक्च्युअरी छैनन् । बीमा समितिले एक्च्युअरीको नामावली सूचीकृत गराउन सूचना निकाल्दा पर्याप्त आवेदन नै नपर्ने गरेकाले विदेशी कम्पनीलाई समेत सूचीमा राख्ने गरेको छ । तिनले समय दिन नसक्दा पनि लेखापरीक्षण प्रभावित भएको हुन सक्छ । अर्को बीमा कम्पनीहरूले पेस गरेको वासलात समितिले पारित गर्नुपर्ने हुन्छ । तर, समितिले यसमा विलम्ब गर्ने, कम्पनीहरूको वासलातमा कैफियत देखिने र त्यसलाई सुधार गर्न समय लाग्ने भएकाले पनि लेखापरीक्षण प्रभावित भएको देखिन्छ । त्यसैले बीमाक्षेत्रको लेखापरीक्षणमा विलम्ब हुनुका कारण खोजी त्यसको समाधान गर्नुपर्छ । यो काम बीमा कम्पनीको मात्र होइन, नियामक निकायको पनि हो । मन्त्रालयले ३ महीनामा लेखापरीक्षण सक्न निर्देशन दिए पनि त्यससँग सम्बद्ध समस्या समाधान नगरिदिए समयसीमामा काम हुन सक्दैन । काम नभए पनि सरकारी कम्पनीलाई कारबाही हुने देखिँदैन किनभने विगतमा पनि कुनै कारबाही भएको थिएन । अर्को, ३ महीनामा ८ वर्षको लेखापरीक्षण सक्न त्यति सहज छैन । एक वर्षको लेखापरीक्षण सक्न नै ४/५ महीना नै लाग्ने कम्पनीका अधिकारीहरूको भनाइ पाइन्छ । त्यसमा पनि एक आवको लेखापरीक्षणको स्वीकृत भएपछि मात्रै अर्को वर्षको लेखापरीक्षण शुरू गर्न मिल्छ । नियामकलाई प्रतिवेदन बुझाएपछि त्यो स्वीकृत हुन ढिलाइ हुँदा पनि लेखापरीक्षण थप ढिलो हुने गरेको छ । त्यसैले मन्त्रालयको निर्देशनअनुसार ३ महीनामा नै लेखापरीक्षण सम्पन्न हुन सक्ने सम्भावना ज्यादै कम छ । जेजस्तो समस्या भए पनि सरकारी होस् वा निजी कम्पनी तिनले कानूनले निर्धारित गरेको समयमा नै लेखापरीक्षण सम्पन्न गर्नुपर्छ । यदि कानूनले तोकेको समयमा सम्पन्न हुनै नसक्ने अवस्था हो भने त्यसमा परिवर्तन पनि गर्नुपर्छ । अत: लेखापरीक्षणमा हुने विलम्ब रोक्न निर्देशनमात्र पर्याप्त हुँदैन, यसका व्यावहारिक, कानूनी र प्रक्रियागत समस्याहरूको समाधान पनि हुनुपर्छ । यस्तो समस्या अन्य संस्थानमा छ कि छैन ? सरकारले समग्र पक्षको अध्ययन गरी समाधानको उपाय खोज्नुपर्छ । समस्याको वास्तविक कारण नखोज्ने हो भने सतही रूपमा जति कुरा गरे पनि कुनै अर्थ हुँदैन । त्यसैले यतिखेरको आवश्यकता भनेको गम्भीरतापूर्वक समस्याको पहिचान गरी समाधानमा लाग्ने हो ।

बूढीगण्डकीमा विलम्ब नगरौं

राष्ट्रिय गौरवको आयोजना मानिएको १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना कहिले र कसरी शुरू हुन्छ भन्ने कुरा अझै अनिश्चित रहेको छ । सरकारले चिनियाँ कम्पनी गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत गरेको छ । तर, आयोजनालाई कसरी अगाडि बढाउने भन्नेमा सरकार स्पष्ट देखिएको छैन । धेरैजसो आयोजनाहरू रन अफ द रिभरको अवधारणमा बनेकाले ऊर्जा सम्मिश्रमणका लागि बूढीगण्डकी आयोजना अनिवार्य देखिएको छ । तर, यसको निर्माण कुन मोडलबाट गर्ने र कसलाई बनाउन दिने भन्नेमा सरकारले निर्णय लिएको देखिँदैन । सरकार फेरिएपिच्छे निर्णय फेरिइरहने प्रवृत्तिले विदेशी कम्पनीहरूमाझ राम्रो सन्देश जा“दैन । त्यसैले सरकारले कुन मोडलमा बनाउने हो र कसले बनाउने हो चाँडो निर्णय गर्नु आवश्यक छ । आयोजना कुन मोडलमा बनाउने भनेर ठोस निर्णय नभए पनि नेकपा माओवादी केन्द्रको सरकारले २०७४ सालमा गेजुवालाई आयोजना दिने