संस्थागत सामाजिक उत्तरदायित्वको औचित्य

संस्थागत सामाजिक उत्तरदायित्वको नारा निजी तथा सार्वजनिक संस्थानमा जोडतोडले अगाडि बढेको देखिन्छ । विश्वमा यसबारे सर्वव्यापी परिभाषा नभएता पनि पारदर्शिता, नैतिकता, सामाजिकता, कानूनको पालना, वातावरण संरक्षण, उपभोक्ताको हित र कल्याणकारी कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिन्छ । कुनै पनि संस्थामा कार्यरत कर्मचारीले नैतिक र कानूनी आचरण पालना गर्दै ग्राहकलाई मुस्कानसहितको सेवा दिएका छन् कि छैनन् भन्ने कुरा पनि संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पाटो हो । हरेक संगठनको उद्देश्य बढीभन्दा बढी नाफा कमाउने र शेयरहोल्डरको मूल्य एवं कम्पनीको उत्पादकत्व र शाख वृद्धि गर्ने कार्य गरिरहँदा वातावरण संरक्षण, सामाजिक सेवा, ग्राहकको हित, नैतिकता, संस्थागत सुशासन र कानूनको पालनालाई भने बेवास्ता गर्नु हुँदैन । यसको पालनाबाट नै कम्पनीको सफलता र व्यवसायको शाख वृद्धि हुन्छ । त्यसैले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य क्षेत्र परोपकारी कार्यमा मात्र सीमित नभै बृहत् छ । पछिल्ला दिनमा संस्थागत सामाजिक उत्तरदायित्व व्यवसाय प्रवर्द्धनको केन्द्र बन्न पुगेको देखिन्छ । सरकारले समेत संगठनको कुल नाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ । तर, कुन संस्थाले यस क्षेत्रमा कति रकम खर्च गरे र कुन कुन शीर्षकमा खर्च गरे भन्ने कुराको लेखाजोखा राख्ने वा प्रभावकारी नियमन गर्ने काम भने भएको छैन । मन्दिरमा रकम दान गर्ने, वृद्धाश्रममा वृद्ध नागरिकलाई सेवा गर्ने, विद्यालयलाई कम्प्युटर प्रदान गर्ने, प्राकृतिक प्रकोपमा परेका नागरिकलाई आर्थिक राहत दिने जस्ता परोपकारी कार्य पनि संस्थागत सामाजिक उत्तरदायित्व हो तर यतिले मात्र संस्थागत सामाजिक उत्तरदायित्वको अर्थ र कार्य पूरा हुँदैन । संस्थागत सामाजिक उत्तरदायित्व भनेको वातावरण संरक्षण गर्ने, संस्थागत सुशासन पालना गर्ने, सर्वसाधारणलाई उनीहरूको इच्छा र आकांक्षा बुझी गुणस्तरीय सेवा छिटोछरितो रूपमा उपलब्ध गराउने र सामाजिक हित र प्रतिष्ठालगायतको पालना गर्ने हो । पछिल्ला दिनहरूमा मौलाएको परोपकारी कार्यमा केही रकम खर्च गर्ने र सडकमा ब्यानर लिएर जनचेतना जगाउने नाममा केही किलोमिटर सामूहिक र संस्थागत नाममा हिंड्ने कार्यलाई मात्र संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिएको पाइन्छ  । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधि बढ्दै गइरहेको देखिन्छ । संस्थागत सामाजिक कार्यसम्पादन, नागरिक व्यवहार, स्टेकहोल्डरको हित र व्यवस्थापन संगठनको कुशल नेतृत्वले मात्र गर्न सक्ने हुँदा यसतर्फ सम्बन्धित संगठनको सञ्चालक समिति, महाप्रबन्धक वा कार्यकारी र अन्य कर्मचारीहरू पनि उत्तिकै चनाखो हुनुपर्छ । कुनै पनि संगठन समाजमा नै जन्मिन्छ, हुर्किन्छ र समाजमा नै अन्त्य हुन्छ । समाजबाट नै कच्चा पदार्थलगायत स्रोत र साधन उपलब्ध गर्दछ । त्यसबाट उत्पादन गर्दछ र उत्पादित वस्तु तथा सेवाको विक्रीवितरण वा बजारीकरण पनि समाजमा नै गर्छ । त्यसैले हरेक संगठन समाजप्रति उत्तरदायी हुन जरुरी छ । तसर्थ संस्थागत सामाजिक उत्तरदायित्व आजको अपरिहार्य आवश्यकता हो भन्नुमा अत्युक्ति नहोला ।   समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिने कार्य, खानेपानी, ढल, सडक निर्माण लगायत ग्रामीण विकास, रक्तदान, स्वास्थ्य शिविरदेखि वस्तु तथा सेवाको उपलब्धताद्वारा जनसाधारणको न्यूनतम आवश्यकता पूरा गर्ने कार्यसम्म पनि संगठनबाट नै हुने हुँदा कुनै पनि संगठन संस्थागत सामाजिक उत्तरदायित्वबाट विमुख हुन सक्दैन । विश्वव्यापीकरण एवं प्रविधिको तीव्र विकासका कारण हरेक संगठनले पछिल्ला दिनहरूमा एक आपसमा कडा प्रतिस्पर्धा गर्नु परेको छ । अर्कोतर्फ उपभोक्ता पनि दिन प्रतिदिन वस्तु तथा सेवाको गुणस्तर र उपलब्धताप्रति सचेत बन्दै गएको अवस्थामा संगठनमा काम गर्ने कर्मचारीलाई खुशी तुल्याउने, उचित ज्याला र तलबभत्ताको व्यवस्था गर्ने, स्वस्थ प्रतिस्पर्धा गर्ने, दक्ष कामदारको विकास गरी वस्तु तथा सेवाको गुणस्तरमा ध्यान केन्द्रित गर्ने कार्यले मात्र संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको मानिन्छ । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य चालकमा कानूनको पालना, सामाजिक योगदान, पारदर्शिता एवं इमानदारी र सहयोग एवं सार्वजनिक अपेक्षा पूरा गर्नु हुन् । संगठनको बजार शाखमा वृद्धि, स्टेकहोल्डरसँगको आत्मीयतामा वृद्धि, व्यवसायको उत्पादकत्व र नाफामा वृद्धि, कानूनी झन्झटबाट मुक्ति, नयाँ व्यावसायिक अवसरको प्राप्ति र असल व्यावसायिक वातावरणको निर्माणलगायतका पक्षबाट संस्थागत सामाजिक उत्तरदायित्व समाजको लागि मात्र नभै संगठन स्वयंको लागि पनि निकै फलदायी छ भन्ने कुरा प्रमाणित हुन्छ । संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी विज्ञ क्यारोल भन्छन्, ‘कुनै पनि संगठनको आर्थिक उत्तरदायित्व हुन्छ जसबाट कम्पनीले नाफा कमाई कम्पनी स्वयं र लगानीकर्ताको हित कायम गर्न सक्दछ ।’ कम्पनीको कानूनी उत्तरदायित्व हुन्छ जहाँ संगठनले नियम कानूनको पालना, कर्मचारीको स्वास्थ्य र सुरक्षा सम्बन्धी हित, स्वस्थ प्रतिस्पर्धा आदिलाई आत्मसात् गर्नु पर्दछ । नैतिक उत्तरदायित्वमा असल कार्य निष्पक्षतापूर्वक गर्ने र वातावरण प्रदूषित हुने कार्य नगर्ने एवं कम्पनी वा संगठनको हित विपरीतका कार्य नगर्ने कुरालाई आत्मसात् गर्नु पर्दछ । अन्त्यमा परोपकार सम्बन्धी उत्तरदायित्वको पालना समेत गर्नु पर्दछ । यसमा नाफाको निश्चित रकम परोपकारी कार्यमा खर्च गर्ने वा लगानी गर्ने कार्य पर्दछ ।   नेपालको परिवेशमा संस्थागत सामाजिक उत्तरदायित्वको विश्लेषण गर्दा संगठनले दिने सेवा गुणस्तरीय र छिटोछरितो नभएको, सामाजिक उत्तरदायित्वमा हुने गरेको खर्च पारदर्शी नभएको, सर्वसाधारण वा सेवाग्राहीले सार्वजनिक संस्था वा संगठनबाट सेवा लिँदा अनेक सास्ती खेप्नु परेको, संस्थागत सुशासनको पालना नभएको, चर्को मूल्य वृद्धि गरेको, कालोबजारी गरेको, मिसावट गरेको लगायतका गुनासाहरू दिनहुँजसो सुन्नमा आइरहन्छ । त्यसैले सबै क्षेत्रमा कार्यरत संगठनले नाफा मात्र नहेरी  यसप्रति चनाखो भई जनउत्तरदायी कार्य गरेमा मात्र संगठनको छवि दिगो हुन्छ र संस्थागत सामाजिक उत्तरदायित्वको पनि पालना हुने कुरामा कसैको विमति नरहला । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

