म्याग्दी । म्याग्दीमा यो वर्ष चार कृषि उपज र आलु संकलन केन्द्र भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो ।
दुई कृषि उपज र दुई आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र वडा–८ घ्याँसीखर्कमा आलु संकलन केन्द्र भवन निर्माण गरिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज संकलन केन्द्र भवन निर्माण गरिएको हो । रासस