भनी निर्णय गरेको थियो । त्यसपछि नेपाली कांग्रेसको नेतृत्वको सरकारले यो निर्णय उल्ट्याएर आफ्नै लगानीमा बनाउने निर्णय गर्‍यो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेको अध्यक्षतामा गठित एक समितिले स्वदेशी स्रोतबाट तीन विकल्पमा आयोजना निर्माण गर्न सकिने सुझाव दिएको थियो । विशिष्टीकृत आयोजना कार्यान्वयन एकाइमार्फत बनाउने, प्राधिकरणमार्फत निर्माण गर्ने वा प्रतिस्पर्धामार्फत ईपीपसीएफमोडलमा निर्माण गर्न सकिने सुझाव उनले दिएका थिए । केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेकपाको सरकारले यो आयोजना पुनः गेजुवालाई नै दिने निर्णय गर्‍यो । यो निर्णय गरेको ३ वर्ष नाघिसक्दा पनि गेजुवाले कुनै सम्पर्क गरेको छैन न कुनै औपचारिक प्रतिक्रिया नै दिएको छ । यस्तोमा सरकारले ठोस निर्णय लिन अब अबेर गर्नु हुँदैन । सरकार फेरिएपिच्छे निर्णय फेरिइरहने प्रवृत्तिले विदेशी कम्पनीहरूमाझ राम्रो सन्देश जाँदैन । त्यस्तै कम्पनीहरूले काम शुरू गरे पनि अनेक बहानामा समय लम्ब्याउने र थप रकम माग्ने सम्भावना बढी हुन्छ । अन्य आयोजनाहरू खासगरी चिनियाँ कम्पनीले काम गरेका आयोजनाहरूमा यस्तो भएको पाइन्छ । त्यसैले सरकारले कुन मोडलमा बनाउने हो र कसले बनाउने हो चाँडो निर्णय गर्नु आवश्यक छ । निर्माणको ठेक्का दिन जति ढिला हुन्छ त्यति नै आयोजनाको लागत बढी पर्छ । समयमै काम सम्पन्न हुन नसक्दा नेपालका धेरै आयोजनाहरू शुरूमा प्रक्षेपण गरिएकोभन्दा तेब्बरभन्दा पनि बढी लागत पुगेको पाइन्छ । आयोजना ढिला हुँदा त्यसबाट पाउने लाभ पनि पछि सर्छ जसले गर्दा नेपालको विकास यात्रा नै धिमा हुने गरेको छ । यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । बूढीगण्डकी आयोजनाका लागि सरकारले पेट्रोल र डिजेल विक्रीबाट प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर उठाउँदै आएको छ । यो करको रकमसमेत नेकपाको सरकारले बढाएको थियो । यसबाट ५० अर्बभन्दा बढी रुपैया“ सरकारी ढुकुटीमा जम्मा भएको छ । यो रकम सदुपयोग गर्न पनि यथाशीघ्र आयोजना निर्माण शुरू गर्नु जरुरी देखिएको छ । यो आयोजनाका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण पनि करीब करीब भइसकेको छ । अर्थात् सरकारले यस आयोजनाका लागि ठूलो धनराशी खर्च पनि गरिसकेको छ । यो बहुउद्देश्यीय जलाशययुक्त आयोजना हो । यो आयोजना रणनीतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण भएकाले यसमा सरकारले छिटो निर्णय लिनुपर्छ । बूढीगण्डकी आयोजनाका लागि धेरै नै काम अघि बढिसकेको छ । त्यसो हु“दा यसमा ढिलाइ गर्नुपर्ने खासै कारण देखिन्न । सरकारले ठोस निर्णय गरेर निर्माण कार्य अघि बढाए आयोजनाबाट छिटै लाभ प्राप्त हुने देखिन्छ । यसका लागि स्रोतको समस्या पनि ज्यादै ठूलो रहेको देखिँदैन । हुन त सरकारले योमात्रै होइन, गौरवका अन्य आयोजनाहरूबारे पनि ठोस निर्णय लिन सक्नुपर्ने हो । तर, राजनीतिक नेतृत्वमा बलियो इच्छाशक्ति नभएकाले काम अघि बढ्न नसकेको देखिन्छ । आयोजना शुरू भए निर्माणमा केही विलम्ब भए पनि यसबाट लाभ लिन सकिन्छ । अतः बूढीगण्डकी आयोजनालाई कुनै पनि बहानामा ढिलो गर्नु मुुलुकमाथि नै अन्याय गरेको ठहर्नेछ ।

खिम्ती आयोजना हस्तान्तरणमा किन विलम्ब ?