सम्बन्धित सामग्री

संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अलग्गै ऐन बनाइने

बैंक तथा वित्तीय संस्था र वित्तीय क्षेत्रका कम्पनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)सम्बन्धी खर्चको नियमन गर्न छुट्टै ऐन बनाइने भएको छ । विभिन्न कम्पनी एवं संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत रकम सिएसआरमा...

हिमालयन बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डा. सन्यम बजिमय र उनको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा […]

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं, १६ मंसिर। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको हो। दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने […]

महालक्ष्मी बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ। विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो। यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ। हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक

हिमालय एअरलाइन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको विवरण सार्वजनिक गरेको छ ।  एअरलाइन्सले महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागत सामाजिक उत्तरदायित्त्वहरूको प्रतिवेदन जारी गरेको हो । हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरे ।  प्रतिवेदन विमोचनमा दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानि

हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन

हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ ।आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍याउने खालका कार्यहरू पनि जारी राखेको हिमालय एयरलाइन्सले जनाएको छ ।हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसमा हिमालय एयरलाइन्सको दृष्टिकोण र योगदानहरूको प्रगतिको […]

हिमालय एअरलाइन्स्द्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै, एअरलाइन्स्ले यही श्रावण १८ गते काठमाडौंस्थित होटल याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्र...

