शेयरबजार र गलत सूचना

मानिसको दैनिक जीवन सूचनाबाट शुरू भएर सूचनामै टुंगिन्छ । हरेक क्षेत्रमा सूचनाको महत्त्व हुन्छ । शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ । सूचीकृत कम्पनीले समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचनाबाहेक अनौपचारिक रूपमा पनि थुप्रै सूचना सार्वजनिक भइरहेको हुन्छ । औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको तथ्य स्थापित हुन पनि सक्छ, नहुन पनि सक्छ । यस्ता सूचना पत्रिका, टेलिभिजन, युट्युब च्यानलमार्फत आइरहेको हुन्छ । खासगरी पत्रिका (अनलाइन)ले यस्ता सूचना बढी प्रवाहित गर्छन् । सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र ‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ । यस्ता उपमायुक्त सूत्रले वास्तविक सूचना दिएको हुन्छ वा हुँदैन । तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ । शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि मान्नुपर्ने हुन्छ । तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारबाही गर्नुपर्छ । अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र होइन, पौराणिक कालमा पनि देख्न सकिन्छ । शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । महाभारतको एउटा प्रसंग महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए । महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए । कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे । उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन । अर्जुनका सारथि बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाई मारेर युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलाइयो । द्रोणले यस घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे । उनले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् ‘अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँ’ भन्ने कूटनीतिक जवाफ दिए । यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले ‘नरो वा कुञ्जरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् । ‘अश्वत्थामा हतो हतः’ भन्ने वाक्यले उनको होश हराइसकेको थियो । यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टद्युम्नले उनको वध गरेका थिए । पहिलो अफवाह शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिँदैन । यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ । २१ फेब्रुअरी सन् १८१४ सोमवारको दिन बिहान लन्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झूटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमवार बेचिएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो । कम्पनी र पत्रकार कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन् । सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिङ इलेक्ट्रोडस कम्पनी सञ्चालन घाटामा थियो । कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो । चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो । यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो । तीव्रता आउनुको कारण थियो एउटा इमेल । घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो । उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनीसँगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाका लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने बेहोरा उल्लेख थियो । कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे । सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो । शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविक रूपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरू गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो । इमेल पठाउने व्यक्ति विक्ली इन्डस्ट्री (हाल डेली इन्डस्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो । करिमले इमेल पठाउनुअघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए । उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्ममा बेचिएको थियो । करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो । साउदी कम्पनीको आगमन हुने सूचना ११ फेब्रुअरी २००७ मा सार्वजनिक भएको थियो । यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिशनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिस्ट्रेटसमक्ष मुद्दा दायर गर्‍यो । सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राइबुनले यस मुद्दाको सुनुवाइ गर्दै इस्लाम र करिम दुवैलाई ३ वर्षको जेलसजाय र २० लाख टाका जरीवानाको फैसला सुनाएको थियो । नेपाल सन्दर्भ विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन । यस्ता कार्यमा सबैभन्दा बढी अनलाइन न्यूज पोर्टल, फेसबुकका समूह, युट्युब च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुँदैन । यस्ता अनलाइनलगायत सूचनाका माध्यम अफवाहका लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ । आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति वाचन नसकिँदै एउटा अनलाइनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना ‘नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो । त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ । नेपाल पुनर्बीमा कम्पनीले गराएको रेटिङलाई हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिङ गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो । रेटिङ प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन । समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा केही हदसम्म सूचना पाउनेको पनि हुन्छ । सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न । द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनु हुँदैन । द्रोणले आफ्नो पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश मनस्थितिमा पुगे । शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ । बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा भन्न पनि सकिँदैन, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ । ‘बारबारे तिल जोगिन्छ’ भन्ने पुरानो भनाइलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन जोगाउन सकिन्छ । नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी आवश्यक कारबाही गर्न पछि पर्न हुँदैन । लेखक धितोपत्रसम्बन्धी अध्येता हुन् ।

सम्बन्धित सामग्री

शेयरबजारका भित्री कुरा

शेयरबजार जति नै प्रविधिमैत्री भए पनि यसमा अनेक घोटाला र काण्डहरू भइरहने गर्छ । भारत, बंगलादेशमात्रै होइन, अमेरिकालगायत विकसित देशमा समेत शेयरबजारमा थुप्रै काण्ड भएका उदाहरण छन् । ती देशका नियामक निकायले यस्ता काण्डको सूक्ष्म अध्ययन गरेर तिनलाई पुनरावृत्ति हुन नदिने व्यवस्था गरेका हुन्छन् । नेपालमा भने यस्तो घटना गुपचुपमै हराएर जान्छन् वा दबाइन्छ । नेपालको शेयरबजारमा अदृश्य कारोबारको गति निकै छ जसमध्ये केही घटनामात्रै सार्वजनिक हुने गरेका छन् । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ विक्रीमा यस्तै घोटालाको आशंका छ जसले गर्दा नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया नै रद्द गरिदिएको छ । यसरी आईपीओ रोकिएको पहिलो घटना हो । तर, कम्पनीहरूले आईपीओ जारी गर्दा सार्वजनिक गर्ने सूचनालाई लिएर अनेक आशंका हुने गरेको कुरा भने नयाँ होइन । कतिसम्म भने आईपीओ जारी गर्ने कम्पनीले अनुमान गरेअनुसार आम्दानी गर्न सक्यो वा सकेन भन्ने सामान्य सोधीखोजीसमेत नेपालमा हुँदैन । आईपीओ जारी गरेपछि कम्पनीले किन नाफा गरेन ? समस्या के थियो ? भन्ने जस्ता सामान्य कुरामा चासो राख्ने हो भने मात्र घाटामा गएका कम्पनीलाई नाफामा देखाई लगानीकर्ता डुबाउने खेल रोकिन सक्छ । शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आ“खा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नैसम्भावित समस्याको अध्ययन गर्नुपर्छ ।कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । अहिले पैसा नै नभएको खाताबाट आईपीओ भरेर बढी माग भएको देखाउन खोजिएको छ । मूल्यमा चलखेल गर्न १० कित्ता शेयर बढी मूल्यमा आफैले किन्ने र त्यसकै हाराहारीमा आफ्नो शेयर विक्री गर्ने गरी विक्री र खरीद अर्डर राख्ने गरेको पनि पाइन्छ । मूल्यान्वेषण विधिबाट प्रिमियम मूल्य तोकेर शेयर विक्री गर्न लाग्दा यस्तो मूल्यमै चलखेल गरिएको घटना भएको पनि धेरै भएको छैन । कर्नरिङ गरेर विक्री गर्ने तथा आन्तरिक सूचना चुहाएर शेयर किनबेच गर्ने काम भइरहेको छ । यस्तो काममा संलग्न केहीलाई बोर्डले कारबाही प्रक्रियासमेत चलाएको छ । पछिल्लो समयमा धितोपत्र बोर्डले शुरू गरेको नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको कामलाई सकारात्मक रूपमा लिन सकिन्छ । त्यस्तै घोराही सिमेन्टको फर्जी लगानीमाथि पनि अनुसन्धान थालिनु सकारात्मक हो, जसले सर्वसाधारणलाई सम्भावित नोक्सानीबाट जोगाएको छ । आईपीओ निष्कासनमा कम्पनीले सार्वजनिक गर्ने आह्वानपत्रदेखि क्रेडिट रेटिङसम्ममा नै मिलोमतो हुन सक्छ । बोर्डको काम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्नु हो र बजारलाई नियम र प्रक्रियाका आधारमा सञ्चालन गराउने वातावरण तयार पार्नु हो । बोर्डले तदारुकता देखाउनु सकारात्मक भए पनि यसमा अझै सूक्ष्म दृष्टि पुग्न आवश्यक देखिन्छ । जसरी नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकका कारोबारलाई दैनिक रूपमा नजिकबाट अनुगमन गरिरहेको छ त्यसैगरी बोर्डले पनि नेप्से र ब्रोकर सबैका कामको अनुगमन गरिरहनुपर्छ । यसमा शंका लाग्नेबित्तिकै अनुसन्धान थालिहाल्नुपर्छ र गल्ती भए कारबाही गरिहाल्नुपर्छ । बंगलादेशको शेयरबजारमा भएका ठूलाठूला काण्डमा त्यहाँको बोर्डले अनुसन्धान गरेर कैयौंलाई कारबाही गरेको छ । यस्ता काण्डहरू भइरहे शेयरबजारप्रति अविश्वास पैदा हुन सक्छ र लगानीकर्ता बजार छाड्न सक्छन् । त्यसैले शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आँखा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नै सम्भावित समस्याको अध्ययन गर्नुपर्छ । कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । गलत गर्नेलाई कारबाही त गर्नुपर्छ नै साथै यस्तो गलत कार्यमा जोडिनेहरूको पहिचान गर्नु पनि अहिलेको आवश्यकता हो । यस्ता काम हुन सके मात्र नेपाली शेयरबजार परिपक्व भई लगानीकर्ता डुब्ने अवस्था आउँदैन ।

मर्जरमा शेयर कारोबार रोक्का गलत

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भइरहेका कम्पनीहरू एकआपसमा मर्जरमा जाँदा वा प्राप्ति प्रक्रियामा रहँदा शेयरको दोस्रो बजारमा कारोबार रोक्का गर्ने गरिएको छ । तर, यसरी लामो समयसम्म कारोबार रोक्का राख्नुपर्नेमा न चित्तबुझ्दो कारण छ न त अन्तरराष्ट्रिय अभ्यास नै । मर्जर प्रक्रियामा रहेका कम्पनीको कारोबार खुलाउनुपर्छ भनेर नियामक निकायका आधिकारिक व्यक्तिहरूले बताए पनि त्यसलाई खुलाउन भने कुनै पहल भएको छैन । अहिले १४ वटा कम्पनीहरूको कारोबार रोकिँदा पनि लगानीकर्तालाई परेको मर्काबारे सम्बद्ध निकायले चासो दिएको पाइँदैन । सम्पत्ति र दायित्वको मूल्यांकन गरी स्वाप रेसियो तय भइसकेका कम्पनीको हकमा कारोबार रोकेर राख्नै पर्दैन । यो कुरा थाहा पाएर पनि कारोबार खुलाउन काम नगर्नु सरोकारवालाहरूको गैरजिम्मेवारी नै हो । शेयरबजारमा लगानी गर्नुको एक प्रमुख कारण यसको तरलता नै हो । तरलता भनेको चाहेको बेला विक्री गरी तत्काल नगद प्राप्त गर्न सक्नु हो । आपत्विपत् पर्दा आफूसँग भएको शेयर विक्री गरी गर्जो टार्न पाइने भएकाले थोरैथोरै बचत पनि शेयरमा लगानी गर्ने गरेको पाइन्छ । पूँजी बजार भनेकै लगानीका लागि पूँजी संकलन गर्ने थलो हो । त्यसो हुँदा शेयरमा लगानी गरेर लगानीकर्ता ढुक्क हुन्छन् । तर, कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो अन्यत्र प्रचलनमा नदेखिएको मर्जर र प्राप्ति प्रक्रिया पूरा नहुन्जेलसम्म कारोबार रोक्का गर्ने प्रचलन नेपालमा ल्याइएको छ । पूँजी बजारमा निकै सुधार आएको छ । तर, यो अव्यावहारिक र लगानीकर्तालाई समस्या पार्ने प्रावधान हटाउनेतर्फ भने नियामक निकाय कसैले पनि चासो दिएको पाइँदैन । यसले गर्दा शेयरबजारको विकास र विस्तारमा समस्या परिरहेको छ । लगानीकर्ताले गरेको लगानी वर्षौंसम्म बन्धकका रूपमा रहँदा उनीहरूको लगानी निष्क्रिय बनेको छ । त्यस्तै शेयरको भाउ बढेको बेला बेच्न नपाउँदा बजार घटेर लगानीकर्तालाई घाटा भएको छ । यो घाटा कसले ब्यहोर्ने ? कुनै पनि कम्पनी मर्जरमा जाँदा स्वाप रेसियो कायम नहुँदासम्म कारोबार रोक्का गर्नु उपयुक्त हो । मूल्यमा चलखेल हुन सक्ने भएकाले यस्तो बेला कारोबार रोक्नु आवश्यक नै देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ लाई २०७५ मा संशोधन गर्दा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरूले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि तिनको कारोबार रोक्का रोख्नुपर्ने व्यवस्था गरेको हो । यसै आधारमा बैंक तथा वित्तीय संस्थाहरू मर्जरका लागि सम्झौता गरेपछि कारोबार रोक्न थालिएको हो । तर, मर्जर भाँडिएको अवस्थामा समेत कारोबार रोक्का गर्ने गरिएको छ जुन गलत मात्र होइन, अन्याय पनि हो । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर भाँडिएको निकै लामो समय बिते पनि अहिलेसम्म कारोबार रोक्का राखिएको छ । यसबाट लाखौं लगानीकर्ता मर्कामा परेका छन् । अहिले बीमा संस्थानले बीमा कम्पनीहरूलाई मर्जरमा जान बाध्य पार्ने गरी चुक्ता पूँजीवृद्धि गर्न निर्देशन दिएको छ । यस्तो निर्देशनसँगै मर्जरमा जान केही कम्पनीहरूले सम्झौता गरेका छन् र तिनीहरूको कारोबार रोक्का गरिएको छ । राष्ट्र बैंकले बनाएकै निर्देशनलाई बीमा समिति र विद्युत् नियमन आयोगले पनि पछ्याएका छन्, जसले गर्दा मर्जरमा जाने कम्पनीहरूको एकीकृत कारोबार भएको सूचना नदिएसम्मका लागि शेयर किनबेच रोक्ने गरिएको छ । यसरी कम्पनीहरू मर्जरमा जाँदा महीनौं आफ्नो सम्पत्ति बन्धकमा पर्ने भएपछि आत्तिएर शेयर बेच्दा बीमा कम्पनीहरूको शेयर मूल्य निकै घटेको छ । शेयरबजार सुधारका लागि निकै काम भएका छन् । प्रविधिको प्रयोग भएर अनलाइनमै सबै कारोबार सम्पन्न हुन थालेको छ । तर, लगानीकर्तालाई मारमा पार्ने अनावश्यक नीतिमा अझै सुधार हुन बाँकी छ । यस्तो सुधार गर्नुपर्ने एउटा विषय मर्जर तथा प्राप्तिमा गएका कम्पनीको शेयर कारोबार चाँडो खुलाउनु एक हो । सम्पत्ति र दायित्वको मूल्यांकन गरी स्वाप रेसियो तय भइसकेका कम्पनीको हकमा कारोबार रोकेर राख्नै पर्दैन । यो कुरा थाहा पाएर पनि कारोबार खुलाउन काम नगर्नु सरोकारवालाहरूको गैरजिम्मेवारी नै हो । अत: मर्जर र प्राप्तिमा स्वाप रेसियो तय भइसकेपछि कारोबार खुलाइहाल्नुपर्छ । यसका लागि सरोकारवाला निकायले एकले अर्कोलाई देखाउनु भन्दा जसको जे दायित्व र अधिकारक्षेत्र भित्र पर्छ सोहीअनुसार काम गर्न ढिला गर्नु हुँदैन ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : पूँजीबजारमा युवा सहभागिता आवश्यक

