काठमाडौं (अस) । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न भएको छ । शनिवारदेखि काठमाडौंको भुकृटीमण्डपमा जारी उक्त एक्स्पो सोमवार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोलाई एनएमबि बैंकले मुख्य प्रायोजन गरेको थियो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय रहेको एक्स्पोमा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर थिए । यस्तै आईएफसीलगायत संघसंस्थाहरूले प्रायोजनका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेका थिए ।
एक्स्पोको समापन सत्रमा इप्पानले स्वदेशमा उत्पादित विद्युत्को विक्री वितरण तथा निर्यातको काम निजीक्षेत्रलाई दिन माग गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसालसमक्ष यस्तो माग गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्र आर्थिक विकासको मुख्य आधार भएको भन्दै यसको विकास गर्नेगरी सरकार अघि बढेको बताएकी छिन् । यस्तै, बजारको सुनिश्चितता भएपछि मात्र विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाउने उद्घोष उनले गरिन् ।
एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत्सम्बन्धी विषयगत ६ ओटा अन्तरक्रिया सञ्चालन गरिएको थियो । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको समेत सहभागिता थियो ।