वैदेशिक लगानीमा निर्मित खिम्ती जलविद्युत् आयोजना सञ्चालनमा आएको २० वर्ष पुगेपछि आधा अंश सरकार अर्थात् नेपाल विद्युत् प्राधिकरणको स्वामित्व आउने भए पनि सरकारले यसमा आवश्यक चासो नदिँदा सरकारको आम्दानी गुमिरहेको छ । सरकारी अधिकारीहरूले कोरोनालाई कारण देखाएर आफू चोखिने प्रयत्न गरे पनि खासमा अहिले कोरानाकै कारण विलम्ब हुनुपर्ने देखिँदैन । निजीक्षेत्रले निर्माण गरेको आयोजनाहरू सम्झौताको मिति समाप्त भएपछि कुन प्रक्रियाबाट सरकारीमा जाने हो र सर्वसाधारणको शेयर के हुने हो भन्ने ठूलो चासो र चिन्तासमेत रहेको सन्दर्भमा खिम्ती हस्तान्तरण एउटा नमूना हुन सक्छ । तर, यसमा विलम्ब हुँदा सरकारी घोषणाअनुसार काम हुन नसक्दा निकै सस्तो बेहोर्नुपर्ने तथ्यलाई उजागर गरेको छ । भोलिका दिनमा बुट मोडलमा सञ्चालन भएका आयोजना स्वामित्व हस्तान्तरण गर्दा सहज हुने प्रक्रिया र मापदण्ड बनाएर तत्काल काम थालिहाल्नु जरुरी छ । खिम्ती जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण गरिएको हो । जलविद्युत्का क्षेत्रमा यस्ता थुप्रै आयोजनाहरू सञ्चालनमा रहेका छन् । नेपालले वैदेशिक लगानी भित्र्याउन यही मोडलका अन्य आयोजना पनि प्रस्ताव गरेको छ । त्यसैले खिम्ती जलविद्युत् आयोजना यस्तो लगानीका लागि मोडल बन्न सक्छ । तर, सरकारले यसबारे ठोस निर्णय लिन कदम चालेको देखिँदैन । सरकारले खिम्तीको आधा स्वामित्व लिन ढिलाइ गरेकामा संसदीय समिति तथा महालेखा परीक्षकको प्रतिवेदनले समेत प्रश्न उठाएका छन् । यस्तो प्रश्न उठेको धेरै समय बिते पनि सरकारका तर्फबाट खासै पहल भएको देखिँदैन । खिम्तीको शेयर स्वामित्व हस्तान्तरण हुन नसक्दा यसबाट प्राधिकरणले प्राप्त गर्नुपर्ने मुनाफा रकम पाउन सकेको छैन । नयाँ खरीद मूल्यमा सम्झौता हुनुपर्नेमा त्यो पनि रोकिएको बताइएको छ । खिम्तीबाट उत्पादिन जलविद्युत् अमेरिकी डलरमा खरीदविक्री हुने कुरा सम्झौतमा उल्लेख गरिएको छ । प्राधिकरणले कम्पनीलाई डलरमा भुक्तानी गर्नुपर्ने हुँदा विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाव कम गर्न पनि सहायता मिल्ने देखिन्छ । विदेशी विनिमयमा भुक्तानी गर्दा डलरको मूल्यवृद्धिका भएकाले प्राधिकरणलाई थप घाटा हुने देखिन्छ । त्यसैले यथाशीघ्र यसमा भएका समस्यालाई समाधान गर्न ढिला गर्नु हुँदैन । प्रािधकरणले अब गर्ने काम पनि करारनामा नगराई नगर्ने बताएको छ । करारअनुसार अब गरिने सम्झौतामा पीपीएको खरीद मूल्य नेपालीमा तय गरिनेछ । तर, अहिले डलरमा भुक्तानी गर्दा प्राधिकरणलई घाटा भइरहेको छ । आयोग र प्राधिकरणले तयारी नपुगेको तथा कोरानाका कारण काम हुन नसकेको बताए पनि मिलोमतोमा ढिलाइ गरिएको आरोप पनि लगाएको पाइन्छ । प्राधिकरण र कम्पनीबीच स्वामित्व हस्तान्तरणका लागि छलफल मात्रै भएको पाइन्छ । आयोजना हस्तान्तरणका लागि खुसुक्क जिम्मा लाएर हुँदैन, सरकारी प्रक्रिया पनि पूरा गर्नु