विसं २०३३ मा औपचारिक रूपमा शुरू भएको नेपालको पूँजीबजार ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको अभौतिक कारोबारको अवस्थामा आइपुगेको छ । तर पनि नेपालको पूँजीबजार पूर्णरूपमा विकसित हुन सकेको छैन । अहिलेसम्म पनि अन्तरराष्ट्रिय मापदण्डअनुरूप हुन नसक्नु विडम्बनापूर्ण नै छ । २१औं शताब्दीको आवश्यकता र मागअनुरूपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने पूँजीबजारको विकास धेरै काम गर्नुपर्ने देखिन्छ । आर्थिक विकासका लागि पूँजीबजारको विकास अपरिहार्य छ । ४ दशक बढीको समय कटिसक्दा पनि यो बजार अझै वामे सर्दै गरेकाले यसको विकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाले ध्यान दिन जरुरी हुन्छ ।  पूँजीबजारको विकास र बिस्तारका लागि हामीले उठाएका र सम्बद्ध निकायमा बुझाएको बजार सुधारको ५८ बुँदे माग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सहमति भएबमोजिम कार्यान्वयन हुन सकेको छैन । यस्ता काम गराउनतर्फ लाग्नुभन्दा पनि समितिमाथि उपसमिति गठन गर्नाले पूँजी बजारप्रति लगानीकर्ताको भरोसा टुट्दै गएको देख्न सकिन्छ । जायज मागको समयमै सम्बोधन नहुनुका साथै सम्बद्ध निकायहरू आआफ्नो जिम्मेवारीबाट विमुख रहँदा पूँजीबजार धराशयी हुँदै गएको छ र पूँजी बजारमा सुधार हुन नसकेको हाम्रो बुझाइ छ ।  प्रविधिमैत्री बनाई लगानीकर्तालाई सूचना प्रविधि नीति लागू गरी बजारमा सहज रूपमा क्षमता अभिवृद्धि गर्दै बजारको विकास र बिस्तारलाई स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने आवश्यकता टड्कारो देखिएको छ । लगानीकर्ताको हकहित संरक्षण, संस्थागत सुशासन, पूँजीबजारको जोखिम न्यूनीकरण गर्दै पूँजी बजारको विकासमा दत्तचित्त भएर लाग्नु नै आजको आवश्यकता देखिन्छ ।  लगानीकर्ता समस्यामा पर्दा बलेको आगोमा घिउ थप्ने काम पक्कै पनि गर्नु हुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ । मूकदर्शक नबनी संकट परेको बेला उद्धार गर्नुपर्छ । विदेशमा शेयरबजारमा आउने समस्याका कारण खोजेर निराकरणको प्रयास त्यहाँका सरकारले गर्ने गरेका छन् । यहाँको सरकार पनि अर्थतन्त्रको ऐना मानिने पूँजी बजारप्रति सकारात्मक बन्न सक्नुपर्छ ।  विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराले बजार घटाउन सहयोग गर्छ । देशको राजनीतिक अवस्था, अन्तरराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकारको पूँजी बजारप्रतिको दृष्टिकोण, नीतिनियमा  गरिने परिवर्तन बजारमैत्री नहुनु, कहिलेकाहीँ फैलने अफवाहले पनि पूँजी बजारमा नकारात्मक असर गर्छ ।  बजारमा अहिले नयाँनयाँ कम्पनी थपिने र सोही अनुपातमा शेयर संख्या थपिने क्रम बढ्दो छ । शेयर संख्या थपिँदै जाने तर बजार विस्तार नहुनाले नकारात्मक असर परिरहेको छ । बैंकमा आउने तरलताका कारण बजारमा नकारात्मक असर पर्छ । लगानीकर्ताको अर्को टाउको दुखाइको विषय मार्जिन कल पनि हो । कहिलेकाहीँ बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाई शेयरबजारमा चलखेल हुने गर्छ । बजार पूर्वाधारमा सुधार तथा विकासका लागि पछिल्लो समय धितोपत्र बोर्डले धितोपत्र बजारमा उल्लेख्य सुधार तथा विकासका काम गरेको छ । यसका अलावा पूँजीबजारका नीतिगत, भौतिक र प्राविधिक पाटाहरू अझै सुधार गर्नुपर्ने छ । प्रशिक्षण तथा जनचेतना अभवृद्धिलाई क्रमिक रूपमा बढाउँदै लैजानुपर्ने देखिन्छ । बजारबारे ज्ञान नहुँदा पूँजी भएर पनि शेयरबजारमा आउन चाहने लगानीकर्ता हच्किनुपर्ने स्थिति छ । हाम्रो बजारमा शेयर साक्षरताको अझै कमी छ । यसका साथै पूँजीबजारको विकास र बिस्तारका लागि हामीले उठाएका जायज मागको सम्बोधन यथासमयमा नहुने र सम्बद्ध निकाय आआफ्नो जिम्मेवारीबाट विमुख रहँदा पूँजी बजार अस्थिर बनेको देखिन्छ । पछिल्लो समय अभिभावक मानिने सरोकारवालाको घाँटी अठ्याउने नीतिले थिलथिलो भएको पूँजी बजारमा यसबीचमा लगानीकर्ताको अपेक्षाको चाङ धेरै छ । घट्दो बजारमा शेयरको कुरा सुन्नेबित्तिकै नाक खुम्च्याउनेहरू र शेयरबारे जानकारी नै नहुनेले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाइन्छ । शेयरबजारलाई कतातिर डोर्‍याउने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । बजार एकै दिनमा घट्दा लगानीकर्ताले यति गुमाएँ र बजार बढ्दा यति कुम्याउन सफल भएँ भन्ने जस्ता शेयरबजारको विषयलाई लिएर समाचार सम्प्रेषण गर्ने मिडियाले लगानीकर्तालाई सबैभन्दा बढी भ्रमित र आशावादी पार्ने गरेको पनि पाइन्छ । यस्ता हेडलाइनका समाचारमा पनि ध्यान पुर्‍याउने गर्नुपर्छ । त्यस्तै, निरन्तर घट्दो बजारमा गुमनाम दुलोभित्र पसेर हराइरहेका बजार पण्डितहरू २/४ दिन बजार के बढेको हुँदैन, बजारले आफ्नो बाटो तय गर्‍यो, अब छिट्टै यति सय चुम्छ, उति सय सय चुम्छ जस्ता ध्वनि बजाउन शुरू गर्छन् । यस्तो गतिविधि देख्दा बजारका पण्डित भनाउँदाले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो व्यवहार गरेको पनि देख्न सकिन्छ ।  शेयरबजार भनेको २ दिनको होइन । २/४ दिन बढ्दैमा अब संसार नै जितिने अनि २/४ दिन घट्दैमा संसार नै सकिने पनि होइन । बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।  शेयर बजारमा लगानिकर्ताका दुई प्रमुख शत्रु हुन्– लोभ र डर वा त्रास । यसबाट हामी सदैव टाढा बस्नुपर्छ ।  लोभ : बजार बढ्दा अब सधैं बढ्छ, बढी नै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सद नै हुँदैन । यससँगै डर र त्रास, बजार घट्दा अब सधैं घट्छ, घटी नै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने विश्वास नै हुँदैन । बजार सधैं बढ्दैन, अनि सधैं घट्दैन पनि । बढेपछि घट्छ अनि घटेपछि बढ्छ । बजारका यी दुई प्रमुख शत्रु चिनेर समयअनुसार चल्ने लगानीकर्ता नै हो बजारबाट कमाउने अनि सधैं टिकिरहने पनि । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ । शेयरबजारलाई जति अवसरको खानीका रूपमा लिइन्छ, त्यसमा चुनौतीहरू पनि रहेका हुन्छन् भन्ने हामीले बिर्सनु हुँदैन ।  आफूसँग भएको राम्रो कम्पनीको शेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल र पित्तललाई चाहिँ सुन सम्झेर पोर्टफोलियो परिवर्तन गर्नेहरू धेरै भेटिन्छन्, जुन सबैभन्दा घातक पनि हुन सक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि त्यत्तिकै भेटिन्छन् । र, तिनै मृत्युको मुखसम्म पुग्ने गरेका छन् । आफूसँग भएको धातु सुन हो कि होइन, आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आफूले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्छ । युवा भनेको सिंगो देश बोक्न सक्ने बलियो मेरूदण्ड हुन् । आफैमा एउटा ऊर्जाशील शक्तिले भरिएको युगको सुन्दर बिहानी हुन् । आजका युवा नै भोलिका कर्णधार हुन्, भोलिको दिनमा सबै क्षेत्रको नेतृत्व लिने अहिलेका युवाले नै हो । त्यसैले युवाहरू शेयरबजारमा आबद्ध हुनु एकदमै जरुरी छ । युवा अवस्थामा कमाउन नसकिएला तर यो बेला सञ्चिति नै कमाइ हो भन्ने कुरा युवालाई सिकाउन जरुरी छ । युवा अवस्था मा युवायुवती कुलतमा लाग्ने गरेको पाइन्छ । विकल्प नहुँदाको परिणाम हो यो । शेयरबजार यसको विकल्प हुन सक्छ । थोरै रकमले व्यापार व्यवसाय गर्न सकिँदैन । तर, सानोभन्दा सानो बचत पनि शेयरमा लगाएर आम्दानी गर्न सकिन्छ । शुरूमै धेरै कमाउन नसकिएला तर यो समय कमाउनेभन्दा पनि सिक्ने, बुझ्ने, अभ्यस्त हुने, बेला हो । पढाइमै धेरै समय खर्चिनुपर्ने हुँदा अन्य कामका लागि समय हुँदैन । तर, शेयरबजारलाई धेरै समय दिनु जरुरी छैन । पत्रपत्रिका, मिडिया, सामाजिक सञ्जाल, साथीभाइबाट पनि शेयरबजारबारे जानकारी लिन सकिन्छ । युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ । आम्दानी र बचतमा अरूको भर पर्नुपर्ने हुँदा यसबारे केही थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठानिँदैन । तर, यही बेलादेखि युवायुवतीले आम्दानी, खर्च, बचत र यसको व्यवस्थापनबारे ज्ञान पाए भने अभिभावकमा पनि आर्थिक भार कम हुन जान्छ । यसको लागि शेयरबजार उत्तम विकल्प हो ।  पछिल्लो समयमा आएर शेयरबजारमा युवायुवतीको संलग्नता बढ्दै गएको पाइन्छ । खाजा खर्च, फजुल खर्च कटाएर शेयरबजारमा लगानी गर्ने गरेको पाइन्छ जुन राम्रो कुरा हो । अझ भन्ने नै हो भने स्कूल तहदेखि नै शेयर शिक्षा दिन जरुरी छ । पाठ्यक्रममा पनि यसलाई समावेश गर्न सके धेरै राम्रो हुन्छ । सरकार र धितोपत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सृजना गरिदिने हो र कडा निर्देशन गरिदिने हो भने हाम्रो बजार पनि आधुनिक, प्रविधिमैत्री, अन्तरराष्ट्रिय स्तरको र सबै नेपालीको पहुँचमा पुग्न सक्ने थियो । सरकार र नियामक निकायका बेलाबेलाका गलत निर्णय र गलत अभिव्यक्तिका कारण लगानीकर्तामा अन्योल सृजना भई शेयरबजार बारम्बार कोमामा पुगेको सर्वविदितै छ । आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्दै पूँजीबजारप्रति वितृष्णा पाइन्छ । बजार बिस्तारको काम कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक कामहरू अवरुद्ध हुँदा, नियमनकारी निकायको उदासिनताले पूँजीबजारमा बेलाबेलामा गम्भीर समस्या ल्याउँदै लगानीकर्ताको बीचमा चरम निराशाको अवस्था उत्पन्न गराउने गरेको छ । ५० लाखभन्दा बढी लगानीकर्ताको सम्पत्ति सुरक्षामा गम्भीर चुनौती देखा पर्ने गर्छन् । र त्यसकारण नेपाल सरकारको पनि पूँजी बजारप्रति हेर्ने दृष्टिकोण स्पष्ट र सकारात्मक हुनुपर्छ । आफूसँग भएको राम्रो कम्पनीको शेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल र पित्तललाई चाहिँ सुन सम्झेर पोर्टफोलियो परिवर्तन गर्नेहरू धेरै भेटिन्छन्, जुन सबैभन्दा घातक पनि हुन सक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि त्यत्तिकै भेटिन्छन् । र, तिनै मृत्युको मुखसम्म पुग्ने गरेका छन् ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : धितोपत्र बजारमा सूचना र सूचनाप्रविधि

