‘मेरो देश, मेरै उत्पादन’ अभियानले आर्थिक र औद्योगिक विकासको प्रवर्द्धनमा थप टेवा पुग्नेछ : मुख्यमन्त्री राई

साउन १४, विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी आत्मनिर्भर र समुन्नत राष्ट्र निर्माणमा सघाउने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण प्रारम्भ भएको छ ।  दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरेर यसको शुरुआत गरिएको हो । दुवै संगठनले बुधवार नै प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई समेत लोगो हस्तान्तरण गरेका छन् ।  फ्रेम गरिएको लोगोमा ‘मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु र उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवर्द्धनमा सधैं लागिपर्नेछु’ भन्ने चारबुँदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।  स्वदेशी उत्पादनको प्रवर्द्धन गरी राष्ट्रिय आर्थिक एवम् औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले यो अभियानको थालनी गरेका हुन् । राष्ट्रव्यापी रूपमा गत चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पुर्‍याउन अहिले दोस्रो चरणमा प्रारम्भ गरिएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए ।  दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै उनले यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरूको संरक्षण एवम् प्रवर्द्धनका लागि सरकारले सार्वजनिक खरीद ऐनमा समेत स्वदेशी वस्तु खरीदलाई प्राथमिकता दिई सोही अनुरूपको व्यवस्था गर्न आग्रह गरे । व्यापार घाटा न्यूनीकरण गरी सन्तुलनमा ल्याउनका साथै समुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको सो अभियानलाई प्रदेश सरकारले आफ्नै अभियानको रूपमा लिनुपर्ने धारणा उनले राखे । मुख्यमन्त्री राईले संगठन र संघले शुरू गरेको उक्त अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास राख्दै अभियानको कार्यान्वयनमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मगरले कृषिको सबलीकरणका साथै कृषि र उद्योग क्षेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने भन्दै सो अभियानलाई अत्यन्त सकारात्मक रूपमा लिएको बताए । यस्तै सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरूको प्रोत्साहन एवम् स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गरिन् ।