काठमाडौं । हरित अवधारणाअन्तर्गत नेपालमा २६ करोड अमेरिकी डलर अनुमानित लागतको मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेशियाली कम्पनी रिनिकोला एसडीएन बीएचडीबीच बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ मेट्रिक टन ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्ने प्रस्ताव गरिएको छ । परियोजना तनहुँ जिल्लाको आबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको बोर्डका सहसचिव अमृत लम्सालले बताए ।
उनका अनुसार प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २ वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाइसक्नु पर्नेछ । ‘ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन भएमा अहिले किसानले प्रयोग गरिरहेको युरिया र डीएपीको झन्झट हट्नेछ । यो मलले युरिया र डीएपीको विकल्पका रूपमा काम गर्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘युरिया/डीएपी र ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट उत्पादन गर्ने प्रविधि फरक छ तर बालीनालीले पाउनुपर्ने सम्पूर्ण तत्त्व यसबाट पनि पाउँछ ।’
सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार रिनिकोलाले ऊर्जाका रूपमा विद्युत् प्रयोग गरी वातावरणमैत्री प्रविधि अपनाई मल उत्पादनका लागि २०७९ पुस २४ मा गरेको प्रस्तावका आधारमा बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत भदौमा सम्पन्न बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो ।
नेपालमा प्राकृतिक ग्यासको प्रयोग गरेर मल उत्पादन गर्न धरै नै खर्चिलो हुने देखिएकाले हरित अवधारणाअन्तर्गत ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादनका लागि अध्ययन गर्न लागिएको लगानी बोर्डका विज्ञ एक्सित पौड्यालले जानकारी दिए । उनका अनुसार हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर वायुमण्डलमा भएको नाइट्रोजन मिसाएपछि ग्रीन एमोनिया बन्छ । यसरी बनेको ग्रीन एमोनियामा क्याल्सियम मिसाएपछि क्याल्सियम एमोनियम नाइट्रेट मल बन्छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणा अन्तर्गत मल उत्पादन गर्ने लक्ष्य राखेको यस परियोजनाले नेपालको जलविद्युत्लगायत आन्तरिक ऊर्जाका स्रोतहरूको उपयोग गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । विश्वसनीय तवरले गरिएको अध्ययनमार्फत परियोजना कार्यान्वयनको चरणमा जोखिम कम हुने र दीर्घ रूपमा परियोजना सञ्चालन गर्ने मार्गचित्र प्रदान हुने उनले बताए । बोर्डकै समन्वयमा मल कारखाना स्थापनाका लागि जर्मन कम्पनी डाइगले पनि अहिले सम्भाव्यता अध्ययन गरिरहेको छ ।