एकाइसौं शताब्दिमा जीवन र जगतका लागि सूचना र प्रविधिलाई कसैले नकार्न सक्दैन । जीविका, आर्जन वा समृद्धिको शर्त सूचना र सूचनामा पहुँच हो । सबैभन्दा द्रुत, भरपर्दो र सुरक्षित प्रविधिमा लगानी गरेर अग्रगतिमा सही सूचनामा पहुँच र नियन्त्रण, उपयोग गर्न सफल नागरिक र देश नै समृद्ध देखिएका छन् । नेपाल सूचना प्रविधिको उपयोगमा अग्रसर भए तापनि यसमा लगानी, नियमन र नियन्त्रण निकै कमजोर छ । दूरसञ्चार र बैंकिङलाई छोड्ने हो भने प्रविधि नेपालीका लागि ‘परको विधि’ नै हो । धितोपत्र बजारले पनि प्रविधिलाई नीतिगत प्राथमिकता र प्रयोगलाई प्रोत्साहन दिएको छ । अभौतिकीकरण र लगत अभिलेखीकरण, कारोबार, राफसाफ, लागत गणना र प्रमाणीकरणका लागि प्रविधि प्रयोगमा ल्याइएको छ । तर, ती अपूर्ण हुँदा सरोकारवाला प्रचलित अनलाइन कारोबार प्रणालीका व्यावहारिक समस्या भोग्न बाध्य छन् । सूचनाको महत्त्व, स्रोत र कानूनी प्रावधान सूचनाको महत्त्व  धितोपत्रको अंकित मूल्य नै आधिकारिक मूल्य हो र दोस्रो बजारमा कम्पनीको शेयरको मूल्य व्यवसाय, मुनाफा, शाख, शेयरको माग तथा आपूर्तिजस्ता सूचनाबापतको थप प्रिमियम हो । यथार्थ र पर्याप्त सूचना प्राप्त गर्नेले नै धितोपत्रको बजार मूल्य डोर्‍याउन वा मूल्यान्तर कायम गर्न, पूँजीगत लाभ प्राप्त गर्न, लगानी व्यवस्थापन र उच्चतम प्रतिफल प्राप्त गर्न सक्छ । लगानी र कारोबार निर्णयमा कम्पनीको सूचनाको अहम् भूमिका रहन्छ । अझ भित्री सूचना त अमूल्य नै हुन्छ । लगानीकर्ताले प्राप्त सूचनालाई आफ्नो जोखिम वहन क्षमताअनुसार विश्लेषण गर्दै किनबेच र लगानी निर्णय गर्नुपर्छ । तर, नेपालमा यथार्थ सूचना त परको कुरा, सूचना पाउनै गाह्रो छ । पाइने सूचना पनि सहजै नबुझिने, अपर्याप्त, अविश्वसनीय र अन्योलपूर्ण हुन्छन् । अझ प्राय: लगानीकर्ता सूचनाको महत्त्व नै बुझ्दैनन् भने बुझेकाको पनि सूचनामा पहुँच र विश्लेषण क्षमता कमजोर हुँदा लहलहैमा लगानी तथा कारोबार निर्णय गर्दै क्षमताभन्दा धेरै जोखिम लिन बाध्य छन् । सूचनाको स्रोत र पहुँच कम्पनीको वित्तीय तथा आधारभूत सूचनाको आधिकारिक स्रोत सम्बद्ध कम्पनी नै हो । तर, सबैको कम्पनीसँग सोझो सम्पर्क नहुने अवस्थामा कम्पनीहरूले त्रैमासिक, वार्षिक वा कानूनी प्रावधानबमोजिम सार्वजनिक गर्ने जानकारी तथा विवरण नै लगानीकर्ताका लागि निर्विकल्प सूचनाका आधार हुन् । कतिपय कम्पनीको वेबसाइटमार्फत थप सूचना प्राप्त गर्न सकिन्छ । विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पूँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्य सम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताको छ ।     यस्तै, पूँजीबजारको अवस्था, कारोबार, पूँजीकरण, बजारको इन्डेक्सजस्ता बजारसँग सम्बद्ध सूचनाको आधिकारिक निकाय नेपाल स्टक एक्सचेन्ज हो भने धितोपत्र निष्कासन तथा नियमनसम्बन्धी सूचनाका लागि नेपाल धितोपत्र बोर्डबाट सूचना पाउन सकिन्छ । नेपाल राष्ट्र बैंक, बीमा समिति र विद्युत् नियमन आयोगबाट सम्बद्ध क्षेत्रको सञ्चालन र नियमनसम्बन्धी आधिकारिक सूचना प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त अन्य सरोकारवाला निकाय र म्युचुअल फन्ड सञ्चालकहरूले पनि आधिकारिक सूचना प्रवाह गर्छन् । अनलाइन पत्रिका, सामाजिक सञ्जाल, सूचनामा पहुँच भएका र अनुभवी व्यक्ति र केही छलफल समूहहरू अनौपचारिक सूचनाका स्रोत हुन सक्छन् । तर, अनौपचारिक सूचनाको विश्वसनीयता, जिम्मेवारी र शुद्धता सदैव शंकास्पद रहन्छ । कम्पनीहरूले कानूनत: बाध्यात्मक सूचनाबाहेक व्यावसायिक अवस्था, भविष्यको योजना र वित्तीय अवस्थाको यथार्थ सूचना प्रवाह गर्ने प्रचलन छैन । प्रकाशित विवरण समेत अपूर्ण, त्रुटिपूर्ण र द्वैअर्थी हुन्छन् । उनीहरू यर्थाथ र पर्याप्त सूचना प्रवाहको जिम्मेवारी लिनै चाहन्नन् । कानूनी आधार पूरा गर्न सूचना अधिकारी राख्ने, तोकिएको सूचना र विवरण प्रकाशित त गर्ने गर्छन् । तर, त्यसलाई लगानीकर्तासम्म पुर्‍याउने ठोस पहल गर्दैनन् । कानूनले सूचना प्रवाह र पहुँचको कुरा गरे पनि व्यवस्थित सूचना संकलन र भण्डारण, अनुगमन, विश्लेषण र नियमनको अभावमा लगानीकर्ताका लागि सूचनामा पहुँच र शुद्धता निकै पेचिलो छ । सूचनामा पहुँच प्राप्त व्यक्तिले पनि आफ्नो स्वार्थ सूचनाको दुरुपयोग गरेर शेयरको माग र पूर्ति वा मूल्य प्रभावित गर्दै कारोबार, लगानी व्यवस्थापन आम बनेको छ । शेयरबजार, सरोकारवाला, ऐन–कानून, कम्पनीगत सूचना एकीकृत रूपमा उपलब्ध र भण्डारण गर्ने आधिकारिक संस्था र त्यसमा सहज पहुँचको व्यवस्था हुनुपर्छ, जसले अनौपचारिक माध्यममार्फत सूचना प्राप्त गर्नुपर्ने बाध्यता हटाउने छ । यस्तै सूचीकृत कम्पनीहरूले अनिवार्य रूपमा वेबसाइट सञ्चालन र नियमित अपडेट गर्नैपर्ने, स्थानीय, राष्ट्रिय र अनलाइन सञ्चारमाध्यममार्फत यथेष्ट सूचना प्रवाहको व्यवस्था मिलाइनुपर्छ । हुन त हकप्रद, एफपीओ, लीलामीका सन्दर्भमा सूचना प्रवाहमा केही सुधार भएका छन् । तर, यसमा अझै सुधार हुनु आवश्यक छ । शुद्ध र यथार्थपरक सूचना प्रवाह गर्नु कम्पनीको जिम्मेवारी हो भने त्यसको आवश्यक परीक्षण र जाँचबुझ कम्पनीका सम्बद्ध अधिकारी र नियामकको कर्तव्य हो । यस्तै आम जनमानसमा सूचना प्रवाह गर्नुअगाडि त्यसको यथार्थता र शुद्धता परीक्षण गर्नु आम सञ्चारमाध्यमको समेत जिम्मेवारी रहन जान्छ । सूचनाको बजारमा हाल सबै सरोकारवाला वा सूचनाका विक्रेताहरू तीव्र सूचना विक्री गर्ने होडबाजीमा सूचनाको शुद्धताप्रतिको जिम्मेवारी भुलिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज वा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा समेत जिम्मेवारी नलिने परम्परा छ । अझ आजकल सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरूमा प्रकाशित सूचनाको गुणस्तर यति कमजोर पाइन्छ, जसबाट लगानीकर्ता लगानीसम्बन्धी गलत निर्णय गर्न र दिग्भ्रमित हुन पुग्छन् । कानूनी प्रावधान धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ७ मा सूचना, जानकारी तथा विवरणसम्बन्धी व्यवस्था गरिएको छ । यसअनुसार सूचीकृत कम्पनीहरूले त्रैमासिक अवधि सकिएको ३० दिनभित्र अनुसूची १४ मा उल्लिखित विवरण त्रैमासिक अवधिको वासलात, नाफा–नोक्सानसम्बन्धी विवरण, न्यूनतम रूपमा प्रमुख वित्तीय अनुपातहरू, जस्तै प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपातसहितको वित्तीय विवरण बोर्डसमक्ष पेश गर्नु र राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने छ । त्रैमासिक विवरणमा व्यवस्थापकीय विश्लेषण, कानूनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासन र सत्य तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखले उद्घोषण गर्नुपर्छ ।  आर्थिक वर्ष सकिएको ५ महीनाभित्र अनुसूची १५ बमोजिम सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षण भएको वित्तीय विवरण, कानूनी कारबाहीसम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासनसहितको वार्षिक प्रतिवेदन बोर्डसमक्ष पेश गर्नुपर्ने छ । साधारणसभा गर्नुपूर्व सभामा छलफल हुने विषयको जानकारी दिनु र सभा सम्पन्न भएको ३० दिनभित्र पेश भएको प्रस्ताव, छलफल भएका विषय तथा निर्णयको विवरण बोर्डमा पेश गर्नुपर्छ ।  सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने अनुसूची १६ मा उल्लिखित २५ ओटा विशेष घटना वा परिस्थितिसम्बन्धी कुनै घटना वा कारोबार भएमा ३ दिनभित्र बोर्डमा सोको सूचना दिनुपर्नेछ । यस्तै, उपनियम ३ मा वित्तीय विवरण, ६ र ७ मा सूचनाको माग तथा आपूर्तिसम्बन्धी थप व्यवस्था गरिएको छ । सूचना प्रवाहलाई व्यवस्थित र जिम्मेवार बनाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्डसजायको व्यवस्था गरेको छ । यसको दफा ९१ देखि १०० मा भित्री कारोबार, भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति, सूचना वा जानकारी सार्वजनिक गरेको मानिने, भूmटो कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा सम्बन्धी कानूनी व्यवस्था छ । दफा १०१ मा अनुसार भूmटो कारोबार, मूल्यमा उतारचढाव, र धितोपत्र बजारलाई प्रभावित गरेमा ५० हजारदेखि १ लाख ५० हजारसम्म जरीवाना वा १ वर्ष कैद वा दुवै हुन सक्ने व्यवस्था छ । यस्तै झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, लिखत वा विवरण लुकाएमा वा नष्ट गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै कसैले नियतवश वा कानूनविपरीत कार्य गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानिनोक्सानी गरे/गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना गर्न सक्नेछ र वास्तविक हानिनोक्सानीको क्षतिपूर्तिसमेत भराइदिन सक्ने देखिन्छ । उल्लिखित कानूनी व्यवस्था हुँदाहुँदै पनि सूचनामा विशेष पहुँच (भित्री सूचना) तथा गलत सूचनाका आधारमा मूल्य र कारोबार प्रभावित पार्ने कार्यको नियमन, नियन्त्रण र कारबाही नरोकिनु दुर्भाग्य हो । सूचना प्रविधिको प्रयोग, महत्त्व, जोखिम पूँजीबजारमा प्रविधि नवीनतम सूचना प्रविधिको उपयोग सन्दर्भमा नेपाली पूँजीबजारलाई शिशु अवस्था मान्न सकिन्छ । विक्रम संवत् १९९४ मै शेयर जारी भए पनि २०४१ बाट मात्रै सूचीकृत धितोपत्र खुला बोलकबोल (ओपन आउट क्राई) बाट कारोबार तथा कागजागतका आधारमा राफसाफ फछ्र्योट हुँदै आएकोमा २०६४ बाट बल्ल कम्प्युटरकृत कारोबार प्रणाली शुरू भयो । सोही वर्ष वाइड एरिया नेटवर्कमार्फत कारोबार शुरू गरी वेबसाइटमार्फत कारोबारको विवरण प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरियो । त्यसको ७ वर्षपछि २०७१ बाट धितोपत्रको अभौतिकीकरण र स्वैच्छिक कारोबार गर्दै २०७२ देखि पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार भइरहेको नेपाली पूँजीबजारमा २०७३ देखि एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट (आस्बा) र २०७४ मा परिष्कृत सी–आस्बाको थालनीसँगै सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद र थप सार्वजनिक निष्कासन (एफपीओ) मा प्रविधिले निकै सहजता प्रदान गरेको छ । यस्तै, २०७५ कात्तिक २० गते उद्घाटन भई सन् २०१९ जनवरी १ (२०७५ पुस १७) गतेबाट अनलाइन कारोबार प्रणाली व्यावहारिक प्रयोगमा ल्याइएको छ । २०७६ साउन १ गतेबाट अपनाइएको भारित औसत गणना प्रणालीलाई प्रविधिमा आधारित बनाउँदै २०७६ कात्तिकदेखि लागत गणना र प्रमाणीकरणका लागि सफ्टवेयर प्रयोगमा ल्याइएको छ । पूर्ण स्वचालित भनिएको प्रणालीबाट किनबेचको आदेश सहजै प्रवृष्टि गर्न सकिए तापनि राफसाफका लागि बैंकिङ र सीडीएसको प्रणालीमा कुदाउँछ । नियमित कारोबारको लागत गणना त गर्छ, तर कर लाग्ने र नलाग्ने समेत छुटाउँदैन र लाभकर छूटको स्वघोषणा र जोखिम बोकाउँछ । अझ कर छूट लाभ र नोक्सानीको हिसाबकिताबै राख्दैन । यसको मतलब विद्यमान प्रणाली कारोबार, राफसाफ र लागत–लाभ गणना अनि अभिलेखनका लागि पर्याप्त छैन । प्रविधिसँगै बढ्दो लागत विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पूँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्य सम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताले गरिरहेका छन् ।  अभौतिक शेयरको कारोबार गर्ने प्रविधिको उदयसँगै डिम्याट खाता खोल्न र वार्षिक नवीकरण शुल्क तिर्न बाध्य लगानीकर्ता शेयर नामसारीका लागि विगतको रू. ५ को सट्टा रू. २५ तिर्न बाध्य भए । डीपीमार्फत डिम्याट खातामा नि:शुल्क अनलाइन पहुँच पाइरहेका लगानीकर्ताहरू सीडीएसले विकास गरेको स:शुल्क ‘मेरो शेयर’को लगइन लिन बाध्य छन् । यसका साथै अनिवार्य बैंक खाता, चेक वा अनलाइन भुक्तानी, बैंक खाताबाट मात्र लाभांशको भुक्तानीजस्ता प्रविधिगत सेवाको उदयसँगै लगानीकर्ता बैंक खाता सञ्चालन र अनलाइन एक्सेस, चेक क्लियरिङ र आईपीएसका लागि थप शुल्क तिर्न बाध्य छन् । सरसर्ती हेर्दा एकजना लगानीकर्ताले (क) डिम्याट खाता खोल्दा रू. १५० सँगै वार्षिक नवीकरण शुल्क रू. १००, (ख) मेरो शेयरको लगइनका लागि वार्षिक रू. ५०, (ग) शून्य मौज्दातको बैंकमा खाता खोल्दा पनि अनलाइन एक्सेस लिन वार्षिक रू. २०० हाराहारी, (ग) प्रत्येक कारोबारको भुक्तानी लिँदा र दिँदाको क्लियरिङ वा कनेक्ट आईपीएस शुल्क, र (घ) लाभांश प्राप्ति, शेयर नपरेको पैसा फिर्ता हुँदा आईपीएस शुल्क तिर्नुपरेको छ । पूर्ण अनलाइन बनाउने नाममा आईपीएसलाई शेयर कारोबार प्रणालीको अंग बनाएर प्रत्येक कारोबारमा समेत आईपीएस शुल्क तिर्न बाध्य बनाइएको छ । हो, प्रविधिले गर्दा शेयर आवेदन, लाभांश प्राप्ति, किनबेच धितोपत्रको हस्तान्तरण र रकम लेनदेन सहज भएको छ, तर प्रविधिको नाममा अनेक शुल्क तिर्न बाध्य लगानीकर्ताका लागि प्रविधि आर्थिक बोझ बनेको छ । प्रविधिले लगानीकर्तासँगै बजार सञ्चालक, डिपोजिटरी र क्लियरिङ, शेयर दलाल, डीपी सेवाप्रदायक र नियामक सबैलाई सहज भएको छ । तर, यसको सम्पूर्ण आर्थिक भार आफूमा सारिएको अनुभूति लगानीकर्ताले गरिरहेका छन् । प्रविधिसँगै जोखिम नेपालजस्तो प्रविधिको आयात र उपभोगमा सीमित मुलुकलाई प्रविधि वरदान मात्र होइन, जोखिम पनि हुन्छ । हार्डवेयर, सफ्टवेयर, सञ्चारमाध्यम र प्रविधि, स्याटेलाइट सबै अरूको भर पर्नुपर्ने अवस्थामा प्रविधिको माध्यमबाट सूचनामा अनधिकृत पहुँच र दुरुपयोगलाई नकार्न सकिँदैन । जतिसुकै सुरक्षित र त्रुटिरहित प्रविधि भए पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण यो जोखिमपूर्ण हुन्छ । अझ कम्प्युटर र सफ्टवेयरमा हुने न्यून लगानी, छलछाम र सुरक्षामा गरिने सम्झौताले थप जोखिम सृजना गरिरहेको हुन्छ । हुन त भर्खर प्रविधितर्फ वामे सर्दै गरेको नेपाली पूँजीबजारमा प्रविधिगत क्षति र जोखिमबारे खास प्रश्न उठेको वा उठाइएको छैन । अनलाइन कारोबार, सफ्टवेयरबाट लागत गणना, विद्युतीय माध्यमबाट राफसाफसँगै थप सुरक्षित र भरपर्दो प्रविधिगत सेवाको आशा गरेका लगानीकर्ता अर्धस्वचालित कारोबार प्रणाली, कारोबार सञ्चालन र व्यवस्थापनमा स्वार्थ बाझिने तेस्रो पक्षको सहभागिता, जिम्मेवार निकायबाटै प्रविधिगत पहुँचको दुरुपयोग, सफ्टवेयरबाट लागत गणनामा व्यावहारिक त्रुटिले कारोबार र करको जोखिमका साथै लगानीकर्ताको व्यक्तिगत सूचना र सम्पत्तिमा अनधिकृत पहुँच र दुरुपयोगको सम्भावना बढाएको छ ।  नेप्से, सीडीएससी, दलाल र लगानीकर्ताको विद्यमान प्राविधिक शीप र क्षमता, भौतिक पूर्वाधार, सुरक्षित सूचना प्रवाह र भण्डारण (डाटा सेन्टर), कारोबार प्रणाली र राफसाफमा बहुपक्षीय संलग्नता, डाटा संकलन, सुरक्षा, प्रयोग र भण्डारणको जिम्मेवारी सहितको कानून अभावले प्रविधिगत जोखिम बढाएको छ । जतिसुकै नवीनतम प्रविधि भए पनि त्यसमा मानवीय संलग्नताका कारण विश्वसनीयता मुख्य मुद्दा हुने बिर्सनु हुँदैन । अन्त्यमा, पूँजीबजारलाई प्रविधिमैत्री बनाउँदै गर्दा (क) लागतको सन्तुलित बाँडफाँट, (ख) बजारमा सबै प्रकारका लगानीकर्ताको सहज पहुँचको सुनिश्चितता, (ग) नयाँ प्रविधिमा पहुँच, ज्ञान र शीप नभएका लगानीकर्ताको क्षमता विकाससँगै उपयुक्त विकल्प, (घ) सुरक्षित कारोबारसँगै तथ्यांकमा अनधिकृत पहुँच र दुरुपयोग नहुने सुनिश्चितता गरिनुपर्छ ।

