अप्रत्यक्ष कर घटाउने कि बढाउने ?

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट आउन ४ दिन बाँकी छ । बजेटसँगै आउने आर्थिक अध्यादेशमार्फत कर, महशुल र शुल्कका दरहरू घटबढ हुने अनुमान गरिन्छ । राजस्वले साधारण खर्चसमेत नधानेको अवस्थामा सरकारले बजेटमार्फत भन्सार, अन्त:शुल्कजस्ता अप्रत्यक्ष करका दर बढाउन सक्ने अनुमान भइरहेको छ । सम्बद्ध व्यवसायी भने अप्रत्यक्ष करको दर बढाए गैरकानूनी कारोबार बढ्ने, राजस्व घट्ने र नियमसंगत व्यापार चौपट हुने बताउँछन् ।  भन्सार र अन्त:शुल्क उच्च हुँदा औपचारिक माध्यमबाट आयात हुने वस्तुको लागत बढ्छ । यस्तो बेला भन्सार छलेर सामान ओसार्ने गिरोह सक्रिय हुने जानकार बताउँछन् । औद्योगिक कच्चा पदार्थबाहेक अन्य वस्तुको भन्सार, अन्त:शुल्कजस्ता कर बढाउँदा चोरीपैठारी बढेर उल्टै राजस्व घट्ने र विधिसम्मत काम गर्ने व्यापारी मर्कामा पर्ने उनीहरूको तर्क छ ।  नेपाल व्यवसायी महासंघका अध्यक्ष तथा आयातकर्ता कुमार कार्की थुप्रै वस्तु चोरीपैठारीबाट आइरहेकाले विधिसम्मत कारोबार गर्नेलाई टिक्नै मुश्किल भइसकेको बताउँछन् । यसमा वर्षेनि भन्सार र अन्त:शुल्कको दर बढाउने सरकारकै कमजोरी रहेको उनले बताए ।  दक्षिणका सीमावर्ती क्षेत्रका भन्सार पोस्टबाहेकका ठाउँबाट वर्षभरि सामान ओसारपसार भइरहन्छ । कतिपयले स्थानीयलाई प्रयोग गरेर अनधिकृत आयात गर्छन् । सीमा नाकाबाट हुने अनधिकृत आयातका विषयमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भन्छन्, ‘बोर्डरमा साइकलबाट ओसारेर रातिराति ट्रकमा हाली देशका विभिन्न ठाउँमा पुर्‍याउने चलन छ । यस्तो सामानमा भन्सार, अन्त:शुल्क, भ्याट तिरिएको हुँदैन ।’  उच्च दरको करले गर्दा भारत र नेपालमा वस्तुको मूल्य अन्तर धेरै रहेको व्यवसायी बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजू मूल्यमा ठूलो अन्तर हुँदा अनधिकृत आयातनिर्यात बढ्ने बताउँछन् । करकै कारण भारतको तुलनामा नेपालमा सस्तो भएका बेला यताबाट ठूलो परिमाणमा सुपारी चोरी निकासी भएको र त्यस विषयमा भारतका तत्कालीन वाणिज्यमन्त्री तथा हालका अर्थमन्त्री निर्मला सीतारमणले असन्तुष्टि प्रकट गरेको उनले सुनाए । सीतारमणले नेपालले घरेलु बजारमा खपत हुनेभन्दा निकै बढी परिमाणमा सुपारी आयात गर्न दिएको भन्दै उच्चस्तरीय छलफलमा असन्तुष्टि प्रकट गरेको सैंजूको भनाइ छ ।  मूल्य अन्तर धेरै भएका वस्तु ठूलो परिमाणमा चोरीपैठारीका लागि तस्कर र सीमा नियमन गर्ने निकायका कर्मचारीबीचमै मिलेमतो हुन सक्ने आशंका गरिन्छ । त्यस्ता तस्करले राजनीतिक तहबाटै संरक्षण पाइरहेको भैरहवाका एकजना व्यापारीले दाबी गरे ।  ‘यस्तोमा कमाइ राम्रो हुन्छ र नेताले समेत भाग पाउँछ,’ ती व्यापारीले भने । अहिले पनि मुख्य गरी मूल्य अन्तर धेरै भएका वस्तुकै चोरीपैठारी धेरै भइरहेको उनले बताए । उनी त स्वदेशमै उत्पादन हुने वस्तु पनि चोरीपैठारी भइरहेको बताउँछन् । ‘नेपालमा भन्दा भारतमा उत्पादन लागत कम छ जसले गर्दा यहाँभन्दा सीमापारि वस्तु निकै सस्तोमा पाइन्छ,’ उनले भने, ‘सीमापारि र वारि मूल्य फरक हुनेबित्तिकै तस्करीको लाइन खुल्छ ।’ भारतबाट चोरीपैठारी भई आउने कुखुरा र अण्डाबाट पोल्ट्री व्यवसायी पनि हैरान छन् ।  २०७८ माघ दोस्रो साता महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानी काठमाडौंमै भारतबाट अनधिकृत रूपमा भित्त्याइएको डेढ करोड रुपैयाँ मूल्यको विदेशी मदिरा भेटेको थियो । प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, सिभास रिगल जस्ता विदेशी ब्रान्डका मदिरा भेटेको थियो ।  