आवश्यक हुन्छ । प्राधिकरण र कम्पनीबीच स्वामित्व हस्तान्तरणका विषयमा छलफल भएको थियो । तर, त्यसमा कुनै निर्णय भएन । स्वामित्व हस्तान्तरणका लागि संयुक्त कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । तर, कम्पनी कस्तो हुने, ककसले प्रतिनिधित्व गर्ने जस्ता विषयमा गहन छलफल अपेक्षित हुन्छ । नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि घाटामा चलेको संस्था हो । हाल यो केही नाफामा गएको देखिए पनि विद्युत् आपूर्ति सहज हुन नसक्दा केलाइकुलाई गरेरमात्र नाफा देखिएको हो । खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आउने बित्तिको आधा रकम बराबरको डलर विदेशिनबाट रोकिने देखिन्छ । लगानीकर्ताहरू खिम्तीमा केकस्ता विधिबाट सरकारीकरण गरिन्छ, त्यसमा रहेको सर्वसाधारणको शेयर के हुन्छ भन्नेमा चासो देखाइरहेका छन् । यो पहिलो हस्तान्तरण भएकाले पछि हुने स्वामित्व हस्तान्तरणमा यो नमुना बनोस् भन्ने अर्थका अधिकारीहरूको भनाइ पाइन्छ । नेपालको निजीक्षेत्रले बनाएको आयोजनाहरू ३० वर्ष सञ्चालन गरेपछि सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । खिम्ती पनि पछि पूर्णरूपमा सरकारी कम्पनी बन्नेछ । त्यसैले भोलिका दिनमा बुट मोडलमा सञ्चालन भएका आयोजनाहरू स्वामित्व हस्तान्तरण गर्दा सहज हुने प्रक्रिया र मापदण्ड बनाएर तत्काल काम थालिहाल्नु जरुरी छ ।

कोरोना राहत वितरणमा विलम्ब

कोरोना प्रभावित अर्थतन्त्रलाई राहत दिन तथा निजी व्यवसायहरूलाई बचाउन सरकारले विभिन्न कार्यक्रम घोषणा गरे पनि तिनको कार्यान्वयन राम्ररी हुन सकेको छैन । यसको उदाहरण हो : सामाजिक सुरक्षा कोषमा सरकारले जम्मा गर्न कबोल गरेको रकम जम्मा नगर्नु । सामाजिक सुरक्षा कोषमा दर्ता भएका उद्योगव्यवसायलाई कम क्षति पुगोस् भनी त्यसमा उनीहरूले आफ्ना कामदारहरूका लागि दिनुपर्ने २ महीनाको योगदानको रकम सरकारले बेहोर्ने निर्णय गरेको भए पनि त्यो रकम निकासा हुन सकेको छैन । सरकारले घोषणा गरेको थुप्रै सहयोगका कार्यक्रमको अवस्था यस्तै देखिन्छ । सरकारी कर्मचारीको योगदानको रकम भने समयमै सरकारले जम्मा गरिदिने गरेको छ भने निजी प्रतिष्ठानलाई सहयोग गर्ने रकममा भने विलम्ब गरिएको छ । यसले सरकारको हेराइमै विभेद छ भन्ने पुष्टि गर्छ । सरकारले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा विलम्ब नभएको भए अर्थतन्त्र तीव्र गतिमा अघि बढ्ने सम्भावना थियो । तर, त्यसमा सरकार चुकिरहेको छ । सरकारी सहयोग मन्द गतिमा भए पनि अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको तथ्यले यसलाई पुष्टि गर्छ । कर्जाको माग बढ्नु र त्यसको आपूर्ति हुन नसक्नु अर्थतन्त्र विस्तारको संकेत हो । सामाजिक सुरक्षा कोष सरकारले ल्याएको महत्त्वपूर्ण कार्यक्रम हो जसमा रोजगारादाता र कामदार कर्मचारी दुवैले समान रूपले लाभ लिन सक्छन् । यसले औद्योगिक व्यावसायिक क्षेत्रमा