क्रिप्टो करेन्सीको बहस

नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङअन्तर्गतको कारोबारलाई गैरकानूनी भन्दै सार्वजनिक सूचना प्रकाशन गरेपछि यसको पक्ष र विपक्षमा विभिन्न तर्क आइरहेका छन् । क्रिप्टो नै अङ्कीय (डिजिटल) मुद्रा हो, यसलाई कारोबारयोग्य नबनाएर वा मान्यता नदिएर देशलाई प्रविधिको विकासबाट पर धकेलेको जस्ता तर्क आएका छन् भने विपक्षमा यो मुद्रा नै होइन, एक देशमा द्वैध मुद्रा हुन सक्दैन भन्ने तर्क आएका छन् । यी तर्कमध्ये विपक्षमा आएको तर्कको भार बढी देखिन्छ । कुनै पनि शब्दका पछाडि ‘करेन्सी वा मुद्रा’ जोड्नेबित्तिकै त्यसले मुद्राको मान्यता पाउन सक्दैन । मुद्राको मान्यता पाउन त्यसले निश्चित शर्त पूरा गर्नुपर्ने हुन्छ । चीनलगायत देशमा क्रिप्टो प्रतिबन्धित रहेको अवस्थामा नेपालमा अहिल्यै यसको कारोबार खुला गरिहाल्नु हुँदैन । खुला गर्दा पनि सेबीले के कसरी नियमन गर्ने अख्तियारी पाउँछ, त्यसको आधारमा नेपालमा पनि बिस्तारै खुला गर्दै वस्तुसरह कारोबार गर्न सकिने संयन्त्र निर्माण गर्नुपर्छ । मुद्रा र मुद्राको मान्यता सामान्य अर्थमा मुद्रा भनेको देशको कुल सेवा र वस्तुको कुल मूल्य हो । कुनै न कुनै रूपमा प्राचीनकालदेखि मुद्रा अस्तित्वमा रहँदै आएको छ । वर्तमान समयमा मुद्राको केन्द्रीय प्राधिकारी निकाय केन्द्रीय बैंक हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा २९ ज मा ‘मुद्रा भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र र क्रेडिट कार्ड सम्झनुपर्छ र उक्त शब्दले बैंकले आवश्यकतानुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरण समेतलाई जनाउँछ’ भनिएको छ । ऐनको दफा २९ झ मा ‘करेन्सी नोट भन्नाले नगदका रूपमा चलनचल्तीमा रहेको बैंक नोट सम्झनुपर्छ र यो शब्दले सिक्का समेतलाई जनाउँछ’ भनिएको छ । त्यस्तै, दफा २९ ञ मा ‘विदेशी मुद्रा भन्नाले नेपाली मुद्राबाहेक अन्य मुद्रा सम्झनुपर्छ र उक्त शब्दले अन्तरराष्ट्रिय मुद्राकोषबाट रकम झिक्ने विशेष अधिकार (स्पेशल ड्रइङ राइट्स), एशियन करेन्सी, यूरापेली करेन्सी युनिट तथा बैंकले आवश्यकतानुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरण समेतलाई जनाउँछ’ भनेको छ । दफा २९ ट मा ‘नेपाली मुद्रा भन्नाले नेपाली रुपैयाँमा अङ्कित मुद्रा सम्झनुपर्छ’ भनेको छ । दफा २९ ठ ले ‘परिवत्र्य विदेशी मुद्रा भन्नाले बैंकले आवश्यकतानुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी विदेशी मुद्रा भनी तोकिदिएको विदेशी मुद्रा सम्झनुपर्छ’ भनेको छ । देशभित्र मुद्रा (बैंक नोट र सिक्का) निर्गमन गर्ने प्राधिकार ऐनको दफा ५२(१) ले नेपाल राष्ट्र बैंकलाई दिएको छ । दफा ५१(२) अनुसार यस्ता मुद्रा नेपालभित्र कानूनी ग्रा⋲य (लिगल टेन्डर) हुने र यस्तो मुद्राको जमानत नेपाल सरकारबाट प्राप्त हुन्छ । ऐनको दफा ५२(२) मा सुरक्षण राखेर मात्र नोट निर्गमन हुने र यस्तो निर्गमित नोटको दायित्व सुरक्षणबापत राखिएको सम्पत्तिको मूल्य बराबर हुन्छ । केन्द्रीय बैंकले आवश्यकताअनुसार विभिन्न दरका बैंक नोट निर्गमन गर्नसक्ने व्यवस्था दफा ५२(४) मा छ । दफा ५३ मा बैंकद्वारा निर्गमन गरिएका बैंक नोट तथा सिक्का यसको अङ्कित रकमसम्मको सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न नेपालभित्र सर्वस्वीकार्य हुनेछ भनेर अधिकारसम्पन्न बनाइएको छ । मुद्रा भौतिक र अभौतिक दुवै रूपमा रहनसक्ने अवस्था देखिन्छ । क्रिप्टो र डिजिटल मुद्रा क्रिप्टोको शाब्दिक अर्थ ‘गुप्त, छद्म वा प्रछन्न’ हो । क्रिप्टोको पछाडि ‘करेन्सी’ जोडेर यसलाई ‘गुप्त, छद्म वा प्रछन्न मुद्रा’ भनिएको छ । यसलाई नै ‘डिजिटल वा अंकीय वा भर्चुअल वा आभासी मुद्रा’ भनिएको छ । क्रिप्टो मुद्रा हो भनेर जतिसुकै ठूलो बहस चले वा चलाए पनि यो मुद्रा होइन, मुद्रा हुनका लागि सरकारबाट जमानत प्राप्त भई केन्द्रीय बैंकबाट जारी र सर्वस्वीकार्य रूपमा आमव्यक्तिले ग्रहण गर्नलायक हुनुपर्छ । क्रिप्टोले यी कुनै पनि शर्त पूरा गरेको छैन गर्न पनि सक्दैन । क्रिप्टो व्यक्तिव्यक्तिबीच विश्वासको आधारमा कारोबार हुन्छ । संसारमा अहिले अनेकौं नामका क्रिप्टो भए पनि यसको अंकित मूल्य छैन । यसलाई गोटामा गन्ती गरिन्छ । यस्ता गोटा कतिसम्म बनाउन सकिन्छ भन्ने पहिले नै निश्चित गरिएको छ । त्यति पुगेपछि त्यसको ‘माइनिङ’ भनिने निर्माण वा उत्पादन हुन सक्दैन । मात्रा पुगेपछि जतिओटा छ त्यही कारोबार भइरहन्छ र कहिलेसम्म हुन्छ भन्ने पनि कुनै समयावधि छैन किनकी यो विश्वासमा अडेको छ । जुन दिन यसमा विश्वास हराउन थाल्छ यसको अस्तित्व पनि समाप्त हुन्छ । जमानती वा कानूनी ग्रा⋲य मुद्रा जस्तो सदाकाल चलिरहन सक्दैन । यही कुरालाई मनन गरेर बैंक अफ इङल्यान्डले भविष्यमा क्रिप्टो मूल्यहीन हुने बताएको छ । यसै सन्दर्भमा इङल्यान्डको ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ ले इङल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाइज फाइनान्स)को नाममा अनुमतिविना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिन दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म कुनै पनि क्रिप्टो दर्ता नभएको बताएको छ । त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिँदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ । मुद्रा कि वस्तु माथिका बिभिन्न अनुच्छेदमा मुद्राको मान्यता पाउन के के पूर्वयोग्यता हुनुपर्ने रहेछ भन्ने ज्ञात भइसकेको छ । क्रिप्टोले मुद्रा हुने कुनै योग्यता पूरा नगरेको हुँदा यसलाई मुद्राको कोटीमा राख्न सकिँदैन र मुद्रासरह कारोबार गर्न पनि सकिँदैन । भारतले यसलाई मुद्रा नभनी वस्तुसरह मान्यता दिएर ‘गुप्त सम्पत्ति’ अर्थात् ‘क्रिप्टोएसेट’ नामकरण गरेको छ । शेयरबजार र कमोडिटी नियामक सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्ण्डिया (सेबी)लाई नियमन गर्न दिने गरी कानूनी प्रबन्ध गर्दै छ । भारतले ‘वस्तु वा एसेट’माने पनि यसको भौतिक अस्तित्वभने छैन । यो अदृश्य चिज जुन कल्पना मात्र गरिएको छ र यसलाई जमानती वा कानूनी ग्राह्य मुद्रा तिरेर किनबेच गरिन्छ र यसको लाभमा भारतले ३० प्रतिशत पूँजीगत लाभकर लगाएको छ । मुद्राको एउटा विशेषता अङ्कित मूल्य कहिल्यै परिवर्तन हुँदैन । निर्गमन गर्दा जुन अङ्कित मूल्य हुन्छ, सदाकाल त्यही रहिरहन्छ । कानूनी ग्राह्य वा जमानती मुद्रा पनि डिजिटल स्वरूपमा रहन सक्छ र रहेको पनि छ । हाल नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको इन्टरबैंक पेमेन्ट सिस्टम (आईपीएसं, फोनपे, मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने भुक्तानी डिजिटल मुद्राकै स्वरूप हुन् । आईपीएसलगायतबाट भुक्तानी गरिएको मुद्रा (नोट) को भारी बोकेर प्रापककोमा जानु पर्दैन । क्रिप्टो र डिजिटल मुद्रा समानार्थी शब्द हैनन् । यसलाई समान अर्थमा बुझ्नु गलत हुन्छ । अहिलेसम्म कुनै पनि देशले डिजिटल मुद्रै भनेर निर्गमन नगरेको अवस्थामा भारतले ई–रुपया नामक डिजिटल मुद्रा निर्गमन गर्ने घोषणा गरेको छ । हेर्न बाँकी छ, भारतले निर्गमन गर्न यस्तो मुद्रा कस्तो हुनेछ र कसरी कारोबारमा आउनेछ त्यो भविष्यमा देखिनेछ । अन्त्यमा, चीनलगायत देशमा क्रिप्टो प्रतिबन्धित रहेको अवस्थामा नेपालमा अहिल्यै यसको कारोबार खुला गरिहाल्नु हुँदैन । खुला गर्दा पनि सेबीले के कसरी नियामन गर्ने अख्तियारी पाउँछ, त्यसको आधारमा नेपालमा पनि बिस्तारै खुला गर्दै वस्तुसरह कारोबार गर्न सकिने संयन्त्र निर्माण गर्नुपर्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