अहिले पनि देशका प्रमुख शहरका पसलमा भन्सार छलेर भारतबाट भित्त्याइएको मदिरा फेला परिरहेको समाचार आइरहेका छन् । गत वैशाखदेखि मङ्सिरसम्म सरकारले विदेशी मदिरालगायत केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला औपचारिक माध्यमबाट विदेशी मदिरा आयात ठप्प थियो । तर, त्यही अवधिमा चिभास रिगलको उत्पादक कम्पनीले ‘लन्च’ गरेको संस्करण केही दिनमै नेपाली बजारमा आइपुगेको नेपालमा चिभास रिगल आयात गरिरहेका एक व्यवसायीले बताए ।  मदिरा मात्र नभएर बिस्कुट, चकलेट, कस्मेटिक, विद्युतीय सामान, मोबाइल, चिनीलगायत असंख्य सामानको अनधिकृत आयात भइरहेको आयातकर्ता व्यवसायीको दाबी छ । नेपालमा उत्पादन नहुने र चोरीपैठारीबाट भित्रिन सक्ने वस्तुको मूल्य नेपाल र भारतमा धेरै फरक हुने गरी कर लगाउँदा प्रत्युत्पादक हुने नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठिया बताउँछन् । उनी त नेपालमा सवारीसाधनबाहेक सबै वस्तु अनधिकृत रूपमा आइरहेको दाबी गर्छन् । सवारी भने दर्ता गरेर मात्र चलाउन पाइने हुँदा अनधिकृत रूपमा आयात नहुने उनको भनाइ छ । अवैध आयात रोक्न नेपालको भन्सार, अन्त:शुल्क, मूल्य अभिवृद्धिकरलगायत सबै मिलाएर भारतको जीएसटीभन्दा बढी नहुने गरी कर लगाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘भन्सार महशुल पनि बढाउने, अन्त:शुल्क र भ्याट पनि लगाउने गर्दा ग्रे इकोनोमी बढेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  आयातका क्रममा हुने न्यून बीजकीकरणका पछाडि पनि उच्च दरको कर कै हात हुने व्यवसायी बताउँछन् । न्यून बीजकीकरणका सामानको बिल जारी नहुने हुँदा सरकारले पाउने मूल्य अभिवृद्धिकर र आयकरसमेत गुमिरहेको उनीहरूको तर्क छ । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल राजस्व बढाउन करका दर बढाउनु उचित नहुने बताउँछन् । ‘राजस्व बढाउन भन्सार र अन्त:शुल्कका दर बढाउनु ठीक होइन । तर, देशमा उद्योगधन्दा विकासका लागि उत्पादनमूलक उद्योगलाई बढावाचाहिँ दिनैपर्छ,’ उनले भने, ‘यसका लागि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर फरक गर्नुपर्छ ।’ तयारी वस्तुको भन्सार दर बढाउँदा सरकारले दैनिक उपभोग्य वस्तु हो वा विलासी भन्ने कुरामा ध्यान दिनुपर्ने अग्रवालको धारणा छ । नेपालमा ती वस्तु उत्पादनको अवस्थालाई पनि बेवास्ता गर्न नहुने उनले बताए । सरकारले आयात हुने सामानमा बढी कर लगाए पनि अनधिकृत आयात बढ्यो भने राजस्व वृद्धि हुँदैन ।  बढी राजस्व संकलन गर्न अन्त:शुल्क र भन्सार दर ठूलो आकारमा भइरहेको चोरीपैठारी निरुत्साहित गर्ने खालको हुनुपर्ने व्यवसायीको माग छ । चेम्बर अध्यक्ष मल्ल सरकारले विश्व व्यापार संगठनको मान्यताअनुसार भन्सार महशुल न्यून गर्दै कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउँछन् । सन्दर्भ मूल्यको अभ्यास पनि हटाउनुपर्नेमा उनले जोड दिए ।  कसैले कर तिरेर ल्याउने कसैले त्यत्तिकै ल्याउने स्थिति हुन नहुनेमा जोड दिएका मल्लले बिल लिने/दिने अभ्यासलाई व्यापक बनाई तल्लो तहसम्म पुर्‍याउन आग्रह गरे । यसो गरे चोरीपैठारीको सामानको विक्री रोकिने उनको भनाइ छ ।  परिसंघ वरिष्ठ उपाध्यक्ष अग्रवाल राजस्व चुहावट नियन्त्रण गर्न बोर्डरमा रहेका सरकारी संयन्त्रको प्रभावकारिता बढाउनुपर्ने सुझाउँछन् । ‘तस्करी नियन्त्रणमा राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी लगायत निकायको प्रमुख भूमिका हुन्छ । उनीहरूले कडाइका साथमा निगरानी गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘चोरीपैठारीको सामान बोर्डरमा मात्रै विक्री हुँदैन भित्री शहरमा पनि आउँछ ।’   

