भागरथी भट्टको बलात्कार-हत्या अभियोगमा सहपाठी पक्राउ, अपराध स्वीकार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै एक सहपाठीलाई पक्राउ गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने १७ वर्षीया दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले अपराधसमेत स्वीकार गरिसकेका छन् । अभियुक्तलाई आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । फुपुको बदला लिन पहिलेदेखि नै भागरथीको हत्या गर्ने योजना बुनेको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । दिनेश र भागरथीको परिवारबीच पहिलेदेखि नै बोलचाल नरहेको खुलेको छ । दिनेश २१ माघमा भागरथीको हत्या गर्नैकै लागि विद्यालयबाट अगाडि नै निस्केको अनुसन्धानबाट खुलेको छ। भागरथीको हत्या गर्नका लागि दुई घण्टा अघि नै विद्यालयबाट निस्केर बाटो ढुकेर बसेको प्रहरी समक्ष दिनेशले बयान दिएका छन् । भागरथी स्कूलबाट आएपछि लडाएर घाइते बनाएको र बलात्कार प्रयास गरेको अनि घाँटी थिचेर हत्या गरेको अभियुक्तले बताएको प्रहरी स्रोतले जनाएको छ । हत्याको दुई दिनसम्म चुपचाप लागेर बसेका दिनेश त्यसपछि भने उनको लागि न्याय माग्दै भएका प्रदर्शनमा सहभागी हुने गरेका थिए । दिनेशलाई अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ । माघ २१ गते विद्यालयबाट घर नफर्किएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको अर्को साँझ घर नजिकै स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

सम्बन्धित सामग्री

भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन महिला कानुन व्यवसायीको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले …