४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]

सम्बन्धित सामग्री

बंगलादेशमा बिजुली निर्यात सम्झौता अर्को महीना हुने

काठमाडौं । नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न बंगलादेश सरकार सहमत भएको छ । विद्युत् किनबेचका लागि आगामी महीना दुई देशका अधिकारीबीच सम्झौता हुने बताइएको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको जानकारी दिँदै नेपालबाट ४० मेगावाट आयात गर्न अर्को महीना सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।  बंगलादेशी सञ्चारमाध्यमका अनुसार हमिदले बंगलादेशस्थित भारतीय उच्च आयोगका प्रणय बर्मासँगको भेटवार्ताका क्रममा नेपालबाट विद्युत् आयात गर्ने प्रक्रियामा थप प्रगति भएको बताएका हुन् । भेटवार्ताका क्रममा बंगलादेश र भारतले ऊर्जाक्षेत्रको विकासका लागि मिलेर काम गर्ने ठूलो अवसर रहेको बताउँदै नसरुलले भने, ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्न चाहन्छौं । नेपाल र भुटानबाट जलविद्युत् ल्याउने प्रक्रियामा राम्रो प्रगति भएको छ ।’  उनले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने लगभग निश्चित भएको र नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको बताए । हमिदले नेपालदेखि बंगलादेशसम्म डेडिकेटेड लाइन भए विद्युत् व्यापारले गति लिने र त्यसले भारतलाई पनि फाइदा पुग्ने बताएका छन् । दुई देशबीच विद्युत् व्यापार सम्झौताका लागि २ साताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशको राजधानी ढाका पुगेको थियो । प्राधिकरणको टोलीले बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) सँगको विद्युत् विक्री वार्ता सकारात्मक रूपमा अगाडि बढे पनि मूल्य टुंगो नलागेको बताएको थियो । मूल्य टुंगो लगाउन र विद्युत् किनबेचलाई अन्तिम रूप दिन चाँडै अर्को सम्झौता हुने बताइएको थियो । यसअघि भएको भेटमा बंगलादेश सरकारसँग विद्युत् महशुलको विषयमा सहमति भइसके पनि अन्तिम सम्झौता हुन बाँकी रहेकाले अहिले नै मूल्यको विषयमा केही बोल्न नसकिने प्राधिकरणको टोलीसँगै छलफलका लागि ढाका पुगेका कानूनविद् सेमन्त दाहालले बताए । आगामी असारदेखि ४० मेगावाट विद्युत् निर्यात गर्ने गरी अर्को महीना अन्तिम सम्झौताको तयारी भएको उनले बताए । प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म वर्षायामका ६ महीना ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् विक्री सम्झौता ५ वर्षको गर्न लागिएको छ । नेपालले ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ ।

भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच चाँडै नै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षमा नेपाल र भारतका ऊर्जा सचिवहरूबीच छलफल भएको छ । उक्त छलफलमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशमा छलफल गरेको थियो । बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको उनले बताए । अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार मेगावाट बराबर पुर्‍याउने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । अहिले उक्त प्रसारण लाइनबाट ८०० मेगावाट विद्युत् आयातनिर्यात हुँदै आएको छ । उक्त लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।  टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सम्भावित विकल्पबारे जेटीटीमार्फत अध्ययन गराउने सहमति भएको छ । साथै नेपाल र भारतबीच विद्युत् आयातनिर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।

पर्यटन बढाउन छिमेकीतिर हेरौं

नेपालले छिमेकी मुलुक भारत, चीन र श्रीलंकाबाट पर्यटक ल्याउने कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ भने तुलनात्मक रूपमा पाकिस्तान र बंगलादेशलाई कम प्राथमिकता । यद्यपि त्यहाँ पर्यटन प्रवर्द्धनका कार्यक्रम नै नभएका भने होइनन् । त्यहाँका पर्यटकले नेपाल आउन खासै रुचि नराख्ने सोचाइ रहेकाले यसो भएको हुन सक्छ । तर, पछिल्लो समय बंगलादेशबाट विमान चार्टर गरी ठूलो संख्यामा बंगलादेशीहरू नेपाल आएकाले यसले सम्भावनाको नयाँ ढोका खोलेको छ । अब पर्यटन व्यवसायी, सरकार र पर्यटन बोर्डले नयाँ रणनीतिले काम गर्नुपर्ने देखिएको छ ।  शुक्रवार २०० भन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आयो । उनीहरूको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे । पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजासहित स्थानीय पहिचान झल्कने नाचगान गरिएको थियो । बंगलादेशबाट पहिलोपटक एकसाथ यति धेरै पर्यटक नेपाल आएको मानिन्छ । शुक्रवार र शनिवार गरेर बंगलादेशबाट करीब ७०० पर्यटक बिदा मनाउन नेपाल आएको बताइन्छ । पछिल्लो ३ वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको पाइन्छ ।  बंगलादेशी पर्यटक यसरी आउनु निकै सकारात्मक भए पनि तिनको रुचिअनुसार पर्यटन प्याकेज बन्यो कि बनेन भनेर हेर्नुपर्ने हुन्छ । बंगलादेशीहरूका लागि नेपाल सस्तो गन्तव्य हो । नेपालको प्राकृतिक सौन्दर्य र साहसिक खेलहरूमा भने उनीहरू मजाले रम्न सक्छन् । चीनबाट बौद्ध पर्यटक ल्याउने भने पनि नेपालको प्राकृतिक सौन्दर्यकै कारण उनीहरू नेपाल आइरहेका छन् । तर, उनीहरूले यहाँ आएर गर्ने पर्यटकीय गतिविधि भने निकै कम छन् । साहसिक खेलमा चिनियाँहरूको रुचि छ । तर, त्यसअनुसार प्रडक्ट भने नेपालले ल्याउन सकेको छैन । बंगलादेशी पर्यटकहरू पनि त्यस्तै हुन् । त्यसैले नेपाली पर्यटनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता यसले देखाएको छ । नेपालको भौगोलिक बनोटका कारण पर्वतीय पदयात्राका लागि धेरै भन्दा धेरै पर्यटक आइरहेका छन् । बंगलादेशी पर्यटकमा त्यस्तो सोख नहुन सक्छ । त्यसो हुँदा उनीहरूको खास रुचि के मा छ भन्ने बुझेर त्यसअनुसार प्रडक्ट बनाउन सक्यौं भने बंगलादेश हाम्रा लागि दिगो पर्यटन बजार बन्न सक्छ ।  बंगलादेशी पर्यटकले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको प्रतिक्रिया दिएको पाइन्छ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृतिप्रति उनीहरूको आकर्षण रहेको देखिन्छ । त्यसो त नेपालीहरूले बंगलादेशमा पर्यटक प्रवर्द्धनका कार्यक्रम गर्दै नगरेको भने होइन । नेपालका १४ वटा टुर अपरेटरले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई पर्यटनसँग सम्बद्ध आकर्षक प्याकेजबारे जानकारी गराएका थिए । त्यसै गरी नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्य तथा नेपालमा उपलब्ध पर्यटकीय सुविधाका बारेमा सूचना तथा ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशी पर्यटकका लागि सहजरूपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराएको थियो । कोभिडबाट प्रभावित पर्यटनलाई पुनर्जीवित गर्ने क्रममा भएका यी कार्यक्रमको परिणति नै हुन सक्छ अहिले भएको बंगलादेशी पर्यटकको आगमन ।  बंगलादेशलाई आर्थिक रूपमा एशियाली टाइगर मानिन्छ । दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको बंगलादेशमा अन्तरराष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ ।  प्रतिवर्ष त्यहाँ औसतमा ७ प्रतिशतभन्दा बढीले विदेश घुम्न जानेको संख्या बढिरहेको छ । गतवर्षमात्रै २० लाखभन्दा बढी पर्यटकले छिमेकी मुलुक भ्रमण गरेको पाइन्छ । बंगलादेशमा हरेक ३ वर्षमा सरकारी र अर्ध सरकारी संस्थाहरूले १ महीनाको तलबसहित २ हप्ता पर्यटन बिदा दिने गरेका छन् । स्रान्ति विनोदोन नाम राखिएको यस कार्यक्रमका लागि विशेष भत्ताको व्यवस्था गरेर सरकारले आफ्ना नागरिकलाई देशभित्र वा बाहिर घुम्न जान प्रोत्साहित गरेको छ । यी पर्यटक भारत, थाइल्यान्ड, मलेशिया र सिंगापुरमा घुम्न जाने गरेको पाइन्छ । त्यता जाने पर्यटकलाई नेपाल ल्याउन सकियो भने बंगलादेश राम्रो पर्यटक बजार बन्न सक्छ ।  नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरूको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीको गहिरो चासो र उत्सुकता रहेको छ भन्न सकिन्छ । बंगलादेशको कुल गार्हस्थ्य उत्पादन सन् २०२१–२०२२ मा ६.४ प्रतिशतले वृद्धि भएको छ । यो दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक वृद्धिसँगै नागरिकको खर्च गर्न सक्ने सामथ्र्य पनि बढेको छ । त्यसैले अहिले उनीहरूबीच घुम्न जाने संस्कृति बढ्न थालेको छ । विदेश भ्रमणका लागि सस्तो र नजिकको गन्तव्य नेपाल नै हो । ढाकाबाट काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध छ । त्यस्तै नेपालमा बेला बेलामा भएका बंगलादेशको उत्पादनको प्रदर्शनीले पनि उनीहरूलाई नेपालप्रति आकर्षण बढाएको छ । अझ पछिल्लो समय विद्युत् व्यापारका लागि बंगलादेश र नेपालबीच वार्ता भइरहेको छ र ४० मेगावाट बिजुली उसले किन्ने तयारी गरिरहेको छ । यो ठूलो तथ्यांक होइन, बंगलादेशसँगको बढ्दो साझेदारी हो । बंगालदेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र त्यो बिजुली आफ्नो देशमा लैजाने योजना पनि बनाएको छ । यी सबै कुराले बंगलादेशमा नेपालको चर्चा बढेको छ जसले गर्दा बंगालादेशी पर्यटकका आगमन बढ्दै जाने देखिन्छ ।  बंगलादेशमा थुपै्र नेपाली विद्यार्थी छन्, खासगरी मेडिकल शिक्षामा । तिनका माध्यमबाट उनीहरूले नेपालबारे सकारात्मक धारणा बनाएका छन् । उदीयमान अर्थतन्त्र भएको बंगलादेशसँग नेपालको व्यापारघाटा भने बढ्दो छ । त्यसलाई सन्तुलनमा ल्याउन पनि त्यहाँका पर्यटकलाई नेपाल ल्याउन जरुरी छ ।  नेपालको पर्यटन आगमन तथ्यांकअनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तत्पश्चात् विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च कमी आयो । अहिले दुवै देशका टुर अपरेटर पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी छन् र त्यसैअनुसार काम गरेको पनि पाइन्छ । छिमेकी राष्ट्र बंगलादेशबाट हुनसक्ने पर्यटकको आगमनले नेपालको पर्यटनलाई ठूलो राहत पुग्नसक्ने देखिन्छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाइगुडी रेलवे स्टेशनसम्म सीधा रेलसेवाको शुरुआत हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको राम्रो स्रोत हुन सक्छ । नेपाल र बंगलादेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल १ घण्टामै काठमाडौं आइपुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहज रूपमा पुग्न सकिने भएकाले आगामी दिनमा बंगलादेशी पर्यटकको संख्या बढ्ने देखिन्छ ।  पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको बजार हुन सक्छ । पाकिस्तानीहरूमा पनि भ्रमणमोह पाइन्छ । उनीहरूका लागि नजिकको गन्तव्य नेपाल नै हुन सक्छ । सार्क मुलुक भएकाले भिसाको झन्झट पनि छैन । अनएराइभल भिसा पाइने भएकाले पाकिस्तानी पर्यटक नेपाल ल्याउन सकिन्छ । पाकिस्तानसँग सीधा हवाई सम्पर्क हुने हो भने ३ घण्टामा पाकिस्तान पुग्न सकिन्छ । त्यसैले नेपाल चेम्बर अफ कमर्सले पाकिस्तानी राजदूतसमक्ष हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । पाकिस्तानसँग व्यापारिक सम्बन्ध बढाउन पनि हवाई सेवा आवश्यक छ । नेपालका मसलासम्बन्धी कृषि उत्पादन पाकिस्तानमा निर्यात गर्न सकिन्छ भने पाकिस्तानबाट छाला र काठका सामान आयात गर्न सकिन्छ । विगतमा पाकिस्तानी व्यापार मेला हुने गरेको थियो जुन अहिले अलिक शिथिल देखिएको छ ।  नेपालबाट नजिक रहेका बंगलादेश र पाकिस्तान पर्यटनको स्रोत बजार हुन सक्छ । साहसिक खेल, पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन आदिका लागि पर्यटन प्रडक्ट बनाएर राम्ररी प्याकेज बनाउने हो भने सानै भए पनि नेपाली पर्यटनलाई ठूलै टेवा पुग्ने देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।