संस्थागत सामाजिक उत्तरदायित्व

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नेपालका वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा गरेको खर्च सुगम ठाउँमा बढी भएको र पिछडिएको स्थानमा ज्यादै कम भएको देखाएको छ । नेपालमा सीएसआर खर्चबारे स्पष्ट व्यवस्था नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको नियामक राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई यस शीर्षकमा अनिवार्य खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, नेपालमा यस शीर्षकमा हुने खर्चबारे मापदण्ड र प्रावधान अझै राम्ररी स्पष्ट भएको पाइँदैन । तैपनि वित्तीय संस्थाहरूले जसरी खर्च गरिरहेका छन् त्यसलाई सकारात्मक नै भन्नुपर्ने हुन्छ । यद्यपि यसमा सुधार गर्नुपर्ने क्षेत्र भने यस अध्ययनबाट प्रशस्तै देखिएका छन् । बैंकहरूले सीएसआरसम्बन्धी नियम पालना गर्नु सकारात्मक हो तर यसमा अनुगमन नपुगेको देखिन्छ । यसलाई प्रभावकारी बनाउन नियम र मार्गदर्शनहरू अलि स्पष्ट बनाइदिनुपर्छ । कम्पनीहरूले समाजमा व्यवसाय गरेर मुनाफा आर्जन गर्ने हुनाले समाजप्रति उनीहरूको दायित्व हुन्छ र मुनाफाको केही अंश समाजकै लागि खर्च गर्नुपर्छ भन्ने मान्यता पछिल्लो समय स्थापित हुँदै आएको छ । सीएसआरबारे विभिन्न देशले फरक फरक मोडल लागू गरेको पाइन्छ । नेपालमा त्यस्तो खास मोडल नभए पनि यसलाई कानूनी रूपमा सम्बोधन गर्न प्रयास भने गरिएको छ । औद्योगिक व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको बुँदा नं ४८ मा वार्षिक १५ करोडभन्दा बढी कारोबार गर्ने सबै प्रकृतिका उद्योगहरूलाई मुनाफाको १ प्रतिशत छुट्ट्याई योजना बनाएर सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यसलाई कार्यान्वयन नगरेमा कारोबारको शून्य दशमलव ७५ प्रतिशत रकम जरीवाना गर्ने व्यवस्थासमेत गरिएको छ । तर, सरकारले कार्यविधि नबनाउँदा ऐनको यो प्रावधान अझै लागू भएको छैन । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामाजिक उत्तरदायित्व कोष परिचालनसम्बन्धी कार्यविधि बनाउने भने पनि हालसम्म यो बनेको पाइँदैन । नेपालमा सीएसआर कुन मोडलमा लागू गर्ने भन्ने निर्क्योल पनि भएको छैन । त्यही भएर बैंक तथा वित्तीय संस्थाबाहेक अन्य क्षेत्रले अनिवार्य रूपमा यस शीर्षकमा खर्च गरेको पनि पाइँदैन । स्वेच्छाले खर्च गर्ने केही कर्पोरेट हाउसहरू नभएका भने होइनन् । त्यस्तै सीएसआरको परिभाषा पनि पाइँदैन । सीएसआरको एक किसिमको सिद्धान्तले खर्च गर्नेको नाम पनि कसैलाई थाहा दिन नहुने गुप्त दानजस्तो हुनुपर्छ भनेको छ । यसरी कम्पनीहरूले खर्च गर्ने कुरा सम्भव नहोला । त्यस्तै आफ्नो व्यवसायसँग सम्बद्ध नभएको क्षेत्रमा भएको खर्च चाहिँ सीएसआर हो, तर आफ्नो व्यवसायलाई प्रत्यक्ष वा परोक्ष रूपले दीर्घकालमा समेत सघाउने खालका खर्चहरू भने व्यवसाय प्रवर्धनात्मक खर्च हो भन्ने सर्वमान्य सिद्धान्त पाइन्छ । नेपालमा आफ्नो छवि राम्रो देखाउन गरिने खर्चलाई सीएसआर खर्च भनेर देखाउने गरिएको छ । देख्दा परोपकार देखिने तर आफ्नो छवि राम्रो देखाउने यस्ता काममा भएको खर्च वस्तुतः प्रवर्द्धनात्मक खर्च हो । बैकले मात्रै नभएर सबै कर्पोरेटहरूले गर्ने यही हो र यो एक प्रकारको मार्केटिङ हो । अन्य क्षेत्रले यस शीर्षकमा गरेका खर्चबारे कुनै अध्ययन भएको देखिँदैन तर बैंकिङ क्षेत्रले गरेका खर्चबारे भने राष्ट्र बैंकले अध्ययन गरेको छ । अध्ययनको निष्कर्ष अन्य क्षेत्रमा पनि लागू गर्न सहयोग मिल्न सक्छ । बैंकहरूले गरेको सीएरआर खर्चमा प्रादेशिक सन्तुलन नमिलेको देखिन्छ । राष्ट्र बैंकले यस सम्बन्धमा निर्देशन दिए पनि कुल सीएसआरको ६८ प्रतिशत खर्च काठमाडौंमा मात्रै भएको छ । विकासमा पिछडिएको कर्णाली क्षेत्रमा सबैभन्दा कम खर्च भएको छ । अबका दिनमा बैंकहरूले यसमा ध्यान दिनुपर्ने देखिन्छ । बैंकहरूले सीएसआरको खर्च कसरी गर्ने भन्ने योजना बनाएको देखिँदैन । अरू देशकोे अभ्यास हेर्ने हो भने त्यसमा समिति बनाएर त्यसले लक्ष्य किटान गरी योजनाहरू छनोट गरेर मात्रै सीएसआर खर्च गर्ने गरेको पाइन्छ । त्यसैले नेपालमा पनि कम्पनीहरूले योजना बनाएर यस शीर्षकमा खर्च गरे भने यसको उद्देश्य केही हदमा पूरा हुन सक्छ । बैंकहरूले यस शीर्षकमा गरेको खर्च वार्षिक प्रतिवेदनमा उल्लेख नगरेको पनि फेला परेको छ । ठूला बैंकहरूले समेत सीएसआर विभाग नतोकी यस शीर्षकमा खर्च गरेको पनि देखियो । त्यसैले विभाग नै अलग बनाएर यो खर्च गर्नु उपयुक्त हुन्छ । कतिपय बैंकले आउटसोर्स गरेर यस शीर्षकको काम गरेको देखिन्छ जुन तुलनात्मक रूपमा असल अभ्यास हो । बैंकहरूले सीएसआरसम्बन्धी नियम पालना गर्नु सकारात्मक हो तर यसमा अनुगमन नपुगेको देखिन्छ । यसलाई प्रभावकारी बनाउन नियम र मार्गदर्शनहरू अलि स्पष्ट बनाइदिनुपर्छ ।