मंसिर ८, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कपनीले ७ वर्षे अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्कासन तथा विक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
उक्त ऋणपत्र खरीदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिनु पर्नेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।