सम्बन्धित सामग्री

स्मरणशक्ति बढाउने केही उपाय

स्मरणशक्ति कसरी बढाउने ? यस विषयमा धेरै युवालाई चासो हुन्छ । यसका लागि सबैभन्दा पहिले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिनुपर्छ । किनकि, अव्यवस्थित जीवनशैली, तनाव, अस्वस्थ खानपान, अनिद्राजस्ता विभिन्न कारणले...

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ- सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेका र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले केही प्रक्रियाहरू पुरा गरेर उक्त  विधेयक चाँडै सदनमा पेस गर्ने […]

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि  सन्तानले नागरिकता नपाएको अवस्था छ । त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ ।’ बजेट पारित भएपछि स

बजेटले मूल्य बढाउने चिन्ता

बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएको र यसले मूल्यवृद्धि बढाउने उनीहरुको भनाई छ।...

सरकारी  कर्मचारीको तलब बढाउने तयारी

सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  आर्थिक  वर्ष  २०७९/८०  को  बजेटमार्फत  कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।  पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन &

साउदी अरामकोले तेलको उत्पादन बढाउने

साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोले तेलको उत्पादन ठूलो मात्रामा बढाउने भएको छ। तेल उत्पादनका लागि आवश्यक लगानी अरामकोले बढाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा मुनाफा दोब्बर भएपछि अरामकोले लगानी दोब्बर गर्ने भएको हो । अरामकोले आउँदो पाँच वर्षमा तेल उत्पादन बढाउने उद्देश्य लिएको छ। पछिल्लो महिना मागको […]

दूधको मूल्य बढाउने तयारी

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको माग अनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डको छ ।सरोकारवाला निकायसँग मूल्य बढाउने विषयमा प्रारम्भिक रुपमा छलफल भएको बोर्डले जानकारी दिएको छ । […]

यौनशक्ति बढाउने यो सर्प

एजेन्सी, २० कात्तिक । यो दुई मुख भएको सर्प हो । यो सर्प तस्करसँग बरामद गरिएको हो । तस्करले अन्र्तराष्ट्रिय १० लाख रुपैयाँ राखेर बेच्न खोजेको थियो । सर्पलाई यौन शक्ति बढाउने औषधिका प्रयोग गरिने जनाइएको छ । सर्पबाट इन्डोनेशिया, चीन र साउदी अरब जस्ता देशहरुमा यौन शक्ति बढाउने औषधि बनाउने धेरै पुरानो चलन हो […]

इन्टरनेटको मूल्य बढाउने निर्णय

इन्टरनेट कम्पनीले डेढ सयदेखि तीन सय रूपैयाँसम्म मूल्य बढाउने तयारी गरेका हुन्। ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले जनाएक...

खै विद्युत खपत बढाउने कार्ययोजना ?

१९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति विद्युत खपत हालकोभन्दा ९० युनिट बढाउने लक्ष्य राखेकोमा पहिलो ७ महिनामा ७ युनिट मात्र बढेको छ । सरकारले विद्युत खपत बढाउने कार्ययोजना नल्याएकाले लक्ष्य पूरा नहुने देखिएको छ । आगामी वर्षायाममा भारतमा विद्युत निर्यात गर्ने तयारी गरिरहेको सरकारले देशभित्रै खपत बढाउने योजनालाई प्राथमिकतामा राखेको […]