कार्यरत कामदारहरूको सामाजिक सुरक्षा प्रदान गर्ने नीति लिएको छ । तर, कोष सञ्चालनमा कमजोरी देखिएकाले अपेक्षा गरिएअनुसार रोजगारदाता संगठनहरू यसमा आएका छैनन् । सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनहरू त यसमा आउन चाहेकै छैनन् । त्यसैले निजीक्षेत्रका संगठित संस्थाहरूलाई यसमा आकर्षित गर्न सरकारले बन्दाबन्दीका बेलाको योगदान आफैले बेहोर्ने निर्णय गरेको हो । पहिलोपटकको बन्दाबन्दीमा ३ महीनाको योगदान सरकारले बेहोरिदिएकाले यसमा दर्ता हुन आउने संस्था र योगदानकर्ताको संख्या बढेको थियो । यही भएर पूर्ववर्ती नेकपाको सरकारले चालू आर्थिक वर्षका लागि २ महीनाको योगदान सरकारले बेहोर्ने घोषणा बजेटमार्फत गरेको थियो । विद्यमान गठनबन्धन सरकारले अघिल्लो सरकारले ल्याएको यो कार्यक्रम खारेज गरेको छैन तर चालू आर्थिक वर्षको ४ महीना बितिसक्दा पनि योगदानको रकम सामाजिक सुरक्षा कोषलाई हस्तान्तरण गरेको छैन । यस अवधिमा कैयौं योगदानकर्ताले रोजगारी छाडेका छन् । तिनले यो रकम पाउन कठिन हुने देखिन्छ । त्यस्तै सरकारले यो रकम हस्तान्तरण नगरेकाले कैयौं उद्योग तथा प्रतिष्ठानले आफ्ना कामदारको योगदानको रकम कट्टा गरेर आफै राखेका छन् वा कोषमा जम्मा गरिदिएका छन् । सरकारले यो रकम हस्तान्तरण नगर्दा यी संस्थालाई हिसाब मिलान गर्न पनि समस्या भइरहेको छ । सरकारी कर्मचारीको योगदानको रकम भने समयमै सरकारले जम्मा गरिदिने गरेको छ भने निजी प्रतिष्ठानलाई सहयोग गर्ने रकममा भने विलम्ब गरिएको छ । यसले सरकारको हेराइमै विभेद छ भन्ने पुष्टि गर्छ । अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम भएर विलम्ब गरिएको हो भने त्यो नै गलत कार्य हो । अहिले लगानीयोग्य रकमको अभाव भएर बैंक तथा वित्तीय संस्थाहरू समस्यामा छन् । सरकारी खातामा रहेको रकम कसरी हुन्छ बजारमा पठाउन जरुरी भइसकेको छ । सरकारले घोषणा गरेको १ लाख ७५ हजार योगदानकर्ताको डेढ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरिदिएको छैन । कोषमा जम्मा गरिदिएको भए त्यो रकम बैंकहरूमा जम्मा हुन्थ्यो र त्यसले थोरै भए पनि तरलतामा राहत दिन्थ्यो । दिन्छु भनेर कबोलिसकेको रकम समयमै हस्तान्तरण गर्दा कोषलाई पनि हिसाब मिलान गर्न सहज हुन्थ्यो । तर, अर्थले यसमा चासो दिएको पाइँदैन । विकास खर्च हुन सकेन भनेर अर्थमन्त्री जनार्दन शर्माले नयाँ उपायको खोजी गरिने बताइरहेका छन् । तर, उनकै मन्त्रालयले चालू खर्चको बजेटसमेत निकासा नगरेर तरलता अभाव बढाउन मद्दत गरेको देखिन्छ । अतः यथाशीघ्र यस्तो रकम तुरुन्तै निकासा गरिनुपर्छ ।

विकासमा उस्तै विलम्ब

सचिव र मन्त्रीलाई कुन कर्मचारीले कति रकम दिन सक्छ त्यसैको आधारमा बजेटअनुसार सरुवा गर्ने परम्परा छ। सरकारले प्रत्येक वर्ष आयोजना प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गर्छ तर काम गरे/नगरेको अनुगमन र कारबाही गर्दैन।...