स्टार्टअप उद्यम नीतिको मस्यौदामा प्रदेशस्तरीय छलफल

विराटनगर । कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सोमवार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवनप्रकाश सिटौलाले नीतिको मस्यौदामा उल्लेख भएका विषयबारे जानकारी गराएका थिए । छलफलमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नवीन विचार र कार्यक्रमलाई अघि बढाउन सरकार सधैं तयार रहेको बताए । हालसम्मको अनुभवका आधारमा स्टार्टअप नीति निर्माण हुन लागेको उनको भनाइ छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगव्यवसायमा जोखिम धेरै हुने भएकाले नवउद्यमको प्रवर्द्धनको काम चुनौतीपूर्ण हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको स्टार्टअप नीतिको मस्यौदा आउनु सकारात्मक पक्ष भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रसँग पनि सहकार्य गरेर नीतिलाई थप फराकिलो बनाइनुपर्ने उनले सुझाए । मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुयालले नीतिमा उल्लिखित स्टार्टअप बोर्डलाई कार्यकारी काम गर्न सक्नेगरी जिम्मेवारी प्रदान गर्नुपर्ने बताए । साथै कोशी प्रदेशको प्रथम आवधिक योजनाले उल्लेख गरेका लक्ष्य प्राप्तिका लागि पनि नीतिले सम्बोधन गर्नुपर्ने उनले सुझाव दिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसायमा जोखिम धेरै हुने भएकाले नवउद्यमको प्रवर्द्धनको काम चुनौतीपूर्ण हुने बताए । युवा जनशक्ति विदेशिने लहर बढेकाले स्टार्टअपमा आकर्षण बढाउन चुनौती रहेको उनको भनाइ थियो । पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. बिजुकुमार थपलियाले नीतिका माध्यमबाट स्टार्टअपमा काम गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिए । नीतिमात्र धेरै बनाउने भन्दा सहजीकरणका संयन्त्रले समेत असल नियतले काम गर्नुपर्ने उनले बताए । प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले स्टार्टअपको लक्षित वर्ग पहिचान नभई नीति निर्माण गर्न नहुने तर्क गरे । निजी र सरकारी सहकार्य अन्तर्गत नीति निर्माण भए मात्र नीति कार्यान्वयन हुन सक्ने उनले बताए । नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका कार्यकारी निर्देशक विजयहरि शर्माले स्टार्टअप नीतिको कार्यान्वयनका लागि सरकारी कर्मचारी र जनशक्तिको पनि भूमिका हुने बताए । स्वीस कन्ट्याक्टका प्रतिनिधि पदम भण्डारीले स्टार्टअपको परिभाषा सरल बनाउनुपर्ने सुझाव दिए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले स्टार्टअप नीतिको स्रोत स्पष्ट हुन नसकेको भन्दै कानूनी हैसियत निक्र्योल गर्नुपर्ने बताए । कृषि विज्ञ डा. राजेन्द्र उप्रेतीले विज्ञहरूको व्यवस्थाको विषय समेत नीतिमा स्पष्ट रूपमा समावेश गर्नुपर्ने सुझाव दिए । उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईले संघ र प्रदेशको अलग नीतिले लगानीको वातावरण बन्न नसक्ने धारणा राखेका थिए ।

सम्बन्धित सामग्री

स्टार्टअप उद्यम कर्जामा नक्कली पत्र बनाएर ठग्ने गिरोह सक्रिय

