काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण छैन भन्दा हुन्छ । बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर बजारमा सबैभन्दा सस्तामध्येमा पर्छन् ।
पछिल्लो समय बजार १८ सय विन्दुसम्म पुगेर अहिले २ हजार ८८ विन्दुमा छ । बजार बढे पनि वाणिज्य बैंकको शेयर मूल्य भने बढ्न सकेको छैन ।
नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय विन्दुमुनि छ, जसमा कुमारी बैंक, प्रभु बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र एनएमबि बैंक छन् । यीमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर छ । बैंकको शेयर प्रतिकित्ता रू. १५९ कायम भएको छ ।
त्यस्तै तीन बैंकको शेयर मूल्य मात्रै ५ सयभन्दा माथि छ, जसमा एनआइसी एशिया बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टड बैंक छन् ।
मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा बैंकको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचक पनि कमजोर देखिएका छन् ।
शेयर बजारमा सूचकलाई नै उल्लेख्यरूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण नदेखिनुका विभिन्न कारण छन् । यसको मुख्य कारण बैंकको आम्दानी खस्किनु हो । यस्तै, वाणिज्य बैंकको शेयर संख्या बढी भएकाले यसको शेयर धेरैसँग छरिएको छ । कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।
त्यस्तै धेरै जनासँग शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन, जसका कारण वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसो त पछिल्ला त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा निकै बढेको छ । यस कारण पनि बैंकको शेयर लगानीकर्ताको रोजाइमा नपरेको हुनसक्ने जानकार बताउँछन् ।
कुन बैंकको शेयर मूल्य कति ?
स्रोत : नेप्से ।