क्यासीको ३७ औं सम्मेलन : नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७ औं सम्मेलन उद्घाटन भएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको जलविद्युत, सूचना प्रविधि क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको हो ।  नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटनपछि सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताउनुभयो ।  एशिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको विचार उहाँको थियो ।  विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरूको भूमिका निर्णायक हुने उहाँले बताउनुभयो । साथै उहाँले एशिया–प्रशान्त द्रुतरूपमा विस्तार भइरहेको आर्थिक क्षेत्र भएको बताउनुभयो ।  क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरू सदस्य रहेको संस्था हो । काठमाडौंमा जारी सम्मेलनमा करीब ६० विदेशी उद्यमी व्यवसायीहरूको सहभागिता छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मञ्चहरूमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्ने उनले धारणा राखे ।   अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीहरूलाई आग्रह गरे । नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरूको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए । सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एशिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए ।  दुई उदयीमान अर्थतन्त्रहरू चीन र भारतको बीच अवस्थित नेपाल एशिया प्रशान्त क्षेत्रका उद्यमीहरूका लागि आकर्षक लगानी गन्तव्य हुने उनको धारणा थियो । एशिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता, नीति निर्माता, सरकारी र निजी क्षेत्रको सहभागिता रहेको यो सम्मेलन नेपालका लागि थप सहयोगी हुने उनले बताए ।  यसैगरी नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको बताए । पर्यटन पूर्वाधारहरू होटल, केवलकार, थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको उनले बताए । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढ्दै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे ।  क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रो पटक सम्मेलन आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । दिगो एवं वातावरणमैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुुभव आदानप्रदान गर्न र हाम्रा आर्थिक सम्बन्धहरू विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने उनको दाबी थियो ।    क्यासीका अध्यक्ष पिटर म्याकमुलिनले क्यासीको ३७ औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनले बताए ।  परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरूको छाता संस्था हो । सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनको मुख्य थिम ‘चेम्बर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फ्युचर’ रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो ।   यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेताहरू र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरू, सरकारी प्रतिनिधिहरू समेत गरी करीब २ सयभन्दा बढीको सहभागिता छ ।  सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्त्वपूर्ण विषयहरूमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरू र नीति निर्माताहरूले विचार विमर्श गर्ने छन् ।  निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो ।  सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरूबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्द्धनमा एक सक्रिय साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ । 

सम्बन्धित सामग्री