काठमाडौं । २०७९ चैत १६ गतेदेखि स्र्टाटअप उद्यम कर्जा उपलब्ध गराउन उद्यम परियोजना माग गरेको उद्योग विभाग कर्जा उपलब्ध गराउने विषयमा अझै टुंगोमा पुगेको छैन । यो कर्जाका लागि विभागमा आवेदन परेका परियोजनामाथि अन्तिम मूल्यांकन नहुँदै यता सरकारी लेटरप्याडको दुरुपयोग गरेर नक्कली पत्र बनाएर बाँड्न शुरू भएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लेटरप्याड दुरुपयोग गरेर स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा विभिन्न व्यक्तिलाई नक्कली पत्र बनाई वितरण गरिरहेको भेटिएको हो । विभागले सोमवार सूचना जारी गर्दै नक्कली पत्र वितरण गर्नेमाथि छानबिन भइरहेको जानकारी दिएको छ । ‘आवेदनउपर अन्तिम मूल्यांकन भइसकेको छैन,’ जारी सूचनामा भनिएको छ, ‘त्यस्ता व्यक्तिहरूबाट सावधान रही ठगीबाट सतर्क रहौं ।’ तीन महीनाभन्दा बढी भइसक्दा पनि कति परियोजनाले कर्जा पाउँछन् भन्ने यकिन विभागले गरेको छैन । पहिलो चरणमा सय जनालाई स्टार्टअप कर्जा दिने सरकारी योजना छ । आवेदन भने ३८२ जनाले दिएका थिए । त्यसमध्ये कतिले कर्जा पाउँछन्, टुंगो लागेको छैन । विभागका सूचना अधिकारी रमिला भण्डारीले नक्कली पत्र बनाइएको विषयमा छानबिन भइरहेको बताइन् । उनले अहिलेसम्म कर्जा कतिले पाउँछन् भन्ने विषय अझै टुंगोमा नपुगेको बताइन् । पहिला जारी भएको स्टार्टअप कर्जा कोष कार्यविधि २०७९ मा केही बुँदा संशोधन गरिएको छ । मन्त्रालयमा छलफलको क्रममा छ । यो कार्यविधि स्वीकृत भएपछि मात्रै आवेदन दिएका स्टार्टअपहरूले कर्जा पाउने उनले बताइन् ।  उक्त कार्यविधि मन्त्रालयले गत फागुनमा कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि चैतमा आवेदन माग गरेको थियो । यसैबीच मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा तयार गरेको छ । मस्यौदाकै चरणमा रहेको उक्त नीतिअनुसार कार्यविधिमा केही हेरफेर गरेपछि मात्रै आवेदन दिएकाले कर्जा पाउने भण्डारीले बताइन् । अहिले मन्त्रालयमा मस्यौदामाथि छलफल भइरहेको छ । उनका अनुसार कर्जा उपलब्ध गराउने विषय टुंगोमा नपुगे पनि कर्जा दिने बेला हाल आवेदन दिएकालाई नै पहिलो प्राथमिकतामा राखिनेछ ।  सरकारले कृषि, पर्यटन, पूर्वाधारदेखि खानी तथा खनिज, अटोमोबाइल र फोहोरमैला तथा फोहोर व्यवस्थापन र वातावरणसँग सम्बद्धलगायत विभिन्न १४ क्षेत्रलाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराउनेछ ।

स्टार्टअप नेसन : सामूहिक छलफल ‘स्टार्टअपलाई सघाउने नीति बनोस्’

काठमाडौं  । मुलुकमा केही स्टार्टअपले राम्रो व्यवसाय गरिरहेको र थप सम्भावना देखिएकाले यसलाई सघाउने गरी सरकारले नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्टार्टअप उद्यममा राम्रो व्यवसाय गर्दै आएका स्टार्टअपले आफ्ना अनुभव सुनाउँदै यस्तो धारणा राखेका हुन् । न्यू बिजनेश एज प्रालिले गत शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स २०२३’ को सामूहिक छलफल सत्रमा उनीहरूले कृषि, शिक्षालगायत धेरै क्षेत्रमा स्टार्टअप उद्यमको सम्भावना रहेको बताए । लजिस्टिक स्टार्टअप उपायका सह–संस्थापक राहुल मल्ल ठकुरीले ईकमर्श प्लटफर्मको प्रयोगबाट फुड तथा अन्य सामानले सजिलै ग्राहक पाउने गरेको तर अन्य लजिस्टिकका सामान डेलिभर गर्दा भने निकै सास्ती देखिने गरेको बताए ।  नेपालमा लजिस्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो भएकाले यसमै धेरै अनुसन्धान तथा अध्ययन गरेर स्टार्टअप उद्यम शुरू गरिएको उनको भनाइ छ । स्टार्टअपका लागि वित्तीय स्रोत जुटाउन विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको भन्दै उनले भने, ‘स्टार्टअप उद्यम सञ्चालनका लागि हाम्रो आइडिया डोल्माले सघाउँदै आएका क्षेत्रसँग मिल्दा फन्ड पाउन सजिलो भयो ।’  