किन अस्थिर भयो शेयरबजार

प्रसिद्ध अमेरिकी आर्थिक पत्रकार चार्लिज डाउको विचारमा आधारित भई हेमिल्टन र नेल्सनलगायत विश्लेषकहरूको विचार, खोज र अनुसन्धानहरूको आधारमा डाउ सिद्धान्त प्रतिपादन भएको थियो । लामो समय वाल–स्ट्रिट जर्नलमा प्रकाशित चार्लिज डाउको विचारहरूले सामान्य अर्थमा शेयरबजारको कुनै पनि मूल्य प्रवृत्तिले औसतमा ४ वर्षको यात्रा तय गर्ने दाबी गरिएको छ । नेपालको नेप्से परिसूचकले चार्लिज डाउको सिद्धान्तलाई भरपुर पछ्याएको देखिन्छ । नेप्सेले सन् २००० नोभेम्बरमा उच्चतम ५ सय ४४ अंकको रेकर्ड बनाएको थियो भने त्यसको ४० महीनापछि सन् २००४ जनवरीमा न्यूनतम अंक २ सय आइपुगेको थियो । त्यसपछिको प्रवृत्तिले पनि क्रमशः ४–४ वर्षको अन्तराल अर्थात् सन् २००८ अगस्तमा सर्वाधिक १ हजार १ सय ७५, सन् २०१२ अगस्तमा न्यूनतम २ सय ९९, सन् २०१६ जुलाईमा अर्को सर्वाधिक १ हजार ८ सय ८८ र सन् २०१९ नोभेम्बरमा १ हजार १ सयको न्यूनतम टेवा लिएको थियो । नेप्सेको आजसम्मको बुलिश वा बियरिस प्रवृत्तिले न्यूनतम ३३ महीनादेखि अधिकतम ४८ महीनासम्मको अवधि निर्धारण गरेको देखिन्छ । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महत्वपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । विश्वको पूँजीबजार इतिहासमा सधैं एउटै सिद्धान्त वा विचारले काम गर्छ भन्ने हुँदैन । विकसित मुलुकहरूको शेयर सूचकले ८ देखि १० वर्षसम्मको बुलिश प्रवृत्तिहरू बनाएको छ । अमेरिकाको शेयर सूचक डाउ जोन्स सन् २००९ यता बुलिश प्रवृत्तिमा नै छ, यद्यपि कोभिड–१९ महामारीताका सन् २०२० मार्चमा भने ४ वर्ष पुरानो अवस्थामा फर्किएको थियो । तर, त्यो ७ महीनाको अल्पकालीन समयमा नै पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । भारतको अवस्था पनि अमेरिकाको भन्दा फरक छैन । कोभिड–१९ को महामारीताका ४ वर्ष पुरानो अवस्थामा पुगेको सूचकले पछिल्लो समय सर्वाधिक अंकको रेकर्डहरू कायम गरिरहेको छ । यस अर्थमा डाउ सिद्धान्तलाई ठूला मुलुकहरूका शेयरबजारहरूले प्रतिरोध पार गरिसकेको अवस्था छ । बुलिश बजारको अवस्था र सापेक्षता कोभिड–१९ को महामारी अगाडि शेयरबजार बढ्नुमा कुनै आर्थिक गतिविधि वा सूचकले प्रेरित गरेको देखिँदैन । कोरोना महामारी एवं निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहेकाले सवैका लागि शेयरबजार निर्विकल्प बन्यो । अनलाइन कारोबारका कारण लगानीकर्ताले घरबाटै कारोबार गर्ने र शेयरबजारमा लगानी गर्ने मौका पाए । जसका कारण अत्यधिक नयाँ लगानीकर्ता बजारमा भित्रिए । निषेधाज्ञाको समयमा लगानीका वा व्यापारका अन्य क्षेत्रहरू खुम्चिँदा ब्याजदर घटेको र त्यो कर्जा शेयरबजारमा परिचालन भएको थियो । फलस्वरूप कोभिड–१९ को समयमा शेयरबजारको कारोबारमा ऐतिहासिक रेकर्डहरू देखियो । नेपालको शेयरबजारलाई स्वचालित एवं पूर्ण अनलाइनमा सञ्चालन गर्न ठूलै धक्का आवश्यक देखिन्थ्यो । न्युटनको चालको नियमझैं कोभिड–१९ को धक्काले अन्ततः बजारलाई आजको अवस्थामा रूपान्तरण गरेको देखिन्छ । अहिले कोभिड–१९ को महामारीबाट जनजीवन सामान्य भएसँगै अन्यत्र आर्थिक गतिविधिहरू सुचारू हुन थालेको छ । जसका कारण क्रमशः बैंकहरूमा कर्जाको माग व्यापक बढेको देखिन्छ । बैंकहरूसँग लगानीयोग्य पूँजीको अभाव भइसकेका कारण बैंकहरूले ब्याजदर धमाधम बढाउन बाध्य भएका छन् । बाध्यतावश बैंकहरूले ब्याजदर बढाए पनि पछिल्लो समयमा निक्षेप संकलनमा अपेक्षाकृत सुधार आएको छैन । असोजको पहिलो सातासमेत ८ सय ३२ करोड नयाँ निक्षेप संकलन भएको छ भने भदौको अन्तिम साता २६ सय ३० करोड निक्षेप संकलन भएको थियो । नयाँ निक्षेपको स्रोत पहिचान गर्न नसकेका कारण बजारमा लगानीयोग्य तरलताको अभाव चुलिँदै गएको छ । निक्षेपको स्रोतमा देखिएको समस्या सम्बोधन नभएकाले ब्याजदर बढाउँदाको नतीजा भने एउटा बैंकको पैसा अर्काे बैंकमा सर्ने अवस्थामा पुगेको छ । आर्थिक अवस्था र मुद्रा सञ्चिति समग्र मुलुकको आर्थिक सूचकहरू पछिल्लो समय नकारात्मक भएरहेको देखिन्छ । अहिले सरकारी खर्च बढेको छैन भने दातृ निकायको सहयोग एवं विप्रेषण आप्रवाह समेत घटेको देखिन्छ । आयात बढेपछि व्यापारघाटा मनग्य बढेको छ भने शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति एवं मूल्य वृद्धिलगायत सूचकहरूमा अत्यधिक दबाब बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थितिको सूचकहरू धेरै नकारात्मक देखिएका छन् । गत जेठ मसान्त १५ सय १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति असार मसान्तमा पुनः १ सय २३ करोडले बचतमा आएको थियो । तर पछिल्लो प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ सय ७५ करोडले घाटामा छ जुन अघिल्लो वर्षको साउनमा ५१ सय ४६ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चिति घट्ने क्रम पनि जारी रहेको देखिन्छ । असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड बराबर थियो भने साउनमा त्यो सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेर घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रहेकोे छ । त्यससँगै चालू खातासमेत अधिक घाटामा पुगेको देखिन्छ । गतवर्षको साउनमा २५ सय ४१ करोड बचतमा रहेको चालू खाता यो वर्ष साउनमा ४७ सय ९० करोड घाटामा पुगेको छ । यस वर्षको साउनमा विप्रेषणमा पनि १८ दशमलव १ प्रतिशतले कमी आएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको थियो । गतवर्षको साउनमा ९२ सय ७१ करोड विप्रेषणका रूपमा नेपाल भित्रिएको थियो भने यो वर्षको सोही समयमा विप्रेषण आप्रवाह ७५ सय ९६ करोडमा सीमित रहन पुगेको छ । व्यापारघाटा समेत आव २०७८/७९ को पहिलो महीनामा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ दशमलव २ प्रतिशतले बढी हो । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महŒवपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । नेपालको पूँजीबजारमा आज पनि वास्तविक क्षेत्रको प्रवेश गराउनेदेखि दायरा विस्तार गर्नेलगायत विषयमा गतिरोध देखिएको छ । यस्ता गतिरोधहरूको समाधान गर्ने हो भने पूँजीबजार पनि दिगो, सम्पन्न र सबल अर्थतन्त्रको आधारशिलाका रूपमा स्थापित हुनसक्छ । नेपालको सन्दर्भमा अर्थतन्त्र र पूँजीबजारको सम्बन्ध सापेक्षता नदेखिए पनि आर्थिक तथा वित्तीय सूचकहरूले भने शेयरबजारलाई पनि प्रभावित पारिरहेको हुन्छ । शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, आयात वा निर्यात, मूल्यवृद्धि, मुद्रास्फीति वा विप्रेषण जस्ता आधारभूत आर्थिक सूचकहरू नकारात्मक भएसँगै त्यसको प्रभाव अहिले शेयरबजारमा परेको देख्न सकिन्छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयतासमेत गुमाएको छ । उपभोग चक्र र बजारको तरलता सन् २०१५/१६ को तथ्यांक विभागको घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च औसत ३ दशमलव ५ रहेको छ । त्यसमध्ये औसत ५४ प्रतिशत खर्च खाद्यान्नका लागि हुने गरेको देखिन्छ । नेपालको कुल राष्ट्रिय उपभोगको १९ प्रतिशत खर्च दशैंको अवधिमा हुने देखिन्छ भने प्रतिपरिवार औसत दशैंखर्च ७० हजार निस्कने देखिन्छ । औसत उपभोग्य खर्चलाई आधार मानेर हेर्ने हो भने ५२ लाख घरधुरीको दशैंको कुल बजेट ३ खर्ब ५० अर्ब पुग्ने देखिन्छ । नेपालको उपभोग मूलतः आयातमा निर्भर छ भने दशैंको मुखमा हुने गरगहना, विद्युतीय उपकरणहरू वा गाडीहरूसहित कुल आयातको अंक १ खर्बभन्दा बढी हुने गर्छ । अर्थात् नेपालीहरूले प्रयोगमा ल्याएका गरगहना, विद्युतीय उपकरणहरू वा गाडीदेखि खाद्यान्न र लत्ताकपडा समेतमा आयातको भरथेग देखिन्छ । यसअर्थमा नेपालको कुल दशैंको खर्च ४ खर्बभन्दा बढी वा कुल गार्हस्थ्य उत्पादनको १९ प्रतिशत र कुल वार्षिक बजेटको एक तिहाइभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रत्येक आर्थिक वर्ष पहिलो त्रैमासिक अवधिमा वर्षभरिको कुल विप्रेषणको २५ देखि ३० प्रतिशत रकम भित्रिने गरेको छ । यो अवधिको अधिकांश विप्रेषणले उपभोगलाई बढाउने देखिन्छ । त्यसअतिरिक्त नेपाल राष्ट्र बैंकको तयारीअनुसार पनि चक्रीय प्रणालीभित्र रहेर दशैंको समयमा ३५ अर्बभन्दा बढी नयाँ नोट जारी गरेको छ । सरकारी तथा गैरसरकारी तहबाट ८० अर्बभन्दा बढी रकम दशैंका लागि कर्मचारी खर्चका रूपमा वितरण हुन्छ । यो समयमा बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको पैसा उपभोगमा नै खर्च हुने देखिन्छ । खर्चको रूपमा बजारमा पुगेको रकम फेरि औपचारिक माध्यमबाट बैंकमा पुग्न अर्को १ महीना लाग्नसक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ठूला चाडपर्व आसपास अधिकांश वस्तुको मूल्य बढ्ने र उपभोगमा आधारित मूल्यवृद्धि अधिक हुने गरेको छ । वस्तु वा सेवाको बजार मूल्यसमेत सामान्य अवस्थाको भन्दा बढी हुने कारणले दशैं वा चाडपर्वको समयमा उपयोग हुने मुद्रा औसतभन्दा बढी हुनसक्छ । यसर्थ धेरै पैसा उपभोगका लागि परिचालन हुने भएकाले त्यसको असर निक्षेप संकलनमा समेत पर्छ । फलस्वरूप निक्षेपको ब्याजदर वृद्धिको सूचना प्रकाशित गर्न बैंकहरू बाध्य भएका छन् । पछिल्लो समय बजारको दबाबका अतिरिक्त राष्ट्र बैंकले मौद्रिक नीतिले समेत ब्याज बढाउन बैंकहरू बाध्य बनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले सीसीडी अनुपातको सट्टा सीडी अनुपात कायम गर्नुपर्ने प्रावधान राखेको थियो । जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम कम हुन गएको र चाडपर्व नजिकिएसँगै बैंकहरूबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नीतिगत परिवर्तन र स्वार्थकेन्द्रित अराजक समूह नेपाल राष्ट्र बैंकले सीडी अनुपातको अतिरिक्त शेयर धितो कर्जामा समेत फरक प्रावधानको व्यवस्था ग¥यो । मौद्रिक नीतिमा एउटा बैंक वा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई शेयर धितोमा बढीमा ४ करोड र शेयर धितो राखेर एक व्यक्ति वा संस्थाले विभिन्न बैंक वा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो । त्यसैगरी बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबार गर्न समेत कडाइ गरी बैंकहरूलाई लघुवित्तको शेयर खरीदमा निश्चित प्रतिबन्ध लगाइएको थियो । उल्लिखित कतिपय प्रावधान प्रभावकारी नियमनका दृष्टिकोणले सान्दर्भिक पनि देखिन्छन् । जोखिमरहित तरलताको व्यवस्थापन र समान रूपले शेयर धितो कर्जा प्रवाह गर्ने कार्यलाई उल्लिखित नीतिगत प्रावधानले टेवा दिएको छ । तर, नयाँ नीतिगत प्रावधान ल्याउने समयको सन्दर्भमा भने नेपाल राष्ट्र बैंक चुकेको छ । यसले गर्दा बजारमा अराजक समूहले खेल्ने प्रशस्त मौकासमेत पाएको र बजारलाई अस्थिरतातर्फ धकेलेको प्रतीत हुन्छ । अराजक समूह र प्रवृत्तिले नै गर्दा बजारमा नराम्रो पर्फमेन्स भएका कम्पनीको समेत मूल्य अस्वाभाविक उचालिएको थियो । केही त्यस्ता नराम्रो पर्फमेन्स भएका कम्पनीको मूल्य घट्नुलाई स्वाभाविक लिन सकिन्छ । तर, बजारमा आफूलाई प्राप्त प्रतिकुल अवसरको उपयोग गरेर राम्रा कम्पनीको समेत मूल्यमा चलखेल भएको देखिन्छ । त्यसको अतिरिक्त पछिल्लो समय नियामक निकायहरूका नेतृत्व नै बजारमा चलखेल गर्न सफल भएका छन् । नेपाल धितोपत्र बोर्डदेखि नेप्सेका प्रमुखहरू समेत अवैधानिक रूपमा शेयर किनबेचमा सामेल भएको पुष्टि भइसकेको छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयता समेत गुमाएको छ । साथै, स्वार्थकेन्द्रित लगानीकर्ताको विभिन्न समूहहरूले आफूअनुकूलका अभियान वा आन्दोलनहरू सञ्चालन गर्ने प्रवृत्ति देखिन्छ । नियामकलाई अनुचित दबाब दिने र प्रायोजित रूपमा उपलब्ध सूचनाहरूको समेत दुरुपयोग गर्नेहरूको समूहसमेत ठूलो रहेको छ । बजारमा गिरावट आउनै नहुने भन्ने प्रवृत्ति बजारको स्वतन्त्र विकासका लागि बाधक हो । यस समयमा पूँजीबजारको प्रतिफलले सबैलाई आकर्षित गर्ने परिस्थिति छ । तर, त्यसअनुसार पूँजीबजारमा लगानीकर्ताको आकर्षण देखिँदैन । अर्थात्, सापेक्ष अर्थतन्त्रको विकल्पको आधार रूपमा पूँजीबजारले आफ्नो मार्ग तय गर्न नसकेका कारण निश्चित क्षेत्रका कम्पनी र सीमित वर्गका मानिसहरू पूँजीबजारको हाताभित्र अटाएका छन् । तसर्थ पूँजीबजारको आकारलाई अर्थतन्त्रको क्षेत्रगत अंशका आधारमा विस्तार गर्नु आजको आवश्यकता हो । तसर्थ सरकारले समेत धितोपत्र बोर्डलाई थप बलियो बनाउने र नियामक निकायको रूपमा प्राप्त कार्याधिकारलाई फराकिलो र गतिशील बनाउन जरुरी छ । निश्चित अधिकारसहित धितोपत्रको विषयमा कानूनको मस्यौदा, पैरवी र न्यायिक अधिकारसमेत धितोपत्र बोर्डलाई दिने व्यवस्था गर्न आवश्यक छ । शेयरबजार सधैं बढिरहनुपर्छ भन्ने मान्यता राख्नु गलत हो । बजार कुनै बेला घट्छ, कुनै बेला बढ्छ, यो बजारको स्वाभाविक लय हो । कुनै पनि कम्पनीको मूल्य सधैं बढ्छ वा बढ्नुपर्छ भन्ने हुँदैन । बजारमा लगानी गर्न, उच्च प्रतिफल लिन र जोखिम न्यूनीकरणका लागि समयलाई चिन्नु आवश्यक छ । कुन समयमा कस्तो प्रकारको प्रवृत्ति तयार हुन्छ, सोहीअनुरूप लगानीको निर्णय लिनु आवश्यक छ । शेयरको लगानीले सधैं राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन । उपयुक्त समयअनुसार योजना बनाएर लगानी गर्नु जोखिमरहित हुन्छ । शेयरमा लगानी गर्ने धेरैको आफ्नै अनुभवहरू हुन्छन् । सफल, असफल वा पैसा कमाउने वा नकमाउनेहरूको समेत आआफ्नै अनुभवहरू हुन्छन् । आफ्नो अनुभवका आधारमा सबल आत्मविश्वास र दृढता पाल्ने हो भने बजारबाट अपेक्षित प्रतिफल लिन सकिन्छ । आफ्नो लगानी नै भरोसा गर्नु र आफैले जानेर विवेकपूर्ण निर्णय गर्नु आवश्यक छ । अरूको पछाडि दौडने प्रवृत्ति त्यागेर आधारभूत विषयहरूमा अध्ययन गरी निर्णय लिने क्षमता वृद्धि गर्नु नयाँ लगानीकर्ताले आवश्यक छ । लगानीको उचित प्रतिफल लिन धैर्य अति आवश्यक हुन्छ । अस्थिर मानसिकताले गरेको लगानीले जोखिमसमेत निम्त्याउन सक्ने देखिन्छ । शेयरबजारको लगानीले केही दिन वा हप्तामा नै अथाह कमाउने सपना देख्नु अस्वाभाविक हो । यस्तो उच्च महत्त्वाकांक्षा वा यथार्थपरकभन्दा बाहिरको अपेक्षाले लगानीकर्तालाई हित गर्दैन । तसर्थ प्रत्येकले शेयर खरीदभन्दा अगाडि इतिहास देखि वर्तमानसम्मको कम्पनीको कार्यप्रगति मूल्यांकन गर्नु आवश्यक छ । बजारमा प्रवेश गरेपछि इमोशन वा इगो र आफूभित्रको डर र लोभलाई नियन्त्रण लिन आवश्यक छ । साथै बजारशाट शेयर बेच्ने समयमा पनि कतिपय अवस्थामा पैसा गुमाउने डरले हतारमा निर्णय गर्ने गरिन्छ र त्यसले समेत नोक्सानी बेहोर्ने अवस्था आँउछ । कतिपय अवस्थामा आफूले लगानी गरेको रकमको मूल्य तल झरे पनि कुनै समय त्यो फिर्ता आउछ भन्ने दृढता पाल्नु आवश्यक छ । लगानीकर्ताले जुन आत्मविश्वासका साथ लगानी गरिएको छ त्यही आत्मविश्वासका साथ धैर्य गर्नु आवश्यक छ । लेखक आर्थिक विकास अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