पत्रकारिताबाट कृषिसम्बन्धी स्टार्टअपमा फड्को मारेकी सुनीता न्हेमाफुकी कृषिक्षेत्रलाई हेर्ने मानसिकतामा अहिलेसम्म परिवर्तन नआएको बताउँछिन् । आर एन्ड डी इन्नोभेटिभ सलुशन प्रालिका संस्थापकसमेत रहेकी  उनले सरकारले स्टार्टअपलाई सघाउन अझै पनि नसकेको बताइन् ।  उक्त अवसरमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले स्टार्टअप इकोसिस्टम बनाउने प्रमुख काम सरकारको भएको बताए । स्टार्टअप राष्ट्र बनाउन के गरिनुपर्छ ? भारतमा साढे ७ वर्षमा युनिकर्न हुन्छन् । तर, नेपालमा कार्यविधि आउनै वर्षौं लाग्यो भन्ने सहजकर्ताको प्रश्नमा गौतमले भने, ‘नीतिमा खाडल छ, यद्यपि सरकारले ढिलै भए पनि स्टार्टअपलाई परिभाषित गरेको छ । उद्यमका लागि पहिलोपटक कर्जा योजना पनि शुरू गरेको छ ।’ स्टार्टअप उद्यम कर्जा कार्यविधि–२०७९ का विशेषताका विषयमा पनि उनले जानकारी दिए । सरकारले कर्जा दिने प्रयोजनका लागि कार्यविधि ल्याएको बताए । स्टार्टअपका उत्पादन तथा सेवा समाजले भोगेका समस्याको समाधानमा सहयोगी हुनुपर्नेमा उनको जोड छ । उपायका मल्लले भने, ‘लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्नेतर्फ पनि ध्यान दिऔं, समूहको पनि उत्तिकै महत्त्व हुन्छ, विश्वास गर्ने टीम जरुरी हुन्छ ।’ दूरदृष्टि, बजार र इच्छाशक्ति भएमा स्टार्टअप सफल हुन सक्ने उनको तर्क छ । कार्यक्रममा सहभागी नेपाली पात्रोका सन्तोष देवकोटाले अहिले बनिबनाउ क्षेत्रमा मात्रै लगानी खन्याउने सोच हाबी रहेको बताए । ‘नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन र सोच नै छैन, यो दुर्भाग्य हो,’ उनले प्रश्न गरे, ‘शुरुआती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?’ अर्का सहभागी गोविन्द चापागाईंले लघुवित्तको ४ खर्ब रुपैयाँ कृषिमा लगानी भए तापनि पैसामात्र दिइएको, परियोजना नदिएको गुनासो गरे । छरिएको पैसा कसरी उपयोग गर्ने भन्नेमा सरकारले के कसरी सघाउँछ भन्ने उनको प्रश्न थियो । सामूहिक छलफलमा सहजीकरण गरेका विकासा टेकका सहसंस्थापक अस्मोद कार्कीले स्टार्टअप युनिकर्न हुन लगानी, कोष, कृषिको घट्दो योगदान, सेवाको बढ्दो योगदानलगायत विषयमा प्रश्न गरेका थिए ।  कार्यक्रममा सहभागी कुवेर पाठकले अहिलेको पुस्तालाई कुन समयमा कुन खेती गर्ने भन्ने ज्ञान नभएको बताए । उनले कृषि स्टार्टअपमा कसरी युवालाई आकर्षित गर्न सकिन्छ भनेर विभागका महानिर्देशक गौतमलाई प्रश्न गरेका थिए । ‘७ वर्षमा धेरै जमीन बाँझो बन्दै छ, अहिलेका युवालाई कृषिमा कसरी आकर्षित गर्न सकिन्छ’ भन्ने प्रश्न उनले उद्यमी सुनीता न्हेमाफुकीलाई सोधेका थिए । उक्त प्रश्नको उत्तरमा उनले भनिन्, ‘इजरायलमा ३ प्रतिशत कृषक कृषिमा आबद्ध छन्, उनीहरूले ९७ प्रतिशत जनसंख्यालाई उपभोग गर्न सक्ने उत्पादन दिएर, अमेरिका, यूरोपलगायत देशमा निर्यात गर्छन्, तर नेपालमा भने कृषि दु:खको पेशा हो भन्ने बुझाइ छ । यो अवस्था फेर्न इन्जिनीयरलगायत पेशामा भएकाहरू समेत कृषिमा आउने वातावरण र कृषि प्रविधिको विकास गर्नुपर्छ ।’

न्युबिज समिट एण्ड अवार्ड्समा प्यानल डिस्कसन : कसले के भने ?

काठमाडौं । न्यू बिजनेश एजले शुक्रवार (आज) आयोजना गरेको न्यूबिज समिट एण्ड अवार्ड्सअन्तर्गत प्यानल डिस्कसन सकिएको छ ।  ‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भएको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।  प्यानल डिस्कसन अघि सस्तो डिलका प्रबन्ध निर्देशक अमन थापाले स्टार्टअप बिजनेश गर्दा आफूले भोगेका केही अनुभव सुनाए । ‘आत्मविश्वासका साथ उद्यममा लाग्नुपर्छ, अनेक समस्या आए पनि,’ उनले भने । त्यसपछि सहजकर्ता कार्कीले सुनितालाई प्रश्न गरे– स्टार्टअप युनिकर्न हुनका लागि लगानी, कोषको कुरा कसरी हुन्छ ? कृषिको घट्दो छ, सेवाको बढ्दो छ, यसमा कृषि क्षेत्रमा कसरी ल्याउन सकिन्छ ? सुनिताले जवाफ दिइन्– कृषिमा लाग्ने गरीब हुन्छन्, लगानी हुँदैन, उद्यम पनि हुँदैन भन्ने भाष्य अहिले पनि समाजमा छ । विश्वमा कृषिपछि उद्योग र सेवा छ । तर, नेपालमा कृषिबाट एकैपटक ५ नम्बरमा अर्गानिक उत्पादन पर्छ । अर्गानिकका लागि नेपाल प्रमुख पर्छ । कृषिका उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ । कृषिलाई उद्योगसँग जोड्नका लागि कृषिमा लागेको हो । उद्योगसँग जोड्नका लागि कसैले पैरबी गर्नुपर्छ भन्ने हो । खाद्य उद्योगको महत्त्व बढेको छ । कृषिमा लाग्नेहरूलाई सहयोग गर्न हामी छौं । उद्यमी जन्माउनका लागि काम गरिरहेका छौं ।  कार्कीले राहुललाई सोधे– नेपालजस्तो ठाउँमा सडकको अवस्था, प्रविधिमा कसरी काम गरेको छ ?  उनले जवाफ दिए– ४ वर्ष भयो शुरु भएको । सन् २०१८ को अन्तिमतिर प्रविधिको उपयोग, स्मार्टफोन, इन्टरनेटको प्रयोग बढ्दो थियो । नेपालमा लजिष्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो थियो । ई–कमर्शबाट फुड अन्य सर्भिस थियो । शुरु गर्नुभन्दा पहिला निकै अनुसन्धान तथा अध्ययन गरिएको थियो । ढुवानी गाडीहरूलाई बुक गरेर शुरु गरिएको व्यवसाय हो ।  कार्कीले गौतमलाई प्रश्न गरे– व्यापार तथा निर्यात प्रवर्द्धन गर्न सरकारी निकायसमेत छ, मान्छे पठाउने भएको छ, सरकारले मान्छे मात्रै पठाउने हो ?  गौतमले जवाफ दिए– २/३ ओटा प्याक्टर हुनुपर्छ । इकोसिस्टमको प्रमुख तत्व सरकार हो । अर्काे माइन्डसेट पनि हो । सक्षम जनशक्तिलाई निर्यात गर्ने नीतिमा ग्याप छ । स्टार्टअप नीतिमा काम भइरहेको छ । स्टार्टअप उद्यम कर्जाको काम विभागले पाएको छ । बीउ पुँजीको रूपमा सघाउने गरी कर्जा दिने भनिएको छ । त्यसअनुसार काम भइरहेको छ । बिजनेश एकातिर, आइडिया अर्काेतिर छ । स्टार्टअप इकोसिस्टममा सरकारले काम गरिरहेको छ ।  कार्कीले फेरि गौतमलाई प्रश्न गरे– स्टार्टअप फन्ड बनाउने गरेर २०१६ मा आयो । भारतमा युनिकर्न बन्न साढे सात वर्ष लाग्ने रहेछ, हाम्रो नीति बल्ल कार्यान्वयनमा आयो । यो कार्यविधि किन महत्त्वपूर्ण छ ?  गौतमले भने– परिभाषा सरकारले तयार गरेको छ । सरकारले कर्जा दिने प्रयोजनको कार्यविधि हो । ५० लाख रुपैयाँको कारोबार, स्थिर पुँजी २ करोड रुपैयाँ, इनोभेसनलगायतका प्रावधान तोकिएका थिए । प्रडक्ट तथा सर्भिसले समाजले भोगेका समस्याको समाधान गर्ने पनि हुने । मुल्यांकनको पाटो पनि छन् । १० वर्षदेखि सुनिँदै आएको हो । अर्थ मन्त्रालय, योजना आयोगमा ७०० निवेदन अहिले पनि पेन्डिङ छन् ।  कार्कीले सुनितालाई प्रश्न गरे– कृषिलाई प्रविधिसँग जोड्नु भएको छ ?  सुनिताले भनिन् – काममा लाग्दा अध्ययन पनि शुरु गरौं । अध्ययन नगरेर बजारसँग प्रतिस्पर्धा गर्न सकिन्न । बंगलादेश र भारतबाट प्रभावित भएकी हुँ । भारतमा कसरी कृषिमा प्रविधिको विकास भएको छ भन्ने विषयमा । बैंकलाई खोला भएको जग्गा हुँदै हुँदैन । तर, कृषिलाई खोला भएको जग्गा नै चाहिन्छ । कम आम्दानी भएकालाई कृषि पहिलो उद्यम हो । कृषि मासिकबाट काम गरें । किसानलाई पेपरबाट सूचना पुर्याए । कोभिडको बेलामा प्रविधिको प्रयोग छिटो छिटो विस्तार भयो । किसान क्रेडिट कार्ड, क्युआर कोड लागू भयो । एउटा वडामा एक जना उद्यमी जन्माइयो भने किसान क्रेडिट कार्ड लागू गर्न सकियो । बैंकसँग सहकार्य गरे । सफ्टवेयरमा भएका कम्पनीलाई पार्टनर बनाइयो र अहिले सरकारले पनि मान्यता दिँदैछ । कृषिमा आउनका लागि अफ्रिका र भारत भ्रमण गरौं ।  कार्कीले राहुललाई प्रश्न गरे– फण्ड पाउन कत्तिको सजिलो छ ? राहुलले उत्तर दिए– बन्दाबन्दीअघि बिजनेश रन गरेको १ वर्ष भइसकेको थियो । फण्ड जुटाउनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको थियो । डोल्मासँग सञ्चालनका लागि सहयोग भयो । डोल्मासँग सेक्टर मिल्दा लगानीमा समस्या भएन । लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्ने कुरा पनि ख्याल गरौं । समूह पनि उत्तिकै महत्त्वपूर्ण हुने र विश्वास गर्ने टिम पनि जरुरी हुन्छ । अन्तरराष्ट्रिय लगानीकर्ताहरूले पनि जोखिम हेरेका हुन्छन्, यसमा पनि गृहकार्य गर्दा लगानी उठाउन अप्ठ्यारो हुँदैन ।  कार्कीले प्रश्न गरे– धेरैजसो युवाहरू बाहिर छन् । एफडीआई ५ करोडबाट घटेर २ करोडमा आयो । एफडीआईको सीमा घटाउने हो ? गौतमले भने– फण्ड स्टार्टअपमा मात्रै नभई अन्यमा पनि छ । लगानी त्यत्तिकै पाइँदैन । सबै स्टोरी सक्सेस हुँदैन । सरकारले नीति बनाउँदा निजी क्षेत्रलाई सोधेर र संयुक्तरूपमा बनाइन्छ । एफडीआई घटाउने/बढाउने भनिएको छ, स्टार्टअप र आईडीया भएमा ३०.