आधुनिक भुक्तानी प्रणालीका उपकरण

आधुनिक भुक्तानीका उपकरणहरूको प्रयोग गरी वित्तीय कारोबारहरू मौद्रिक मूल्यमा ट्रान्सफर गर्न सकिने कार्यलाई भुक्तानी प्रणाली भनिन्छ । वित्तीय कारोबारहरू सञ्चालन गर्न, सेवाप्रदायक संस्था, उपकरण, जनशक्ति, ऐन, नियम, निर्देशिका, संस्थागत सुशासन, कार्यविधि, तोकिएका मापदण्ड र प्रविधिको सहयोगबाट सम्भव हुन्छ । आधुनिक उपकरणहरूको प्रयोगबाट बैंकिङ प्रणाली सहज हुनुका अतिरिक्त गैरबैंकिङ संस्थाहरूबाट तोकिएको सीमाभित्र रही प्रदान गरिएका सेवाहरूबाट सानो मूल्यका भुक्तानी, ट्रान्सफर र प्राप्तिका लागि संस्थामा उपस्थित नभई सम्पादन गर्न सकिने सुविधा प्राप्त भएका छन् । विद्युतीय भुक्तानीसम्बन्धी कारोबार नियन्त्रण बाहिर हुनसक्ने र उपकरणबाट हुने कारोबारमा प्रणाली भित्र कब्जा जमाउन सक्ने व्यक्तिहरूबाट प्रणालीमा रहेको रकम हिनामिना गर्ने प्रबल सम्भावना रहन सक्छ । भुक्तानी प्रणालीमार्फत गरिने कारोबारको प्रमुख भूमिका बैक वित्तीय संस्थाहरूमा रहेको हुन्छ । बैंकहरूले सञ्चालन गरिरहेका प्रणालीमा आधुनिक उपकरणहरूलाई इन्टरफेशको सहायताले कारोबार गर्न सकिन्छ । भुक्तानी प्रणालीमार्फत शेयरबजार, डिबेन्चर, मुद्रा, फ्युचर मार्केट्र्स, वस्तु तथा अप्शन बजारलाई इन्टीग्रेशन गरी सेवा प्रवाह गर्न सकिन्छ । पस टर्मिनल वा अन्य उपकरणको प्रत्यक्ष लिंक मर्चेन्ट र ग्राहकसँग स्थापित हुन्छ । सोही माध्यमबाट दुर्गम वा ग्रामीण क्षेत्रसम्म सेवा प्रवाह गर्न कठिनाइ हुँदैन । गैरबैंकिङ संस्थाले सञ्चालन गर्ने कारोबार सानो मूल्य, ग्रामीण तहसम्मका उपभोक्ताहरूको पँहुचमा विस्तार हुनुपर्छ । बैंक वित्तीय संस्थाहरूको पूँजी, कारोबार, लगानीको क्षेत्र र व्यावसायिक उत्पादनशीलताको आधारमा ग्रामीण, दुर्गम भेकसम्म सेवा दिन कठिन देखिन्छ । बैंकिङ पँहुच विस्तार नभएको दुर्गम स्थानसम्मका जनतालाई आधुनिक भुक्तानीका उपकरणहरूमार्फत कारोबार गर्न सहज गराउने उद्देश्यले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायक संस्थाहरूको स्थापना र सञ्चालन गर्न गैरबैंकिङ क्षेत्रलाई अनुमति प्रदान गर्ने नीतिगत व्यवस्था केन्द्रीय बैंकले खुला गरेको थियो । २०७८ असारसम्म भुक्तानी प्रणाली सञ्चालक १० र भुक्तानी सेवाप्रदायक २८ गरी ३८ संस्थाले अनुमतिपत्र प्राप्त गरी केही संस्थाले कारोबार गरिरहेका तथा केही कारोबार गर्ने तयारीमा रहेका छन् । विद्युतीय माध्यमबाट कारोबार गर्दा ग्राहक सेवाप्रदायकको कार्यालयमा उपस्थित भएर गरिने कारोबार होइन । संस्थाले उपलब्ध गराएको एप्लिकेशनमार्फत रजिस्टर गरी युजरनेम, पासवर्ड र कारोबार पिनबाट कारोबार गर्न सकिन्छ । ग्राहकले कारोबार शुरू गरी सम्पन्न नहुँदै बीचैमा प्राविधिक व्यवधान आउन सक्छ । सम्पन्न नभएको अवस्थामा प्रणालीबाट कारोबार उठान गरिएको ग्राहकको खातामा रकम फिर्ता हुने प्रणालीगत संरचना तयार गर्नुपर्छ । सेवाप्रदायकले सोहीबमोजिमको एप्लिकेशन प्रयोग नगरेको अवस्थामा ग्राहक आर्थिक रूपमा मर्कामा पर्नसक्ने तथा हिसाब मिलान हुन नसकेको रकममा वृद्धि हुँदै जान्छ । सेवाप्रदायक संस्थाहरूले सर्टिफाइड एप्लिेकेशन र उपकरणहरूको प्रयोग गर्नुपर्छ । तथ्यांक सुरक्षा, मौज्दात क्षमता, सर्टिफाइड उपकरण, दक्ष जनशक्ति र २४सै घण्टा निगरानीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सेवाप्रदायक संस्थाले नियमनकारी निकायले जारी गरेका निर्देशनहरूको शतप्रतिशत कार्यान्वयन, संस्थागत सुशासन, ग्राहकहित संरक्षण, तथ्यांक सुरक्षा, विनियम र मार्गदर्शनको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । उल्लिखित विषयहरू कार्यान्वयन नगरेको अवस्थामा भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ र भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ बमोजिम कानूनी कारबाही हुन सक्छ । विद्युतीय माध्यमबाट गरिने कारोबार वा भुक्तानी उपकरणहरू सञ्चालन गर्न बैंकबाट अनुमति लिनुपर्छ । कारोबार सञ्चालन गर्न ग्राहकले संस्थाले सञ्चालन गरेको उपकरणमा जम्मा गरिएको रकमलाई विद्युतीय मुद्रा भनिन्छ । संस्थाले बैंकबाट अनुमति नलिई सञ्चालन गरेको उपकरणमार्फत सर्भरमा ग्राहकको रकम जम्मा गर्नुलाई अवैधानिक मानिन्छ । भुक्तानी सेवाप्रदायकको कार्य गर्न कम्पनी स्थापना गर्नुपर्ने त्यसका लागि तोकिएका कागजातहरूसहित आशयपत्र प्राप्त गर्न बैंकमा निवेदन दिनुपर्छ । आशयपत्र प्राप्त गरेको ६ महीनाभित्र बैंकसमक्ष तोकिएका कागजातसहित कारोबार स्वीकृतिका लागि निवेदन पेश दिनुपर्छ । कारोबार अनुमतिका लागि तयार गरिएका कागजातहरूमा कापोलकल्पित, भ्रामक, गलत तथ्यांक वा झूटा बेहोरा प्रयोग गर्नु हुँदैन । भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ बमोजिम अनुमतिपत्र प्राप्त नगरी सेवा सञ्चालन गरेमा वा दफा ८ बमोजिम अनुमतिपत्र प्राप्त गर्न पेश गरेका कागजात, तथ्यांक र विवरणहरू झूटा ठहरिएमा ऐनको दफा ३७ बमोजिम ५ देखि १० वर्षसम्म कैद वा १ करोड रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुन सक्छ । सेवाप्रदायक संस्थाहरूले अनुमतिपत्रको अधीनमा रही तोकिएका उपकणहरू मात्रै प्रयोग गर्ने, नयाँ उपकरण सञ्चालन गर्नुपूर्व स्वीकृति लिने तथा उपकरणबाट गर्ने कार्य परिवर्तन गर्नुपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्छ । संस्थाले ग्राहकको कुनै पनि विवरण, तथ्यांक, सूचना, जानकारी तथा अभिलेख सम्बद्ध व्यक्तिबाहेक कसैलाई उपलब्ध गराउनु हुँदैन । संस्था सञ्चालकले संस्थाको सम्पत्ति सुरक्षित गर्नुपर्छ । हिनामिना गर्न मिल्दैन, उल्लिखित कार्यहरू गरेमा २ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्छ । सेवाप्रदायक संस्थाले ग्राहकको सम्पत्तिको सुरक्षा तथा गरेको कारोबार ग्राहकको हितमा छ/छैन भनी बैंकले निरीक्षण तथा सुपरिवेक्षण गर्छ । बैंकबाट गरिने निरीक्षणमा बाधा विरोध पुर्‍याउनु हुँदैन । बैंकले अनुुमतिपत्र प्रदान गर्दा विभिन्न शर्त तोकी समयसमयमा थप निर्देशन दिन सक्छ । ती निर्देशनको पालना गर्नु सेवाप्रदायक संस्थाहरूको अनिवार्य शर्त हो । ऐनअन्तर्गत बनेका विनियम, बैंकले जारी गरेका निर्देशन वा आदेशअन्तर्गत रही कार्य गर्नुपर्छ । उल्लिखित कार्यहरू नियमसंगत नगरेमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरीवाना हुन सक्छ । संस्थाले कारोबारको पँहुच विस्तार गर्दा केही नीति, नियमहरूलाई आफ्नै प्रकारले व्याख्या गर्न सक्छ । त्यस्तो व्याख्या गर्ने, सहयोग पुर्‍याउने मतियारलाई समेत मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । भुक्तानी तथा फर्छ्योट ऐन, उक्त ऐनअन्तर्गत बनेका विनियम वा बैंकले जारी गरेका निर्देशन वा आदेशको उल्लंघन गर्ने संस्थालाई प्रकृति र गम्भीरताको अध्ययन गरी सचेत गराउने वा नसिहत दिने, सुधारात्मक कदम चाल्नका लागि कबुलियत गराउने, कारोबारमा सीमा तोक्ने, संस्थाको सञ्चालक समितिलाई निलम्बन गर्ने, भुक्तानी उपकरणको सञ्चालनमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने र अनुमतिपत्र खारेजसमेत गर्न सक्ने गरी बैंकले कुनै एक वा एक भन्दा बढी कारबाही गर्न सक्छ । संस्था र सञ्चालकबाहेक कर्मचारीलाई समेत कारबाही गर्न सक्ने व्यवस्था छ । विद्युतीय भुक्तानीसम्बन्धी कारोबार नियन्त्रणबाहिर हुनसक्ने र उपकरणबाट हुने कारोबारमा प्रणाली भित्र कब्जा जमाउन सक्ने व्यक्तिहरूबाट प्रणालीमा रहेको रकम हिनामिना गर्ने प्रबल सम्भावना रहन सक्छ । कसुरको प्रकृति हेरी बैंकले कसुरदारलाई गरिएको सजायको जरीवाना ३० दिनभित्रमा बैंकमा दाखिला नगरेमा निजको नाममा जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट त्यस्तो रकम कट्टी गरी वा निजको नाममा रहेको अचल सम्पत्ति रोक्का गरी बिगो रकम असुल गर्ने व्यवस्था मिलाउन बैंकले सम्बद्ध निकायमा लेखी पठाउन सक्छ । विद्युतीय माध्यमबाट गरिने कारोबारको बजार अधिक रहेको, विस्तार गर्दा गुणस्तरहीन उपकरणहरूको प्रयोग भई ग्राहकहित संरक्षण हुन नसक्ने सम्भावना रहेकाले स्थापनाको चरणबाट गहिरो रूपमा सुपरिवेक्षण र निगरानीको आवश्यकता देखिन्छ । काराबारको संवेदनशीलतालाई दृष्टिगत गर्दै ऐनमा सजायको कठोर प्रावधान राखिएको हुन सक्छ । सेवाप्रदायक संस्थाले ऐन र विनियमावलीमा गरिएका व्यवस्था तथा नियमनकारी निकानयबाट जारी गरिएका निर्देशनहरूको पूर्ण कार्यान्वयन र परिपालनाबाट यस प्रकारका संस्थाहरू एवं तिनले सञ्चालन गर्ने कारोबारको पँहुचको प्रतिफल तल्लो तहसम्म पुग्न गई जनताको जीवन निर्वाहमा सहज हुने तथा जोखिम न्यूनीकरणमा समेत सघाउ पुग्छ भने कानूनको असल अभ्यासले कानूनी कारबाहीको दायरामा आउन पर्दैन । ऐनमा गरिएको कठोर सजायको भित्री आशय पनि यही हुन सक्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीमा जानकारप्राप्त व्यक्ति हुन् ।

शेयर कारोबारमा गरिने गैरकानूनी क्रियाकलाप

शेयरबजार स्वाभाविक र अस्वाभाविक मूल्य वृद्धि र कमी हुन सक्छ । बोनस शेयर, लाभांश, हकप्रद शेयर जारी गर्ने, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाबका वित्तीय परिणामहरू, अन्य पक्षहरूसँग व्यावसायिक सम्झौताहरू, मर्जर तथा एक्युजेशन आदि सूचना अधारमा शेयरबजारमा मूल्य वृद्धि र कमी हुन सक्छ । उक्त कुरा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने भएमा अस्वाभाविक मान्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम उल्लेख गरी अस्वाभाविक चलखेल भएकोे ठहर गर्दै सार्वजनीक सूचना गर्‍यो । धितोपत्र बोर्डलाई शेयरबजारमा चलखेल गर्ने सामाजिक सञ्जालमा अफवाह फैलाउने, स्वघोषित विश्लेषकहरूले आकर्षक लाभांशको प्रचार गरी शेयर मूल्यमा अस्वाभाविक चलखेल गर्ने उपर दण्डसजाय गर्ने अधिकार कानूनीले दिएको छ । शेयरबजारमा केही टाठाबाठा समूहले सस्तोमा शेयर खरीद गर्ने र पछि सामाजिक सञ्जालमा अफवाह फैलाएर मूल्य बढाई अन्य लगानीकर्तालाई फसाउने दण्डनीय अपराध भइरहेका आधारमा लगानीकर्तालाई केही कम्पनीहरूका नाम तोकी सचेत गराउनु बोर्डको कानूनी दायित्व हो । अफवाह फैलाउनेहरूले बोर्डप्रति आपत्ति जनाएको भन्ने समाचार पनि आएको छ । ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी/गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानी दण्ड सजायको व्यवस्था गरेको छ । शेयरबजारमा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने उपर नेपालमा खास कार्वाही भएको नदेखिए तापनि भारतीय शेयरबजारमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालासहित १० जनालाई त्यहाँको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी) ले धितोपत्र कारोबारसम्बन्धी अपराध गरेका आधारमा ३७ करोड भारू जरीवाना तिराएको भन्ने समाचार आएको छ । त्यस्तै अर्को हर्षद मेहताले शेयरबजारमा मेनुपुलेट गरी भारत सरकारले जारी गरेको सेक्युरिटिज विभिन्न बैंकमा धेरैओटा नक्कली रसिद धितो राखी ३०० देखि ४०० करोड कर्जा लिँदै शेयरबजारमा लगानी गरे । कम मूल्यमा खरीद गरेका धेरै कम्पनीका शेयर विभिन्न मिडिया समूहमा रकम खर्च गरी त्यसमार्फत झूटा अफवाह फैलाई शेयर मूल्य बढाउन शुरू गर्‍यो । एशोसिएटेड सिमेन्ट कम्पनी लिमिटेडको शेयर रू. २०० खरीद गरी भिन्न अफवाह फैलाई शेयर मूल्य ९ हजार पुर्‍यो । यसरी धैरै नोक्सानीमा गएका कम्पनी शेयर खरीद गरी शेयर मूल्य बढायो । शेयर मूल्यमा वृद्धि भएका कारण धैरै व्यक्तिहरू शेयरबजारमा लगानी गरी मुनाफा खान झुम्मिए र शेयरबजार बियरबाट बुलको पिकमा पुग्यो । पछि एक पत्रकारले हर्षद मेहताले बैंकलाई ठगी गरी झूटा अफवाह फैलाई शेयर मूल्य बढाएको पर्दाफास गरिदिए । त्यसपछि शेयरबजार आरालो लागि धेरै लगानीकर्ता र बैंकसमेत डुबे । सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी)ले उसलाई पक्राउ गरी मुद्दा चलायो । नेपालमा हालका दिनहरूमा शेयरबजारमा (धितोपत्र विनियम बजारमा) सूचीकृत कम्पनी वा संस्थामा केही व्यक्ति वा समूह मिली आफू र आफ्नो समूहलाई फाइदा लिने उद्देश्यले धितोपत्र कारोबार वा धितोपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने काम गर्न गराउन गलत वा भ्रामक सूचना प्रसारप्रचार गरेको पाइन्छ । विगतमा नेशनल फाइनान्स, गोरखकाली रबर उद्योग, बुटवल धागो, नेकोन एयर, शेयर मार्केट एन्ड फाइनान्स लगाएत धेरै कम्पनीमा अफवाह फैलाई मूल्य बढाइ सर्वसाधारण लगानीकर्ता डुबाएको छ । शेयरबजारमा अफवाह फैलाई बजार मूल्यलाई तलमाथि गर्नेलगायत धितोपत्रसँग सम्बद्ध अपराध गर्ने उपर धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दण्ड सजायको व्यवस्था गरेको छ । धितोपत्रसम्बन्धी अपराध गर्नेलाई उक्त ऐनको दफा १०१ (१), (२),(३),(४),(५),(६),(७) बमोजिम देहायका सजाय हुन सक्छ । १) भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । देहायबमोजिम धितोपत्रसम्बन्धी कारोबार गरेमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) कृत्रिम वा झूटो कारोबारमा हुने सजाय : ऐनको दफा ९४ अन्तर्गत शेयरबजारमा कसैले कृत्रिम वा झूटो कारोबार गर्न नहुने कानूनी व्यवस्था गरेको छ । ख) मूल्यमा उतारचढाव गरेमा : ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानी दण्डसजायको व्यवस्था गरेको छ । ग) धितोपत्र बजारलाई प्रभावित पार्न नहुने : ऐनको दफा ९६ बमोजिम कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा विक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, मूल्य घटाउने, स्थिर बनाउने कार्य गरेमा सजायको व्यवस्था गरेको छ । २) देहायका धितोपत्रसम्बन्धी अपराध गरेमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउन वा प्रकाशित गरेमा : ऐनका दफा ९७ बमोजिम झूटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वअनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने काम गर्नेबाट नोक्सानी भराउने व्यवस्था छ । ख) जालसाजीयुक्त कारोबार गरेमा : ऐनका दफा ९८ बमोजिम जालसाजीयुक्त कारोबारसम्बन्धी व्यवस्था गरेको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा यस्तो कारबाही हुन्छ ।  ग) झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा : ऐनकोे दफा ९९ बमोजिम कुनै विवरण झूटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा नोक्सानी तिराउने व्यवस्था छ । घ) लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउने कार्य गरेमा : ऐनको दफा १००.मा उल्लिखित ऐनको दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकारप्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम तथा विनियमबमोजिम आफूले राख्नुपर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत गर्नेलाई नोक्सानी तिराउने व्यवस्था छ । नेपालमा शेयरबजार लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधारमा उतारचढाव हुनुभन्दा पनि नाटकीय ढंगबाट हुने गरेको छ । शेयरबजारका खेलाडीको नक्कली हल्लाले घटबढमा मुख्य भूमिका हुने गरेको छ । यस्ता खेलाडीउपर खासै दण्डसजाय भएको पाइँदैन । लेखक अधिवक्ता हुन् ।

नियामकको अपरिपक्वता

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलवार धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये ५१ कम्पनीको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको भन्दै नामै किटेर विज्ञप्ति निकालेपछि बोर्डको यस कामको तीव्र आलोचना भइरहेको छ । आफ्नो अध्ययनबाट यी कम्पनीको कारोबार जोखिमयुक्त भएको भन्दै लगानीकर्तालाई सचेत पार्ने काम बोर्डले गरेको हो । तर, बोर्डको कार्य प्रकृतिअनुसार यो काम निकै अपरिपक्व देखिएको छ ।  शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ ।  हो, अर्थतन्त्रका परिसूचकहरू कमजोर रहेका बेला शेयरबजार निकै चम्किइरहेको छ । १ वर्षअगाडि ३०–४० करोडका हाराहारीमा कारोबार भइरहेकामा अहिले कारोबार रकम दैनिक १८–१९ अर्बको हाराहारीमा भइरहेको छ । शेयरबजारमा लाग्नेहरूको संख्या व्यापक बढेको छ र शेयरको कुल पूँजीकरणले कुल गार्हस्थ्य उत्पादनलाई भेटेको छ । यसरी बजार उचालि“दा अध्ययन गरेर लगानी गर्नेहरू पनि होलान्, जोखिम वहन गर्न सक्ने पनि होलान् र लहैलहैमा लगानी गर्ने पनि होलान् । यी सबै खाले लगानीकर्ताको हित संरक्षण गर्नु नियामक निकायको कर्तव्य हो । तर, यो कर्तव्य निर्वाह गर्दा उसले नियमनको निश्चित दायरामा बसेर काम गर्नुपर्ने हुन्छ ।  बजारमा कर्नरिङ भएको छ, भित्री सूचनाका आधारमा कारोबार भइरहेको छ भने त्यसबारे अध्ययन गरेर दोषीलाई प्रमाणसहित कारबाही गर्नु बोर्डको काम हो । त्यस्तै सूचना चुहाएर बजार प्रभावित पारिएको छ भने त्यस्तालाई कारबाही गर्नु पनि बोर्डकै काम हो । अर्थात् शेयरबजारको स्थायित्व र सुरक्षा तथा लगानीकर्ताको हितका लागि काम गर्नु बोर्डको दायित्वभित्र पर्छ । तर, विभिन्न परिसूचकका आधार देखाएर नियामकले खास खास कम्पनीमा लगानी गर्नु जोखिमयुक्त छ भनेर विज्ञप्ति नै निकाल्ने अन्तरराष्ट्रिय अभ्यास देखिएको छैन ।  लगानीकर्ताले पीई रेसियो, नेटवर्थ, ईपीएस आदि हेरेर लगानी गर्नुपर्छ भन्ने मान्यता छ तर, यही मान्यताका आधारमा रहेर मात्रै कसैलाई लगानी गर वा नगर भन्ने अधिकार बोर्डलाई छैन । उसले मंगलवार जसरी जोखिमयुक्त लगानी भन्दै ५१ ओटा कम्पनीको नाम सार्वजनिक गरेको छ त्यसको लगानीकर्ता, विज्ञ र सरोकारवाला सबैले विरोध गरेका छन् । हुन पनि नियामकको काम कसैले गल्ती गरेको शंका लागे त्यसबारे अनुसन्धान गर्ने हो, दोषी प्रमाणित भए कानूनी प्रक्रियाअनुसार कारबाही गर्ने हो । कम्पनीहरूले गल्ती गरेका थिए भने बोर्डले किन कारबाही गरेन त भन्ने प्रश्न उब्जनु स्वाभाविक हो ।  बोर्डले कम्पनीको नाम सार्वजनिक गरेर लगानीकर्तालाई त्रस्त र आक्रोशितसमेत बनाएको छ । गल्ती गर्नेलाई हदैसम्म कारबाही गर्ने अधिकार बोर्डलाई छ । कुनै लगानीकर्ता, पब्लिक कम्पनीको सञ्चालक, तिनको माथिल्लो तहका कर्मचारी र धितोपत्र कारोबार गर्ने संस्थाबाट गल्ती भएको छ भने तिनलाई कारबाही गर्ने हो, कम्पनीलाई कारबाही गर्ने होइन । त्यसैले बोर्डले गरेको काम नियामकीय दायराभित्रको भएको देखि“दैन । सही काम गरेकै भए पनि गलत तरीकाले गर्न पाइँदैन र गर्नु हुँदैन पनि । बोर्डको नियत जेजस्तो भए पनि कम्पनीको नाम नै तोकेर लगानीकर्तालाई जोखिमयुक्त छ भन्नु उसको अरिपक्वता हो, खेलाँची हो । उसको अपरिपक्वताकै कारण बुधवारको शेयरबजार उतारचढावका बीच ५२.४१ अंकले घट्न पुग्यो । शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ । यद्यपि सम्भावित दुर्घटनालाई लिएर सचेत पार्ने कामलाई भने कतिपयले सकारात्मक रूपमा लिएका छन् । प्रक्रियामा मात्रै धेरैको असन्तुष्टि रहेको पाइन्छ ।  नेपालको शेयरबजारमा थुप्रै कमीकमजोरी छन् । नियामक निकाय कमजोर भएको भन्ने भनाइ बारम्बार आइरहेको छ । त्यस्तै भित्री कारोबार, सूचना चुहाएर बजारमा गरिने चलखेलजस्ता आपराधिक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने स्पष्ट कानूनी आधार नभएको भन्ने भनाइ पाइन्छ । त्यस्तै, अनुसन्धान गर्न सक्ने सामथ्र्य बोर्डसँग छैन भनिन्छ । यसो हो भने बोर्डको ध्यान आफूलाई सक्षम बनाउनेतर्फ पनि केन्द्रित हुनुपर्छ ।

शेयरबजारलाई यसरी बुझ्नुस्

सबैलाई छिटो धनी हुने सोख हुन्छ । सबैका लागि शेयरबजार एउटा त्यस्तो तरीका लाग्छ जहाँ उनीहरूले छोटो समयमा करोडौं रुपैयाँ कमाउन सकिन्छ भन्ने ठान्छन् । अहिले शेयरबजारमा प्रवेश गर्नेको लहरले उनीहरूको यही मनोविज्ञान देखाउँछ । त्यसैले तिनीहरू प्रायः शेयर मार्केटबारे यस्तो सल्लाह र टिप्स खोजिरहेका हुन्छन् जुन चाँडै प्रयोग गर्न सकियोस् र चाँडै धनी हुन सकियोस् । शेयरबजार वास्तवमै त्यति सजिलो छैन जस्तो कि बाहिरबाट हेर्दा देखिन्छ । यसमा भित्री कारोबार जहाँ भित्री सूचना चुहाएर कारोबार गरिन्छ र यो कसैले चाहेर पनि पूरै नियन्त्रण गर्न सक्दैन । बजारमा रहेका विकृतिहरूबारे लगानीकर्ता धेरै नै सचेत रहनुपर्छ । तोकिएको समयमा बजारमा सधैं कारोबार भइरहन्छ । त्यहाँ प्रत्येक क्रेताका लागि विक्रेता चाहिन्छ । शेयरबजारका बारे केही कुरा यस्ता छन् जुन सबै नयाँ लगानीकर्तालाई निश्चित रूपमा थाहा हुनुपर्छ । पहिले सिक्नुहोस् त्यसपछि मात्र अगाडि बढ्नुहोस् कुनै पनि चीजमा हात हाल्नुअघि, तपाईंले त्यसलाई पहिला राम्ररी जान्नुपर्छ । तपाईंले अध्ययन गर्नुपर्छ । यस्तो ज्ञान प्राप्त गर्ने तरीका व्यक्तिको इच्छाअनुसार फरकफरक हुन सक्छ । तर, यसका धेरै माध्यम छन् । इन्टरनेटमा प्रशस्त अध्ययन सामग्री पाइन्छन् । अनुसन्धान आफै गर्नुहोस् शेयरबजारमा अनुसन्धानले तपाईंलाई सफल बनाउन सक्छ । यस्तो कुरा सुनेर भन्दा तपाईं आफैंले गरेको अनुसन्धानबाट धेरै कुरा सिक्नुहुन्छ र अनुभव पनि बढ्दै जान्छ । मानौं, एकै समयमा तपाईंले धेरै टीभी च्यानलहरूमा बजार विशेषज्ञहरू भेट्टाउनु हुन्छ, कयौं युट्युब भिडियो भेट्टाउनुहुन्छ, जसले तपाईंलाई शेयरबारे ज्ञान दिँदै छन् । यदि उसले शेयरको मूल्य सजिलैसँग अनुमान गर्न सक्थ्यो भने ऊ आफ्नो घरमा चुपचाप बसेर पैसा कमाउँथ्यो । त्यसैले त तपाईं आफैले अनुसन्धान गर्नुपर्छ । अरूका कुराको पछि लागेर लगानी गर्नु हुँदैन । दीर्घकालीन लक्ष्य तय गर्नुहोस् जुनसुकै लगानी किन नहोस्, ती सबैले लामो अवधिमा नै राम्रो नतिजा प्रदान गर्छ । तपाईं शेयरबजारमा लगानी गर्न चाहनुहुन्छ भने यसलाई लामो अवधिका रूपमा विचार गर्नुहोस् । जोखिम वहन क्षमतालाई बुझ्नुहोस् सबैको जोखिम लिन सक्ने क्षमताका लागि एक सीमा हुन्छ । जबसम्म तपाईंलाई घाटा वा नाफामा कुनै फरक पर्दैन भने त्यसले तपाईंको जोखिम वहन क्षमताको सीमालाई जनाउँछ । शेयरबजार जोखिमपूर्ण हुन्छ त्यसैले त्यतिमात्र लगानी गर्नुहोस् जतिमा तपाईं जोखिम वहन गर्न सक्नु हुनेछ । अनुसन्धान र योजना तपाईं जुनसुकै पनि क्षेत्रबाट किन नहुनुहोस्, राम्रो अनुसन्धान र योजना धेरै महत्त्वपूर्ण हुन्छ । दीर्घकालीन लगानी र सफलतामा यो अनुसन्धान र योजना भलनै आवश्यक हुन्छ । शेयरको चयन गर्दा ती शेयरहरूलाई राम्ररी अनुसन्धान गर्नुहोस् र योजना तय गर्नुहोस् । संवेगलाई नियन्त्रण गर्नुहोस् तपाईंले आफ्नो संवेग गुमाउँदा धेरै क्षति बेहोर्नु पर्ने हुन सक्छ । शेयरबजारमा डर र लोभ हमेशा घुमिराख्छ । बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्नु हुँदैन । तपाईंले आफ्नो संवेगलाई नियन्त्रण गर्न सिक्नुहुन्छ भने मात्र राम्रो लगानीकर्ता बन्न सक्नु हुनेछ । आधारभूत कुरामा स्पष्ट हुनुहोस् शेयरबजारमा तपाईंको पैसा लगानी गर्नुअघि तपाईं यसका सबै मूलभूत कुराका बारेमा राम्ररी जान्नुपर्छ । केवल यो गरे मात्र तपाईं आफ्नो लगानीमा सफल हुन सक्नुहुन्छ । लगानीलाई विविधीकरण गर्नुस् तपाईंले आफ्नो शेयर लगानीलाई अन्य सफल लगानीकर्ता जस्तो विविधता ल्याउन आवश्यक छ । वारेन बफेट भन्छन् कि, तपाईंले आफ्ना सबै अण्डा एकै भाँडोमा हाल्नु हुँदैन किनभने यदि कुनै दुर्घटना भयो भने तपाईंले आफ्ना सबै अण्डा एकै पटकमा गुमाउनुपर्छ । आफ्नो सबै पैसा एकै शेयरमा लगानी गर्नु हुँदैन । बरु, तपाईंको पोर्टफोलियोमा विभिन्न किसिमका, विभिन्न समूह वा क्षेत्रका शेयरहरू राख्नुपर्छ । राम्रो कम्पनीको शेयरमा लगानी गर्नुहोस् सधैं त्यस्ता कम्पनीहरूको शेयरमा लगानी गर्नुपर्छ, जसका बारेमा राम्रोसँग थाहा छ र तिनीहरूको उत्पादन तथा सेवाका बारेमा राम्रो ज्ञान छ । अन्त्यमा, शेयरबजारमा त्यस्तो कुनै अन्तिम रणनीति, सूचक, टिप्स वा मन्त्र छैन जसले तपाईंलाई ठ्याक्कै त्यो मात्र जान्दा वा पछ्याउँदा राम्रो हुन्छ । तपाईंले मूल्य रणनीति वा एक गति रणनीति वा अरू केहीको आधारमा लगानी गर्नुपर्छ । तपाईं प्राविधिक रूपमा ट्रेडर हो वा आधारभूत लगानीकर्ता, तपाईंसँग कुनै न कुनै आफ्नै रणनीति हुनुपर्छ । शेयर ट्रेड वा सही तरीकामा लगानी गर्न त्यति सजिलो छैन । तपाईं ट्रेडिङ मात्र गर्नुहुन्छ भने केही गलत गर्दै हुनुहुन्छ । करीब ९० प्रतिशतभन्दा बढी शेयर ट्रेडरहरूलाई वास्तवमै ट्रेडिङ गर्न आउँदैन, तिनीहरू केवल अरूलाई पछ्याएर पैसा कमाउन चाहन्छन् ।      शेयर ट्रेड र लगानी यो एक एक्लो यात्रा हो । तपाईं शुरूमा मानिसहरूलाई पछ्याएर वा लहै लहैमा लागेर केही पैसा कमाउन सक्नुहोला, तर पछि तपाईंले आफ्नै रणनीति बनाउनुपर्छ । तपाईं जहिले पनि अधिकभन्दा अधिक पढ्नुपर्छ । अरूको कुरा कम सुन्नुपर्छ । शेयरमा लगानी गर्नुअघि तपाईंले स्टकको आधारभूत विश्लेषण गर्न सिक्नुपर्छ । लगानीकर्ताहरूले कम्पनीहरूको त्रैमासिक वा वार्षिक रिपोर्टहरू कसरी पढ्ने भनेर जान्नुपर्छ र उनीहरूको वित्तीय मुख्य सूचकहरू पनि बुझ्न सक्नुपर्छ । शेयरमा लगानी सधैं लामो अवधिको लागि गरिन्छ । कुनै पनि शेयरमा लगानी गर्नुभन्दा पहिले तपाईंले त्यो स्टकसँग सम्बद्ध जानकारी प्राप्त गर्नुपर्छ, जबकि तपाईंले त्यस विषयमा आफैलाई पनि अपडेट गरिराख्नुपर्छ । शेयर खरीद गरेजस्तै ठीक समयमा शेयर बेच्न सक्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ । लेखक नागरिक लगानी कोषसँग आबद्ध छन् ।