५० लाख ल्याउने भन्नेमा छलफल छ । २ करोड भनिए पनि रेस्टुरेन्टमा लगानी देखिएको छ ।  कार्यक्रममा सहभागीहरूले पनि प्यानल स्पिकरलाई प्रश्न गरेका थिए । सहभागी सन्तोष देवकोटाले  गौतमलाई प्रश्न गरे– नेपाली लगानीको संस्कार कस्तो छ भने बनिबनाउ विषयमा लगानी गर्ने हाबी छन् । नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन, सोच नै छैन । दुर्भाग्य हो । शुरुवाती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?  गौतमले जवाफ दिए– सबै स्टार्टअपलाई इकोस्टम संस्कारको आवश्यक छ । यो घरबाट नै शुरु हुनुपर्छ । इकोसिस्टमको ७८ ओटा तत्व छन् । धेरै राम्रा स्टार्टअप पनि छन् । स्टार्टअप भनेर केन्द्रित नभए पनि बिजनेशका लागि नेपालमा नीतिनियम छन् । अब आउने नीति तथा कार्यक्रमले सम्बोधन गर्ने गरी नै नीति मस्यौदा भएको छ । अर्का सहभागी कुवेर पाठकले सुनितासमक्ष जिज्ञासा राखे– यो पुस्ताले कुन समयमा कुन खेती गर्ने भन्ने बिर्सिए । ७ वर्षमा धेरै जमिन बाँझो बन्दैछ, अहिलेका युवालाई कृषिमा आकर्षित गर्न सकिँदैन ?  सुनिताले जवाफ दिइन्– इजरायलमा ३ प्रतिशत कृषक छन्, उनीहरूले निर्यात गर्छन् । इन्जिनियर लगायतका पेशामा भएका पनि कृषि संलग्न छन् । कृषिमा दुःख हुन्छ भनेर कृषिमा नलागेको सोच छ यहाँ । यसलाई उद्योगसँग जोड्न आवश्यक छ ।   अर्का सहभागी गोविन्द चापागाईंले गौतमलाई प्रश्न गरे– लगानी छैन भन्ने कुरा आएन । तर, समन्वय भएन भन्ने कुरा हो । माइक्रोफाइनान्सको ४ खर्ब लगानी कृषिमा छ । पैसा दियो तर, परियोजना दिएन भन्ने कुरा अहिले आएको छ, छरिएको पैसालाई कसरी उपयोग गर्ने भन्ने सरकारले के कसरी सघाउँछ ?  गौतमले जवाफ दिए– साना, महिला, लघु उद्यमको २२ अर्ब रुपैयाँ सोधभर्ना भएको छ । निजी क्षेत्रले नै गर्नुपर्छ, सरकारले सघाउँछ ।

‘स्टार्टअप नीति नियन्त्रणमुखी’

सरकारले तयार पारेको राष्ट्रिय स्टार्टअप उद्यम नीति, ०७९ को मस्यौदा केन्द्रीकृत र नियन्त्रणमुखी मानसिकताले तयार गरिएको जस्तो देखिने भन्दै यसमा प्रशस्त सुधार आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले औंल्याएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा तयार भई हाल राय र प्रतिक्रियाका लागि नीति अनुसन्धान प्रतिष्ठान पठाइएको मस्यौदामाथि सोमबार सरोकारवालाबीच छलफल कार्यक्रम गरिएको थियो ।